भर्खरै :

खोइ लकडाउन !

सरकारले घोषणा गरेको लकडाउन कागतमा अझै चालू छ । तर, व्यवहारमा भने अहिले लकडाउन कहीँ कतै अनुभव गर्न सकिन्न । न त सर्वसाधारण सडकमा हिँड्दा मास्क लगाएको देखिन्छ न आपसमा सामाजिक दुरी नै कायम गरिएको देखिन्छ । कार्यालय, पसल र सार्वजनिक स्थलमा राखिएको स्यानिटाइजर प्रयोग कम, देखाउन बढी राखिएका छन् । सेवाग्राही र सेवाप्रदायक दुवैलाई त्यसको प्रयोगमा ध्यान कम छ । निजी तथा भाडाका सवारी साधनको सङ्ख्या सडकमा दिनानुदिन बढ्न थालेको छ । मुख्य बजार र व्यापारिक केन्द्रमा मानिसले आपसमा महामारी रोकथामको लागि सरकारी जारी गरेको सूचना पालना गरिएको देखिँदैन ।
काठमाडौँ उपत्यकाभित्र पस्न सवारी साधनको चाप बढेसँगै प्रवेश नाकामा सवारी जाम भइरहेको छ । यसरी उपत्यका भित्रिने नागरिकको न कुनै स्वास्थ्य उपचार गरिएको छ, न यात्रा इतिहास (ट्राभल हिस्ट्री) को कुनै अभिलेख राखिएको छ । ती मानिसको ट्रसिङ गर्न सकिने गरी कुनै अभिलेखसमेत सुरक्षाकर्मीले सङ्कलन गरेको देखिँदैन । पर्यटकीय केन्द्रहरूमा घुम्न आउने सर्वसाधारणको सङ्ख्यासमेत निकै बढिरहेको छ । गृहमन्त्रालयले सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने भनी प्रचार ग¥यो । तर, व्यवहारमा त्यो कहीँ देखिएको छैन । सरकारी उर्दीमा बाहेक लकडाउनको आभास आज कहीँकतै देखिँदैन । सरकार एकातिर महामारी रोकथामको लागि आफू सक्रिय रहेको देखाउने एकपछि अर्को लकडाउनको मिति घोषणा गर्छ । अर्कोतिर लकडाउन घोषणा गरेर पूरा गर्न खोजेको कुनै पनि लक्ष्य हासिल भए नभएको मूल्याङ्कन गर्न आवश्यक सरकारले देखेको छैन ।
पछिल्लो एक सातामा काठमाडौँ उपत्यकामा लगातार कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञहरू सङ्क्रमण सामुदायिक स्तरमा फैलिनसकेको भए पनि त्यसको जोखिम भएको बताइरहेका छन् । जोखिम छ भने जोखिम न्यूनीकरणको राज्यका सबै जिम्मेवार निकायले तदारुकताका साथ काम गर्नुपर्ने होइन र ? हिजो सङ्क्रमणको रेखा ज्यादै न्यून हुँदा सरकारी निकायले लकडाउनको कडाइ अभ्यास गरेको थियो । झन्डै तीन महिना काठमाडौँवासी कडा लकडाउनमा बसे । तर, अहिले सङ्क्रमणको सङ्ख्या अझ बढ्दो छ । लकडाउन भने क्रमशः अभ्यास भने खुकुलो बन्दै गएको छ । काठमाडौँ उपत्यका पस्न आज कुनै रोकतोक छैन । स्थानीय समुदायमा बाहिरबाट कोही आए पनि उनीहरूको अभिलेखीकरण र यात्रा इतिहास बुझ्ने कुनै संयन्त्र नै छैन । समुदायभित्र पस्न कोही पनि व्यक्तिलाई ज्वरो आएको छ वा छैन भन्ने आधारभूत परीक्षण गर्नेसम्मको बन्दोबस्त पनि हामीले गर्न सकेका छैनौँ । खासमा कोरोनाको महामारी अब नेपाली जनताको लागि ‘भाग्य भरोसा’ भएको छ । सरकारले व्यवस्थित योजना बनाएर त्यसको नियन्त्रण र रोकथामको निम्ति केही पनि हुने अवस्था छैन । जङ्गली झारजस्तै बेपर्वाह बनेको छ नेपाली समाज ।
कोरोना नियन्त्रणमा सफलता प्राप्त गरेको संसारका केही देशको अनुभव हेर्दा उनीहरूले कम मिहिनेत र त्याग गरेर कोरोना भाइरसविरुद्धको युद्ध लडेको थिएन । उनीहरूको व्यवस्थित र योजनाबद्ध काम गर्ने शैलीले नै भाइरस पराजित बनेको हो । महामारीलाई ‘भगवान भरोसे’ र ‘जङ्गली’ व्यवहार गर्ने देशहरू पनि नभएका होइनन् । ती देशहरूले ठुलो मानवीय, आर्थिक र सामाजिक नोक्सानी भोगिरहेका छन् । शिक्षा भनेको असलबाट लिनुपर्ने हो । तर, नेपाल सरकारले भने आज संसारका सबभन्दा खराब उदाहरणबाट पाठ सिकेका छन् । त्यसको फल भने आज नेपाली जनता भोग्न बाध्य छन् । राजनीतिक नेतृत्व खराब भएपछि जनता यस्ता खराब समयमा पनि अभिभावकविहीनजस्तै बाँच्न बाध्य हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *