भर्खरै :

कोरोना भाइरसविरुद्ध चीनको लडाइँबाट सिक्न सकिने केही पक्ष

सन् २०१९ को डिसेम्बर महिनाको उत्तर्राद्धमा १ करोड १० लाख जनसङ्ख्या भएको चीनको उहान सहरमा एउटा अज्ञात विषाणुको कारण निमोनियाका धेरै रोगी देखिए । नोबेल कोरोना भाइरस सो रोगको कारण भएको पत्ता लाग्यो । पत्ता लाग्दासम्म भाइरस मानिसबाट मानिसमा सर्ने भइसकेको थियो । नोबेल कोरोना भाइरस (कोभिड–१९) आज विश्वव्यापी महामारी बनेको छ । संसारका सबै मानिस आज आजित छन् र डराएका छन् ।
कोभिड–१९ को न कुनै औषधि छ न कुनै उपचारको विधि नै तय भइसकेको छ । नोबेल कोरोना भाइरसबारे धेरै आधिकारिक सूचना अझै पुष्टि हुन बाँकी छ । यो महामारी नियन्त्रणको लागि जनस्वास्थ्य क्षेत्रमा सजगता (गैर औषधि) का विभिन्न पद्धति आवश्यक छ । चीनको उहान सहरमा जनवरी २३ बाट लकडाउन गरियो । त्यत्तिबेला म यूएईको भ्रमणमा थिएँ । चीनमा धेरै वर्ष बसेको एक जना विदेशी चिकित्सक हुनुको नाताले मैले आफ्ना सबै कार्यक्रम स्थगित गरेर अर्को दिन पेइचिङ फर्कें ।
यो युद्धमा मैले प्रत्यक्ष सहभागी बन्ने अवसर पाएँ र मैले सिकेका कुरालाई यसरी उतार्ने प्रयास गरेको छु ।
लकडाउन
रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हो । भाइरस रोकथाम र नियन्त्रणको लागि चीनले उपयुक्त कदम चाल्यो । यो रोगको कुनै खोप वा औषधि छैन । त्यसकारण रोकथामको सबभन्दा उपयुक्त उपाय भनेको बिरामीलाई अरू मानिसबाट अलग राख्नु हो । सम्भावित बिरामी सबैलाई क्वारेन्टिनमा राख्नु हो । मानिसले आफू रोगको बिरामी हो भन्ने कुरा थाहा पाउनुअघि नै उसले रोग अरू मानिसलाई सारिरहेको हुनसक्छ । त्यसकारण लकडाउनले उहानलाई बाँकी चीनबाट अलग बनायो । खाना र अन्य दैनिक तथा आकस्मिक आवश्यकताका सामग्री सरकारी संयन्त्रले व्यवस्थितरूपमा वितरणको बन्दोबस्त ग¥यो । सङ्क्रामक रोगको हेरविचार र रोकथाम रोगीलाई अलग बनाउने, उसमाथि निगरानी राख्ने र उपचारका प्रक्रिया चाल्नु नै हो । सबै मानिसलाई सार्वजनिक स्थानमा मुखमा मास्क लगाउन प्रोत्साहित गरियो । भाइरस रोकथामको लागि मास्क लगाउने अभ्यासले प्रभावकारी भूमिका खेल्यो । चीनका अन्य क्षेत्रमा पनि मानिसहरूले यो अभ्यास गरे । जसले भाइरसको सफलतापूर्वक नियन्त्रण गर्न सफल भयो ।
शीघ्र पहिचान
कुनै नयाँ खालको भाइरस फैलियो रे भन्ने आकस्मिक समाचार फैलिएको साता दिनभित्रै चीनले सो भाइरसको आणुवंशिक सूत्र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) लाई बुझायो । प्रमुख महामारी नियन्त्रण गर्न सङ्क्रमित र असङ्क्रमित व्यक्ति पत्ता लगाउनु नै भरपर्दो, विशिष्ट, छिटो र छरितो रोग पहिचान पद्धति हो । महामारी सुरु हुँदा रोगको पहिचान गर्ने कुनै परीक्षण कीट नै थिएन । कीट नभएकोले प्रयोगशालामा न्युक्लि एसिड क्रमावलीको विश्लेषणमा भर पर्नुपर्ने भयो । यो भनेको मानवीय त्रुटि हुनसक्ने र महँगो पद्धति हो । चिनियाँ जैविक प्रविधि कम्पनीहरूले रोग पत्ता लगाउने कीटहरूको विकास गरे । सबभन्दा पहिलो परीक्षण कीट जनवरी १३ मा बनाइएको थियो ।
समय व्यवस्थापन
चीनले ठीक समयमा जनताको लागि आवश्यक निर्णय लियो । चीनका सरकारी अधिकारी र स्वास्थ्यविज्ञहरूबीचको साझा सहकार्यमा आधारित प्रणाली र जोखिम व्यवस्थापन पद्धति कोभिड–१९ को नियन्त्रणको लागि प्रभावकारी प्रमाणित भयो । महामारीका सुरुका दिनमा जोखिम व्यवस्थापन पद्धतिलाई निकै उचाइमा अभ्यास गरिएको थियो ।
स्वास्थ्य तथ्याङ्क सङ्ग्रह
स्वास्थ्यसम्बन्धी तथ्याङ्क सङ्ग्रह भाइरस फैलिनबाट रोक्न सबभन्दा प्रभावकारी औजार भएको देखियो । सबै सर्वसाधारणलाई आफू बसेको ठाउँ, शरीरको तापक्रम, रोगका लक्षण आदिबारे आफ्नो सम्बन्धित स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरियो । त्यसले दैनिकरूपमा समुदायकै स्वास्थ्य अवस्थाबारे जानकारी अद्यावधि गर्न मद्दत मिल्यो । कोभिड–१९ को चिकित्सकीय लक्षण वा सङ्क्रमणको जोखिम भएको कोही व्यक्ति छ भने उसको उपचारको निम्ति तदारुकताका साथ काम भयो ।
व्यक्तिबारे तथ्याङ्क राख्ने र पछ्याउने पद्धतिको विद्युत्तीय प्रणाली प्रयोग गरियो । रोग पुष्टि भएको अवस्थामा उसलाई अस्पतालमा ल्याई पु¥याउन सातै दिन चौबीस घण्टा स्वयम्सेवक तयारी अवस्थामा बसे । कुनै पनि समुदायभित्र पस्न र बाहिर जान सबै व्यक्तिको लागि अलग अलग क्युआर कोडको विकास गरियो । हरियो कोड भएको व्यक्तिलाई अत्यावश्यक कामका लागि यताउता जान आउन दिने बन्दोबस्त गरियो । पहेंलो कोड भएको व्यक्तिलाई आत्म एकान्तवासमा बस्नुपर्ने बन्दोबस्त गरियो । रातो कोड भएको व्यक्तिले क्वारेन्टिनमा बस्नुपर्ने बन्दोबस्त गरियो ।
स्रोतको परिचालन
महामारी नियन्त्रण र रोकथामको लागि सरकारले तत्कालै आफूसँग भएका सबै स्रोतको तत्काल उचित ठाउँमा परिचालन गरियो । यसले निकै प्रभावकारी परिणाम आएको देखियो । उहानमा महामारीका सुरुका दिनमा भाइरसको आधारभूत चरित्रबारे न्यूनतम जानकारीमात्र भएको र स्वास्थ्य सामग्रीको अभावको कारणले धेरै स्वास्थ्यकर्मीहरूसमेत सङ्क्रमणको शिकार बने । पछि भाइरससँग लड्न उहानमा चीनका अन्य विभिन्न ठाउँबाट ४२ हजार चिकित्सक र स्वास्थ्यकर्मीहरू गएका थिए । पेकिङ विश्वविद्यालय र मैले पढेको क्यापिटल मेडिकल विश्वविद्यालयजस्ता शिक्षण संस्थाले पनि उहानमा स्वास्थ्य टोली पठाएको थियो । उहानमा दस दिनभित्र एक हजारभन्दा बढी शैय्या भएका दुई वटा अस्पताल स्थापना गरियो ।
जनसहभागिता
चीनले जनतालाई सत्यतथ्य र वैज्ञानिक सूचना दिइरह्यो । रोगविरुद्ध लड्ने तरिकाबारे पनि जनतालाई लगातार जानकारी दिइरह्यो । लकडाउनको अवस्था र सम्भावनाबारे पनि स्पष्ट मार्गदर्शन दिइरह्यो । जनतालाई सूचना दिन केन्द्रिकृत सूचना र समाचारको प्रणाली स्थापना गरियो । कोभिड–१९ को दैनिक सङ्ख्याको सही सत्य तथ्याङ्क मुख्य समाचारमाध्यममा लगातार दिइरह्यो । महामारीको समयमा पनि शैक्षिक संस्थाहरूले शिक्षण कार्यलाई रोकेनन् । विद्यार्थी र सर्वसाधारणलाई कोभिड–१९ बारे जानकारी दिने विभिन्न शैक्षिक सामग्रीहरूको विकास गरियो । ती सामग्रीबाट रोग नियन्त्रणको उपायबारे सर्वसाधारणको जानकारी तह उकासियो ।
प्रभावकारी कार्यान्वयन
सजग योजना र स्पष्ट निर्देशन निकै महत्वपूर्ण हुन्छ । सबै सरकारी आदेश, निर्णय र निर्देशनको सफलतापूर्वक कार्यान्वयन गरियो । व्यक्ति, डेरा, घर, समुदाय, सङ्गठन, सार्वजनिक क्षेत्र र सहर व्यवस्थापनमा अद्यावधि हुने प्रणाली विकास गरियो । कोभिड–१९ विरुद्ध लड्नु सबैको साझा दायित्व हो । सबैलाई जिम्मेवार बनाउने सफलताको आधार भनेको सबै एकाइलाई यसमा संलग्न बनाउने र पदाधिकारीलाई जिम्मेवार बनाउने हो । नयाँ चुनौतीको सन्दर्भमा मानिसले आफ्नो जीवनशैली पनि बदल्नुप¥यो । पेकिङ विश्वविद्यालय र क्यापिटल मेडिकल विश्वविद्यालयजस्ता धेरै विश्वविद्यालय, विद्यालय, सङ्गठन र व्यवसायले प्रविधिमा आधारित कम्प्युटरबाट अनलाइन शिक्षण पद्धतिमार्फत शिक्षणलाई चालू राखे । यी पद्धति भविष्यको लागि पनि उपयोगी हुनेछन् ।
विजय
चीनले यो लडाइँमा ५ जी जस्ता अत्याधुनिक प्रविधि र रोबोटको सफलतापूर्वक प्रयोग ग¥यो । महिनौँ भाइरसको प्रतिरोधपछि चीनले पुनः आर्थिक गतिविधि सुरु गरेको छ । विद्यालयहरू खुल्न थालेका छन् । जीवन सामान्य बन्दै छ । चीन सरकारले खरबौं खरब डलर गुमायो । तथापि उसले चालेका ती कदम बुद्धिमानी निर्णय सावित भयो । उहानमा लकडाउन सकियो । सबै सञ्चार सम्पर्क पुनःस्थापित गरियो ।
सारमा कोभिड–१९ ले महामारी रोगी रोकथाम र नियन्त्रणको लागि हामीले सधैँ आफूलाई तयारी अवस्थामा राख्नुपर्ने र रोग नियन्त्रणका उपायलाई समय सुहाउँदो आधुनिक बनाउँदै लानुपर्ने कुरा सिकाएको छ ।
स्रोत ः चाइना डेली
नेपाली अनुवाद ः पी सुन्दर

Leave a Reply

Your email address will not be published. Required fields are marked *