भर्खरै :

ग्रामीण क्षेत्रका विद्यार्थीलाई इन्टरनेटकै समस्या

नवलपुर, २८ भदौ । ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरूले बताएका छन् ।
सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ ।
जिल्लाको मध्यबिन्दु–३, ब्रह्मस्थान घर भएर चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अजिता पोखरेलले आफूहरू अनलाइन शिक्षा लिन सक्ने अवस्थामा नभएको बताउनुभयो ।
“कोरोना सङ्क्रमणको जोखिम भएको भन्दै सरकारले लकडाउन गरेपछि म घरमा आएर बसेकी छु, यहाँ फोन गर्नका लागि त नेपाल टेलिकमको मोबाइलमा राम्रोसँग नेटवर्क आउँदैन”, उहाँले भन्नुभयो, “यस्तो ठाउँमा अनलाइन शिक्षा कसरी प्रभावकारी हुन्छ ?” उहाँले व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक चौथो वर्षको परीक्षाको तयारी गर्दै गर्दा देशमा लकडाउन घोषणा भएको थियो ।
घरमा आएर बसेपछि आफूसँग भएको किताब पढ्नबाहेक आफ्ना शिक्षक तथा साथीहरूसँग छलफल गर्नसमेत नपाएको पोखरेलले गुनासो छ ।
“मोबाइलको नेटवर्कले राम्रोसँग काम गर्ने अवस्थामा त अनलाइन शिक्षा प्रभावकारी नै होला”, उहाँले भन्नुभयो, “तर फोन गर्नका लागि नेटवर्क खोज्दै हिँड्नुपर्ने हाम्रोजस्तो ठाउँमा अनलाइन शिक्षा प्रभावकारी हुँदैन ।”
वैकल्पिकरूपमा अनलाइन शिक्षा प्रदान गर्ने हो भने सरकारले मोबाइल प्रदायकहरूलाई आफ्नो नेटकर्वको गुणस्तर वृद्धिमा ध्यान दिन निर्देशन दिनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *