भर्खरै :

विषाक्त आँप र तरकारीको बजार : उपभोक्ता होसियार !

            भर्खरै गएको आमाको मुख हेर्ने औँसीलाई लक्षित गरी चाडपर्वको अवसर पारेर बढीसेबढी नाफा कुम्ल्याउने ध्येयले नेपाली बजारमा छ्यापछ्याप्ती काखाइड नामको विषादी हालेर जबरजस्ती पकाएका आँपहरू देखिएका थिए ।
            छिमेकी मुलुक भारतका चेन्नेई, दिल्लीबाट सीमावर्ती सहरहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रुपैडिया, रक्सौल, जोगमनिका व्यापारीहरूले ठेलागाडा र साइकलमा राखेर नेपालगञ्ज, वीरगञ्ज, विराटनगर आदि सहरहरूमा बिक्री वितरण गर्दै आइरहेका छन् ।
            सीमा जोडिएका नाकाहरूमा भारतीय खुद्रा व्यापारीहरूको तर्फबाट नेपाली सीमा क्षेत्रका सरकारी कार्यालयहरू जस्तैः भन्सार कार्यालयका कर्मचारी, प्रहरी, प्लान्ट क्वारेन्टिन चेक पोस्टका जाँचकीलाई सुटुक्क रकम दिएर ५०–७५ भारतीयहरू नाकापिच्छे छिरेर विषालु आँपको बेचबिखन गरिरहेका हुन्छन् ।
            नयाँ वर्षको शुभारम्भसँगै व्यापारीले बढी मुनाफा आर्जन गर्ने हेतुले काँचो आँपमा रसायन हालेर २४ घन्टाभित्रै पकाएर बेच्नका लागि सजाएर राख्ने गर्छन् ।
            खास गरेर यी भारतीय फुटकर बिक्रेताहरूलाई नेपाली चाडपर्वको तिथिमितिको राम्रो हेक्का हुन्छ । आँपलाई फलको राजा भनिने गरिन्छ । बालबालिका, युवायुवती र वृद्धवृद्धा सबैमा यो फल उत्तिकै रुचिकर र लोकप्रिय पनि छ ।
            पहाडी भेग र काठमाडौँ उपत्यकामा आँपका बोटहरूमा विभिन्न रैथाने प्रजातिका आँपहरू फूल खेल्दै गरेको अवस्थामा यो मौसममा ‘बैगनफली’ नामक लोभलाग्दा खाउँ खाउँ लाग्ने पहेँला आँपहरू भारतीय नाका हुँदै तराई मधेसका बजारहरूको साथै राजधानीभित्र अनेक व्यापारिक ‘टिगडिम’ गरेर भिœयाइन्छन् । तर, बोटमै प्राकृतिकरूपले पाक्ने आँप भने असारको अन्त्यसम्म खान योग्य हुने आँप उत्पादक कृषकहरूको तर्क छ । कतिपय यस्ता फलफूल र तरकारीको कारोबार गर्ने खुद्रा व्यापारीहरूको कामकारबाही अविश्वसनीय हुन्छ र बानीव्यवहार, नैतिकता नाफामै मापन हुन्छ । तर, तरकारी, फलफूलजस्ता खाद्यपदार्थ खरिद गर्ने सिलसिलामा उपभोक्ता स्वयम् सचेत हुनु जरुरी छ । हुन त आम नागरिकको जिउज्यानको सुरक्षा र स्वास्थ्यमा खेलबाड हुन नदिने गहन जिम्मेवारी राज्य र सरकारकै भए पनि छिमेकी मुलुक भारतबाट विगतमा नेपाल भित्रिने विषादीयुक्त तरकारी नियन्त्रण, परीक्षण र अनुगमनमा प्रभावकारी भूमिका खेल्न असमर्थ भएकै कारणले विषयुक्त तरकारी जानीनजानी उपभोग गर्न परेको किस्सा घामजस्तै छर्ल· छ ।
            नेपालमा लकडाउनको सुरुवाती अवस्थादेखि वैशाख २५ सम्मको अवधिसम्म अन्दाजी ४ अरब रुपैयाँको तरकारी भारतीय सीमा नाकाबाट नेपाल भित्रिएको बताइए पनि खेती किसानीको बेलामा सुख्खा खडेरी र मल–बीउको अभाव भए पनि नेपाली किसानले पसिना सिँचित गरी अहोरात्र –अहोदिन खेतबारीमै खटेर उब्जाएको तरकारी अहिले बारीमै कुहिएको अवस्था छ । नेपाली कृषि उद्यमीहरूको अथक लगानीबाट उत्पादित काउली र बन्दा १० रुपैयाँ केजीमा पनि नबिकेर बारीमै कुहिएको अवस्था छ । विश्वव्यापी कोरोना महामारीको बेलामा बन्द–व्यापार, ज्याला मजदुरी, कृषि व्यवसायको नाजुक स्थितिले आत्महत्याको स्थिति पनि नआउला भन्न सकिन्न ।
            यसरी रसायनयुक्त आँप र विषयुक्त तरकारी प्रयोग गर्न बाध्य हुने उपभोक्ताहरूको स्वयम्स्फूर्त तदारुकता, चनाखो र बठ्याइँ हुनु आवश्यक छ । सो कुरामा दूर द्रष्टा र सचेत उपभोक्ता हुनुपर्ने वीरगञ्जवासीको तर्क छ । प्राकृतिकरूपमा पाक्नेभन्दा अगाडि नै बढी आर्थिक लाभ लिने उद्देश्यले रसायन प्रयोग गरेर कृत्रिमरूपमा आँप पकाएर खुलेआम खरिद बिक्रीले विषालु आँप खानाले मानव स्वास्थ्य अ·–प्रत्य·मा प्रत्यक्ष अप्रत्यक्ष आघात पार्नुका साथै अनाहकमा पैसाको दुरुपयोग हुने गर्छ । जबरजस्ती पकाइएको आँपले मुखै टर्रो हुन्छ, आँखाको ज्योतिमा अप्रत्यक्ष असर पर्छ, पेट र मुटुमा खराब प्रभाव पार्दछ । त्यसैले चिकित्सकको रायसल्लाहबमोजिम यस्ता प्रतिकूल आँप नखानु नै बुद्धिमानी देखिन्छ । मातातीर्थ औँसीताका प्रतिकेजी आँप रु.२५० देखि रु. २७५ सम्म मूल्यवृद्धि भएकोमा ठीक दुई हप्तापछि भक्तपुरस्थित बजारमा प्रतिकेजी आँप रु. १८० देखि रु. २२० सम्ममा बिक्री वितरण गरेको देखिन्छ । ट्रकका ट्रक भारतबाट नेपाल भित्रिने काँचो केराको पकाउने विधि र अन्य फलफूल तथा खाद्य सामग्री एवम् जङ्कफुडको मनोदशा त्यस्तै हो ।
            यसरी मौकामा चौका पार्न खोज्ने दिन दुगुना रात चौगुना मुनाफा खान खोज्ने, स्वास्थ्यलाई हानिनोक्सानी तुल्याउने आपराधिक मनसाय बोकेका फौबञ्जारहरूलाई सम्बन्धित निकायले खरोरूपमा उत्रेर बिक्री वितरणमा रोक लगाउन गम्भीर कदम चाल्नुपर्ने र स्वदेशी अर्गानिक उत्पादनलाई प्रश्रय दिई मन्द विषको शिकारबाट मुक्ति दिलाउनुपर्ने आजको जल्दोबल्दो समस्या देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *