भर्खरै :

भूमाफियाको प्रभावमा

  • श्रावण १४, २०७७
  • अजय तामाङ, सूर्यविनायक नपा
  • पाठक विचार

जग्गा भाउ अव्यवहारिक भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले यस आवको लागि जग्गाको न्यूनतम मूल्याङ्कन निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नगरपालिकासमेतको सहभागितामा बसेको बैठकले सो मूल्याङ्कन निर्धारण गरेको हो । साविक नंखेल वडा नं. ३ र ४ काँक्राबारी क्षेत्र हाल सूर्यविनायक नगरपालिका वडा नं. ९ मा पर्छ । सो क्षेत्रको मूल्याङ्कन गत आव गोरेटो बाटो जोडिएको जग्गाको प्रतिआना रू. २७,५०० निर्धारण गरिएकोमा यस आवमा ४४० प्रतिशत वृद्धि गरेर प्रतिआना रू. १२१,००० निर्धारण ग¥यो ।
मूल्याङ्कन निर्धारण समितिका अध्यक्ष प्रजिअलाई काँक्राबारी क्षेत्र कहाँ पर्छ भनी थाहा नभएर हो वा अन्य कारणले हो ४४० प्रतिशतले वृद्धि ग¥यो । मूल्याङ्कन रकम वृद्धि भएअनुसार जग्गाको चलनचल्तीको भाउ पनि ४४० प्रतिशत नै वृद्धि भएको देख्ने भूमाफियाको प्रभावमा नगरपालिकाले प्रस्ताव लगेको हो भनी अनुमान गर्न सजिलो भएको छ । होइन भने अरनिको राजमार्ग जोडिएको साविक चित्तपोल वडा नं. ६ पलाँसेको गोरेटो बाटो जोडिएको जग्गाको मूल्याङ्कन प्रतिआना रू. ५४,५०० निर्धारण हुने तर पहाडपारिको गाउँँ काँक्राबारीको जग्गा रू. १२१,००० किन तोकियो ? साविक वडा नं. २, ३, ४, ५ र ६ वडालाई एउटै मापदण्डमा राखेर निर्धारण गरिएको उक्त मूल्याङ्कन न्यायसङ्गत छैन । यसमा भूमाफियाको संलग्नता भएको स्पष्ट छ । जनप्रतिनिधि र कर्मचारीहरूलाई आफ्नो कब्जामा लिएर आफ्नो अनुकूल निर्णय गराउनसक्ने ताकत भएका माफियाहरू कसको संरक्षणमा छन् ? घटनाक्रमले पछि स्पष्ट नै गर्ला ।
जग्गाको मूल्याङ्कनअनुसार सम्पत्तिको मूल्याङ्कन गरेर प्रत्येक परिवारको सम्पत्ति कर निर्धारण गरिन्छ । आफ्ना बुबा बाजेको नामबाट नामसारी, अंशबन्दा गर्दा ४४० प्रतिशतले वृद्धि भएको जग्गाको मूल्याङ्कनअनुसार नगरपालिकालाई १० वर्षको एकमुष्ट सम्पत्ति कर बुझाउन सोही जग्गा बेच्नुपर्ने अवस्था नलाउला भन्न सकिन्न । किनभने कोभिड–१९ सङ्क्रमणको कारण देशको अर्थतन्त्र खस्केको अवस्थामा आफ्नो परिवार पाल्ने कि गाउँघरको सिंहदरबारलाई कर तिर्ने ? जनताको सेवा गर्छु भनी हिँडेका जनप्रतिनिधिलाई पारिश्रमिक र भत्ता खुवाउन त कर तिर्नै परेका छन् ।
सूर्यविनायक नगरपालिकामा आफूलाई कम्युनिस्ट भन्ने नेकपाको स्पष्ट बहुमत छ । जनताको करमा रजाई गर्ने जनप्रतिनिधिले हाम्रो गाउँमा जाने बाटोको स्तरोन्नति त के गर्ला उल्टै, ढुङ्गाखानीलाई टिपर चलाउन लगाएर साँझपख हिँड्नेहरूलाई मरिएला कि भन्ने डरले हिँड्नुपरेको अवस्था छ । नेकपाका नेता कार्यकर्ताको अहिलेको क्रियाकलाप हेर्दा उनीहरू कम्युनिस्ट त के पञ्चभन्दा पनि महापञ्च भएको आभास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *