भर्खरै :

अफ्रिकामा औषधि उपनिवेशवाद


कार्स्टेन नोको
गत बुधबार एक जना फ्रान्सेली चिकित्सकले कोभिड–१९ को लागि बनाइएको खोप अफ्रिकीहरूमा प्रयोग गर्नु उपयुक्त हुने प्रस्ताव गरेपछि उनी विवादित भए । अफ्रिकीहरूसँग मास्क र अरू सुरक्षा सामग्री अभाव भएको हुनाले उनीहरूबीच खोपको प्रयोग गर्नु उपयुक्त हुने उनको तर्क थियो ।
शुक्रबारसम्ममा उनको सो भनाइ जातिवादी भएको भन्दै व्यापक आलोचना भयो । अन्ततः तिनी चिकित्सक आफ्नो ‘त्यत्तिकै भनेको’ सो भनाइको लागि क्षमायाचना गर्न बाध्य भए ।
तर, उनका शब्दमा व्यक्त सोचाइ भने कुनै नयाँ विषय होइन । न त यस्तो सोचाइ बोक्ने उनी एकै जना मात्र चिकित्सक हुन् भन्ने होइन । अरू मानिसको तुलनामा आफू अब्बल रहेको भन्ने सोचाइले आफूबाहेकका मानिसलाई अमानव ठान्ने सोचाइका पुस्तौं पुस्ताको शिलशिलाको नै उक्त अभिव्यक्तिको मूल स्रोत हो ।
संसारमा कोरोना भाइरसका सङ्‍क्रमितको सङ्ख्या दिन दुईगुणा र रात चौगुणाको दरले बढ्न थालेपछि सन् २०२० को मार्च सुरुमा केही मानिसहरूले अफ्रिकामा कोभिड–१९ भाइरसका बिरामीको सङ्ख्या कम हुनुको कारणबारे जिज्ञासा राखे ।
यस्ता प्रश्नका मूल आधार भनेको के अफ्रिकीहरूसँग नयाँ भाइरसविरुद्ध लड्ने जन्मजात प्रतिरक्षा क्षमता छ’ भन्ने प्रश्न हो । तर, सबै मानिसको शारीरिक बनोट प्राकृतिक रूपमा एउटै हुने वास्तविकताको बोध भएर पनि यो कुरा गर्छन् भने त्यसलाई के भन्नु ?
ग्लोबल साउथ (अल्पविकसित र पूर्व उपनिवेश देशहरू) का मानिसलाई अमानव देख्नु सोचाइ पछाडि दास व्यापार र उपनिवेशवादको चालक शक्ति हावी छ । मानिसको पनि व्यापार गर्ने सोचाइबारे तबसम्म बुझ्न सकिन्न जबसम्म बेचिने मानिस आफूभन्दा कमसल भएको सोचाइको गहिराइ मापन गर्न सकिन्न ।
बेलायती लेखक जोसेफ कोनराडले सन् १८९९ मा ‘हार्ट आफ डार्कनेस’ उपन्यास लेखेका थिए । उनले  सो उपन्यासमा एउटा गज्जबको प्रश्न गरेका छन् । उनको प्रश्न थियो, “मैले अफ्रिकामा भेटेका मानिस के वास्तवमै मानिस थिए ?” उनले उपन्यासमा लेखेका छन्–अहँ उनीहरू अमानव थिएनन् । यसप्रकार उनीहरू अमानव भएकोमा सन्देह गर्नु नै सबभन्दा खराब कुरा थियो ।”
यस्तो सोचाइको जग बसेको दिमागबाट यस्ता कुरा हावी हुनु स्वाभाविक हो । यस्तो सोचका मानिसले ‘दोस्रो दर्जाका मानिस’ एवम् मानिसको जीवन किनबेच गर्न सकिने वस्तु भएको स्वीकार्नु आश्चर्यको कुरा होइन ।
जीवनको अमानवीकरण, मृत्युको प्रदर्शन
सारटजे बार्टमेन आजको दक्षिण अफ्रिकामा जन्मेकी खोइखोइ जातिकी अफ्रिकी महिला थिइन् । मानिसहरू उनलाई सराह बार्टमने नामले पनि चिन्छन् । सन् १८१० मा उनलाई अपहरण गरेर युरोप लगिएको थियो । बार्टमेनको शरीर र युरोपेलीहरूको नजरमा ठूलो नितम्बको कारण उनलाई युरोपेली जनतासामु प्रदर्शनको वस्तु बनाइएको थियो ।
त्यत्तिबेला धेरै मानिस उनलाई हेर्न सङ्ग्राहलयमा पुगेका थिए किनभने उनीहरू बार्टमेनलाई मानव सोच्दैनथे । बार्टमेनको निधन भएपछि एक जना फ्रान्सेली चिकित्सकले उनको शरीरलाई चिरा पारेर अध्ययन गरे । ती चिकित्सकले निष्कर्ष निकाले–बार्टमेनको शरीरको प्रकृति बाँदरसँग मिल्दोजुल्दो छ ।
सन् २००२ मा दक्षिण अफ्रिकी सरकारले अन्ततः जसोतसो पेरिसस्थित फ्रान्सेली राष्ट्रिय सङ्ग्रहालयबाट बार्टमेनको शरीर फिर्ता लैजान सफल भयो । पेरिसको सङ्ग्रहालयमा उनलाई १५० वर्ष अवलोकनको वस्तु बनाइयो । जीवन छँदासम्म बार्टमेनलाई अमानव बनाइयो र मृत्यु पछि गोरा र काला मानिसबीच जैविक र वैज्ञानिक भिन्नता भएको निष्कर्ष निकाल्ने प्रमाण बनाए ।
बार्टमेनको निधन भएको दुई शताब्दीपछि कुनै जाति विशेषलाई अमानव देखाउने काम हिजोजस्तै सहज रूपमा गरिंदैन । तर, कसैको शरीर प्रयोग गरेर अरूले आफ्नो दुनो सोझ्याउने क्रम भने फरक तरिकामा अझै पनि चालु नै छ ।
सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको महामारी फैलियो । त्यत्तिबेला फ्रान्स, बेलायत र सरा अमेरिकाका प्रयोगशालाहरूले सङ्‍क्रमित बिरामीको अनुमति बिना नै २ लाख ५० हजार रगतको नमुना सङ्कलन गरिएको थियो । इबोलाको परीक्षण र उपचार गराइरहेका बिरामीबाट ती रगतका नमुना सङ्कलन गरिएको थियो । अनुसन्धानकर्ताहरूले नयाँ खोप र औषधि बनाउन ती नमुना प्रयोग गरिएको थियो ।
आज दक्षिण अफ्रिकी, फ्रान्सेली र अमेरिकी अनुसन्धानकर्ताहरूले उनीहरूसँग अहिले पनि कति वटा नमुना भएको कुरा खुलासा गर्न चाहेका छैनन् । उनीहरूले ‘राष्ट्रिय सुरक्षा’ को कुरा गरेर यो विषय टार्ने गरेका छन् । एक जना बिरामीले भने, “उनीहरूले हाम्रो रगतको नमुना लगेर अनुसन्धान गर्छन्, अरबौं डलर कमाउँछन् । …उनीहरूले उत्पादन गरेका औषधि निःशुल्क वितरण गरिने होइन । उनीहरूले त्यो औषधि हामीलाई नै बेच्नेछन् ।”
रोगबाट प्रभावित समुदाय गरिब र उनीहरूसँग सूचनाको पनि अभाव हुने भएकोले अनुसन्धानकर्ताहरू जोगिन्छन् । गरिब जनताको रगतको नमुना लगिन्छ र तिनै जनतालाई बेच्न औषधि उत्पादन गरिन्छ । विडम्बना गरिब जनताले त्यसबारे केही भेउसम्म पाएका हुँदैनन् ।
मेडिकल परीक्षणको लामो इतिहास
सन् १९९६ मा नाइजेरियाको कानो प्रान्तमा मेनिजाइटिसको महामारी फैलियो । त्यत्तिबेला संसारकै सबभन्दा ठूलो औषधि अनुसन्धान कम्पनी फिजर (Pfizer) ले आफूले बनाएको औषधिको प्रयोग कानोमा गर्ने निर्णय गर्‍यो ।
फिजरले आफूले औषधि प्रयोग गर्ने बिरामीको अभिभावकबाट कुनै अनुमति लिन जरुरी ठानेन । त्यसै पनि बिरामीको सुर्ताले अभिभावक कुनै निर्णय दिन सक्ने अवस्थामा थिएनन् । सन् २००९ मा सोही विषयमा फिजर कम्पनी र पीडितबीच आपसी समझदारी भयो । उसले कानोको स्थानीय सरकारलाई ७ करोड ५० लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति तिर्‍यो । साथै महामारी फैलिएको समय औषधिको परीक्षण गरिएका चार जना मृत्तक केटाकेटीको परिवारलाई १ लाख ७५ हजार अमेरिकी डलर क्षतिपूर्ति दियो ।
फिजर कम्पनीले ती बालबालिकाको निधन आफ्नो औषधिको कारणले नभई रोगकै कारण भएको प्रतिरक्षा गरिरह्यो । तथापि त्यो मुद्दा अदालत बाहिर नै आपसी सहमतिमै टुङ्ग्याइँदा अदालतसमक्ष पेश गरिने तथ्य सार्वजनिक गर्नबाट वञ्चित भएका छौँ ।
जिम्बाबेमा पनि त्यस्तै एउटा परीक्षण भएको थियो । संरा अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) र एनआईएचको आर्थिक सहयोगमा एजेडटी नामको औषधि त्यहाँ परीक्षण गरिएको थियो । औषधिले बिरामीमा नकारात्मक असर देखायो । नामिबियामा सन् १९०० को सुरुमा जर्मनीका चिकित्सकहरूले हेरेरो महिलाहरूमा बन्ध्याकरणको परीक्षण गरेका थिए । मिश्रित जातीय विवाहमाथि निषेध गर्न ‘वैज्ञानिक’ आधार पुष्टि गर्न सो परीक्षण गरिएको थियो ।
अनुसन्धानकर्ताहरूलाई त्यस्तै अनुसन्धान विकसित देशमा गर्नु निकै जोखिमपूर्ण हुने कुरा थाहा छन् । त्यहाँ निकै झन्झटको सामना गर्नुपर्ने कुरा उनीहरूलाई थाहा छ । ठूला औषधि कम्पनीहरूले अल्पविकसित देशहरूका सरकारी अधिकारीहरूलाई घूस खुवाएर परीक्षणको लागि सहजै अनुमति हात पार्छन् ।
ठूलो नाफाको लागि गरिने यस्तो परीक्षणमा आफूलाई प्रयोग गरिएको परीक्षणबारे जानकारी पनि नभएका मानिसको जीवनको कुनै मतलब गरिन्न । परीक्षण गरिने समुदायलाई अनुसन्धानकर्ताहरूको कामसँग आर्थिक लेनदेनको मात्र सम्बन्ध हुने गर्छ । अनि सामान्यतः अनुसन्धानकर्ताहरूले आफूलाई असल हृदयी वा मानवतावादीको रूपमा मात्र प्रस्तुत गरेको हुन्छ ।
क्षयरोग, मलेरिया र हेपाटाइटिसजस्ता रोगले हरेक वर्ष दसौं लाख मानिसको ज्यान जाने गरेको छ । ती रोगको उपचार र उन्मूलनको लागि हुने उर्जा र जनशक्तिको खर्च अहिले कोभिड–१९ र इबोला भाइरसको रोगथाममा भएको व्ययको तुलनामा कति हो कति बढी हो । केही रोगले कति व्यापक चर्चा पाउँछ भन्ने कुरा त्यसले कुन तप्काका मानिसलाई असर गरेको छ भन्ने कुरामा निर्भर हुने गर्छ ।
काल्पनिक आशंका ?
सन् २०११ मा एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आवरणमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी सीआईएले पाकिस्तानमा खोप अभियानको नाममा मानिसको डीएनएका नमुना सङ्कलन गरेको थियो । ओसामा बिन लादेनको खोजीको क्रममा उनीहरूले सो अभियानको नाटक गरेका थिए । त्यो घटनाले त्यसै नै समस्यामा परेको पाकिस्तान र संरा अमेरिकाबीचको सम्बन्धलाई अझ चिसो बनाएको थियो । साथै धनी देशहरूले विपन्न देशमा औषधि वा चिकित्सकीय सहायता दिनु पछाडिको अदृश्य लक्ष्य पनि हुन सक्ने कुरा त्यो घटनाले सजग बनाएको छ ।
आज कोभिड–१९ को महामारी फैलिन नदिन संसार दौडादौड गरिरहेको छ । यही दौडादौडको अन्त्यमा चिकित्सकहरूले कोही आफ्नो सहकर्मीबाट ‘त्यत्तिकै बोल्न’ लगाउनुपर्ने हुन्छ ।
फ्रान्सेली चिकित्सकले खोप परीक्षणको लागि अफ्रिकालाई प्रयोग गर्नुपर्ने सोचाइप्रति कुनै आशङ्का र आक्रोश फैलिएको छैन किनभने युरोप र संरा अमेरिकाको तुलनामा अफ्रिकामा आज न्यून सङ्ख्यामा मात्र कोभिड–१९ को भाइरस र्सङ्‍क्रमण भएको छ ।
अफ्रिकामा मेडिकल उपनिवेशवादको इतिहासको आधार र कोभिड–१९ संसारभर फैलिएको आजको वास्तविकतामा त्यस्ता टिप्पणी (सुरुमा उल्लेखित फ्रान्सेली चिकित्सकको भनाइ) जातिवादी र कुनै समुदायलाई अमानव बनाउने प्रयास होइन नियतले आएको होइन कसरी भन्न सक्छौँ ?
अफ्रिकी जनतालाई अझै पनि विकसित देशको सेवा गर्न बनाइन लागेको औषधिको विकासको लागि गिनी पिग बनाइन लाग्दा कुनै विरोध नहुने कुरा कसरी सोच्न सकेका होलान् ?
कार्स्टेन नोको जिम्बाबेका कानुन व्यवसायी हुनुहुन्छ ।
स्रोत : अल जजिरा
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *