भर्खरै :

लेनिन कथा – १५

स्वयं स्वदेशमा
(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
यो पुस्तकले बडो सरल, आत्मीयतापूर्ण र भावोत्तेजक शैलीमा लेखिएका स–साना कहानीहरूमार्फत क्रान्तिकारी नेता र व्यक्तिको रूपमा लेनिनको सर्वाङ्गीण र जीवन्त चित्र प्रस्तुत गरेको छ ।
अघिल्लो अङ्कमा हामीहरूले लेनिनले प्रवासी जीवन बिताउँदै गर्दाका विभिन्न उतारचढाव र लेनिनका युद्ध विरोधी विचारको बारेमा सविस्तार पढ्यौ ।)
फिर्ता
बर्नमा लेनिनले साम्राज्यवादको बारेमा किताब लेखे । लुटपाट गर्ने लडाइँबिना पँुजीपतिहरू किन उँभो लाग्दैनन् भनी उनले यस किताबमा प्रस्ट पारे । उनीहरू पराइ मुलुकहरू कब्जा गर्छन्, तिनलाई उपनिवेश बनाउँछन्, अरूको रगत चुसी– चुसी मोटाउँछन् । आफ्नो लालचलाई लगाम लगाउन नसक्ने हुनाले उनीहरूले संसारलाई नै आपसमा बाँड्न, ठुलोभन्दा ठुलो हिस्सा हत्याउन कोसिस गर्छन् । यो प्रक्रिया जारी रहुञ्जेल लुटपाट मच्चाइने लडाइँहरू भइरहनेछन् । साम्राज्यवादका कारण जनसाधारणको अवस्था झनै सङ्कटग्रस्त हुनेछ । तर मजदुर वर्गको चेतना र शक्ति पनि बढिरहेको छ । समाजवादी क्रान्तिको घडी नजिकिँदै छ ।
यस्तो किताब लेख्न समग्र विश्वको इतिहास र विश्वको जनजीवनलाई बुझ्न आवश्यक थियो । यस किताबको तयारीका क्रममा लेनिनले अत्यन्त धेरै किताबहरूको अध्ययन गर्नुप¥यो ।
बर्नदेखि लेनिन र क्रुप्सकाया ज्युरिख आए । सुरुमा दुई हप्तामात्रै बस्ने मन थियो तर कामले गर्दा पूरा एक वर्ष त्यहीँ रोकिनुप¥यो । ज्युरिखको पुस्तकालय धेरै गतिलो थियो । सहर पनि नराम्रो थिएन । ठुलो चहल–पहल, धेरै कलकारखाना र मजदुरहरूको ठुलो उपस्थिति… ।
लेनिन साँझसम्म पुस्तकालयमा बसिरहन्थे । दिनमा केहीबेरलाई कोठामा आउँथे, खाना खान्थे र फेरि गइहाल्थे ।
पुस्तकालय जाने साँघुरो सडकको किनारमा कटुसका अग्ला–अग्ला रुख उभिएका थिए । त्यस वर्ष लेनिनले दिनको कम्तीमा चारचोटि ती कटुसका रुखमुनिबाट टाउन हल, प्राचीन गिर्जाघर हुँदै पुराना घरहरू नछिचोलेका सायदै कुनै दिन हुँदा हुन् ।
यहाँदेखि केही दुरीमा ज्युरिख ताल थियो । त्यहाँ क्रुद्ध छालहरू उर्लिन्थे र गर्जिँदै किनारमा ठोकिन्थे । त्यसको नजिक जान पनि डर लाग्थ्यो । तर, छालहरू बसेपछि पानीको निलो सतह घामले टल्किन्थ्यो । त्यसबेला तालको सौन्दर्यले मनै हथ्र्यो । स्वीजरलैन्डको प्राकृतिक सौन्दर्यले लेनिन मुग्ध हुन्थे । तैपनि, मातृभूमिको सम्झनाले उनलाई हरबखत सताइरहन्थ्यो । ओहो ¤ तिनताक उनी रूसको यादमा कति व्यथित रहन्थे ।
एक दिन दिउँसोको खानापछि लेनिन पुस्तकालय फर्किन तयार भएका थिए । त्यसै बेला कसैले जोड–जोडसँग ढोका ढक्ढक्यायो । आगन्तुक एक प्रवासी थियो । उत्तेजनामा अनुमतिको प्रतीक्षा पनि नगरी गनगन गर्दै ऊ सीधै कोठाभित्र पस्यो ।
“तपाईंले सुन्नुभो ? सुन्नुभएन ? रूसमा क्रान्ति भएको छ ।” आगन्तुकले हडबडाउँदै भन्यो ।
लेनिनले फ्याट्ट टोपी उठाए । क्रुप्सकायाले हिँड्डाहिँड्दै कोट लगाइन् । तीनैजना तालतिर लागे । तालमा आकाश घोप्टिएजस्तो देखिन्थ्यो । गर्वले शिर उठाउँदै सेता हाँस पानीमा तैरिरहेका थिए ।
लेनिन पत्रिकाको स्ट्यान्डतिर हुत्तिए । यहाँ, तालको किनारमा जतिबेला पनि ताजा पत्रिकाहरू टाँगिएका हुन्थे ।
लेनिनले व्यग्र भई पत्रिकाहरूमा छापिएका समाचारका शीर्षकहरूमा नजर दौडाए – “फेब्रुअरी, १९१७ । रूसमा क्रान्ति ।” “आखिर भएरै छोडयो,” लेनिनले उत्तेजना लुकाउन सकेनन् । उनी रूससँग घनिष्टरूपले जोडिएका थिए । उनले त्यहाँ बढ्दै गरेको क्रान्तिको नेतृत्व गरेका थिए । क्रान्ति नजिकै छ भन्ने उनले बुझेका थिए । तैपनि मातृभूमिदेखि आएको खबरले उनलाई असाध्यै उत्तेजित गरायो ।
उता रूसमा निकै महत्वपूर्ण घटनाहरू घटिरहेका छन् भन्नेमा शङ्कै थिएन । अब जति सकिन्छ चाँडो घर फर्किनु थियो । मातृभूमि टेक्नु थियो । अझै पनि यहीँ अडिनु मनासिब थिएन । जसरी हुन्छ तुरुन्त रूस फिर्नु थियो । आखिर उनको सम्पूर्ण जीवन, सम्पूर्ण श्रम यसैमा अर्पित थियो । रूसमा हाल घटिरहेका घटनाका लागि समर्पित थियो । तर, यहाँबाट जाने पो कसरी ? लेनिनको चैन हरायो । आँखाको निन्द्रा रित्तियो । उनी दुब्लाउन थाले ।
अन्ततः स्वीस साथीहरूको दौडधुप र प्रयत्नहरूले गर्दा रूसी प्रवासी क्रान्तिकारीहरूले निर्गमन भिसा पाई छाडे ।
गाडी छुट्न दुई घन्टा बाँकी थियो । लेनिन अब पराइ देशमा एकछिन पनि रोकिन चाहन्नथे । यी दुई घन्टामा सामान मिलाउनु थियो । पुस्तकालयबाट ल्याएका किताबहरू फर्काउनु थियो । घरभाडा बुझाउनु थियो । तर, पनि सबै काम पूरा भयो । निश्चित समयमा उनीहरू ज्युरिखदेखि बर्नतर्फ लागे । बर्नदेखि जर्मनी जाने गाडी लिनु थियो । लेनिनसँगै अन्य प्रवासीहरू पनि मातृभूमितिर फर्किरहेका थिए ।
“सहायता र शरणको लागि धन्यवाद ¤” स्वीजरलेन्डको धर्ती छोड्दै गर्दा लेनिनले स्वीश साथीहरूलाई आभार सन्देश पठाए ।
गाडी स्वीजरलैन्डका मनमोहक ताल र सगर्व शिर ठड्याएका पहाडहरूलाई पछाडि छोड्दै, पुत्ताउँदै र छुकछुक गर्दै अगाडि बढिरहेको थियो ।
जर्मनीको भूमि पनि पार भयो । अगाडि बाल्टिक सागरको विक्षुब्ध विस्तार थियो । युद्धका कारण समुद्रमा जताततै सुरुङ्ग बिछ्याइएको थियो । जसोतसो एक मालबाहक जहाजमा उनीहरू स्वीडेन पुगे र त्यहाँबाट फिनलैन्ड गए । उफ ¤ यात्रा कति लामो र खतरनाक थियो । तर, अब चाँडै पेत्रोग्राद आउँदै थियो । सन् १९१४ मा जर्मनीसँग युद्ध सुरु हुँदा पिटर्सवर्गको नाम पेत्रोग्राद राखियो । गाडीको झ्यालबाट जङ्गल देखिन्थ्यो । सेतो बरफ पूरै पग्लिसकेको थिएन । लेउका टाटाहरूले ढाकेको दलदलमा जताततै कालो पानी टल्किरहेको थियो । “राती पेत्रोग्राद पुग्दा सबै सुतिरहेका हुने होलान्,” क्रुप्सकाया बोलिन् ।
ल्याम्पपोस्टहरूको मधुरो उज्यालोमा ढुङ्गाका भवनहरूबीच ठुल्ठुला धमिला आकार देखिन थाले । ती गोदाम, डिपो आदि थिए । गाडीको रफ्तार कम भयो ।
फिनलेन्डको रेल स्टेसन अब टाढा थिएन । रात्री निस्तब्धतालाई चिर्दै इन्जिनले सिट्ठी बजायो । रेल प्लेटफर्ममा रोकियो । इन्जिनले चर्को आवाज निकाल्दै बाफ छोडिरहेको थियो । लौ, के भएको होला ? यहाँ सङ्गीत किन ? प्लेटफर्ममा मोर्सेईको धुन बजिरहेको थियो । “सलामी दिन सबै सावधान हुनू ¤” आदेश सुनियो ।

प्लेटफर्म मान्छेले अटेसमटेस थियो । त्यहाँ आउनेहरूमा पेत्रोग्रादका मजदुर थिए । लालगार्डका सैनिक थिए र क्रोनश्ताद्तका नाविकहरू थिए ।
‘सावधान ¤’
एकाएक पूर्ण निस्तब्धता छायो । लाल सैनिक र नाविकहरू सलामी दिनको लागि लाइन बाँधेर उभिए ।
लेनिन आफ्नो डिब्बाको ढोकामा आए । उनी आश्चर्यचकित थिए ।
“साथीहरू… ।”
लेनिन जिन्दावाद ¤ लडाइँ रोकियोस् ¤ क्रान्ति जिन्दावाद ¤ जवाफमा आकाश गुञ्जायमान भयो ।
प्लेटफर्मबाहिर रेल स्टेशनअगाडिको चोकमा पनि हजारौँ आवाजहरूले यी नारा दोहो¥याए । चोकमा जनसागर उर्लिएको थियो । प्लडलाइटहरूको उज्यालोमा झन्डा आगोको ज्वालाजस्तै फहरिँदै थिए ।
स्टेसनबाहिर एउटा हतियारयुक्त गाडी उभिएको थियो । त्यसका तोपहरू चुपचाप थिए । त्यसले पनि पार्टी र मजदुर वर्गका नेतालाई स्वागत गरिरहेको थियो । मजदुर र सैनिकहरूले लेनिनलाई त्यस गाडीमा चढाए । असङ्ख्य मैत्रीपूर्ण हात उनीतर्फ बढे । असङ्ख्य आँखाहरू मुस्कुराए ।
लेनिनलाई त्यहाँ उपस्थित सबैजनालाई युद्ध र विपत्तिले सन्तप्त ती मजदुर साथीहरूलाई अँगालो हालुँजस्तो भयो ।
‘‘साथीहरू,’’ लेनिनले भने । “तपाईंहरूले क्रान्ति गर्नुभएको छ, जारको सत्ता उल्टिएको छ । तर, सत्ता पँुजीपतिहरूले कब्जा गरेका छन् । उनीहरू हामीमाथि राज गर्न चाहन्छन् । हामीलाई त कामदार वर्गको राज चाहिन्छ । हामी दिनको आठ घन्टा कामको अवधि चाहन्छौँ । हामी किसानहरूलाई जमिन, भोकाहरूलाई रोटी, संसारलाई शान्ति हासिल गर्न चाहन्छौँ । हामी समाजवादी क्रान्ति चाहन्छौँ ।”
“हो हो, लेनिन जिन्दावाद ¤” जनसमूह चिच्यायो । फिनलैन्ड स्टेसनअगाडिको चोकको वातावरण जग्मगाएको थियो । मानौँ, यो रात नभएर खुसीयालीपूर्ण वसन्तको सुनौलो बिहानी हो ।
एकछिनको धुमधामपछि हतियारयुक्त गाडी गुड्यो । लेनिन सधैभरिलाई घर फर्किएका थिए ।
रस्तान्नाया सडक
लेनिनले सिरानीबाट शिर उठाए । सफासुग्घर, साधारण कोठा । सानो लेख्ने टेबल । टेबलमाथि नयाँ पत्रिकाहरू । झ्यालमा मनमोहक फूलका गमला । एक कुनामा गाढा रातो बुट्टादार रेशमी खोलले ढाकिएको आरामकुर्सी ।
“म कहाँ छु ? सपनामा त होइन ?” अहँ ¤ यो सपना थिएन । लेनिन आफ्नी दिदी अन्ना इल्यीनिच्नाको घरमा थिए ।
उनलाई हिजोको सुखद दिन र अपूर्व भेटघाटको सम्झना आयो । रेल स्टेसनदेखि हतियारयुक्त गाडीले उनलाई नतर्की शेसिन्स्कायाको भूतपूर्व दरबारमा लिएर आयो । अब यहाँ बोल्शेभिक पार्टीको केन्द्रीय समिति र नगर समितिको मुख्यालय थियो । हतियारयुक्त गाडी बिस्तारै गुडिरहेको थियो ।
झमक्क रात परेको थियो । तैपनि धेरै घरहरूका बत्ती निभेका थिएनन् । सडकमा मानिसहरूको घुइँचो थियो । ‘लेनिन ¤ लेनिन ¤’ मानिसहरू चिच्याइरहेका थिए । गाडी बारम्बार रोकिन्थ्यो ।
लेनिनले जनतालाई सरल र स्पष्ट भाषामा समाजवादी क्रान्तिको बारेमा बताउने कोसिस गरिरहेका थिए । उनको हृदयमा जोसिला शब्दहरूको छाल उर्लिरहेको थियो । नेभा र पेत्रोपाब्लोभ्स्क किल्लाभन्दा केही पर अवस्थित शेसिन्स्काया दरबार जनसागरले घेरिएको थियो ।
“लेनिन बाहिर आउनुस् ¤ लेनिन केही बताउनुहोस् ¤” जनसमूह चिच्याइरहेको थियो ।
लेनिनले बरण्डामा आएर धेरैचोटि जनसमूहलाई सम्बोधन गरे । रातको समय नहुँदो हो त बरण्डादेखि पेत्रोपाब्लोभ्स्कको सुनौलो धरहरा र अभेद्य भित्ताहरू अवश्य देखिने थिए । यी भित्तापछाडि किल्लाका कुवाजस्ता अँध्यारा र चिसा कालकोठरीहरूमा रूसका कति होनहार मानिसहरू कैद गरिएका हुँदा हुन् । अब भने उक्त राक्षसी किल्लाको भय थिएन, कुनै खतरा थिएन ।
“बगेको खोला फर्किँदैन्,” लेनिनले जनसमूहलाई भनेका थिए । “अगाडि बढौँ साथीहरू ¤ समाजवादी क्रान्ति जिन्दावाद ¤”
दरबारमा पेत्रोग्रादका सम्पूर्ण बोल्शेभिकहरू एकत्रित भएका थिए । उनीहरू न आफू त्यहाँबाट निस्कन्थे, न लेनिनलाई निस्कन दिन्थे ।
बल्लतल्ल बिहान पाँच बजेमात्र क्रुप्सकायासँगै लेनिन थकित तर प्रफुल्लित भई घर पुगे । अब भने उनीहरू आफ्नो मातृभूमिमा थिए । यसबीच के कति दुःख खेप्नुपरेन र ? आखिर रूसीहरूको जीवनमा महान् मोड आइछाड्यो  ।
उत्तेजना र उत्सुकताका कारण लेनिनलाई राम्रो निन्द्रा पनि परेन । जम्माजम्मी घन्टाभर निदाए क्यार । हल्का झप्को लाग्नेबित्तिक आँखा खोलिन्थे । घर सुनसानै थियो ।
लेनिन उठे र गल्लीमा टहल्न थाले । उनलाई पूरै घर समुद्रमा तैरिरहेको जहाजजस्तो लाग्यो । लामो साँघुरो गल्ली, त्यसको दुवैतिर क्याबिनजस्ता कोठा । जहाजको अघिल्लो हिस्साजस्तो । भान्सा कोठामा पियानो राखिएको थियो । उल्यानोभ परिवार जहाँ रह्यो, पियानो सधैँ साथ रह्यो ।
लेनिनले ‘स्वरलिपिहरू’ उठाए । यी आमाका स्वरलिपिहरू थिए । बदलिँदो रूस हेर्न उहाँ सात महिना बढ्ता बाँच्न सक्नुभएन । क्रुप्सकायाकी आमा पनि संसारबाट बिदा हुनुभयो ।
लेनिनले शोकाकुल नजरले जहाजको अघिल्लो हिस्साजस्तै देखिने कोठामा नजर दौडाए । यो झुल्ने कुर्सीमा आमा मजेत्रो ओढेर किताब हातमा लिएर बसिरहनुहुन्थ्यो । उहाँ बुढी र कमजोर हुनुभएको थियो र हरबखत आफ्ना सन्तानको यादमा हराइरहनुहुन्थ्यो । सन्तानहरू कोही निर्वासनमा थिए, कोही जेलमा । बिचरी आमा ¤ आफ्ना सन्तान भेट्न उहाँले कुनमात्र जेलको ‘दर्शन’ गर्नुभएन र ¤ पिटर्सवर्गको जेल, सरातोवको जेल, किभको जेल… ।
परिस्थितिले उहाँलाई कुनमात्र सहरको कुनाकाप्चा चहार्न लगाएन र ? लेनिनले स्वरलिपिहरूलाई पियानोमा राखे र चुपचाप आफ्नो कोठामा फर्किए । पहिले यो कोठा आमाको थियो । आमाको आखिरी निवास । आमाको कुर्सी । गहिरो गाढा रङ्गको बुट्टा भरिएको कुर्सीको खोल उहाँले नै सिलाउनुभएको थियो । आमा ¤ हजुरलाई एक क्षण भए पनि देख्न पाए हुने, तिम्रा कोमल हात फेरि चुम्न पाए हुने ।
चाँडै नै घरका सबैजना जागे । आजको बिहानी हिजोको जस्तो थिएन । हिजो सबै खुसी थिए, उमङ्गले पुलकित थिए । आज जोकोही दबेको स्वरमा कुरा गर्दै थियो । बाटोभरि लेनिन चुपचाप रहे ।
लिगोभ्कादेखि भोल्कोभ चिहानघाटसम्म रस्तान्नाय सडक (बिदाइ सडक) हँुदै जानुपथ्र्याे । यो शोकसन्तप्त सडक थियो, अन्तिम लक्ष्य थियो । यसपछि बिदा, सदासर्वदाका लागि बिदा ।
चिहानघाटमा हिउँ पग्लिसकेको थिएन । चिहानहरूका बीचबीचमा सेता थुम्काहरू टल्किरहेका थिए । सल्लाको एउटा हाँगा आमाको चिहानमाथि राखिएको थियो । नजिकै अर्को सानो चिहान थियो । ओल्याको चिहान । त्यसमाथि एस्पको हाँगा झुकेको थियो ।
लेनिनले टोपी निकाले र शिर झुकाई धेरै बेरसम्म उभिइरहे । आँखा अगाडि बालापनका दृश्य नाच्न थाले । सिम्बिस्र्कको घर । भान्साकोठामा बत्तीको मन्द उज्यालो । बालबच्चा खाना खान चारैतिर बसेका थिए । आमाले किताब खोल्नुहुन्छ । केटाकेटी कुनै रोचक र असामान्य कहानी सुन्न उत्सुक छन् । आमाको आवाज कति मीठो र कोमल छ । फेरि अर्को दृश्यको झल्को आयो । कारागारको ढोका चर्को आवाजसाथ खुल्छ ः “कैदी उल्यानोभ, तिम्री आमा भेट्न आएकी छन् ।” उनी जेलको गल्लीमा दौडिन्छन् । आमासँग भेट्ने समय नघटोस् भनी डराउँछन् । टाउकै ठोकिने होचो छतसहितको अँध्यारो कोठा । बीचमा दोहोरो जाली । आमाको प्यारो मुहार जालीमा टाँसिएको छ । आँखाबाट स्नेहको मूल फुटिरहेको छ ।
“भोलोद्या सञ्चै त छौ ? तिम्रो लागि दूध र खानेकुरा ल्याएकी छु । तिमीले मगाएका किताब पनि ल्याएकी छु । ती पनि” ।
“आमा, मेरी आमा ¤ तपाईँले हाम्रो नयाँ जीवन देख्न पाउनुभएन । कस्तो दुःख हो, कस्तो बिडम्बना हो ¤ आमा, प्यारी आमा, तपार्इँको विवेक, तपार्इँको उपकार कहिल्यै बिर्सन सक्नेछैन ।”
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *