भर्खरै :

खानेपानी विधेयकको छलफलमा सार्वभौमिकताबारे चर्चा

काठमाडौँ, ४ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विकास समितिमा खानेपानी तथा सरसफाइ विधेयकमाथि दफावार छलफलमा खानेपानीको व्यवस्थापन नेपाल सरकारबाटै हुनुपर्ने औँल्याउँदै सार्वजनिक सम्पत्ति मुठ्ठीभरको निम्ति उपयोग हुने प्रावधान विधेयकमा राख्न नहुने उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “महसुल निर्धारण आयोग अलग निकाय बनाउनु आवश्यक छैन, उपभोक्तासँग छलफल गरी सरकारबाटै निर्धारण गरिनु आवश्यक छ, भूमिगत पानी दोहोनको कारण इन्डोनेसियाको राजधानी नै डुब्न लागेको तर्फ नेपाल सरकार सचेत हुनु आवश्यक छ । पानीको स्रोत खानेपानीलाई प्राथमिकता दिएर उपयोग गर्नु आवश्यक छ ।”
दैलेखमा भारतीय प्रहरी तीनजना पोशाकसहित विनाअनुमति पुगेको खबरबारे समितिमा सहभागी खानेपानीमन्त्री विना मगरको ध्यानाकर्षण गराउँदै सांसद सुवालले कञ्चनपुरमा नेपालीसँग लालपुर्जा भएको नेपाली भूमि सीमाङ्कन गर्दा भारततर्फ परेको विषयबारे सरकारको ध्यान जानुपर्ने औँल्याउनुभयो ।
सांसद सुवालले उल्लेखित दुवै विषयमा सरकारले सांसदलाई स्पष्टीकरण दिनुपर्ने र नेपालको भूअखण्डता र सार्वभौमिकता जोगाउन सरकार अडिग रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा मन्त्री मगरले कञ्चनपुरको आफ्नो निर्वाचन क्षेत्रमा स्थलगत अध्ययन नगरी सुरक्षाको नाममा भित्रभित्रै तयार गरिएको नक्साको आधारमा पुनःसीमाङ्कन गरिएकोले नेपालीसँगको लालपुर्जा भएको भूमि भारततर्फ पारिएको हुँदा स्थानीय जनताले सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै यस विषयमा आफूले प्रम ओलीसँग पनि राख्ने स्पष्ट पार्नुभयो ।
पुनर्वास नगरपालिकाको गोविन्द गौतमलाई हत्या गरिएको ठाउँको नेपालीले उपभोग गर्दै आएको प्यारातालको केही भाग भारततर्फ पारिएको हुँदा जनताले सरकारको ध्यानाकर्षण गराएको हो, मन्त्री मगरले थप्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *