भर्खरै :

पाकिस्तानमा कोभिड–१९ को प्रतिरोध

इस्लाबाद, २ अप्रिल । दक्षिण एसियाली देश पाकिस्तानमा हालसम्म २ हजार ३९ जना मानिस कोभिड–१९ सङ्क्रमित भएका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयको वेभसाइटले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म सो रोगको कारण २६ जना मानिसको निधन भएको छ ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त र दक्षिणी सिन्ध प्रान्त सबभन्दा बढी प्रभावित बनेका छन् । पञ्जाबमा ७०८ र सिन्धमा ६७६ मानिस कोभिड–१९ बाट प्रभावित भएका छन् । उत्तरपश्चिम खैबर पाख्तुख्वा प्रान्तमा २५३ मानिस सङ्क्रमित छन् ।
गिलजिट–बालिस्तान क्षेत्रमा १८४ जना, दक्षिणपश्चिम बलुचिस्तानमा १५८ जना र राजधानी इस्लामाबादमा ५४ जना मानिस सङ्क्रमित भएका छन् । हालसम्म रोग निको पारेर ८२ जना मानिस घर फर्किएका छन् ।
फेब्रुअरीको अन्त्यसम्ममा पाकिस्तानमा जम्मा चार जना मानिसमा मात्र सङ्क्रमण फेला परेको थियो । महामारी प्रभावित देश इरानबाट मानिसहरू घर फर्केपछि पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।
यसअघि गत मङ्गलबार पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जाफर मिर्जाले सञ्चारमाध्यमलाई सरकारले रोकथामका तरिकामा कडाइ गर्नुका साथै सामाजिक पृथक्यको नीतिलाई प्रभावकारी कार्यान्वयन बनाएको बताउनुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय कार्यनिर्देशिकाको पनि समीक्षा भइरहेको बताउनुभयो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मङ्गलबार एक उच्चस्तरीय बैठकको अध्यक्षता गरी कोरोना भाइरस नियन्त्रणमा भइरहेका काम, पूर्वाधारको उपलब्धता, औद्योगिक क्षेत्रको सुचारु सञ्चालन, सर्वसाधारण जनता र उद्योग कलकारखनाको लागि आर्थिक सहुलियत कार्यक्रम, आपूर्ति र आधारभूत आवश्यकताको वितरणको विषयमा छलफल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *