भर्खरै :

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख भक्तपुरमा

भक्तपुर, १३ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मङ्गलबार भेट गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित लिबालीस्थित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र देकोचास्थित ख्वप कलेज, ख्वप उच्च माविलगायत भक्तपुरको शिक्षा क्षेत्रको अवलोकनका लागि नगर प्रमुख पाण्डे भक्तपुर आउनुभएको थियो ।
सांस्कृतिक र पर्यटकीय नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सङ्घ, प्रदेश र स्थानीय तह सम्मिलित तीनवटै सरकारले सस्तोमा गुणस्तरीय शैक्षिक संस्थाहरू सञ्चालन गरेको खण्डमा निजी विद्यालय र कलेजहरूप्रतिको आकर्षण स्वतः घट्दै जाने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले गुणस्तरीय शिक्षामार्फत इन्जिनियरिङ, नर्सिङ, व्यवस्थापनलगायत क्षेत्रका आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले भक्तपुरको च्याम्हासिंहमा २५ शैय्याको ख्वप अस्पतालको निर्माण भइरहेको र नेपालमै पहिलो श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारी नगरपालिकाले गरिरहेको बताउनुभयो ।
भेटको क्रममा तुल्सीपुर उपमहानपाका प्रमुख घनश्याम पाण्डेले दाङ जिल्लामा पर्ने तुल्सीपुर उपमहानपा काठमाडौँ उपत्यकाभन्दा सात गुणा ठुलो भएको र यसको जनसङ्ख्या २ लाख भएको तथा सांस्कृतिकरूपमा थारुहरूको बाहुल्यता भएको बताउनुभयो । बहुजाति र बहुभाषीहरूको बसोबास रहेको उपमहानगरपालिकालाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रको रूपमा विकास गर्ने र कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्दै लाने उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू रोल मोडलकै रूपमा रहेको चर्चा गर्दै उहाँले तुल्सीपुर उपमहानपा र भक्तपुर नपासँग शैक्षिकलगायत विभिन्न क्षेत्रमार्फत सम्बन्ध विस्तार गर्न आफूहरू उत्सुक रहेको बताउनुभयो । उहाँले भक्तपुर नपाकै मोडलमा कलेजहरू सञ्चालनको लागि तयारी गरिरहेको र ‘एक वडा एक खेलमैदान’ को अवधारणामा तुल्सीपुर उपमहानपा अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा. धु्रवकुमार गौतम, अमृत साइन्स क्याम्पसका डा. दीपेन्द्र भण्डारी र तुल्सीपुर उपमहानपाका शिशिर खनाललगायतको उपस्थिति थियो भने ख्वप इन्जिनियरिङ कलेजका प्राचार्यद्वय सुजन माक र सुनिल दुवालले कलेजले सञ्चालन गरिरहेको विभागीयलगायत अन्य कार्यक्रमहरूबारे सङ्क्षिप्तमा जानकारी दिनुभयो ।
उहाँहरूले ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजका प्रयोगशाला र पुस्तकालयको अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *