भर्खरै :

भर्चुएल कक्षा र दूर शिक्षाको अभ्यास गरौँ

   नेपाल सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न देशभर लकडाउन लागू गरेको दुई साता भयो । सरकारले अझ तेस्रो चोटि एक साताको लागि लकडाउन घोषणा गरिसकेको छ । सम्भावित सङ्क्रमण रोक्न सरकारले शैक्षिक संस्था बन्दको घोषणा गरेको तीन साताभन्दा बढी समय भइसकेको छ । चैतको पहिलो साता तय भएको एसएलसी परीक्षा सङ्क्रमणको जोखिम हुने भएपछि सरकारले स्थगित गर्‍यो । साथै, वैशाखमा हुने तय भएको एघार र बार्‍ह कक्षाको परीक्षा पनि स्थगित गरिएको छ । ती परीक्षा कहिले हुने हो, अझै कुनै टुङ्गो छैन ।
            लकडाउनले देशभरका विद्यार्थीको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ । महिनौँ पढाइ अवरुद्ध हुने अवस्थामा राज्यले विद्यार्थीलाई नियमित सिकाइको लागि कुनै खास विकल्प दिन सकेको छैन । सरकारको सम्बन्धित मन्त्रालयद्वारा प्रस्तावित केही कार्यक्रमको न त प्रभावकारी प्रचार हुन सकेको छ, न कार्यान्वयन नै हुन सकेको छ । ‘गरेका छौँ’ भनी देखाउन मात्र त्यस्ता कार्यक्रम सार्वजनिक गरियो । तर, कहीँकतै त्यसको प्रयोग गरिएको छैन, न कार्यान्वयनको लागि कुनै प्रोत्साहन नै दिइएको छ ।
            खुला ठाउँमा खेलिरहेका विद्यालयका विद्यार्थीहरू आज घरभित्रै कोचिएर बस्नुपर्दा एकातिर उनीहरूमा लोसेपना देखिन सक्छ । खाली दिमाग भूतको घर हुन्छ । त्यसकारण उनीहरूमा अनेकन मानसिक समस्या देखिनसक्छ । हिजोआज एकल परिवारको प्रधानता छ । एकल परिवारमा केटाकेटीले यस्तो बेला सबभन्दा बढी एक्लोपन महसुस गर्छन् । ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा यस्तो समस्या अधिक छ ।
            कोभिड–१९ सङ्क्रमणबाट प्रभावित अधिकांश देशका सरकारले लकडाउनको घोषणा गरेका छन् । तर, लकडाउनमा पनि कतिपय देशका विद्यार्थीहरूको पठनपाठन भने रोकिएको थिएन । आधुनिक प्रविधिको सहयोगमा अधिकांश शैक्षिक संस्थाले भर्चुएल कक्षा सञ्चालन गरेका थिए । कम उमेरका स्कूले विद्यार्थीको लागि समेत उपयुक्त अवस्तुगत (भर्चुएल) एपहरू बनाएर पनि शिक्षण प्रक्रियालाई निरन्तरता दिइएको थियो । चीनका विद्यालय र विश्वविद्यालयहरूले त्यस्तो शिक्षण पद्धतिको प्रभावकारी प्रयोग गरेका थिए । विद्यार्थी र शिक्षक–प्राध्यापक सबै घरमै बसेर पनि शिक्षण प्रक्रिया रोकिएको थिएन ।
            नेपालका केही सञ्चारकर्मीहरूले सामाजिक सञ्जालकै प्रयोग गरेर पनि यतिबेला घरबाटै अन्तर्वार्ता कार्यक्रम सञ्चालन गरिरहेका छन् । दूरशिक्षा कुनै बेला नेपालमा लोकप्रिय कार्यक्रम थियो । आज सञ्चारकर्मीले गरिरहेको प्रयोगको अनुभव र हिजोको दूरशिक्षालाई यतिबेला विपत्को समयमा उपयोग गर्नसक्छौँ । त्यस्ता शैक्षिक कार्यक्रमलाई प्रयोग गर्नसके विद्यार्थीहरूको शिक्षण प्रक्रिया चालू रहने थियो ।
            विश्वविद्यालयका प्राध्यापक र विषयविज्ञहरूले आफ्नो कोठामै बसेर पनि विभिन्न विषयको कक्षा सञ्चालन गरे विद्यार्थीहरूको लकडाउनको समय व्यर्थ जाने थिएन ।  यसको निम्ति नेपालका कुनै पनि विश्वविद्यालय र सङ्कायले पहलकदमी लिएको देखिएन ।
            विद्यार्थीको शैक्षिक उन्नयनको लागि लुगा, झोलादेखि सबै कुरामा व्यापार गर्न उद्यत कुनै पनि निजी विद्यालयले यतिबेला यस्तो अभ्यास गरेको देखिएन । सामुदायिक विद्यालयलाई यस्ता कक्षा सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्न सकेको छैन । विपत्को बेला जीवनका सबै सक्रियता नै बन्द गर्नु प्रत्युत्पादन हुनसक्छ । तसर्थ, यो समय विद्यालय, कलेज र विश्वविद्यालयहरूले सम्भव उपाय अवलम्बन गरी सिकाइ प्रक्रियालाई चालू राख्न जरुरी छ । नेपालमा आफ्नो परिस्थितिअनुकूल यस्तो अभ्यास गर्न सकिन्छ । सहरी क्षेत्रमा इन्टरनेटमार्फत र ग्रामीण क्षेत्रमा रेडियोमार्फत यस्ता शैक्षिक गतिविधिलाई प्रयोगमा ल्याउन सकिन्छ ।
मजदुर दैनिक सम्पादकीय, २०७६ चैत्र २६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *