भर्खरै :

अमेरिकी निर्वाचनबारे अश्वेत वामपन्थीहरूको दृष्टिकोण

नेत्फा फ्रीम्यान अखिल अमेरिकी सामुदायिक आन्दोलन Pan-African Community Action का एक सङ्गठनकर्ता तथा शान्तिका लागि काला मानिसको संयोजन समितिका सदस्य हुनुहुन्छ । उहाँ वासिङ्टन डीसीस्थित लोकप्रिय एफएम रेडियोहरूमा रेडियो कुराकानी कार्यक्रमका लोकप्रिय प्रस्तोता र क्युवाली तथा बोलिभारियाली क्रान्तिका सक्रिय समर्थकहरूमध्ये एक हुनुहुन्छ । वासिङ्टन डिसीबाटै टेलिसुरसितको एक विशेष अन्तर्वार्तामा फ्रीम्यानले संरा अमेरिकाको काला वामपन्थी आन्दोलनको उद्देश्य भनेको शक्तिका लागि सङ्घर्ष गर्नु रहेको स्पष्ट पार्नुभयो । संरा अमेरिकामा डेमोक्र्याटिक पार्टीलाई ट्रम्प÷रिपब्लिकन पार्टीको विकल्पका रूपमा लिने भ्रमका सम्बन्धमा गरेको एक प्रश्नको जवाफमा फ्रीम्यानले भन्नुभयो ः “संरा अमेरिकामा काला जातिका कामदार जनताले राष्ट्रपतीय निर्वाचनमार्फत न्याय प्राप्त गर्नु असम्भवप्रायः छ बरु उनीहरूले निरन्तर सङ्घर्ष गरेर दुवै पुँजीवादी र साम्राज्यवादी रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका विकल्पमा सबै वर्ण र जातिका मानिसहरू वर्गीयरूपमा समेटिने पार्टी निर्माण गर्नुपर्छ ।”

मार्टिन लुथर किङ्ग


हो उहाँले स्पष्टरूपमा सबै वर्ण र जातिका मानिस वर्गीयरूपमा समेटिने पार्टी निर्माणमा जोड दिनुभयो ।
दुईदलीय प्रणालीको विरुद्धमा सबैथोक । सबैथोक…
संरा अमेरिकाको राजनीतिमा ‘कम दुष्ट’ को छनोट गर्ने भनाइ व्यापक र घातकरूपमा प्रचलित छ । यसले आन्दोलनलाई राष्ट्रपतीय निर्वाचनमा सीमित पारी कडाखाले आन्दोलन र निरन्तरको विचारधारात्मक युद्धलाई त्याग्न लगाउँछ ।
फ्रीम्यान अगाडि भन्नुहुन्छ ः “संरा अमेरिकाका काला जातिका जनताले अहिल्यै र सधैँका लागि दुई पार्टीका दुई उम्मेदवारमध्ये कम दुष्ट÷कम खराब भन्ने झूटो मान्यतालाई अस्वीकार गरिदिनुपर्छ । ती दुईटै पार्टीले अफ्रिकी मूलका मानिसविरुद्ध आन्तरिक र बाह्य दुवै तवरले आमनरसंहारकारी नीति लागु गरेका छन् र निरन्तरता दिइरहेका छन् । ट्रम्पजस्तै डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बिडेन सन् १९७२ देखि सिनेटरको भूमिकामा काला जातिविरोधी रहँदैआएका छन् । सन् १९७५ मा उनी जातीय पृथकतावादीहरूको समर्थनमा थिए भने सन् १९९४ मा उनी कथित अपराधसम्बन्धी विधेयकका सहप्रस्तुतकर्ता थिए, जुन विधेयकले पछि ऐन बनेर काला र गहुँगोरा मानिसलाई सामूहिक पक्राउ र केरकार गर्ने बन्देबस्त गरेको थियो । ओबामाको शासनकालमा जब बिडेन उपराष्ट्रपति थिए आन्तरिक प्रहरी विभागका लागि घातक सैन्य सामग्रीको आपूर्तिमा २४ सय प्रतिशत वृद्धिमा भूमिका खेलेका थिए र ती हतियार मूलतः काला र गहुँगोरा अमेरिकी जनताविरुद्ध प्रयोग भएका छन् ।”
दुईमध्ये को कम दुष्ट ? केही सीधा कुरा …
जब फ्रीम्यानसित दुईमध्ये कम दुष्टबारे अलिक विस्तृतरूपमा चर्चा गर्नका लागि अनुरोध गरियो उहाँले अमेरिकी राजनीतिक प्रणालीको घोच्नेखाले कमजोरी औँल्याउँदै भन्नुभयो ः मैले सधैँ भन्दै आएको छु संरा अमेरिकी राष्ट्रपति बन्नका लागि अघोषित र अलिखित योग्यता भनेको अरू देशमा केटाकेटीमाथि बम हान्न सक्नु र संरा अमेरिकामा कुनै राजनीतिक बन्दी छैन भनी झूट बोल्न सक्नु पनि हो । अझै पनि कैयौँ राजनीतिक बन्दीहरू सन् १९७० देखि अमेरिकी जेलहरूमा यातना भोगिरहेका छन् ।
उहाँले उल्लेख गर्नुभएको केटाकेटीहरूमाथि बम हान्नुभित्र ओबामाले सन् २०१५ मा यमनविरुद्धको युद्ध सुरु गर्न लाग्दाको बम हमला पनि पर्छ । चालीस जना यमनी बालकालिकाको अनाहकमा ज्यान जानेगरी भएको उक्त हमला त समुद्रको सतहमा देखिएको बरफको पहाडको टुप्पोमात्र हो । विगतमा एसियाली देश भियतनामलाई दुईभागमा विभाजन गरेर भियतनामविरुद्ध संरा अमेरिकाले गरेको भयानक युद्ध र माइलाई क्षेत्रमा भियतनामी महिला, बालबालिका तथा अबोध शिशुहरूविरुद्ध संरा अमेरिकी जलसेनाले गरेको अत्याचारको विभत्स दृश्य कसले बिर्सन सक्ला र ? संरा अमेरिकाले कोरिया युद्धका क्रममा कोरियाली जनताविरुद्ध गरेको अत्याचार अमेरिकी शासकवर्गको क्रुरताको अर्को इतिहास हो । फ्रीम्यानको अभिव्यक्तिलाई उहाँको दुईदलीय प्रणालीविरुद्ध र दुईमध्ये कम दुष्ट प्रतिको आक्रोशका रूपमा मात्र लिन सकिन्न ।
मूलधारका भनिएका पुँजीवादी सञ्चारमाध्यमहरू तथा दुवै पुँजीवादी पार्टीहरूले कहिल्यै पनि संरा अमेरिकामा अझै ५० जनाभन्दा बढी राजनीतिक बन्दीहरू अमेरिकी जेलहरूमा छन् भन्ने तथ्यलाई उल्लेख गरेका छैनन् । ती बन्दीहरूमध्ये बहुमत अफ्रिकी मूलका र अमेरिकी आदिवासीहरू छन् । तिनीहरूमध्ये केही ब्लैक प्यान्थर पार्टीका छन्, केही स्थानीय आन्दोलन र सन् १९६० र १९७० दशकका क्रान्तिकारी वर्गीय मुक्ति आन्दोलनसित सम्बन्धितहरू छन् ।
हालैको मिनियापोलिस माइनेसोटाको जर्ज फ्लोयड हत्याकाण्ड र त्यसपछिको देशव्यापी आन्दोलनलाई एक क्षण बिर्सने हो भने पनि सन् २०१४ मा पनि मिसौरीको फर्गुसनमा काला जातिका युवा माइक ब्राउनको हत्याको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएका थिए भने २०१६ मा आदिवासी र तिनका समर्थकहरूको स्टयान्डिङ रक आन्दोलन चलेको थियो । वास्तवमा ती आन्दोलन अमेरिकी राज्यस्तरको ‘नरसंहार कार्यक्रम’मा पर्नबाट जोगिएकाहरूको आन्दोलन थियो ।

माल्कम एक्स


अमेरिकी जेलमा राजनीतिक बन्दीका रूपमा रहेका अमेरिकी वामपन्थीहरूलाई बेवास्ता नगरेका विश्वमा यदि कोही छन् भने ती क्युवाली जनता र राज्य हुन् । क्युवाली जनताले क्रुर भयानक जङ्गलका रूपमा रहेको अमेरिकी जेल प्रणालीको दुष्टताको निरन्तररूपमा पोल खोल्नुका साथै त्यसको प्रतिरोध गरिरहेकाहरूलाई निरन्तर समर्थन दिँदै आएका छन् । क्युवाले भेनेजुयला, निकारागुवा, बोलिभियाजस्ता देशको साथ र विश्वका न्यायप्रेमी जनताको समर्थनमा पाँच क्युवाली देशभक्तहरूविरुद्धको सजायलाई अस्वीकार गर्दै तिनीहरूलाई मुक्त गराएरै छाडेको थियो ।
मे महिनामा माइनेसोटाको मिनियापलिसमा जर्ज फ्लोयडको हत्यापछि सुरु भएको र हाल चलिरहेको विरोध प्रदर्शनका बारेमा फ्रीम्यान भन्नुहुन्छ – “संरा अमेरिकामा हाल जारी रहेको जातीय राज्यविरुद्धको सङ्घर्षलाई विदेशमा यसको साम्राज्यवादी युद्धविरुद्धको आन्दोलनसित अलग्ग गर्न सकिन्न ।” संरा अमेरिकामा सबैभन्दा बढी तिरष्कृत र उत्पीडित अफ्रिकी–अमेरिकीहरू अहिले निःस्वार्थरूपमा सङ्घर्षको अग्रमोर्चामा रहेका छन् । तिनीहरूले विश्वका कुनै पनि कुनाका जनतामाथि अमेरिकी आक्रमण रहेसम्म संरा अमेरिकामा पनि शान्ति नहुने तथ्यमा जोड दिइरहेका छन् ।
माल्कम एक्स र २०२० को राष्ट्रपतीय निर्वाचन
मार्टिन लुथर किङ्ग जुनियरले पनि आफ्नो हत्या हुनुपूर्वका कैयौँ भाषणहरूमा संरा अमेरिकाको घरेलु स्थितिलाई त्यसको बाह्य स्थिति र भियतनाम युद्धसित जोडेका थिएनन् र ? उनले युद्ध, सैन्यवाद, जातिवाद र संरा अमेरिकामा रहेको व्यापक गरिबी अन्तरसम्बन्धित रहेको स्पष्ट पारेका थिए । मार्टिन लुथर किङ्गको भाषणमा भएका ती तथ्यहरूलाई आजको विद्रोहमा त्यसको प्रभाव नपरोस् भन्ने नियतले वर्तमान बहसका क्रममा होशियारीपूर्वक सेन्सर गरिएका छन् । संरा अमेरिकी शासकवर्गले अपराधपूर्ण तवरले मार्टिन लुथर किङ्गको – मेरो एक सपना छ– भाषणलाई मात्र जोडतोडले प्रचार गरिरहेका छन् र उनको वास्तविक विचार एवम् राजनीतिक विरासतलाई बङ्गयाइरहेका छन् र यसरी विचार बङ्ग्याएर प्रचार गर्ने कार्यमा अमेरिकी उदारवादीहरू बढी सक्रिय देखिन्छन् ।
त्यस्तै अफ्रिकी–अमेरिकी मूलका जनताका अर्का नेता माल्कम एक्सका विचारलाई पनि अमेरिकी उदारवादीहरूले बरोबर उद्धृत गर्ने गर्छन् र उनका राजनीतिक कार्यलाई विगतका रामोञ्चक उदाहरणका रूपमा प्रस्तुत गर्छन् । तरपनि, एक्सका विचार र विरासतलाई आज पनि सबै वर्ण र जातिका करोडौँ अमेरिकीहरूले आफ्नो मन मष्तिस्कमा साँचेका छन् । माल्कम एक्सले धेरै पहिले नै लेखेका थिए ः “गोरा अनुदारवादीहरू काला जातिका जनताका मित्र होइनन्, तर कम्तीमा तिनीहरूले यस तथ्यलाई लुकाउन खोज्दैनन् । तिनीहरू ब्वाँसोजस्ता हुन्, तिनीहरू सधैँ नै आफ्नो धारिलो दा¥हा देखाएर गर्जिरहेका हुन्छन् र काला जातिका अमेरिकी जनता तिनीहरूबाट टाढै र सतर्क बस्छन् । तर, गोरा उदारवादीहरू फ्याउरा हुन् । तिनीहरू पनि आफ्ना चुच्चे दा¥हा देखाइरहेका त हुन्छन् तर त्यसो गर्दा तिनीहरू मुस्कुराइरहेका देखिन्छन् । गोरा उदारवादीहरू अनुदारवादीहरूभन्दा झन् बढी खतरनाक छन्, तिनीहरू काला जातिका जनतालाई लोभ्याउँछन्, गर्जिरहेका ब्वाँसोबाट बच्न भागिरहेका काला जातिका अमेरिकीहरू भाग्दै हाँसिरहेका र मुख बाइरहेका फ्याउरोको मुखमा पर्छन् । रिपब्लिकन र डेमोक्र्याटिक पार्टी भनेका एउटा ब्वाँसो हो भने अर्को फ्याउरो हो । जसको पन्जामा परे पनि तिनीहरू दुवैले तिमीलाई (काला जातिका अमेरिकी जनतालाई) चपाउने गर्छन् ।”
फिडेल क्यास्ट्रोलाई थाहा थियो सन् १९६० को आफ्नो पहिलो न्यू योर्क भ्रमणका क्रममा कसलाई भेट्ने भनेर । उहाँले मालकम एक्ससित भेट गर्नुभएको थियो ।
अन्तमा, अमेरिकी राजनीतिबारे विज्ञका स्वतन्त्र शब्दहरू यहाँ राखौंँ ¤ तिनी गैरकाला र गैरअमेरिकी अर्थात् विख्यात अस्ट्रेलियाली पत्रकार कैटलिन जोनस्टोन हुन् । अफ्रिकी–अमेरिकी मूलका अमेरिकी जनताको आन्दोलनबारे तिनको टिप्पणी छ – यी विरोधहरू (आन्दोलन) डोनाल्ड ट्रम्प र ट्रम्पजस्ता निरङ्कुश रिपब्लिकनहरू पुनः सत्तामा आएर तथा तिनीहरूले विरोध प्रदर्शनविरुद्ध सेना उतारेर अन्त्य हुनेछैन बरु तिनीहरूलाई समर्थन गरेको अभिनय गरिरहेका अमेरिकी उदारवादीहरू सत्तामा आएपछि तिनीहरूका कहिल्यै पूरा नहुने आश्वासनले आन्दोलनलाई गतिहीन पार्नेछ ।
के यही सत्य होइन र ?
Black Left Views on American Elections Matter
https://www.telesurenglish.net
24 July 2020
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *