२५ वर्षभन्दा लामो समयपछि भारत र पाकिस्तानका अन्न भण्डारहरूले आज सलहको खतरा सामना गरिरहेका छन् । बालीनाली सखाप बनाउने यो कीराबाट मानिस र वातावरणमा हानि पु¥याउने विषादि प्रयोग नगरी कसरी जोगिने होला त ? पाकिस्तानको अनुभव सुनौँ ।
हालसालै भारतको राजस्थानको सबभन्दा ठुलो सहर जयपुरको आकाश सलहले छपक्कै छोपिएको देखियो । कोभिड–१९ को कारण आर्थिकरूपमा ठूलो क्षति भोगिरहेका किसान र गरिब ग्रामीण समुदाय नै सलहको प्रकोपबाट सबभन्दा बढी प्रभावित छन् ।
पाकिस्तानको पूर्वी प्रान्तहरूमा गएको जाडो याममा सलह देखिएको थियो । त्यत्तिबेला सलह बिस्तारै उड्न थालेको थियो । यो क्रममा गर्मी यामको मध्य समयसम्म चालू रहने अनुमान गरिएको छ । फेब्रुअरी महिनामा पाकिस्तान सरकारले सलह नियन्त्रण गर्न राष्ट्रिय कार्ययोजना तर्जुमा गरेको थियो । सो कार्ययोजनाअनुसार झन्डै ३ लाख लिटर विषादि हावामा छर्किएको थियो ।
सलह प्रकोपको लागि जलवायु परिवर्तनले निकै महत्वपूर्ण भूमिका खेलेको छ । सन् २०१९ मा साउदी अरबमा भएको अस्वाभाविक चक्रीय वर्षाले त्यहाँको मरुभूमिको ‘रिक्त शिविर’(इम्प्टी क्वाटर)लाई चिसो बनाएपछि सलहको प्रकोप थालनी भएको थियो । सलहले निकै ठुलो परिमाणमा अण्डा पार्छ र त्यही आधारमा तिनको सङ्ख्या थपिंदै जान्छ । सलहको हुल मौसमी आँधीसँगै इरान हुँदै पूर्वतिर पाकिस्तान आइपुग्यो । पाकिस्तानको पूर्वी मरुभूमिमा सलहले आफ्नो सङ्ख्या थप्यो र जाडो यामको अन्त्यतिर उड्न थाल्यो । अहिले भारतमा फैलिएको सलह तिनको अर्को पुस्ता हो ।
खतरा
पाकिस्तानको सिन्ध प्रान्तको बिरुवा संरक्षण प्राविधिक विभागका निर्देशक तरिक खानले मे महिनाको अन्त्य र जून–जुलाइमा सलहको तीव्र बसाइसराइ हुने सम्भावना भएको बताएका छन् ।
लाखौँको सङ्ख्यामा आएका सलहले केही घन्टामै आफ्नो कपास र सहजनको खेती पूरै सखाप बनाएको पाकिस्तानका किसान गुलाम सर्वर पन्वरले दुःखेसो सुनाए । यो महिना सलहको यो दोस्रो हमला हो । पन्वरले भने, “एकातिर सलहले हाम्रो बालीनाली सिध्यायो । चमेरोले आँप सबै ध्वस्त बनायो । कोरोना भाइरसले दिनरात लखेटेको छ लखेटेको छ । अब हामी कहाँ जानु ?” पाकिस्तानको सिन्ध क्षेत्रको हैदराबादमा उनले ३ सय एकड जमिनमा कपास र सहजनको खेती लगाएका छन् ।
सलह मार्न सरकारले प्रयोग गरेको विषादि मानिसको स्वास्थ्य र जङ्गली जनावरलाई समेत हानिकारक छ । यस्ता रसायनिक विषादिले वातावरण, मानिस, जङ्गली जनावर र अरु पशुपक्षीलाई समेत नराम्रो असर पार्ने गरेको छ ।
सिन्ध, बलुचिस्तान र पञ्जाबलगायत पाकिस्तानको मरुभूमि क्षेत्र नजिकका किसानहरूले यस्ता विषादिको कारण वरपरको वातावरणमा परिवर्तन अनुभव गर्न थालेका छन् । फलफूल खेतीमा फलफूल खान आएका सुगा मृत्त अवस्थामा फेला परेका छन् । गाइवस्तुले सलह खान छोडेका छन् । त्यहाँका किसानहरू यसले पानी, माटो र बालीनालीमा समेत असर पार्नेमा चिन्तित छन् ।
सजिलो समाधान
सलहको समस्या बढेसँगै पाकिस्तानको ओकारा जिल्लामा दिगो खालको समाधान निकालेका छन् । उनीहरूले सलह समातेर पशुको दानामा प्रयोग हुने उच्च प्रोटिनयुक्त खुराक बनाएका छन् । पाकिस्तानका दुई जना अध्येताहरू मोहम्मद खुर्सिद र जोहर अलीले यो जुक्ति निकालेका हुन् । उनीहरूले सुरुमा यस्तो प्रस्ताव राख्दा धेरैले हाँसोमा उडाएका थिए । कसैले पनि विनाशकारी सलह समातेर पैसा कमाउन सकिने कुरा सोचेका पनि थिएनन् ।
उनीहरूले यस्तो जुक्ति सन् २०१९ मा यमनका किसानहरूले गरेको कामबाट सिकेका थिए । युद्धले थिलथिलो बनेको यमनमा एउटा नारा नै बनेको थियो–‘सलहले बालीनाली खानु अघि सलहलाई खाइदिऔँ ।’
पाकिस्तानको पञ्जाब प्रान्तको ओकारा जिल्ला घना बस्ती भएको ठाउँ हो । त्यसकारण उनीहरूले प्रयोगको निम्ति यही ठाउँ रोजे । सन् २०२० को मध्य फेब्रुअरीमा देपालपुरको पिप्ली पहार जङ्गलमा हुर्केका सलह देखिएका थिए । उनीहरूले तीन दिनसम्म त्यहाँ आफ्नो सोचको परीक्षण गरेका थिए । विषादिको प्रयोग नगरिएको हुनाले उनीहरूले त्यो स्थानलाई परीक्षणको लागि उपयुक्त मानेका थिए ।
लोकप्रिय विचार
‘सलह समात, पैसा कमाऊ, बालीनाली जोगाऊ’ नाराका साथ पाकिस्तानको यो परियोजनाअन्तर्गत प्रतिकिलो सलहको २० रुपैयाँ दिइयो । सलह दिउँसोमात्र उड्न सक्छ । राति उनीहरू रुखमा गुच्चमुच्च परेर बसेका हुन्छन् । घाम नउडाएसम्म उनीहरू हलचल नगरी बसेका हुन्छन् । त्यसकारण रातको समयमा सलह समात्न सजिलो हुन्छ ।
मानिसहरूले एक रातमा सात टनसम्म सलह समाते । परियोजनाका कर्मचारीहरूले मानिसहरू जोखेर ल्याएका सलह किने र नजिकैको कुखुराको दाना उत्पादन गर्ने कारखानामा बिक्री गरे । यसप्रकार मानिसहरूले एकै रात २० हजार रुपैयाँसम्म कमाए ।
पहिलो दिन सलह समात्ने मानिस १०–१५ जनामात्र थिए । हावासरि यो कुरा फैलियो । तेस्रो दिनसम्म त सयौँ मानिस सलह समात्नमा लागेका थिए । मानिसहरूले समातेका सलह बोरामा राखेर मोटरसाइकलबाट ओसारेका थिए । सलह किन्नेहरूले जोख्दै सोअनुसारको पैसा दिन थाले ।
जनसङ्ख्या धेरै भएको क्षेत्रमा यो उपाय उपयुक्त भए पनि ठुलठुला मरुभूमिमा विषादि छर्नुको विकल्प छैन । पाकिस्तानी अधिकारीहरूका अनुसार नोभेम्बरसम्म पनि यो समस्या लम्बिने सम्भावना भएकोले त्यसको निम्ति एकीकृत योजना बनाउनु जरुरी छ । पाकिस्तानमा पछिल्लो पटक सन् १९९३ मा सबभन्दा ठुलो सलह देखिएको हो । मरुभूमिमा सलह बाँच्न ओसिलो माटोको आवश्यकता पर्छ ।
यमनबाट पाकिस्तान आएपछि सलहले लगातार तीन पुस्ताको विकास गरिसकेको छ । सन् २०१९ मा अहिलेका सलहहरू बलुचिस्तान उडेका थिए र त्यहीं नयाँ पुस्ता हुर्काएका थिए । त्यसपछि उनीहरू ग्रीष्म र वसन्त याममा सिन्ध, पञ्जाब र खाएर पाख्तुनख्वामा पसेका थिए । मेदेखि नोभेम्बर महिनासम्म उनीहरूको अर्को एक पुस्ताको विकास हुनेछ ।
सलहले निमको तेल राखिएको बोटबिरुवालाई छुने गर्दैन । त्यसकारण ठूलो परिमाणमा निमको तेल उत्पादन गर्नु पनि सलह नियन्त्रणको उपाय हुनसक्छ । सलहको प्रकोप हाल पाकिस्तानबाट भारततिर सर्दै छ । नेपालमा सलह आउने सम्भावना न्यून भएको विज्ञहरूको भनाइ छ । तथापि, आउने नआउने यकिन गरिहाल्न सक्ने अवस्था छैन । कदाचित आइहाले त्यसको पूर्वतयारी गर्न जरुरी छ । त्यसको निम्ति नेपाल र भारतले पनि पाकिस्तानको अनुभवबाट सिक्नु उपयुक्त हुनसक्छ ।
स्रोतः स्क्रोल डट कम
अनुवादः सुमन

रिना साइड खान image
रिना साइड खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *