भर्खरै :

भियतनामी साहसी केटी ता थी कियू

पुस्तक ‘ता थी कियू ः बेन्ट्रीकी एक साहसी केटी’ अर्थात् TA THI KIEU An heroic girl of Bentre दक्षिण–पूर्वी एसियाको एउटा सानो देश भियतनामको इतिहास उजिल्याउने पुस्तक हो । लेखक पान थी न्हु बाङ(PHAN THI NHU BANG) ले ता थी कियू अर्थात् ली (Ly) को सङ्घर्षशील जीवनसँगै दक्षिण भियतनाममा साम्राज्यवादविरुद्धको भियतनामी गुरिल्ला युद्धको शब्दचित्र प्रस्तुत गरेका छन् । दक्षिण भियतनामी जनताको सङ्घर्षमा केन्द्रित यस पुस्तक सन् १९६६ मा प्रकाशित भयो । बहादुर लडाकू ली (Ly) को जीवन सङ्घर्षमा प्रवेश गर्नुअघि दक्षिण भियतनाममा साम्राज्यवादविरोधी सङ्घर्षको ऐतिहासिक पृष्ठभूमि उजागर गर्नु उपयुक्त हुन्छ ।
भियतनामको स्वतन्त्रता भियतनामी जनताको सङ्घर्षशील इतिहासको उपज हो । आप्mनो देशको मुक्तिका निम्ति भियतनामी जनताले लामो समय फ्रान्सेली उपनिवेशवादविरुद्ध लडे, जापानी आक्रमणहरूको सामना गरे र अमेरिकी साम्राज्यवादविरुद्ध निर्भिकतापूर्वक जुझे । नेता हो चि मिन्हको नेतृत्वमा भएको भियतनामी क्रान्ति र त्यसपछिको भियतनामी युद्धकालमा विभिन्न मोर्चा, सङ्गठनमा रहेर देश र जनताको मुक्तिको गाथा लेख्ने लडाकूहरूको नाम इतिहासमा अमर छ ।
सन् १९४५ सेप्टेम्बरमा भियतनामको स्वाधीनता घोषणा भयो । भियतनामबाट फ्रान्सेली सेना भागे । जापानीले आत्मसमर्पण गरे र राजा बाओदाई अपदस्थ गरिए । सन् १९४६ मा निर्वाचन सुरु भयो । संविधान बन्यो । तर, भियतनामविरुद्ध ती उपनिवेशवादीहरू पुनः सङ्गठित बने । जापानी र फ्रान्सेली साम्राज्यवादीहरूले सङ्गोेन र दक्षिण भियतनाममा युद्ध भड्काए । संरा अमेरिका भियतनामको कम्युनिस्ट आन्दोलन बिथोल्न प्रपञ्च रच्दै थियो । संरा अमेरिका भियतनाममा फ्रान्सेली साम्राज्यवादको ठाउँ लिन चाहन्थ्यो । संरा अमेरिकाले डोमिनो प्रभाव (Domino effect) को नीति लिएको थियो । कोरिया, भियतनाम, काम्बोडियामा कम्युनिस्ट व्यवस्था आइसकेपछि लावस, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, भारतलगायतका देशमा प्रभाव पर्ने डरले अर्थात् अन्य मुलुकमा कम्युनिस्ट आन्दोलन रोक्न पहिला भियतनाम, कम्बोडिया र कोरियाको कम्युनिस्ट सरकार ढाल्नुपर्छ भन्ने नीति  ‘Stop the first to save the rest’ को नीति संरा अमेरिकाले लिएको थियो । फ्रान्सेली सेनाले उत्तर भियतनामको रणनीतिविरुद्ध डीयन वीयन फू कब्जा गर्न खोज्दा संरा अमेरिकाले दक्षिण भियतनाममा लाखौँ टन युद्ध सामग्री, हजारौँ टैङ्क हातहतियार र सेना उता¥यो । यो सन् १९५३ तिरको सन्दर्भ हो । त्यतिबेलादेखि संरा अमेरिकाले भियतनाममा सैन्य आर्थिक सहयोगको खोला बगायो । सन् १९५४ मा साम्राज्यवादीहरूले डीयन वीयन फुमा घँुडा टेकेपछि जेनेभा सम्झौता भयो । सम्झौतामा भियतनाम एक सार्वभौम देश हुने, १७ औँ समानान्तर रेखाको उत्तरमा प्रजातान्त्रिक गणतन्त्र भियतनाम रहने, दक्षिणमा सङ्गोन सरकार हुने, समानान्तर रेखा अस्थायी हुने र ३६५ दिनभित्र महानिर्वाचन गर्नुपर्ने प्रावधानहरू सम्झौतामा थिए । तर, संरा अ‍ेमेरिकी राष्ट्रपति आइजनहावरले सम्झौता मान्न बाध्य नहुने अभिव्यक्ति दिए । साथै, हङकङमा बसिरहेका सत्ताच्यूत राजा बाओदाईसँग सम्झौता गरी दक्षिण भियतनाममा अमेरिकी सेना उतारे । संरा अमेरिकाले नै १ अक्टोबर १९५४ मा न्गो डिन्ह डीमलाई राष्ट्रपति बनाई एउटा कठपुतली सरकार खडा ग¥यो । सन् १९५४–१९६० सम्म एक किसिमको अघोषित युद्ध चल्यो जसमा ८० हजार जनताको हत्या भयो । हजारौँ घाइते भए र लाखौँ लाखले कारागार तथा शारीरिक यातना भोगे । संरा अमेरिकाले भियतनाममा दोस्रो विश्वयुद्धमा जति नै हातहतियार र बम वर्षा गरेको थियो । नापाम बम, विषालु रसायनिक एजेन्ट ओरेन्ज, किटाणु युद्ध, हवाइजहाज र हेलिकप्टरबाट पेट्रोल छर्केर जङ्गलमा आगो लगाउने जस्ता सम्पूर्ण युद्ध अपराधहरू भियतनामविरुद्ध संरा अमेरिकाले गरेको थियो । यसरी सन् १९५४ देखि सन् १९६४ सम्म विशेषत ः दक्षिण भियतनामलाई केन्द्रमा राखी भएको अघोषित युद्ध र विशेष युद्धमा थुप्रै भियतनामी योद्धाहरूले बहादुरीपूर्वक लडे । तीमध्ये एक ता थी कियू अर्थात् ली हुन् । बेन्ट्रीकी साहसी केटीको रूपमा चिनिने ली दक्षिण भियतनामकी एक साधारण युवा महिला थिइन् । अन्य थुप्रै युवाझैँ उनी पनि दक्षिण भियतनाम राष्ट्रिय मुक्ति मोर्चाको झन्डामुनि बसी आप्mनो देश भियतनामको स्वतन्त्रता र पुनः एकीकरणको निम्ति लडिन् । उनले देशको मुक्ति र जनताको सुखलाई आप्mनो उद्देश्य बनाइन् । साम्राज्यवादीहरूले थोपरेका विभत्स र विकृतिपूर्ण अपराधहरूका प्रत्यक्षदर्शी हुन्, उनी । उनले अन्यायपूर्ण युद्धका अपराधहरूको दृश्यलाई शत्रुविरुद्ध लड्ने ऊर्जामा बदलिन् । सङ्घर्षको मैदानमा उनको योगदानको कदर गरी सन् १९६५ मा मुक्ति सेना तेस्रो तहको उपाधी प्रदान गरिएको थियो । त्यतिमात्र होइन दक्षिण भियतनाम सैन्य मुक्ति बल मोर्चाका नायिकाको उपाधी समेत पाइन् । २७ वर्षको उमेरमै देशका निम्ति अग्रपङ्क्तिमा उभिएर लड्ने र जित्ने लीको जीवनका केही
अध्यायबारे चर्चा गर्नु प्रेरणादायी नै होला ।

किसान र गरिब परिवारमा जन्मिएकी ली (१९३८–२०१२) सानै उमेरदेखि अत्यन्त परिश्रमी स्वभावकी थिइन् । दिनभर घर र खेतको काममा परिवारलाई सघाउँथिन् र राती–राती देशका शत्रुहरूविरुद्ध सङ्घर्षको मोर्चामा सहभागी हुन्थिन् । दक्षिण भियतनामको कठपुतली सरकारको विरोधमा, जेनेभा सम्झौता कार्यान्वयन गर्ने माग गर्दै साम्राज्यवादीहरूको हमला र नरसंहारविरुद्ध नाराहरू लेखिएका पम्प्लेट टाँस्ने र पर्चा छर्ने कार्यमा सरिक हुन्थिन् । बुबाआमाले छोरी मान्छे भएर राती–राती हिँड्नुहुँदैन भनी रोक्न खोज्थे तर उनी मान्दिनथिन् । उनका दाजुहरू पनि क्रान्तिकै निम्ति सेनामा थिए । राती थोरै मात्र सुतेर भियतनामी लडाकू र कार्यकर्ताहरूलाई सघाउनुपर्ने उनको मान्यता थियो ।
एक दिन उनलाई उनका बुबाले सम्झाउँदै भने, “तिमीलाई हामीले क्रान्तिबाट टाढा राख्न खोजेको होइन । तर, जबदेखि शत्रुले आप्mनो आपराधिक आक्रमण दोब्बर बढायो तबदेखि तिम्रोबारे आमा र म असाध्यै चिन्तित छौँ । तिमीलाई शत्रुले कैद गरे के गछ्र्यौ ? उनीहरूले दिएको यातना सहन नसकेर तिमीले भियतनामी कार्यकर्ताहरूको गतिविधिबारे मुख खोल्नेछ्यौ र क्रान्तिलाई ठूलो क्षति हुनेछ । त्यसकारण, एक असल नागरिक मात्र भएर क्रान्तिलाई सघाऊ ¤” उनले तत्काल जवाफ दिइन्– “तपाईँ चिन्ता नलिनुस् बुबा, मलाई बरु मृत्यु स्वीकार्य छ तर मेरो देश र यहाँका मानिसबारे केही बताउँदिनँ ।” लीलाई सानैदेखि ज्ञान थियो कि सङ्घर्षको बाटो अत्यन्त कठिन हुन्छ, आँधीहुरी, घामपानीबीच हिँड्नुपर्छ । उनलाई आमाबुबाको वचन नराख्नुभन्दा देशका निम्ति नलड्नु अपराध लाग्थ्यो । आप्mनो परिवार, गाउँ र देशमा शान्ति र सुख ल्याउन सानैदेखि प्रतिबद्ध लीका ४ दाजुहरू धनी परिवारमा नोकरी गर्थे भने एक दिदी र सानो भाइसँगै उनी आमाबुबासँग बस्थिन् । अत्यन्त अभावका कारण लीले कहिल्यै विद्यालय टेक्न पाइनन् ।
गाउँको वातावरण झन्झन् असह्य बन्दै गयो । शान्ति कागजमा मात्रै सीमित थियो । दमन व्यापक बन्यो र रगतको खोला प्रशस्त बग्यो । ७० नाघेका लीका आमाबुबाजस्ता गाउँलेहरूको अनुहारमा निराशा र अपमानित हुनुको पीडाका रेखाहरू बढ्दै गयो । त्यही समय लीले क्रान्तिकारी क्रियाकलापमा सक्रियता बढाइन् । सन् १९६० अप्रिलमा जनक्रान्तिकारी युवा सङ्घमा प्रवेश पाइन् । २२ वर्षको उमेरमा बल्ल सङ्गठित हुन पाउँदा उनी असाध्यै खुसी भइन् । यसअघि उनलाई सङ्गठनले सानी भनी उपेक्षा गरेको थियो । अनुशासन, धैर्य र गोपनीयताका थुप्रै परीक्षा पार गर्दै बल्ल पार्टीको झन्डामुनि गोलबद्ध हुने अवसर लीले पाएकी थिइन् ।
दक्षिण भियतनाममा जनताविरुद्ध खटाइएका भाडाका सेनाले आपराधिक गतिविधि बढाउँदै लगे । नेता हो चि मिन्हले निर्माण गरेको भियतनामी गुरिल्ला (भियतकङ) विरुद्ध भाडाका सेना निर्मम आक्रमण गरिरहन्थे । त्यतिमात्र होइन गाउँका छोरीहरूलाई बलात्कार गर्थे । एकपटक लीकी १२ वर्षकी बहिनी बलात्कृत हुँदा उनीमाथि मोर्चा छोड्ने दबाब थपिएको थियो । तर, उनी झनै बलियो भई उभिइन् ।
ली दुश्मनहरूको ठिक–ठिक र विस्तृत जानकारी सङ्कलन गरी प्रवाह गर्न सिपालु थिइन् । सन् १९५८ मा ठूलो सङ्ख्यामा भियतनामी जनकार्यकर्ता समातिए । सङ्गठनले ली सानी भएकी कारण गोप्य कुरा सुनाउँदैनथ्यो । एकपटक त्यही विषयमा उनले पार्टीले अविश्वास गरेकोमा गुनासो पोखिन् । क्रान्तिप्रतिको आप्mनो दृढता कायम राखिन् ।
सन् १९५९ तिर शत्रुले लीको घरभन्दा ३०० मिटर पर हवाई मैदान निर्माण गर्न लाग्दा सारा गाउँलेलाई एकजुट बनाई शत्रुलाई लखेट्न सफल भइन् । आप्mनोे जमिनको सुरक्षा आपैmले गर्नुपर्छ भन्दै गाउँलेहरू आन्दोलनमा उत्रेको त्यो समय लीको जीवनमा एउटा महत्वपूर्ण मोड थियो । त्यसले उनलाई क्रान्तिप्रति अझ दृढसङ्कल्पित बनायो ।
ली सफलतापूर्वक पाइला – पाइला गरी कम्युनमा निर्वाचित भइन् । लीलाई राम्रो ज्ञान थियो कि क्रान्तिको बाटो सैन्य सङ्घर्षमात्र नभएर राजनीतिक सङ्घर्ष पनि हो । निर्दयी र निर्मम शत्रुसामु निर्धक्क उभिन सक्ने लीले महिलाहरूलाई सङ्गठित गर्ने र लडाकू बनाउने आन्दोलन अगाडि बढाइन् । अधिकांश युवा उत्तर भियतनामी सेनामा थिए । गाउँमा महिलाको बाहुल्य रहेको हुँदा लीले एकपटक थोम बजारको शत्रु क्याम्पमा हमला गर्न सयजना महिलालाई एक साथ सहभागी गराइन् । सुरुसुरुमा ग्रामीण महिलाहरूबीच आन्दोलनका गतिविधि गर्न निकै कठिन थियो । ठूलो परिवार त्यसमाथि अत्यन्त गरिब परिवारका महिलाहरूले खेत र घरमा काम नगरी चुल्हो बल्दैनथ्यो । त्यो परिस्थितिमा क्रान्तिका निम्ति महिला शक्ति परिचालन असम्भव जत्तिकै थियो तर लीले प्रयास रोकिनन् । एक पटक एक महिला प्रदर्शनीमा सहभागी हुँदा उनको छोरा पोखरीमा खस्यो । पछि ती महिलालाई परिवारले आन्दोलनमा सहभागी हुन दिएन । सम्पूर्ण गाउँमा त्यो घटनाले नराम्रो प्रभाव पा¥यो । ली घर–घरमा गई सम्झाउँथिन् ।
क्रान्तिको गतिविधि विकसित हुँदै गयो । ली भूमिगत प्रतिरक्षा एकाई निर्माणमा अगाडि बढिन् । पहिलो एकाईमा ४ पुरुष ५ महिला राखिन् । क्रान्तिमा महिला सहभागिता र नेतृत्वका थुप्रै दृष्टान्त पुस्तकमा छन् ।
उनीमाथि आमाको दबाब समयक्रमले पनि कम भएन । विवाहको लागि दबाब दिइरहिन्, आमाले । आप्mनो निम्ति रोइरहेकी आमालाई भनेकि थिइन् – “क्रान्तिको आवाजलाई सुन्नु नै तपाईँलाई सुन्नु हो, आमा ¤ यदि म उद्देश्यबाट विमुख भएँ भने त्यो देश र जनताविरुद्ध सबैभन्दा ठूलो गल्ति हुनेछ । त्यो तपाईँप्रतिको पनि विश्वासघात हो, आमा ¤” उनी देशको पुनः एकीकरणपछि मात्रै विवाह गर्छु भन्थिन् ।
उनीमाथि पार्टी सचिवले ‘सैन्य सङ्घर्षको मात्रै कुरा गर्ने’ केटी भनी आलोचना पनि गरेका थिए । तर, लीले रात–दिन नभनी, अनिँदो रात नभनी तालिम गरिन् । राइफल, हाते बम चलाउन, बक्सिङ सिक्न सक्रिय रहिन् । गुरिल्लासँग निकै थोरै हातहतियार हुन्थ्यो । शत्रुको तुलनामा निकै कम । हातहतियारको अभावकै कारण धेरै पटक पछाडि हट्नुपरेका घटनाहरू पुस्तकमा छन् । लीले लड्दालड्दै आप्mना कामरेडहरू गुमाएकी थिइन् । महिलाहरूको प्रदर्शनी आयोजना गर्दा शत्रुको कब्जामा परेका ८ सय महिलाको एकै साथ कपाल काटिदिएको अपमानजनक घटना भोगेकी थिइन् । आप्mनै कामरेडहरूबाट महिला भएकै कारण शत्रुको अखडाबाट विजय प्राप्त गरी फर्कन सक्दिनौ भन्ने चुनौतीको सामना गरेकी थिइन् । तर, उनी साहस र धैयैकी प्रतिमूर्ति साबित भइन् । उनले भनेकि थिइन् – “मेरो शरीरमा अन्तिम थोपा रगत बाँकी रहुन्जेल म देश र जनताको निम्ति बलिदानी दिन तयार छु ।”
उनी युद्धमैदानमा छिटो र चुस्त निर्णय लिनसक्ने नेतृ साबित भइन् । उनी शत्रुको छापा, किल्ला, क्रूरता र जबरजस्ती सदस्यताको नीतिविरुद्ध लडिन् । कहिले पछाडि हटेर त कहिले सीमित हातहतियारबीच पनि लडेर विजयी भइन् । यसरी सैन्य सङ्घर्ष, राजनीतिक सङ्घर्ष, कठपुतली सैन्य टोलीविरुद्धको आन्दोलन, आन्दोलन र सङ्घर्षमा महिला सहभागिताका लागि लीको योगदानलाई पछि दक्षिण भियतनामको गुरिल्ला महासम्मेलनले सम्मान ग¥यो । सन् १९६४ जनवरी ९ मा ली नेतृत्वको ९ महिला गुरिल्ला समूहले दुई मिलिसियामेन छिउ (Quio) र कि नाम (Ky Nam) को सहयोगमा थोम पोस्ट (Thom Post) कब्जा गर्न सफल भयो । पछि महासम्मेलनले नै उनलाई बेन्ट्री प्रदेशकी नायिका घोषणा गरेको हो ।
लीको जीवनले देश र जनताका निम्ति समर्पणको शिक्षा दिन्छ । साथै, युवा महिलाहरूमा सैन्य भावना, राजनीतिक सुझबुझ, देशप्रेमको आवश्यकता र क्रान्तिप्रतिको विश्वास अवगत गराउँछ । भियतनामको गौरवशाली इतिहास र लीको जुझारू जीवन वास्तवमै पठनीय छ । पुस्तकमा लेखकले उतारेको लीको व्यक्तित्व अनुकरणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *