भर्खरै :

कोरोना कहरमा सूचना सङ्क्रमणको अर्को महामारी

 
यति धेरै सङ्ख्याका अनलाइनले लेखेको समाचार कसरी गलत हुनसक्छ भन्ने स्वाभाविक प्रश्न उठ्न सक्छ ।
“वीरगञ्जका एक जनामा कोरोना भाइरसको सङ्क्रमण भेटियो ।”
९ माघ, २०७६ मा नेपालमा दक्षिण एसियामै पहिलो कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भएपछि लामो समयसम्म कुनै अर्को सङ्क्रमित भेटिएका थिएनन् । तर, विश्वभर यो फैलने क्रम तीव्र थियो ।
पहिलो सङ्क्रमण पुष्टि भएको ठ्याक्कै दुई महिनापछि अर्थात् चैत ९ गते, राती एकाएक माहोल आतङ्कित भयो माथिको हेडलाइनले । न्युज २४ टेलिभिजनले ब्रेकिङ न्युजका रूपमा बजाएको यो समाचार एकैछिनमा थुप्रै अनलाइनहरूमा देखापरे । नेपाललात्, स्वास्थ्य खबर, काठ्माडौँ प्रेस, थाहाखबर आदिमात्र हैन, राष्ट्रिय दैनिक नागरिकको अनलाइन संस्करण नागरिकन्युजले समेत वीरगञ्जका एक व्यापारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको खबर दिएका थिए । समाचारमा ‘पटनाको मेडिकल कलेजले पुष्टि गरेको छ’ लेखिएको थियो । तर, कलेजको कसले पुष्टि गरेको हो ? रिपोर्ट नै त्यस्तो आएको हो कि होइन भन्ने चाहिँ उल्लेख थिएन ।
तर, यो समाचार मिथ्या अर्थात् फेक हो भनेर थाहा पाउन धेरै समय कुर्नु परेन । अनलाइनखबरले पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा.डा. विद्यापति चौधरीसँग नै टेलिफोनमा कुरा गरेपछि थाहा भयो, पुष्टि भइसकेको रहेनछ । उनले उपचार जारी रहेको र रिपोर्ट नेसनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा पठाएको तर त्यसको विवरण आउन बाँकी रहेको बताए ।
यता टेलिभिजनहरूमा पर्साका सीडीओलाई बाइट दिन भ्याइनभ्याइ थियो । उनलाई नै कोट गरेर कोरोना पुष्टि भएको समाचार लेख्दै थिए धेरैले ।
तीन–चार घण्टामै कोरोना सङ्क्रमण नभएको ल्याब रिपोर्ट सार्वजनिक भयो । न्युज २४ टेलिभिजन, नागरिकन्युजलगायतले गलत समाचार दिएकोमा माफी मागे । तर सोही समाचार कपिपेस्ट गर्ने दर्जनौँ अनलाइनहरूले भने गल्ती सच्याउने तत्परता देखाएनन् ।
वीरगञ्जको समाचारमा भारतस्थित अस्पतालका अधिकारीसमक्ष नै पुगेर यही सूचना सम्प्रेषण गरेको अनलाइनखबर त्यसको १२ दिनपछि भने नराम्रोसँग चुक्यो । चैत २१ गते, अनलाइनखबरले ‘कास्कीमा भेटिए सातौँ कोरोना सङ्क्रिमत’ शीर्षकमा समाचार ब्रेक ग¥यो ।
त्यतिञ्जेल सरकारले कोरोना सङ्क्रमित भेटिन थालेपछि देशभर लकडाउन गरिसकेको थियो । यो समाचार वीरगञ्जको समाचारजस्तै छिट्टै भाइरल हुनपुग्यो । समाचारमा ‘गण्डक प्रदेश सरकारले जनाएको’ लेखिएको थियो । तर गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले त्यसलाई हल्लामात्र भन्दै खण्डन ग¥यो । त्यसपछि अनलाइनखबरले समाचाको शीर्षक र कन्टेन्ट सच्यायो । ‘पोखरामा कोरोना परीक्षण पोजिटिभ देखियो, पुनः परीक्षणको लागि टेकु पठाइयो’ शीर्षक समाचारमा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङलाई उद्धृत गरियो । समाचारमा उनले भनेका थिए, ‘पहिलो रिपोर्ट पोजिटिभ आएको छ र थप परीक्षणका लागि टेकु पठाइएको छ ।’
तर, गुरुङले फेसबुकमा स्टाटस नै लेखेर त्यसको खण्डन गरे । लेखे, मिडियाका साथीहरूलाई हतार नगर्न र जे हो त्यही समाचार सम्प्रेषण गर्न अनुरोध छ । कास्कीमा कोरोना सङ्क्रमितको अहिलेसम्म पुष्टि भइसकेको छैन ।
तर अनलाइनखबरले न गल्ती स्वीकारेर क्षमा माग्यो, न समाचार नै सच्यायो । आजका मितिसम्म पनि त्यो समाचार पढ्ने हो भने पोखरामा एक व्यक्तिलाई कोरोना सङ्क्रमण लागेको नै बुझ्न सकिन्छ ।
त्यतिञ्जेल अरू मूलधारका मिडियामा पनि यो समाचार फैलिसकेको थियो । एपि वान टेलिभिजनले ब्रेकिङ न्युजको रूपमा कास्कीमा सातौँ कोरोना सङ्क्रमित भेटिएको समाचार बजाइसकेको थियो, सामाजिक सञ्जालहरूमा अपडेट गरिसकेको थियो ।
मूलधारमा विश्वासिला मिडिया चुक्दा त्यसको असर कति भयावह हुँदोरहेछ भनेर यो उदाहरणले देखाउँछ – अनलाइनखबरले सबैभन्दा पहिला राखेको शीर्षक ‘कास्कीमा भेटिए सातौँ कोरोना सङ्क्रमित’ राखेर गुगलमा सर्च गर्ने हो भने ४१ हजार ८ सय नतिजा देखाउँछ । तीमध्ये अधिकांश पेज अनलाइन मिडियाका हुन् । यो आलेख तयार पार्दाको समय २०७७ वैशाख २५ गतेसम्म कास्कीमा एक जना पनि कोरोना सङ्क्रमित भेटिएको छैन । तर, यति धेरै अनलाइनले यो गलत समाचार राखेका छन् कि भविष्यमा कसैले गुगल सर्चलाई मात्र आधार बनाउने हो भने यति धेरै सङ्ख्याका अनलाइनले लेखेको समाचार कसरी गलत हुनसक्छ भन्ने स्वाभाविक प्रश्न उठ्न सक्छ । कास्कीमा हुँदै नभएको कोरोना सङ्क्रमितको अस्तित्व यी फेक न्युजहरूले कायम गरिदिनसक्ने सम्भावना छ ।
इन्फोडेमिक ः सूचना सङ्क्रमण
विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ अर्थात् कोरोना भाइरसलाई विश्व महामारी अर्थात् प्यान्डेमिक घोषणा गर्दै गर्दा एउटा अर्को सङ्क्रमणसित पनि हामीले सँगसँगै सामना गर्नुपर्ने बताएको थियो । त्यो हो – इन्फोडेमिक अर्थात् सूचना सङ्क्रमण । जसरी कोरोना भाइरसको सङ्क्रमण एकबाट दुई, दुईबाट चार, चारबाट आठ, आठबाट १६ हुँदै पूरै समाजमा फैलन्छ, ठीक त्यसरी नै यस्ता मिथ्या सूचनाले सामाजिक सञ्जालहरूको माध्यमबाट समाजलाई नै प्रभावित पार्छ ।
यस्ता मिथ्या सूचनाले समाजलाई आतङ्कित, भयभित पार्नेमात्र हैन, फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणको महत्वपूर्ण जिम्मेवारीमा रहेका सञ्चारकर्मीहरूको विश्वसनीयतामाथि नै प्रश्न उठाउने काम पनि गर्छ । त्यसैले विश्व स्वास्थ्य सङ्गठनले यो महामारीको सामना गर्न मेडिकल विषयमात्र हैन, यस्ता मिथ्या जानकारीहरूको सामनाको निम्ति सामग्री पनि तयार पार्ने, बाँड्ने काम गर्नुपरिरहेको छ ।
सेन्टर फर मिडिया रिसर्च– नेपाली भाषाको पहिलो ब्लग माइसंसारको संयुक्त पहलमा हामीले पनि अप्रिल २ इन्टरनेसनल फ्याक्ट चेकिङ डेको अवसर पारेर नेपालमा सोसल मिडियामा भाइरल हुने विषय र मिडियामा आएका समाचारहरूको तथ्यजाँचका लागि नेपाल फ्याक्ट चेक डट ओ आर जी सुरु गरेका छौँ । कोरोना भाइरसको सामना गर्न सरकारले लकडाउन घोषणा गरेका ४५ औँ दिनसम्म के–कस्ता मिथ्या सूचना देखिए, त्यसको समीक्षा यहाँ गर्दै छु ।
राजधानीलाई आतङ्कित बनाउने त्यो अडियो
कहिलेकाहीँ मूलधारका मिडियाले समाचार नबनाएको विषय पनि सोसल मिडियामा यति धेरै फैलिन्छ कि त्यसले पूरै समाजलाई आतङ्कित बनाइदिन्छ ।
अँ हिमाल,
‘तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है’
यी वाक्यबाट सुरु हुने पुरुष आवाज रहेको अडियो न कुनै रेडियोले बजाएको थियो, न टीभीले । तर यो फेसबुकको मेसेन्जरबाट यति धेरै फैलियो कि यसले धेरैलाई हो कि भन्ने पारिदियो । त्यसमा पुल्चोकमा रहेको नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतङ्क मच्चाउन खोजिएको छ ।
वास्तवमा न नर्भिक अस्पताल पुल्चोकमा छ, न त्यसरी नर्भिक अस्पतालमा त्यतिबेला कोरोना भाइरसकै परीक्षण हुन्थ्यो । त्यतिमात्र हैन, त्यो अडियोमा थुप्रै मान्छे मरिसकेको, सरकारले लुकाइरहेको जस्ता गम्भीर आरोप लगाइएका थिए ।
हल्ला यति धेरै फैलियो कि नर्भिक अस्पतालले चैत ८ गते विज्ञप्ति नै जारी गरी यसको खण्डन गर्नुप¥यो । प्रहरीले अनुसन्धान गरेर यो अडियो बनाउने भक्तपुर बस्ने २० वर्षका विवेक थापा मगरलाई पक्राउ ग¥यो । किन यसो गरेको भनेर प्रहरीले सोध्दा उसले आफूले चलाइरहेको झोर्ले न्युज नाम वेबसाइटको फेसबुक पेजमा रिच र इन्गेजमेन्ट बढाउन त्यसो गरेको बयान दियो ।
त्यसको १ महिना नहुँदै फेरि एउटा अर्को आतङ्क फेसबुक लात्ले मच्चायो । पत्रकार सुविन श्रेष्ठले फेसबुक लात् गर्दै काठमाडौँ १५ सय जना कोरोना सङ्क्रमित भएको हुनसक्ने तथ्याङ्क टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले खुलाएको दाबी गरे । उनको यो फेसबुक लात् भिडियो हजारौँले शेयर गरे, कमेन्ट लेखे । हामीले यसको फ्याक्टचेक गर्ने क्रममा डा. राजभण्डारीसित सम्पर्क ग¥यौँ । उनका अनुसार १५ सय जना कोरोना सङ्क्रमितको तथ्याङ्क प्लानिङ्का लागि अनुमान गरिएको हो । त्यो काठमाडौँ मात्रको नभएर देशभरको हो । उनले भने, ‘टोटल १५ सय केस भयो भने कति सिरियस हुन्छन् ? कतिलाई अस्पताल राख्नुपर्छ ? कतिलाई लक्षण देखिन्छ ? त्यसको क्यालकुलेसन हो त्यो । कुनचाहिँ मिडियाले कसरी घुमाएर त्यसलाई राखिदियो ¤’ उनले बुझाए, “हेल्थ सेक्टरमा प्लानिङ हुन्छ । सय वटा केस भयो भने के गर्ने, १५ सय वटा भयो भने के गर्ने, १५ हजार भयो भने के गर्ने ? त्यसैको प्लानिङ हो यो, अरू केही पनि होइन ।”
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले ती पत्रकारले अफवाह फैलाएको भन्दै कारबाही गर्न प्रेस काउन्सिललाई पत्र लेखेको सार्वजनिक भएको थियो ।
नेपालमा दोस्रो कोरोना सङ्क्रमित भेटिनुअघि थुप्रै अनलाइनहरूले ‘टेकुमा परीक्षण गरेका एक व्यक्तिमा भेटियो कोरोना भाइरसको सङ्क्रमण’ शीर्षकमा समाचार राखेका थिए । ती समाचारहरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्तालाई उद्धृत गरिएको थियो । जबकि गुप्ता आफैँ अचम्ममा थिए, मैले कुनै पत्रकारसँग कुरै गरेको छैन, कसरी यस्तो झूटो समाचार आयो ?
त्यसैगरी फागुन महिनाको अन्त्यतिर भरपुर अस्पतालको प्रेस विज्ञप्तिमा लेखिएको नमुना परीक्षणमा ‘नेगेटिभ देखिएको’ लाई फोटोसप गरी ‘पोजिटिभ देखिएको’ बनाई आतङ्क मच्चाउने काम पनि भयो ।
त्यसैगरी यो अवधिमा रुसले लकडाउनको पालना गराउन सडकमा सिंह छाडेको, इटालीका सडकमा लाशैलाश देखिएको, इटालीको सडकमा नोट फाल्दा पनि कसैले नटिपेको, इटालीका राष्ट्रपति रोएको, कोरोना सङ्क्रमितको लाश समुद्रामा फ्याँकेको, राति आकाशबाट कीटनाशक छर्कन लागेकाजस्ता हल्लाहरू भाइरल भए ।
सडकमा सिंह दक्षिण अफ्रिकामा फिल्म सुटिङको क्रममा छाडिएको थियो । इटालीका सडकमा मान्छे ढलेको एउटा प्रोजेक्टका लागि थियो, कोरोना लागेर मान्छे मरेकोले होइन । सडकमा नोट फ्याँकेको फोटो भेनेजुयलाको थियो । कोरोना सङ्क्रमितको लाश समुद्रमा फ्याँकेको नभएर अफ्रिकी आप्रवासीहरू डुङ्गामा असुरक्षित यात्रा गर्ने क्रममा डुबेका थिए । इटालीका राष्ट्रपति रोएको भनी दाबी गरिएको फोटोमा ब्राजिलका राष्ट्रपति थिए र उनी अर्कै कारणले रोएका थिए, कोरोनासँग त्यसको सम्बन्ध थिएन । त्यसैगरी हेलिकप्टरबाट कीटनाशक नछर्नेबारे नेपाली सेनाले विज्ञप्ति नै जारी गर्नुपरेको थियो ।
मूलधारकै मिडिया जब चुके अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा फागुन १० गते ‘कोरोना भगाउन क्रिश्चियन पास्टरले डिटोल पिलाइदिएपछि’, शीर्षकमा समाचार राखियो । यो समाचार हजारौँ फेसबुकमा शेयर गरेका छन् । अन्नपूर्ण पोस्टको फेसबुक पेजमा यो समाचारमा आएका कमेन्टहरू हेर्ने हो भने अधिकांश इसाई समुदायविरुद्ध छ ।
अन्नपूर्ण समाचारमा एक महिलालाई पुरुषले डिटोलको बोतलबाट पिलाउँदै गरेको जस्तो देखिएको फोटो पनि राखिएको छ । समाचार ‘केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरूलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको’ लेखिएको छ । हामीले फ्याक्टचेक गर्ने क्रममा यो फोटो दक्षिण अफ्रिकालगायतका अफ्रिकी देशहरूको वेबसाइटमा ४ वर्षअघि नै अर्थात् सन् २०१६ मै प्रकाशन भएको भेट्टायौँ । चार वर्षअघि कोरोना भाइरसको सङ्क्रमण थिएन ।
फोटोमात्रै हैन, अन्नपूर्ण पोस्टको यो समाचारमा केही तथ्य पनि अमिल्दा छन् । समाचारको पहिलो लाइनमा लेखिएको छ – केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरूलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको छ ।
तर दोस्रो लाइनमा लेखिएको छ – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले मक्गोदुस्थित एके स्पिनिचुअल चर्चमा आएका विश्वासीहरूलाई घरेलु किटाणुनाशक डिटोल पिलाएका हुन् । सोही घटनापछि दक्षिण अफ्रिकामा ५९ जना मानिसको मृत्यु भएको थियो ।
अब तपार्ईँ आफै भन्नुस्, केन्यामा डिटोल पिलाएर दक्षिण अफ्रिकामा ५९ जनाको मृत्यु कसरी हुन्छ ? एक ठाउँमा पिलाएर अर्को देशमा मृत्यु हुने यो कस्तो समाचार हो ? समाचारमा लेखिएको मक्गोदु नामको ठाउँ केन्यामा हैन दक्षिण अफ्रिकामा छ । डिटोल पिलाएर दक्षिण अफ्रिका वा केन्या कतै पनि ५९ जनाको मृत्यु भएको खबर हामीले कुनै पनि विश्वसनीय मिडियामा आएको देखेनौँ ।
अन्नपूर्ण पोस्टको समाचारमा केन्या टुडेको फ्याक्टचेकपछि हालै सार्वजनिक रिपोर्ट भनिएको छ । केन्या टुडेले यसबारे समाचार राखेको त थियो, तर गल्ती महसुस गरेर हटाइसकेको थियो । अन्नपूर्ण पोस्टले न यो समाचारको स्रोत खुलाएको छ न फोटोको । फोटो २०१६ मै प्रकाशित भइसकेकोले फाइल फोटो भनेर पनि लेखिएको छैन । त्यसैले अन्नपूर्ण पोस्टको यो समाचार गलत र भ्रम फैलाउने खालको थियो ।
तर, राष्ट्रिय स्तरको मूलधारको मिडिया भएकोले होला, थुप्रै कपिपेस्ट अनलाइनहरूले यो समाचारलाई हुबहु कपि गरेका थिए । इसाई समुदायविरुद्ध लक्षित यो समाचार गलत भए पनि फेसबुकमा निकै बिक्यो ।
कान्तिपुरको भ्रामक समाचार
कान्तिपुर दैनिक वैशाख १० गते, पहिलो पेजमा आठ कोलममा ‘कोरोना सङ्क्रमण समुदायमा विस्तार’ शीर्षकमा समाचार छ । सोही समाचारमा विज्ञ भन्छन् – ‘तेस्रो चरण’ उप–शीर्षकमा थप समाचार छ ।
समाचारको लिडलाइनमा नै ‘उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्कोस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ नेपालमा पनि कोरोना सङ्क्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’ मा प्रवेश गरेको छ’ भनी ठोकुवा गरिएको छ ।
त्यसैगरी सोही समाचारमा ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २२ गते, नेपालमा कोभिड–१९ भाइरस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै सङ्क्रमण दोस्रो चरण, ‘लोकल ट्रान्समिसन’मा प्रवेश गरेको जानकारी गराएको थियो । नेपालमा सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको ठीक १८ दिनपछि ‘तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ’ लेखिएको छ । समाचारले नेपाल कम्युनिटी ट्रान्समिसन भएको पुष्टि भइसकेको दाबी गरेको छ ।
यसबारे फ्याक्टचेकका लागि हामीले कान्तिपुरमा समाचार प्रकाशित भएको दिन वैशाख १० गते नै विश्व स्वास्थ्य सङ्गठन (WHO) को दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयमा इमेल गरी थप जानकारी मागेका थियौँ ।
डब्लुएचओको नेपालस्थित कार्यालयका प्रवक्तामार्फत यसबारे जानकारी दिँदै कम्युनिटी ट्रान्समिसन नभएको बतायो । डब्लुएचओका अनुसार त्यति बेलासम्म प्राप्त जानकारीअनुसार उदयपुरमा फेला परेका केसहरू लिङ्कड ट्रान्समिसन चेन, समय, स्थान र एक्सपोजरमा क्लस्टर्ड भएको देखिन्छ । त्यसैले यो ‘क्लस्टर’ का लागि योग्य हुनसक्छ, ‘कम्युनिटी ट्रान्समिसन’ का लागि होइन ।
त्यसैले कम्युनिटी ट्रान्समिसन भएको पुष्टि भयो भन्दै कान्तिपुरले लेखेको समाचार भ्रामक ठहर भयो । तर कान्तिपुरले यो विषयमा न थप प्रस्ट पा¥र्यो, न गल्ती नै सच्यायो । बरु वैशाख २३ गते, कान्तिपुरमा पुरै पेज भरिने एउटा विज्ञापन छापियो, जसमा दाबी गरिएको थियो– “कान्तिपुर अपुष्ट सूचना र सनसनीपूर्ण भ्रममा विश्वास गर्दैन । सम्बन्धित क्षेत्रको विज्ञ एवं आधिकारिक व्यक्तिबाट पुष्टि भएका समाचारमात्र हामी प्रवाह गर्दछौँ ।” सरकारी मिडिया र मन्त्री नै झुक्किएको क्षण विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसको उच्च जोखिममा रहेका देशहरूको सूचीबाट नेपाललाई हटाएको समाचार वैशाखको दास्रो साता धेरै मिडियामा आए । सरकारी मिडिया गोरखापत्र दैनिक र समाचार एजेन्सी राससले बनाएको यो समाचार थुप्रै निजी मिडिया र अनलाइनहरूमा पनि आए ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत ‘सरकारको कामले नतिजा दिँदै, कोरोनाको अति उच्च जोखिम सूचीबाट हट्यो नेपाल’ शीर्षकको समाचार ट्विट गरेका थिए । समाचारमा नेपाललाई उच्च जोखिम (लेभिल ४) बाट झारेर जोखिम भएका देश (लेभल ३) मा हालै राखिएको दाबी गरिएको छ । तर नेपाल फ्याक्टचेकले यो विषयमा खोज्ने क्रममा यो तथ्य मिथ्या भएको पत्ता लाग्यो ।
सरकारी अखबार ‘गोरखापत्र’ दैनिकको वैशाख १४ गतेको अङ्कको पहिलो पेजमा ‘नेपालको अवस्था सुधार’ शीर्षकमा समाचार छ । जसमा लेखिएको छ – ‘विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिनुभयो । बन्दाबन्दी, परीक्षणको दायरा बढाएको, अन्तर्राष्ट्रिय उडान बन्द गरेको लगायतका कार्यप्रगतिको कारण डब्लूएचओले नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा राखेको उहाँले बताउनुभयो । स्वास्थ्यसेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूएचओले एकदेखि पाँचतहसम्म बनाएको जानकारी दिनुभयो । यसअघि तह चारमा नेपाल रहेकोमा अब त्यसलाई घटाएर तह तीनमा राखेको जानकारी दिँदै उहाँले कोरोनाविरुद्ध नेपालले गरेको कामका आधारमा डब्लूएचओले उच्च जोखिममा राखेको बताउनुभयो । सार्क मुलुकका भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स तह तीनमा छन् । पाकिस्तान तह चार र अफगानिस्तान अहिले पनि तह पाँचमा छ । तह पाँच भौतिक संरचनाका आधारमा पनि अति कमजोर हो । नेपाली पछिल्लो समय पीसीआर ¥यापिड टेस्टको दायरा ह्वात्तै बढाएको क्वारेन्टिन गर्ने कार्य स्थानीय तहले कडाइका साथ लागू गरेको जस्ता कार्यको मूल्याङ्कन गरी नेपालको अवस्थामा सुधार भएको महानिर्देशक श्रेष्ठले स्पष्ट पार्नुभयो । अमेरिकामा हजारौँ मानिसको मृत्यु भएको छ । श्रेष्ठले थप्नुभयो, “त्यहाँ डब्लूएचओले तह एकमा राखेको छ । किनकि त्यहाँको स्वास्थ्य संरचनाले तह एकमा राखेको हो ।” नेपालले सातवटै प्रदेशमा तीव्रगतिमा प्रयोगशालामा विस्तार गरेको, ७७ वटै जिल्लामा ¥यापिड परीक्षण सुरु गरेको र स्थानीय तहले पनि काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।
स्रोत ः संहिता
(चैत २०७६÷जेठ २०७७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *