भर्खरै :

दुई देशको जनसम्बन्धमा खलल पु¥याउँदै भारतीय फासीवाद

बढी चर्चामा आउन भारतीय सञ्चारमाध्यमहरू अतिवादी भाषा प्रयोग गर्छन् । फट्याइँका साथ झूटो विवरणलाई पनि ‘सत्याभास’ हुने गरी घमन्डपूर्ण हाउभाउमा प्रस्तुत गरिन्छ । अघिपछिका आफ्नै तर्क, तथ्याङ्कको खन्डन हुने भए पनि घटनाका सम्बन्धित पक्षहरूलाई प्रभावमा पार्न खोज्छन् । भारतीय शासकवर्ग पक्षीय सञ्चारमाध्यमहरू आफैमा अन्तरविरोधी समाचार दिन्छन् र पाठक वा स्रोता–दर्शकहरूलाई अलमलमा पार्छन् । आफूमात्र सही भएको भ्रम फाल्दै जुनपनि विषयवस्तुलाई घिसारेर लाने भारतीय फासीवादी सञ्चारमाध्यमहरूले नेपाल र नेपालीविरुद्ध पनि घृणा फैलाउन उत्तेजनात्मक समाचार दिइरहेका छन् । आधारहीन अनि तथ्यलाई तोडमोड गरेर समाचार दिएर नै भारतीय शासकवर्गले ‘पत्रकारिता’को दुरूपयोग गरिरहेका छन् ।
आइतबार भारतीय ‘भास्कर दैनिक’ले ७२९ किलोमिटर लामो नेपाल र भारतको बिहार राज्य सीमा जोडिएका दुई देशका गाउँहरूमा ७ दिनसम्म स्थलगत अध्ययन गरी खोजमूलक समाचार दिएको जनाएको छ । ‘भास्कर’ को समाचारमा चीनको प्रभावमा परेर नेपालले बिहारसँग रोेटीबेटीको सम्बन्ध अन्त्य गर्न लागेको आरोप लगाइएको छ । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी बुहारीलाई ७ वर्षपछि अङ्गीकृत नागरिकता दिने विधेयक नेपालको संसद्मा पेश भएको छ । यो कानुनी बन्दोबस्त संसारका जुनसुकै देशबाट नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाको लागि हो । तर, भारतीय शासक र सञ्चारमाध्यमहरू ७ वर्षपछि दिने वैवाहिक अङ्गीकृत नागरिकता भारतको पनि बिहारका चेलीहरूका लागि मात्रै हो भन्ने भ्रम फैलाउँदै छन् । परापूर्वकालदेखि नेपाली र भारतीय जनताबीच रहेको सुमधुर सम्बन्धलाई खलल पु¥याउन ‘भास्कर’ जस्तो पत्रिकाहरूले पनि मलजल गर्दै छन् । ‘भास्कर’ले प्रस्ट भाषामा भारतीय बिहारीहरू नेपाललाई अलग देश मान्दैनन् भनी लेखेको छ । ‘भास्कर’ मा ७ वर्षसम्म नागरिकता नपाउने भएपछि बिहारीले नेपालीलाई चेली दिन छोडेको दाबी गरिएको छ । ‘चीनकै दबाबमा नेपाल – भारतको सीमामा आवतजावत रोकिँदा नेपालमा नुन एक किलोको १०० रूपैयाँ पुगेको’ भ्रामक समाचार दिइएको छ । आज पनि विरगञ्ज रौतहटका सहर तथा गाउँमा नुनको कुनै अभाव छैन र भाउ बढेको छैन । स्थलगत अध्ययन भनिएको समाचारमै गलत विवरण दिनु निन्दनीय छ । नेपालमा साम्प्रदायिक द्वन्द्व र भारतीयहरूमा नेपाल र नेपालीप्रति द्वेश चर्काउने मनसायका साथ समाचार बनाएको प्रस्ट देखिन्छ ।
कोभिड–१९ रोकथामको लागि नेपालले मात्र होइन, भारतले पनि ‘नेपाल भारत सीमा बन्द’ घोषणा गरेको छ । दुई देशबीच परामर्श गरेर नेपाल भारतको सीमा व्यवस्थापन गर्ने नेपालको पहललाई भारतले वास्ता गरेन । भारतले नेपालसँग जोडिएका आफ्ना चार प्रदेशका एक – एक नाकाबाट मात्र भारत प्रवेश गर्न दिने एकतर्फी घोषणा ग¥यो । नेपाल – भारत सीमाको प्रत्येक तीनतीन किलोमिटरमा भारतले सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) क्याम्प राखेको छ । दश गजाको आडैमा बनाइएका एसएसबीको क्याम्पका पक्की भवन तथा पूर्वाधारहरू सुविधा सम्पन्न छन् । आवश्यकताअनुसार हरेक किलोमिटरको दूरीमा पनि अस्थायी क्याम्प राखिएका छन् । भारतीय एसएसबीको आँखा छलेर कोही पनि व्यक्ति सीमा वारपार गर्न सम्भव छैन । नेपालतर्फ सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीहरू अधिकांश त सीमादेखि पाँच सात किलोमिटरभित्र छन् । कोभिड – १९ को विश्वव्यापी महामारीपछि मात्र नेपालले सीमा सुरक्षा प्रहरीहरूलाई दशगजा समानान्तर खटाएको छ । दशगजाकै समानान्तर नेपाली सशस्त्र प्रहरीले पहरेदारी गर्न थालेपछि खुला सीमाको दुरूपयोग गर्ने तस्करहरू केही अतालिएका छन् । सीमा क्षेत्रका नेपालीहरूलाई सताएर फाइदा लुटिरहेको एसएसबीलाई पनि दकस भएको छ । त्यसैले तिनीहरू जसरी पनि सीमाबाट नेपाली सशस्त्र प्रहरी हटाउन बहानाबाजी गरिरहेका छन् ।
दशगजा समानान्तर खटिएका सशस्त्र प्रहरीलाई घामपानीमा ओत लाग्न नेपाल सरकारले टेन्ट व्यवस्था गरेको छ । नेपाल सरकारले व्यवस्था गरेको टेन्ट २०७२ सालको भूकम्पमा उद्धारको लागि चीन सरकारले सहयोगमा दिएको हो । अचानक व्यवस्था गर्नुपर्दा सरकारसँग मौजुदा रहेको टेन्ट पठाइएको होला । यही टेन्ट अहिले भारतीय सञ्चारमाध्यमको लागि ‘मसला’ बनिरहेको छ । तिनीहरूले ‘चिनियाँ टेन्टमा बसेर भारतीय सीमामा आँखा लगाइरहेको’ एकहोरो प्रचार गरिरहेका छन् । मानौँ, ती चिनियाँ सहयोगमा आएका कपडाको टेन्ट होइनन्, कुनै युद्ध सामग्री हुन् वा कुनै विनाशक क्षेप्यास्त्र हुन् ¤ भारतीय सञ्चारमाध्यमको आँखामा सीमामा खटिएका नेपाली सशस्त्र प्रहरी कोभिड–१९ सङ्क्रमण रोकथामको लागि खुला सीमा वारपार रोक्न बसेका सुरक्षाकर्मी होइनन्, भारतमाथि आक्रमण गर्ने मोर्चा हुन् ¤ पश्चिम नवलपरासीदेखि पूर्व झापासम्मको अनुगमनमा ‘भास्कर’ले ४ सय वटा नेपाली सशस्त्र प्रहरीको चौकी भेट्टायो । प्रत्येक सय – सय मिटरमा नेपाली सशस्त्र प्रहरीको जवान पहरा बसेको देख्यो । सीमा वारपार गर्न रोकेकोमा ‘भास्कर’ दैनिकले आपत्ति जनाएको छ । यस्तो आपत्ति जनाउँदा ‘भास्कर’ले कोरोनाको विपत्ति भुलेको छ अथवा भारतीय सरकारकै सीमा बन्द घोषणालाई बेवास्ता गरेको छ । कोरोना सङ्क्रमणको यो संवेदनशील घडीमा रोकथामको लागि सबै सरोकारवालाहरू जिम्मेवार हुनुपर्ने हो । सञ्चार क्षेत्र त अझ बढी संवेदनशील क्षेत्र हो । नेपाललाई सार्वभौम र स्वाधीन देश नमान्ने भारतीय बडाराष्ट्र अहङ्कारवादी सोचबाट ग्रस्त ‘भास्कर’का पत्रकारलाई विरगञ्जका एक युवकले भनेछन्, “हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ तर तपाईँ यसलाई आफ्नो देश नसम्झनुहोस् ।”
भारततर्फ सीमा सुरक्षाको लागि १२७ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) राखिएका छन् । इन्सपेक्टरको कमान्डमा हुने बीओपी बाहेक पनि कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको लागि १२ सय बढी स्थानमा अस्थायी बीओपी चेकपोस्ट राखिएको सशस्त्र प्रहरीले जनाएको छ । अस्थायी बीओपीले दशगजासम्मै पुगेर नेपाली सीमाको निगरानी बढाएपछि खुला सीमाको दुरूपयोग गरी फाइदा लुटिरहेका तस्करहरूको लागि सहज भएन । त्यसैले उनीहरूले विभिन्न बहानामा सीमा प्रहरीमाथि आक्रमण गर्न थाले । सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार चैत ११ देखि जेठ ३० गतेसम्म ८० दिनमा सशस्त्र प्रहरीको टोलीमाथि १७ पटक आक्रमण भयो । त्यसमध्ये जेठ ३० गते शुक्रबार सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा सशस्त्र प्रहरीले प्रतिकार गर्दा एक भारतीयको ज्यान गयो । भारतीय आक्रमणकारी समूहले नेपाली सशस्त्र प्रहरीको हतियार लुटेपछि सशस्त्र प्रहरी बलको टोली गोली चलाउन बाध्य भएको थियो । भारतीय आक्रमणकारी समूहबाट तीन सशस्त्र प्रहरी घाइते भए । घटनालगत्तै भारतीय टीभी च्यानलहरूले खेतमा काम गरिरहेका किसानमाथि नेपाली प्रहरीले गोली हानेको बताए । ‘सानो भाइले चीनको आड पाएर आँखा उठाएर हेरेको’ टिप्पणी गरियो । भारतीय टीभी ‘आजतक’ले बदला लिने भनी भट्याउँदै बसे पनि भारतीय आक्रमणकारी समूहकै गल्ती भएकोले औपचारिकरूपमा भारतले थप कुनै कदम चाल्न सकेन । विशेषगरी झापादेखि नवलपरासीसम्म बिहारसँग जोडिएका नाकाहरूबाट अवैधरूपमा भारतीयहरू घुसपैठ गर्न खोजेका छन् । नेपाली सशस्त्र प्रहरीमाथि नै जाइ लागी नेपालमा आउन खोज्ने ती भारतीयहरू जरुर पनि सामान्य रोजीरोटीका लागि आउने भारतीय मजदुर र किसान होइनन् । तिनीहरू आपराधिक मनस्थिति भएका र भारतीय विस्तारवादी शासकहरूको पृष्ठपोषण पाएका तस्करी नै हुन् । तिनीहरूले सदियौँदेखि कायम रहेको नेपाली र भारतीय जनताबीचको सामाजिक, सांस्कृतिक र पारिवारिक समधुर सम्बन्धलाई खलल पु¥याउन नै बहाना खोजेको हुनुपर्छ । नेपाली र भारतीय जनताबीचको सौहार्दपूर्ण सम्बन्ध जोगाइराख्न र सीमा क्षेत्रका नेपाली जनताको जिउधनको रक्षा गर्न सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीलाई अझै बलियो बनाउनु आवश्यक छ । अब उपरान्त खुला सीमाको दुरूपयोग रोकिनुपर्छ ।
नेपालको सार्वभौमसत्ता र स्वाधीनता स्वीकार नगर्ने भारतीय शासकवर्ग नेपाली जनताका सत्रु हुन् । नेपाली कामदार जनताको सम्मान नगर्ने भारतीय एकाधिकार पुँजी नेपाली कामदार जनताका सत्रु हुन् । नेपालको भूमि अतिक्रमण गर्ने र अतिक्रमणको विरोधमा बोल्दा चीनबाट उचालिएको आरोप लगाउने भारतीय विस्तारवाद स्वाभिमानी नेपाली जनताका बैरी हुन् । फासीवादी शासकहरूले विष घोले पनि भारतीय कामदार जनता र नेपाली कामदार जनताबीचको सदभाव र सम्बन्धलाई कसैले खलल पु¥याउन सक्दैन । नेपाली र भारतीय जनताको अन्तर्राष्ट्रिय सम्बन्धमा बाधा दिन र आपसी विद्वेष चर्काउन खोज्ने भारतीय फासीवादी शासकवर्ग र सञ्चारमाध्यमबाट नेपाली र भारतीय जनतालाई सचेत बनाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *