भर्खरै :

जनस्वास्थ्य प्रणालीमा क्युवाली मोडल

स्वास्थ्यअधिकार ः मानवअधिकार
क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको जन्मभूमि, युवाहरूबीच चर्चित क्रान्तिकारी योद्धा चे ग्वेभाराको कर्मभूमि, साम्राज्यवादको नाइके संरा अमेरिकाको ८० माइल पर रही ६० वर्षदेखि समाजवादी झन्डा फहराइरहेको मुलुक, विश्वको चिनीको कचौरा, विश्वप्रसिद्ध सिगारको देश, ओलम्पिकमा बक्सिङ खेलमा ३७ स्वर्णपदक विजेता देश आदि परिचयबाट सुशोभित छ, क्युवा । अहिले आएर कोभिड–१९ को महामारीबीच क्युवाको उत्कृष्ट स्वास्थ्यसेवा प्रणालीको चर्चा, परिचर्चा र प्रशंसा विशेष उल्लेख्य छ । क्युवाले कोभिड–१९ को महामारी नियन्त्रणमा पाएको सफलताको रहस्य बुझन् विश्व आतुर छ । नेपालभन्दा क्षेत्रफल र जनसङ्ख्याको हिसाबले सानो देशले विश्वका थुप्रै देशमा हजारौँ क्युवाली चिकित्सक पठाएर स्वास्थ्यसेवा दिने क्षमता कसरी विकास ग¥यो ? संरा अमेरिकाको भन्दा कम शिशु मृत्युदर क्युवामा कसरी हासिल भयो ? संरा अमेरिकाको भन्दा बढी आयुदर क्युवाको हुनुको कारण के ? चिकित्सक र नागरिकबीचको अनुपात (१११ नागरिकको निम्ति १ डाक्टर) विश्वमै सबभन्दा कम कसरी भयो ? अनेक भौतिक सुविधाबाट वञ्चित हुनुपर्दा पनि क्युवाली नागरिक किन खुसी छन् ? संरा अमेरिकाको नाकाबन्दीलगायत अनेक ताडनाबीच पनि क्युवालीको शिर किन उँचो छ ? यी विषय पुँजीवादी विश्वको निम्ति अनौठो हुनु स्वाभाविकै छ ।
हरेक बिहान ‘हामी चेजस्तै बन्छौँ’ भन्ने ‘शपथ’ खाई हुर्किएका क्युवाली नयाँ पुस्ताका चिकित्सकहरू आफ्नो देशमा मात्र होइन तेस्रो विश्वका गरिब देशका रोगीको उपचार पनि गरिरहेका छन् । ‘विश्वका मजदुर एक होऔँ’ भन्ने नारालाई अन्तर्मनबाटै आत्मसात् गरेका क्युवाली चिकित्सकहरू जब युरोपकै विकसित देश इटालीमा कोभिड–१९ को उपचार गर्न पुगे क्युवाको अब्बल चिकित्सा पद्धतिको बहुचर्चा चुलिन थालेको हो ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्रले प्रत्येक व्यक्तिलाई आफ्नो र परिवारको स्वास्थ्योपचारको सुविधा, बिरामी, अशक्तता र बुढेसकालमा सुरक्षा पाउने अधिकार हुने व्यवस्था गरेको छ । क्युवाको स्वास्थ्य उपचार पद्धतिको अध्ययन गर्ने हो भने मानवअधिकारको घोषणापत्रको व्यावहारिक प्रयोग क्युवाले गरिरहेको प्रस्ट हुन्छ । अर्कोतिर मानवअधिकारकै नाममा क्युवालाई एक्ल्याउने साम्राज्यवादी दुष्प्रयास पनि चालु छ । तर, क्युवाली क्रान्तिका नेता फिडेलले संरा अमेरिकाको मानवअधिकारको परिभाषासँग सहमत नभएको बरु क्युवाले मानवअधिकारको उत्कृष्ट अभ्यास गरिरहेको जवाफ दिनुभएको थियो ।
संरा अमेरिकी नाकाबन्दीको कारण अनेक अप्ठेराहरू सामना गरिरहेको देश क्युवाको जनस्वास्थ्य प्रणाली कसरी विश्वको नमुना बन्न सक्यो ? क्षेत्रफल र जनसङ्ख्याको आधारमा नेपालभन्दा सानो र विकासशील देश क्युवाबाट नेपालजस्ता देशले के सिक्न सक्छन् ? यसबारे विस्तृत छलफल आवश्यक छ । यो आलेखमा केही तथ्यसहित क्युवाको स्वास्थ्य सेवाका केही पाटाहरूको चर्चा गर्ने प्रयास गरिएको छ ।
माक्र्सवादी दर्शन व्यवहारमा
क्युवाली क्रान्तिको नेतृत्व क्युवाली कम्युनिस्ट पार्टीले गरेको हो । क्युवाले समाजवाद या मृत्युको नारा दिएको छ । क्युवाले समाजवादलाई जीवनपद्धति बनाएको छ । क्युवाली कम्युनिस्ट पार्टीले माक्र्सवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गरेको छ । माक्र्सवादमा मानव स्वास्थ्यलाई उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य नै मानव जीवनको एक आधारभूत तर, विशिष्ट क्षेत्र हो भनेर व्याख्या गर्नुभएको छ माक्र्सले । स्वस्थ शरीर मानिसको चेतनासँग सम्बन्धित छ । सचेत मानिसले विश्वकै हितमा काम गर्नसक्छ । मानव समाजको क्रान्तिकारी रूपान्तरणको निम्ति सचेत मानवको आवश्यकता हुन्छ । शोषण, अन्याय, थिचोमिचो, भ्रष्टाचार, विभेद आदि विकृति नभएको आदर्श समाज निर्माणको निम्ति स्वस्थ मानवको आवश्यकता पर्छ ।
समाजवादी क्युवाले स्वास्थ्य जनअधिकारको रूपमा स्थापित गरेको छ । जनस्वास्थ्य सेवा राज्यको दायित्व हो भन्ने सिद्धान्त क्युवाले आत्मसात् गरेको छ । माक्र्सले सन् १८४८ मा प्रकाशित गर्नुभएको कम्युनिस्ट घोषणापत्रमा स्वास्थ्य सेवा पनि निःशुल्क उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । यही आधारभूत सिद्धान्तको मियो समातेर क्युवाले जनस्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिएको छ । क्युवामा सिटामोलदेखि क्यान्सरको उपचारसम्म निःशुल्क हुनुको पछाडि क्युवाले अवलम्बन गरेको सिद्धान्त नै प्रधान पक्ष हो ।
नेपालजस्तो देशका नागरिकहरू स्वास्थ्य उपचारको निम्ति गर्नुपर्ने खर्च र नाफामुखी अस्पताललगायत औषधी कम्पनीको लुटबाट सन्त्रस्त छन् । सामान्यतः स्वास्थ्य उपचारमा मानिस सम्झौता गर्न चाहँदैनन्, त्यही मनोविज्ञानको आधारमा रोगीलाई नै ‘दुहुनो गाई’ बनाउँछन्, स्वास्थ्य माफियाहरू । यो सारा पुँजीवादी विश्वकै रोग हो । कोभिड–१९ को महामारीको क्रममा स्वयम् संरा अमेरिकासमेत जनस्वास्थ्य सेवा उपलब्ध गराउन असफल भयो । किनभने, संरा अमेरिकामा जनस्वास्थ्य सेवा होइन, उद्योग हो । संरा अमेरिकाका औषधी कम्पनी तथा स्वास्थ्य बिमा कम्पनीहरूको निम्ति यो महामारी खाने मेलो भइरहेको छ ।
नेपालको संविधानले समाजवादउन्मुख राज्यको कल्पना गरेको छ तर व्यवहारमा त्यसको उल्टो भइरहेको छ । यही कोभिड–१९ को महामारीमा दलाल पुँजीपतिवर्गको रजाइँ चलिरहेको छ । मन्त्री तथा सत्ताका आसेपासेले औषधी तथा उपकरणको नाममा अर्बौँ रुपियाँ कुम्ल्याइरहेका छन् । सेनासमेत भ्रष्टाचारमा मुछिएको समाचार आइरहेका छन् । यस्तो खालका घटना तथा परिघटनालाई राज्य व्यवस्था वा संरचनाभन्दा अलग्ग सम्झनु उपयुक्त हुँदैन । राज्यका नागरिकको चरित्र राज्य व्यवस्थाको चरित्रभन्दा पृथक वा निरपेक्ष हुनसक्दैन । पुँजीवादी व्यवस्थाले नागरिकलाई भ्रष्ट एवम् व्यक्तिवादी बनाउँछ भने समाजवादी व्यवस्थाले आदर्श चरित्रलाई मलजल गर्दछ । पुँजीवादी विश्वमा स्वास्थ्य क्षेत्रसमेत पुँजी लगानीको क्षेत्र बनेपछि नाफाको निम्ति ‘घाँटी रेट्ने प्रतिस्पर्धा’ त हुने नै भयो ।
पुँजीवादी विश्वमा उपचारको अभावमा मर्ने मानिस गरिब हुन्छन् । भारतमा मात्र प्रत्येक वर्ष २७ लाख मानिस क्षयरोगबाट सङ्क्रमित हुन्छन्, तीमध्ये ७ लाखले उपचार पाउँदैनन् भने प्रत्येक वर्ष ४ लाख ५० हजारको मृत्यु हुन्छ । क्षयरोगबाट नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ सङ्क्रमित हुन्छन्, १२ हजार जाँचको पहुँचसम्म आइपुग्दैनन्, प्रत्येक वर्ष क्षयरोगबाट ५ देखि ७ हजारको मृत्यु हुन्छ । अधिकांश क्षयरोगी गरिब नै हुन्छन् । गरिब देश नै क्षयरोगको सिकार भएका छन् । संसारमा मृत्युका दश कारणमध्ये क्षयरोग पनि एक हो ।
स्वस्थ क्युवाको रहस्य
सन् १९५९ जनवरी १ को दिन क्युवाली क्रान्तिले विजय प्राप्त ग¥यो । क्रान्तिलगत्तै स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकता दिएर योजना बनाइयो । सम्पूर्ण स्वास्थ्य सेवालाई राष्ट्रियकरण गरियो । स्वास्थ्य उपचार निःशुल्क घोषणा गरियो । स्वास्थ्य उपचारमा भइरहेको व्यापारको अन्त गरियो । चिकित्सा शिक्षासमेत निःशुल्क गरियो । शिक्षामा लगानी गर्ने र लगानी उठाउन रोगीमाथि शोषण गर्ने पुँजीवादी समाजको विकृति भित्रिन पाएन ।
क्रान्तिअगाडि क्युवामा पनि स्वास्थ्य क्षेत्रमा एलोप्याथीको एकाधिकार थियो, वैकल्पिक चिकित्सामा न्यून बजेट छुट्याइन्थ्यो । गाउँघरमा पुस्तौँदेखि अपनाइँदै आएको परम्परागत उपचार विधिको अध्ययन तथा अनुसन्धान र अनुसरण गर्न थालियो । क्रान्तिपछि पुराना उपचार पद्धतिका असल एवम् उपयोगी पक्ष आत्मसात् गर्ने कामले खर्चमात्र जोगिएन, जनभावना जित्न पनि सफलता प्राप्त भयो । ‘जनस्वास्थ्य र राष्ट्रको समृद्धि अन्तरसम्बन्धित छन्’ भन्ने अमत्र्य सेनको भनाइ यहाँ सान्दर्भिक छ ।
क्युवाले कुल गार्हस्थ उत्पादनको करिब ९ प्रतिशत स्वास्थ्य सेवामा लगानी गर्छ भने नेपालले ५–६ प्रतिशतमात्र गरिरहेको छ । क्युवाको सरदर आयु ७९ वर्ष छ भने नेपालको ७० र संरा अमेरिकाको ७६ छ । क्युवाको शिशु मृत्युदर प्रति १ हजारमा ४ छ भने नेपालको २६.७ छ । उता अमेरिकाको शिशु मृत्युदर ५.७ छ । यस मानेमा अमेरिकाको भन्दा क्युवाको स्वास्थ्य स्थिति राम्रो भन्ने पुष्टि हुन्छ । नेपालको तुलना अलि टाढाको कुरा ।
क्युवामा कुनै पनि नागरिकले चिकित्सक भेट्नुपरेमा २० मिनेटभन्दा बढी हिँड्नु पर्दैन । बस्तीबस्तीमा स्वास्थ्य केन्द्र (कन्सल्टोरियम) हुन्छन् । कन्सल्टोरियममा चिकित्सक र नर्सहरू हुन्छन् । एउटा कन्सल्टोरियमले करिब डेढसय परिवारको स्वास्थ्य रेखदेख गर्ने जिम्मेवारी लिएको हुन्छ । ती स्वास्थ्यकर्मीहरू वर्षमा कम्तीमा एकपटक नागरिकको घर पुग्छन् । घरको सरसफाइ, वातावरण, भेन्टिलेसन, कोठामा उपलब्ध प्रकाशसमेतको मूल्याङ्कन गर्ने जिम्मेवारी तिनै स्वास्थ्यकर्मीले वहन गरेका हुन्छन् । असक्त तथा ज्येष्ठ नागरिकको निम्ति भने घरघर गएर उपचार गरिरहेका हुन्छन् । कन्सल्टोरियमका डाक्टर तथा नर्सहरू एक किसिमले ‘फ्यामली डाक्टर’ हुन् । त्यस्ता कन्सल्टोरियमहरूको देशभर सञ्जाल हुन्छ ।
पोलिक्लिनिक अथवा अस्पतालमा भने धेरै विशेषज्ञहरू हुन्छन् । यहाँ पनि चौबीसै घन्टा उपचार सेवा उपलब्ध हुन्छ । ३–४ कन्सल्टोरियम बीच एक अस्पताल हुन्छ । यस मानेमा ४५०–६०० परिवारको निम्ति एउटा अस्पताल उपलब्ध हुन्छ । देशभर ५ सय अस्पताल छन् ।
क्युवाको ल्याटिन अमेरिकी चिकित्सा स्कुल विश्वको सबभन्दा ठूलो चिकित्सा कलेज हो । यसमा विश्वका ११० देशका २० हजार विद्यार्थी अध्ययन गर्छन्, क्युवामा चिकित्साशास्त्र अध्यापन हुने १३ विश्वविद्यालय छन् भने २६ कलेजहरू छन् । नागरिकले चिकित्सा शिक्षा लिन अर्को राज्य जानु पर्दैन, न त नोकरी गर्न नै । ६ वर्षे चिकित्सा शिक्षाको दुई वर्ष बितेपछि अस्पतालहरूमै पढाइ र अभ्यास हुनथाल्छ । अस्पतालका डाक्टरहरू नै शिक्षक हुन्छन् । विद्यार्थी दिनभरजसो नै शिक्षकसँग हुन्छन् । बिहानको कक्षादेखि उपचार कार्यसम्म शिक्षकको रेखदेखमा हुन्छन् । कार्य विभाजनले गर्दा उपचार राम्रो हुन्छ । विद्यार्थी सुरुआतमा जेनरल फिजिसिअन हुन्छन्, त्यसपछि विशेषज्ञता हासिल गर्छन् । क्युवामा २० प्रतिशत चिकित्सक विशेषज्ञ छन् ।
क्युवाले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिने नीति अपनाएको छ । त्यसको निम्ति वातावरणीय सरसफाइ, नागरिकको निम्ति उचित पोषणको बन्दोबस्त, स्वस्थकर खाद्यपदार्थको वितरणजस्ता उपाय अपनाइएको छ । साथै, रोगको सुरुआती चरणमै उपचारको व्यवस्था लागू छ । त्यसैले क्युवालीहरू स्वस्थ छन् ।
अन्तर्राष्ट्रवादी क्युवा
सन् २०१६ नोभम्बर २५ मा दक्षिण अमेरिकी देश क्युवाका नेता फिडेल क्यास्ट्रोको निधन भयो । फिडेलप्रति श्रद्धाञ्जली अर्पण गर्न उत्तर अफ्रिकी देश अल्जेरियामा आठ दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरियो । फिडेलको मृत्युले अल्जेरियाली जनताको निम्ति ठूलो क्षति पुगेको भन्दै क्युवाको नाममा शोकसन्देश पनि पठाइयो । वास्तवमा क्युवालाई परेको शोकले अल्जेरियालाई पनि दुखेको थियो ।
अल्जेरिया फ्रान्सको उपनिवेश थियो, सन् १९६२ मा अल्जेरिया स्वतन्त्र भयो । क्युवा पनि भर्खर मुक्त भएको थियो । तर, क्युवाले अल्जेरियाको स्वतन्त्रता आन्दोलनलाई सहयोग ग¥यो । सन् १९५४ बाट थालिएको अल्जेरिया स्वतन्त्रता युद्धले विजय प्राप्त गरेपछि अल्जेरियामा रहेका ३ हजार चिकित्सकहरूले देश छोडे । तीमध्ये बहुसङ्ख्यामा फ्रान्सेली चिकित्सक थिए । स्वास्थ्य उपचारको क्षेत्रमा अल्जेरियाले चरम सङ्कटको सामना गर्नुप¥यो । सन् १९६३ मे २३ को दिन ५६ जनाको पहिलो क्युवाली चिकित्सा टोली अल्जेरिया पुग्यो । आज कम्तीमा एक हजार क्युवाली चिकित्सक एवम् स्वास्थ्यकर्मी अल्जेरियामा स्वास्थ्यसेवा दिइरहेका छन् । यसरी तेस्रो विश्वभर क्युवाको सहकार्यको बाटो अल्जेरियाबाटै खुलेको थियो । विगत ६० वर्षमा क्युवाका ४ लाखभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीले विश्वका १६४ देशमा स्वास्थ्य उपचारको सेवा पु¥याएका छन् । अन्तर्राष्ट्रवादी भावना नै क्युवाली मुख्य विशेषता हो, यही मुख्य शिक्षा पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *