भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (डाँडाकाँडा र खोलानाला)

पूर्व र पश्चिम
यसबीच पश्चिमी सीमामा चिनियाँहरू गरम नीतिअन्तर्गत बनेका भारतका अन्य चौकी खोज्दै दक्षिण लागे । अक्टोबर २१ मा उनीहरूले पाङगोङ तालको उत्तरी भागको चौकी नष्ट गरे । त्यहाँँको गोर्खाली फौज अन्तिम मान्छे नमरुञ्जेल लड्यो । २७ तारिखमा उनीहरूले देम्चोकमा सफलतापूर्वक आक्रमण गरे । दौलत बेग ओल्दीका केही चौकीहरू पश्चिम कमान्डले पहिले नै खाली गरेको थियो । तर, चिनियाँहरू त्यता लागेनन् किनभने त्यो उनीहरूले दाबी गरेको रेखाभन्दा बाहिर पथ्र्यो । पश्चिम कमान्डका जनरल दौलत सिँहले काश्मीरबाट टुकडीहरू बोलाएर छिटोछिटो शक्ति जम्मा गरिरहेका थिए । सबैतिरका सैनिक सामग्री जम्मा गरेर लद्दाखको मोर्चालाई उनले बलियो बनाए । नोभेम्बरको पहिलो सातासम्ममा लेहमा डिभिजन हेडक्वाटर बन्यो । त्यसमा थप ४ वटा पैदल बटालियन थपिएको थियो । नोभेम्बर १७ मा अर्को बटालियन पनि थपियो ।
पूर्वमा भने पश्चिममा जस्तो छरितो निर्णय भएन । अक्टोबर २४ मा कोर ४ मा नयाँ कमान्डर आए – लेफ्टिनेन्ट जनरल हरबक्श सिँह । उनी यसअघि सिम्लामा थिए । जनरल प्रसाद डिभिजन ४ बाट हटाइए र उनको ठाउँमा एएस पठानिया आए । उनको रेकर्ड राम्रो भए पनि धेरै समयदेखि उनी दिल्ली अफिसको आरामदायी काममा थिए । बोम्दीलामा बसेको ब्रिगेड ६५ मा ब्रिगेडियर होशियार सिँह आए । त्यस्तै वालोङको ब्रिगेड ५ का कमान्डर पनि फेरिए । टुकडीहरूको व्यापक हेरफेर भयो । अन्तमा नेफामा कुनै पनि ब्रिगेडमा पुराना बटालियनहरू रहेनन् । यिनै फेरबदलमा पूर्वी कमान्डको ऊर्जा खर्च भयो । यसबीच कोर ४ निष्क्रिय देखिएको थियो । अक्टोबर २४ पछि जनरल हरबक्श सिँहले आफ्नो क्षेत्रको जाँचबुझ अघि बढाए ।
चिनियाँ धुवाँको पर्दा
यसपालि धुवाँको पर्दा हाल्ने पालो चीनको थियो । उसले मैदानका घटनामाथि शब्दको पर्दा हाल्यो । अक्टोबर २० मा चिनियाँ रक्षा मन्त्रालयले एउटा वक्तव्य जारी ग¥यो । सारमा यसो भनिएको थियो, “आज बिहान ७ बजे भारतीय टुकडीहरूले नाम्का चू, चिपचाप र गलवान दुनमा चिनियाँ सीमा चौकीमाथि एकैसाथ ठुलो आक्रमण गरेका छन् । आत्मरक्षामा चिनियाँ सीमाबल जवाफ फर्काउन बाध्य भयो । चिनियाँ भूमिमा स्थापित भारतका बलिया चौकीहरूमाथि आक्रमण गरियो ।” यसरी चीनले भारतीय वाणलाई भारततिरै फर्कायो । वास्तवमा त्यस बिहान भारतीय टुकडी साङलेतिर जान थालेको थियो । यो पक्कै पनि आक्रमण थियो । तर, नाम्का चू र खिनजेमानेभरि र पश्चिमी सीमाका सुनसान र झिनामसिना भारतीय चौकीहरूबाट ठुलो आक्रमण गरिएको थियो भन्नु अतिरञ्जना थियो ।
प्रचारको धुवाँबाट चीन अलि समय भारतसँग खेल्यो । भारतले थागला डाँडामा आक्रमण गर्न चाहन्छ भन्ने दुनियाँलाई थाहा थियो । नेहरूको अक्टोबर १३ को विमानस्थलको भनाइबाट चासो राख्ने सबैले अपरेसन लेगहर्नको बारेमा सुइँको पाएका थिए । भारतले कहिले आक्रमण गर्ला भनी कुरेर बस्नुभन्दा आफूले नै पहिले आक्रमण गरेको भनेर पेइचिङले बताएको भए भारतलाई आफूमाथि ‘आक्रमण’ भएको भन्दै चिच्याउन गा¥हो हुने थियो । आजभोलि यस्तो आक्रमणलाई अन्यथा लिइँदैन । तैपनि ठुलो आक्रमणको प्रसङ्ग भने पत्यारिलो थिएन किनभने भारत चीनको दाँजोमा कमजोर थियो । चीनको सीमाबलले नजिकका भारतीय स्थानहरूमा आक्रमण गरेको कुराले नै यसको खण्डन गरेको थियो । चाउ एनलाइले पनि सुरुमा यस प्रचारमा आफ्नो नाम जोडेका थिएनन् । नोभेम्बर ४ मा नेहरूलाई लेखेको पत्रमा उनले नाम्का चूमा भारतीय सेनाले ठुलो सैनिक आक्रमणको तयारी गरेको लेखे । यो सत्य थियो किनभने सीमामा सामान्यतया भारतले थोरै सैनिक तैनाथ गरेको थियो तर नाम्का चूमा उसले ४ बटालियनसहितको ब्रिगेड जम्मा गरेको थियो । तर, १० दिनपछि एफ्रो एसियाली नेताहरूलाई लेखिएको पत्रमा चाउ एनलाइले भारतले “सीमारेखाभरि ठुलो आक्रमण गरेको” लेखे ।
कूटनीतिक पहल
चीनको मनसाय सैनिक र कूटनीतिक दुवै अपरेसन एकैचोटि चलाउने थियो । उसले तत्कालै कूटनीतिक पाइला चाल्यो । अक्टोबर २४ मा पेइचिङले भारतसँगको स्थिति खुलस्त पा¥यो । भारतले तीन महिनामा ३ चोटि चीनको सर्तविहीन छलफलको प्रस्ताव लत्याएको थियो । उल्टो नेहरूले भारतीय सेनालाई ‘भारतीय भूभाग मुक्त’ गर्ने सार्वजनिक आदेश दिएका थिए । यति भनेपछि पेइचिङको वक्तव्यमा निम्न तीन बुँदा प्रस्ताव गरिएको थियो ः
१. विवादलाई शान्तिपूर्णरूपमा मिलाउन तयार हुनुपर्ने । नियन्त्रण रेखा
(१९५९ को नोभेम्बरको सीमारेखा) लाई सम्मान गर्नुपर्ने । आफ्ना सुरक्षाकर्मीलाई रेखाभन्दा २० किलोमिटर पछाडि राख्नुपर्ने ।
२. भारत यसमा सहमत हुन्छ भने चिनियाँ सुरक्षादल म्याकमाहोन रेखाभन्दा उत्तरमा फर्किनेछ ।
३. मैत्रीपूर्ण समाधानका लागि प्रधानमन्त्रीहरू पेइचिङ वा दिल्लीमा फेरि भेट्नुपर्छ ।
यी प्रस्ताव १९६० को शिखर वार्तामै अघि सारिएका थिए । चाउ एनलाइले पत्रमा समय आएपछि उचित कदम चाल्न र प्रस्ताव मान्न नेहरूलाई अपिल गरेका थिए । वास्तवमा यी प्रस्ताव नेहरूलाई १९५९ को नोभेम्बर ७ मा लेखिएको पत्रमै चाउ एनलाइले उल्लेख गरेका थिए । त्यसैले भारतका लागि पत्रको विषय नयाँ थिएन । परिस्थितिमात्र फेरिएको थियो । अक्टोबर २१ मा चिनियाँ टुकडीहरू म्याकमाहोन रेखामा रहेको हाथुङलामा पुगेका थिए । पेइचिङले चिनियाँ टुकडीहरूले म्याकमाहाँेन रेखालाई मान्यता नदिई दक्षिण लाग्नसक्ने बताएको थियो । त्यसै दिन उनीहरू हाथुङलाबाट दक्षिण लागे । नेहरूले प्रस्ताव सदर गरेको भए चिनियाँहरू म्याकमाहोन रेखाभन्दा उत्तर जाने थिए र भारतीयहरू पश्चिमका गरम नीतिअन्तर्गत १९६१ पछि बनाइएका चौकीबाट पर हट्ने थिए । अनि दुवै पक्ष २० किलोमिटर परपर गएर निःशस्त्र क्षेत्र बनाइने थियो । यसरी चीनको शब्दावलीमा ‘नियन्त्रण रेखा’ मा युद्धविराम हुने थियो । चीनले यो शब्दावली १९५९ देखि प्रयोग गर्न थालेको थियो । यसको अर्थमा कुनै समस्या थिएन । १९५९ को नोभेम्बरसम्म चिनियाँहरू म्याकमाहोन रेखाभन्दा पनि माथि थागलामै थिए । तर, भारतीयहरू म्याकमाहोन रेखा काटेर खिनजेमाने पुगेका थिए । सारमा चिनियाँ प्रस्ताव मानेको भए पश्चिममा भारतले गरम नीतिअन्तर्गत बनेका चौकीहरू हटाउनुपर्ने थियो । त्यो भनेको पश्चिमका आक्रमणमा नपरेका चौकीहरू हटाउनुपर्ने थियो, पूर्वमा ढोला चौकीमा भारत फर्किन पाउँदैनथ्यो ।
जवाफी प्रस्ताव
चीनले आफ्नो प्रस्तावलाई समान र आपसी सम्मानमा आधारित भनेको थियो । ध्यान दिएर हेर्ने हो भने यो प्रस्ताव वस्तुगत थियो । तर, भारतले यसरी नहेर्ने निश्चित थियो । उसले यस प्रस्तावलाई आक्रमणबाट पाएको भूमिलाई चीनले कूटनीतिक सुनपानी छर्किन खोजेको अर्थमा लियो । दिल्लीले आधिकारिकरूपमा पत्र नबुझिकन पत्रपत्रिकामा आएका कुराकै भरमा चीनको प्रस्ताव अस्वीकार ग¥यो । अक्टोबर २४ मा भारत सरकारले वक्तव्य जारी ग¥यो । भारतले सधैँ शान्तिपूर्ण छलफलमा विश्वास गरेको तर भारतीय भूभागमा पसेर आफ्ना सर्तहरू लागू गर्न खोज्ने चीनको रवैया भारतलाई स्वीकार नभएको त्यस वक्तव्यको सार थियो । साथै वक्तव्यमा ‘नियन्त्रण रेखा’ बारे भ्रम छर्न खोजिएको थियो । सैनिक आक्रमण गरेर ४० देखि ६० किलोमिटर भित्र आएर २० किलोमिटर पछि हट्ने कुरा गर्नु कपटी कुरा भएको र यसबाट कोही मूर्ख हुने छैन भनिएको थियो । चीनले पहिलेदेखि नै यस विषयमा लेखिसकेको हुनाले आफ्नो वक्तव्यमा उसले विस्तृत चर्चा गरेको थिएन र भारतले यसैलाई निहुँ बनायो ।
भारतको जवाफी प्रस्ताव सारमा यस्तो थियो – “चीन शान्तिपूर्ण समाधानमा विश्वास गर्छ भने ऊ १९६२ सेप्टेम्बर ८ भन्दा अगाडिको सीमाभन्दा पर जानुपर्छ । त्यसपछि जुनसुकै तहमा भारत छलफलका लागि सहमत हुनेछ । छलफलबाट सीमामा एकतर्फी बलप्रयोगबाट उब्जेको तनाव कम गर्न र यथास्थिति कायम गर्न कदम चालिनुपर्छ ।” यसमा सहमत भए भारत चाउ एनलाइलाई दिल्लीमा स्वागत गर्न तयार भएको वक्तव्यमा उल्लेख थियो । भारत टसकोमस भएको थिएन । वास्तवमा भारत अक्टोबर ६ कै अडानमा थियो । उसको कुरा मानेको खण्डमा चीन थागला डाँडाभन्दा पनि उत्तरमा जानुपथ्र्यो किनभने सेप्टेम्बर ८ मा चिनियाँहरू थागला फर्केका थिए । अर्कोतिर ढोला चौकी र खिनजेमानेमा चीनले भारतीय सेनालाई स्वागत गर्नुपथ्र्यो । यति गरेपछि बल्ल भारत चीनसँग अक्साइ चीनको बारेमा छलफल गर्न तयार हुने थियो । यसबेलासम्म चिनियाँ आक्रमणलाई नेहरूले भारत कब्जा गर्ने चिनियाँ सोच भनिरहेका थिए । यसको उल्टो नरम भाषामा जवाफी प्रस्ताव राखेर उनले चाउ एनलाइको नाममा अक्टोबर २७ मा एउटा पत्र पठाए ।
भाषामा हेरफेर
नेहरूको जवाफी प्रस्तावको भाषा कमजोर भएकोमा भारतमा आलोचना भयो । चिनियाँ आक्रमणपछि सम्झौताका जुनसुकै प्रस्तावलाई आत्मसमर्पण ठानिने निश्चित थियो । एकजना सांसदले त यसलाई ठुलो गद्दारी भनेका थिए । त्यसैले चीनको जवाफ जे आए पनि त्यसलाई भारतमा स्वागत गरिनेछैन भन्ने पक्का थियो ।
चाउ एनलाइले नोभेम्बर ४ मा आफ्नो प्रस्तावका सबै मसिना विषयहरू स्पष्ट पारेर अर्को पत्र लेखे । पत्रमा ‘नियन्त्रण रेखा’ को अर्थ सेनाको हालको स्थिति नभएर १९५९ नोभेम्बरका आधार लगाइनुपर्ने लेखिएको थियो । चीनको हमलालाई पत्रमा ‘आत्मरक्षामा गरिएको प्रत्याक्रमण’ भनिएको थियो । नाम्का चूभन्दा उत्तरमा जानुपर्ने भारतीय जवाफी प्रस्तावलाई चाउ एनलाइले “यस्तो सर्त त हरूवाहरूमाथि थोपरिन्छ” भनी दाँजेका थिए । उनको प्रश्न थियो, “चीन कसरी उल्टो स्थितिमा फर्किन सक्छ ?” अन्त्यमा नेहरूलाई चिनियाँ प्रस्तावमाथि विचार गर्न भनिएको थियो ।
नेहरूको अर्को पत्रको भाषा फेरिएको थियो । यसमा चिनियाँ आक्रमणलाई ‘निर्मम’ र ‘ठुलो आक्रमण’ भनिएको थियो । चीनको प्रस्ताव स्वीकार्नु भनेको “एक आक्रामक, अहङ्कारी र विस्तारवादी छिमेकीको दयामा बाँच्नुसरह” भएको घोषणा गरिएको थियो । पत्रमा नेहरूले थप चर्को प्रस्ताव गरेका थिए । उनले चिनियाँ सेनाहरू सेप्टेम्बर ८ भन्दा अघिको स्थितिमा फर्किनुपर्ने र चीनको नियत असल छ भने बरु आफ्नो सेनालाई १९५९ नोभेम्बरको स्थितिमा लग्न भनेका थिए । भारतको गरम नीतिको प्रतिकार गर्न चीनले बनाएका चौकीहरू पनि छोड्नुपर्ने यसको अर्थ लाग्थ्यो । भारतको मनसाय भने भारतीय सेनालाई ढोला चौकी र खिनजेमानेमा फेरि बस्न दिनुपर्छ भन्ने थियो ।
अमेरिकी सहयोग
तवाङ कब्जापछि स्थिति सामसुम भयो । यसैबेला दुई देशबीच पत्राचार भएको थियो र भारत झन्झन् कठोर बन्दै गयो । सीमाको विषयमा सम्झौता नगर्ने र गरम नीति नत्याग्ने भारतको ढिपी तोडिएको थिएन । थागलाको झिनो चौकी र पश्चिमी सीमाका गरम नीतिअन्तर्गतका आधा चौकीहरू नष्ट गरेपछि पनि चीनको हात रित्तै थियो । भारतीयहरू “लडाइँ त हारियो, युद्ध बाँकी छ” भन्ने मनस्थितिमा थिए । एक प्रकारले भारतको राजनीतिक तप्का युद्धको मानसिकतामा उत्रेको थियो । चीन अप्ठ्यारोमा प¥यो । सेनालाई लामो समयसम्म जहाँको तहीँ राख्दा भारतीय तयारी बढ्दै जान्थ्यो र पछि चीनले बलियो आक्रमण झेल्नुपर्ने हुनसक्थ्यो । फर्केर म्याकमाहोन रेखामा गए उपहासको पात्र बन्ने सम्भावना थियो । चीनले बुद्धिमानीको काम ग¥यो वा अगाडि बढ्ने आँट गर्न सकेन भन्ने दुईथरी हल्ला चल्नसक्थ्यो । यस्तो कदमले सीमा समस्या जस्ताको तस्तै रहने थियो । सैनिक र कूटनीतिक पाइलासँगै चालेरमात्र सीमा विवाद सुल्झाउने चीनको योजना हुन्थ्यो भने चीन असफल भइसकेको थियो । खासमा चीनको योजना पूरै लागू भएको थिएन । भर्खर सुरुमात्र भएको थियो । एक पर्यवेक्षकका अनुसार अक्टोबर २० को आक्रमणभन्दा पहिले नै एक वरिष्ठ चिनियाँ मन्त्रीले स्थानीय सङ्घर्षमा सबैभन्दा तल्लो सीमान्तमा पुगेर फर्किने चीनको सोच रहेको बताएका थिए । पहिलो आक्रमण खेलको पहिलो धक्कामात्र थियो ।
चिनियाँ आक्रमणले केही राजनीतिक हेरफेर ल्यायो । नाम्का चूको हारपछि भारत चीनसँग एउटा अघोषित र लामो युद्धको सुरुआतमा छ भन्ने विचारले नेहरूको असंलग्न नीति उल्टाइदियो । उनले बारम्बार भारत कसैको भरमा नउभिने र कुनै सैन्य गठबन्धनमा नलाग्ने बताइरहेका थिए । सीमा युद्ध नै सुरु भए पनि आफूले कहिल्यै यसो नगर्ने भनिरहेका थिए । यति भनेको केही हप्ता नबित्दै अक्टोबर २९ मा नेहरूले अमेरिकी राजदूतको सैन्य सहयोगको प्रस्ताव तत्काल स्वीकार गरे । यो निर्णय मन्त्रिमण्डलले पास गरेको थियो । निर्णयका पछाडि नेहरूका सल्लाहकारहरू थिए । उनका सैन्य सल्लाहकारहरूले अमेरिकी सहयोगबिना युद्धमा चीनलाई हराउन नसकिने कुरामा नेहरूलाई मनाएका थिए । भारतलाई चाहिने सामग्रीको सूची पहिल्यै तयार थियो । त्यो देखेर अमेरिकी अधिकारी दङ्ग परेका थिए । एक त भारतको आग्रह नै यसको कारण थियो । अर्को उनीहरूले माग गरेका सामग्रीहरूबाट भारतको सैनिक दुर्दशा थाहा हुन्थ्यो । पेन्टागनले पश्चिम जर्मनीबाट सैन्य सामग्रीसहितका उडेका केही जेट विमानहरू ५ दिनपछि भारतमा उता¥यो । चाउ एनलाइले एफ्रो एसियाली सरकार प्रमुखहरूको ध्यान यतातिर ताने । एक पत्रमा उनले लेखे, “भारत सरकारले अमेरिकासँग खुलारूपमा सैन्य सहयोगको भिख मागेको छ ।” भारतले अमेरिकासँग आर्थिकका साथै सैन्य सहायता माग्नु ऐतिहासिक महत्वको घटना भनी पिपल्स डेलीले लेख्यो ।
रुसलाई पाठ
नेहरू सरकारको विषयमा चिनियाँ विश्लेषण सही ठहरियो । रुससँगको सैद्धान्तिक छलफलमा चीनको हात माथि प¥यो । साथै पेइचिङले लडाइँ टुङ्ग्याउनुपर्ने पनि महसुस गरेको हुनुपर्छ । नोभेम्बरको सुरुतिर एक विदेशी संवाददातालाई एक चिनियाँ अधिकारीले भनेका थिए, “हामीमाथि आक्रमण गरुञ्जेल उनीहरूले अमेरिकाबाट जे चाह्यो त्यही पाउनेछन् । यी सानातिना मुठभेडबाट उनीहरूले लाखौँ डलर कमाइरहेका छन् । सायद उनीहरू यसैगरी अघि बढिरहलान् ।”
भारत एफ्रो एसियाली सरकारमाथि खनिएपछि चीनले सीमा विवादसम्बन्धी भारतको कथामाथि शङ्का उत्पन्न भएको ठान्यो । नोभेम्बरको पत्रमा चाउ एनलाइले ती सरकारहरूलाई सीमा विवादमा मध्यस्थता गर्न खोजेकोमा धन्यवाद दिए र शान्तिपूर्ण समाधानमा चीन प्रतिबद्ध रहेको बताए । यता रुसको वस्तुगत आँखा जसरी खुलेको थियो त्यसरी नै अचानक चिम्लियो । क्युवा सङ्कटपछि नेहरूले सोभियत पक्षधरता फेरिने विश्वास लिएका थिए । नोभेम्बरको सुरुमा मस्कोले दुवै देशलाई युद्धविराम गरेर सम्झौताको टेबलमा आउन भन्यो । यसबीच सम्झौताको चिनियाँ प्रस्तावलाई भारतले लत्याएको तथ्यलाई मस्कोले बेवास्ता ग¥यो । पेइचिङको विचारमा क्युवा सङ्कट ख्रुश्चेभको दुस्साहसी खेल थियो र त्यहाँबाट फर्किनु अमेरिकी दबाबसामु उनको घुँडा टेकाइ थियो । भारतविरुद्धको अपरेसन पूरा गरेर साम्राज्यवाद र तिनका मतियारहरूलाई तह लगाउन सकिने र ख्रुश्चेभ र उनको संशोधनवादी गुटको अक्षमता औँल्याउन सकिने चीनको बुझाइ रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *