भर्खरै :

उहानका लडेका चौध वीरलाई सहिदको सम्मान

पेइचिङ
चीनको हुपै प्रान्तीय सरकारले कोभिड–१९ को प्रतिरोधमा लड्दालड्दै ज्यान गुमाएका चौध जना व्यक्तिलाई शहिद घोषणा गरेको छ ।
उनीहरूमध्ये नोबेल कोरोना भाइरसबारे सबभन्दा पहिले सावधानी गराउने उहानका चिकित्सक ली वेङलियाङ पनि छन् । डिसेम्बरमा उनले उहानमा नयाँ खालको कोरोना भाइरसको विरामी देखापरेको भनी सावधानीको लागि अपील गर्दा ‘गलत हल्ला फैलाएको’ भनी विरोध भएको थियो । पछि उनको दाबी सही पुष्टि भयो । नोबेल कोरोना भाइरसको कारण चीनका तीन हजारभन्दा बढी मानिसको ज्यानमात्र गएन त्यो रोगको प्रतिरोध गर्ने शिलशिलामा डा.लीको पनि फेब्रुअरी ७ मा निधन भयो ।
मार्च १९ मा सार्वजनिक एक अनुसन्धान प्रतिवेदनमा उनीमाथि प्रहरीले गलत ढङ्गले कारबाही गरेको सार्वजनिक भयो ।
हुपै सरकारले कोभिड–१९ को महामारीविरुद्ध ज्यान अर्पण गर्ने विभिन्न व्यक्तिलाई पहिलो पटक शहिद घोषणा गरेको हो । शहिद घोषणा गर्ने चीनको राष्ट्रिय कानुनअनुसार उनीहरूलाई शहिद घोषणा गरिएको हुपैको प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
शहिद घोषणा गरिएका व्यक्तिहरू आफ्नो व्यक्तिगत सुरक्षा र खतरासमेतलाई बेवास्ता गरी भाइरसविरुद्धको लडाईमा होमिएका थिए । हुपै सरकारको वक्तव्यमा यो सरुवा रोगको संक्रमण व्यापक रुपमा फैलिएको र जनवादी गणतन्त्र चीन स्थापना भएयता नियन्त्रण गर्न सबभन्दा कठिन संक्रमण भएको उल्लेख छ ।
घोषित शहिदहरूमध्ये डा.ली जस्ता विरामीको पहिचानदेखि उपचारसम्ममा संलग्न १२ जना फ्रन्टलाइन स्वास्थ्यकर्मी छन् ।
७२ वर्षकी वाङ पिङले महामारीको सुरुमा उहानमा सबै स्रोत साधनाको पूर्ण अभाव भएको अवस्थामा पनि आफ्नो सानो क्लिनिक खोली लगातार विरामीको उपचार गरेकी थिइन् । संक्रमणको कारण फेब्रुअरी १८ मा उनको निधन भएको थियो ।
६८ वर्षकी चिकित्सक चाङ काङमेईले उहानको एउटा सामुदायिक स्वास्थ्य चौकीमा ज्वरो आएका मानिसको उपचारमा स्वय्सेवा गरेकी थिइन् । सो क्रममा उनी पनि संक्रमित भइन् र १४ फेब्रुअरीमा उनको निधन भयो ।
स्वास्थ्यकर्मीका साथै एक जना प्रहरी अधिकारी र एक जना सामुदायिक कार्यकर्तालाई पनि शहिद घोषणा गरिएको छ ।
५१ वर्षका प्रहरी अधिकारी ऊ योङ बिनाआराम ६१ दिन काम गरेका थिए । मार्च २२ मा कमजोरीको कारण उनको निधन भएको थियो । उहानका विरामी ओसार्न उनी लगतार खटिएका थिए ।
सामाजिक कार्यकर्ता लियाङ च्याङचुन समुदायका विरामीलाई अस्पतालमा जाँच्न लाने क्रममा स्वयम् संक्रमित भई थला परेकी थिइन् । ४९ वर्षका उनको फेब्रुअरी ४ मा निधन भएको थियो ।
चीनमा शहिद घोषणा हुनु चिनियाँ कम्युनिष्ट पार्टी र देशकै सबभन्दा उच्च सम्मान मानिन्छ । देश र समाजको हितको लागि सहासका साथ जीवन अर्पण गर्ने नागरिकलाई यो सम्मानबाट सम्मानित गरिन्छ ।
स्रोतः सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *