भर्खरै :

सिद्धान्तहीन एकताको कन्तबिजोग

सिद्धान्त र समाजवादको लागि एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन । दुवै मिल्दा सत्ताभोग गर्न सकिने गणितले नै दुई दललाई एकताको नाटक गर्ने स्थानमा पु¥याएको थियो । कम्युनिस्ट पार्टीहरूबीचको एकताको आधार सिद्धान्त, विचार र लक्ष्यमा समानता हुने गर्छ । तर, एमाले र माओवादी केन्द्रबीच भएको ‘एकता’ अघि सिद्धान्त र लक्ष्यमा समानता खोजिएको थिएन न कुनै वैचारिक बहस र मन्थन नै भएको थियो । एमाले र माओवादी केन्द्र अलग अलग चुनाव लड्दा दुवैले नजित्ने अवस्था बनेपछि चुनाव जित्नकै लागि ‘एकता’ को घोषणा गरिएको थियो । सत्तास्वार्थको लागि भएको ‘एकता’ सत्ताको भागबन्डा मिल्दासम्म मात्र मिल्ने हो, नमिलेको दिन टुक्रिन अनिवार्य छ । अहिले चर्चामा रहेको नेकपाभित्रको विवादकै कारण यो दल फुट्ला–नफुट्ला, केही दिनको घटनाक्रमले प्रस्ट हुनेछ । तर, यो एकताको आयु भने भागबन्डा मिलुञ्जेलसम्म भएको कुरा आजसम्ममा धेरैले बुझिसकेका छन् ।
निर्वाचन आयोगमा ‘माथिको दबाब’ भन्दै नेकपा (एमाले) नामको दल दर्ता हुनु नेकपाभित्र विभाजनको औपचारिक प्रस्थानबिन्दु हुनसक्छ । नेकपाको बैठकमा प्रधानमन्त्रीले आफूलाई सो विषयमा ‘जानकारी नभएको’ स्पष्टीकरण दिए पनि यो जालझेलको नेतृत्व ओलीनिकट मानिएका एक जना उपत्यकाकै सांसदले गरेको अनुसन्धानले देखिँदै छ । महिना दिनअघि समाजवादी दलका सांसद अपहरण काण्डमा कुख्याति कमाएका सांसद नै यसका भित्री सूत्रधार भएको देखिँदै छ । यो खबर पुष्टि भएपछि गुण्डागर्दी पृष्ठभूमिका तिनी सांसदको बाँकी रहेको एक चिम्टी इज्जत पनि धुलिसात हुनेमात्र होइन, प्रधानमन्त्री ओलीले झूट बोलेको पुष्टि हुनेछ । नेकपामा अपराधी पृष्ठभूमिका व्यक्तिहरूको बाहुल्य रहेको कुरा यो घटनाले थप प्रमाणित गर्नेछ ।
आश्चर्य र दुःखको कुरा, यो सबै एउटा आफूलाई कम्युनिस्ट दाबी गर्ने दलभित्र भइरहेको छ । दलको नेतृत्वमा सैद्धान्तिक सङ्घर्ष हुनु नयाँ कुरा होइन । अन्य देशका कम्युनिस्ट पार्टीभित्र, पार्टी–पार्टी र दुई देशका पार्टीबीच पनि सैद्धान्तिक मतभेद भएको इतिहासमा धेरै उदाहरण छन् । सत्ताकै लागि यस्तो फोहोरी राजनीति सामन्ती र पुँजीवादी राजनीतिक दलमा स्वाभाविक हुनसक्ला । प्रजातान्त्रिक केन्द्रीयताको साङ्गठनिक पद्धति अँगाल्ने कुनै पनि दलमा यस्ता घटना लज्जाजनक विषय हो । कम्युनिस्ट पार्टीले यस्ता अपराध, षड्यन्त्र र जालझेलमा आधारित राजनीति गर्ने गर्दैन । जसले यस्ता अपराधकै भरमा आफ्नो राजनीति चलाउँछ, त्यो दल कम्युनिस्ट पार्टी हुनसक्दैन । अपराध र अनैतिक काम गर्ने समूह अपराधी दल हो, राजनीतिक दल हुनसक्दैन । अपराधीलाई मलजल गरेर परिवर्तनकारी राजनीतिक दलको गठन सम्भव छैन ।
सिद्धान्तभन्दा सत्तालाई जोड दिंदा आखिरमा कुनै पनि राजनीतिक दलले भोग्ने नियति यही हो । नेकपाले आज सामना गरिरहेको किचलो जनताले दैनिक भोगिरहेका समस्या समाधान गर्न सरकारको अक्षमतालाई ढाकछोप गर्ने जालझेलमात्र भएको सम्भावनालाई नकारिहाल्न मिल्दैन । यदि त्यसो नभए पनि नेकपाको चरित्रको आधारमा यस्तो हुनु कुनै दिन अनिवार्य थियो । आपसमा भागबन्डा मिलेसम्म मिल्ने दल भागबन्डा नमिलेको दिन टुक्रिनु र आपसमा पानी बाराबारमा जानु स्वाभाविक हो ।
नेकपाको नाममा आज नेपाली राजनीतिमा भित्रिएको विकृतिले नेपालको कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको छ । जनताले नामकै कारण पनि नेकपालाई कम्युनिस्ट भनी पत्याउने अवस्थामा नेकपाका नेताहरूले खेलिरहेको घिनलाग्दो राजनीतिले अन्ततः कम्युनिस्ट आन्दोलनको बदनाम भइरहेको छ । कम्युनिस्टको खोल ओढेर लुकेका प्रतिक्रियावादीहरूले सोभियत सङ्घ ढालेको इतिहास संसारले भुलेको छैन । आज नेकपाको नाममा नेपालको कम्युनिस्ट आन्दोलनलाई यसरी नै कमजोर बनाउने काम कम्युनिस्ट पार्टीभित्र लुकेका प्रतिक्रियावादीहरूबाट भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *