भर्खरै :

स्थापनाको ९९ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी

अझ छिचोल्नुपर्ने पहाड धेरै छन्
पेइचिङ, १ जुलाई । सन् १९२१ को जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो ९९ औँ स्थापना दिवस धुमधामसँग मनाइरहेको छ । कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीबीच चीनलाई हरेक हिसाबबाट मध्यम ढङ्गले समृद्ध समाज बनाउन आज चिनियाँ कम्युनिस्ट पार्टी प्रतिबद्ध भएर लागिरहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो पूर्वनिर्धारित योजनाअनुसार १ अर्ब ४० करोड चिनियाँ जनताको लागि सम्पन्न समाज निर्माण गर्ने पहिलो शताब्दी लक्ष्य सफलतामा दृढता दोहो¥याएको छ ।

शान्सी प्रान्तको एउटा गाउँमा गाउँले जनतासँग भेट्न जाँदै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ


स्थापनाकालमा निकै छोटो आयुमात्र हुने ठानिएको चिनियाँ कम्युनिस्ट पार्टीले सबै खालका गलत बुझाइ, अविश्वास र न्यूनाङ्कनसमेतलाई चिरेर आज संसारमै चमत्कार देखाउन सफल बनेको छ ।
आज संसार अनिश्चयको घेराले घेरिएको छ । स्थापित भनिएका शासक व्यवस्थाहरूमाथि एकपछि अर्को प्रश्न उठेका छन् । यस्तो परिस्थितिमा चिनियाँ कम्युनिस्ट पार्टीको विचार र व्यवहार अन्तर्राष्ट्रिय समुदायको आँखामा अझ सान्दर्भिक र उत्साहप्रद बनेको छ ।
स्थापनाका आधारप्रति दृढ
सन् १९२१ को जुलाई १ मा पार्टी स्थापना भए यता चिनियाँ कम्युनिस्टहरूले चिनियाँ जनताका सपना साकार बनाउन लगातार सङ्घर्ष गरिरहेका छन् । चिनियाँ राष्ट्रको पुनः उत्थानको लागि कम्युनिस्ट पार्टी अहोरात्र काम गरिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको सात दसकपछि चीनलाई उपेक्षित कृषिप्रधान समाजबाट संसारकै दोस्रो ठुलो खुला अर्थतन्त्र बनाउन सफल भएको छ ।

चीनको सर्वोच्च व्यवस्थापिका नेसनल पिपुल्स काङ्ग्रेसको ते¥हौँ अधिवेशनमा सहभागी चीनका विभिन्न आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने महिला सांसदहरू


आज चिनियाँ कम्युनिस्ट पार्टी हजारौँ वर्षदेखि चीनलाई गाँजेर बसेको पूर्ण गरिबीको रोगलाई जरैदेखि उखेलेर फाल्ने लडाइँमा लागेको छ । चीनले मूलधारमा अँगालेको साझा समृद्धिको प्रवाहमा कुनै एउटा परिवार पनि नछुटोस् भनेर आज कम्युनिस्ट पार्टीले आफ्ना सबभन्दा अब्बल कार्यकर्तालाई कार्यक्षेत्रमा परिचालन गरेको छ । जनताकेन्द्रित दर्शनमा दृढ चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, आवासदेखि वातावरण, सुरक्षा, न्याय र निष्पक्षताजस्ता विषयमा उत्तम जीवनको जनचाहना पूरा गर्ने काममा कहिल्यै थाक्नेछैन ।
पार्टीको आफ्नो कुनै अलग स्वार्थ छैन । कसैले निहित स्वार्थ राखेर काम गरिरहेको अवस्थामा त्यस्तो दुष्चक्र भत्काउन चिनियाँ कम्युनिस्ट पार्टी कहिल्यै डराएन । विकासमा अवरोध सिर्जना गर्ने तगारालाई पन्छाउँदै पार्टी अघि बढेको छ । त्यसकारण चिनियाँ कम्युनिस्ट पार्टी रणनीतिक र व्यावहारिक दुवै कोणबाट चिन्तन गर्न सक्षम छ । पार्टीको नेतृत्वले देशको दिगो भविष्यलाई सधैँ ध्यान दिइरहेको छ । त्यसको निम्ति दीर्घकालीन योजना बुन्ने गरेको छ । साथै अल्पकालीन लक्ष्यअन्तर्गत जनतालाई सबभन्दा खाँचो परेको विषय समाधानको निम्ति पनि चिनियाँ कम्युनिस्ट पार्टीको अग्रसरता रहँदै आएको छ ।
पिउ अनुसन्धान केन्द्रले हालै गरेको एक सर्वेक्षणअनुसार सरकारको कामप्रति जनतामा सन्तुष्टि भएका देशमा सन् २०१९ मा सबभन्दा अग्रस्थानमा चीन परेको छ । चीनमा ८६ प्रतिशतभन्दा बढी जनताले आफ्नो सरकारका कामप्रति सन्तोष व्यक्त गरेका थिए । विश्वव्यापी औसत भने मात्र ४७ प्रतिशत रहेको सो अनुसन्धानले देखाएको छ ।
आफ्नो पथमा दृढ
चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा सफलताको आधार बनाएको छ । औपचारिकरूपमा त्यसलाई ‘चिनियाँ विशेषताको समाजवाद’ भनिन्छ । यो बाटो चीनको परिस्थितिअनुकूलको बाटो हो ।
यही बाटो पछ्याउँदै चीनले सुधार र खुलापनको नीति अघि बढाएको छ । स्रोत परिचालनमा बजारको निर्णय भूमिका हुने र सरकारले पनि आफ्नो दायित्व पूरा गर्ने बजार सरकार सम्बन्धले चुस्त र स्वस्थ आर्थिक विकासलाई अघि बढाउने गरेको छ । स्थायित्व कायम रहेको छ । सामाजिक सिर्जनशीलता फैलिएको छ । ‘जनताले चलाएको देश’ चीनको राजनीतिक र सामाजिक गतिविधिमा अभ्यास गरिएको छ ।
चीन सघन अनुसन्धान, ठुलो आकारको मध्यम वर्ग, समृद्ध सांस्कृतिक जीवन र दरिलो आत्मविश्वासका साथ चुनौतीहरू सामना गर्न क्षमतावान भएको पुष्टि भइरहेको छ । कोरोना भाइरसले ल्याएको मन्दीको कारण विश्व अर्थतन्त्र ४.९ प्रतिशतले खुम्चिएको छ । तर, चीनको अर्थतन्त्र भने यो वर्ष पनि फैलिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले गरेको पूर्वानुमानअनुसार यसरी मन्दीको बीच पनि आर्थिक वृद्धि हुने एउटै देश चीन बनेको छ ।
शुद्धीकरण, प्रगति, सुधारको क्षमता
आत्मसुधार र कडा आत्मानुशासन गर्न हिम्मत गर्नसक्नु चिनियाँ कम्युनिस्ट पार्टीको सबभन्दा मूल विशेषता हो ।
राजनीतिक सत्ता कब्जा गर्ने र अन्ततः गुमाउने ऐतिहासिक चक्रमा असफल बनेका धेरै राजनीतिक शक्तिबाट चिनियाँ कम्युनिस्ट पार्टीले पाठ सिकेको छ । पार्टीले अनुशासनमा कडाइ, कार्यशैलीमा सुधार, भ्रष्टाचारको विरोध र गलत काम गर्नेलाई सजाय गर्दै आएको छ । चीनले बृहत् संस्थागत सुधारमा सफलता हासिल गरेको छ । यो सुधारले पार्टी र राज्यलाई पनि समेटेको छ । अनि भविष्यको बाटो कोरेको छ । यो आत्मसुधारको प्रक्रिया कहिल्यै पनि अन्त्य हुनेछैन ।
चिनियाँ कम्युनिस्ट पार्टी सिक्ने र व्यवहारमा उतार्ने बलियो क्षमता भएको चलायमान सङ्गठन हो । यसले सैद्धान्तिक अन्वेषणलाई अघि बढाउँदै चिनियाँ परिस्थितिमा माक्र्सवादको प्रयोग गरिरहेको छ । आफँैलाई सुधार गरेर चिनियाँ कम्युनिस्ट पार्टीले अनुसन्धानमुखी, समन्वयात्मक, वातावरणमैत्री, खुला र साझा विकासतिर देशलाई डो¥याइरहेको छ ।
एकता र सान्दर्भिकतामा जोड
चिनियाँ कम्युनिस्ट पार्टीले प्रजातान्त्रिक केन्द्रीयताको सिद्धान्त अङ्गीकार गर्दै आएको छ । यसले पार्टीभित्र प्रजातन्त्रको अभ्यास गराउँछ । यो पद्धतिअन्तर्गत सबै तहका पार्टी सङ्गठन र सदस्यको पहल र रचनात्मकतालाई पार्टीले स्थान दिन्छ । पार्टीले कुनै एउटा निर्णय गरिसकेपछि भने सबैले सो निर्णय कार्यान्वयनको लागि दिलोज्यान दिएर लाग्नुपर्छ ।
पार्टीले सबै क्षेत्रमा समग्र नेतृत्व र समन्वयात्मक कार्य गर्दै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, जनकाङ्ग्रेस, सरकार, नियमनकारी निकाय, न्यायपालिका, कार्यान्वयनकारी निकाय र सामाजिक सङ्गठन सबैबीच समन्वय गरेर काम हुने गरेको छ ।
जटिल राष्ट्रिय परिस्थिति भएको ठुलो देशको सन्दर्भमा यस्तो संरचना विशेषरूपमा महत्वपूर्ण हुने गर्दछ । महामारी रोकथाम र नियन्त्रण, प्राकृतिक प्रकोपमाथिको जीत र अल्पसङ्ख्यक आदिवासी जनताको विकासमा सहयोगजस्ता प्रमुख समस्या समाधानको लागि यो प्रणालीको प्रभावकारिता अपरिहार्य छ ।


श्वासप्रश्वास रोगका विशेषज्ञ चिकित्सक चोङ नानशान चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यताको लागि सपथग्रहण गर्दै ।


कम्युनिस्ट पार्टीले सक्षम र निपुण कार्यकर्ताको दस्ता तयार पारेको छ । पार्टीको लक्ष्य हासिल गर्ने उनीहरू नै मुख्य आधार हुन् । कार्यकर्ता छनोट र नियुक्तिमा विशेष साङ्गठनिक प्रबन्धले पार्टीको केन्द्रीय समितिको नेतृत्वमा केन्द्रिकृत र एकीकृत नेतृत्व सुनिश्चित गर्दछ । पार्टीमा नीतिगत स्थायित्व र निरन्तरतालाई बलियो बनाएको हुन्छ । त्यसले नै प्रगतिको मार्ग उजागर गर्छ ।
विश्वव्यापी चिन्तन
चिनियाँ कम्युनिस्ट पार्टी अरू देशको विकासको अनुभव सिक्न पनि सधैँ खुला मनले तत्पर रहने गरेको छ । साथै आफ्ना अनुभव पनि दिनानुदिन एकआपसमा जोडिंदै गएको संसारलाई सिकाउन उत्सुक छ । चीनले विश्वको बहुधु्रवीयता, आर्थिक विश्वव्यापीकरण, सूचना प्रविधिको विकास र सांस्कृतिक विविधताको प्रवाह अङ्गीकार गरेको छ ।
पार्टी मानिसको साझा भविष्यको समुदाय निर्माणमा प्रतिबद्ध छ । चीन विश्व र क्षेत्रीय मुद्दा, धन र व्यापारमा असमानता, जलवायु परिवर्तनमा लगानी, आतङ्कवाद र शान्ति स्थापना आदि विषयमा आफ्नो पूरा शक्ति खर्च गर्न तत्पर छ ।
चीनको कम्युनिस्ट पार्टीले चिनियाँ जनताको मात्र सेवा गरिरहेको छैन, बेल्ट एन्ड रोड परियोजनामार्फत सारा संसारकै विकासमा योगदान गरिरहेको छ । इजिप्टको कम्युनिस्ट पार्टीका महासचिव सलह एड्लीले भने, “चीनले आपसी हित, शान्ति र समृद्धिमा आधारित अन्तर्राष्ट्रिय रणनीति अङ्गीकार गरेको छ ।”
चीन आज तीव्रगतिमा संसारकै केन्द्रीय बिन्दुमा पुग्दै छ । राष्ट्रिय पुनःजागरणको गन्तव्यमा यसअघि भन्दा गतिवान भएर अघि बढिरहेको छ ।
चीन आज आफ्नो पहिलो शताब्दी लक्ष्य पूरा गर्ने नजिक पुग्दै छ । तथापि कठिनाइका पहाडहरू अझ आँखै अघि छन् । चीन अझै पनि संसारकै सबभन्दा ठुलो विकासशील देश हो । उसले आज जटिल बाह्य परिस्थितिको सामना गरिरहेको छ । विशेषतः संरक्षणवाद र एकपक्षवादले आज संसारमा अनिश्चयको बीजारोपण गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले अझ अर्को ठुलो लक्ष्य हासिल गर्न आफूलाई बलियो बनाएर अघि बढ्न जरुरी छ । त्यो लक्ष्य हो–चीनलाई महान्, आधुनिक, समाजवादी देश बनाउने । जुन देश समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिकरूपमा अघि बढेको छ, त्यो देश सद्भावपूर्ण र सुन्दर हुनेछ ।
९९ वर्ष पुग्दै गर्दा चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ युगको लागि इतिहासले गरेको आह्वानलाई नयाँ जवाफ दिन थालेको छ ।
(सिन्ह्वाबाट अनुदित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *