भर्खरै :

“आलोचना नगर्ने र सधैँ तारिफ मात्र गर्नेहरूसित सचेत रहनुपर्छ”

“आलोचना नगर्ने र सधैँ तारिफ मात्र गर्नेहरूसित सचेत रहनुपर्छ”

भक्तपुर, ८ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा २०८० सालमा प्रवेशिका परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई मार्गनिर्देशन तथा शैक्षिक परामर्श कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालका केही प्राध्यापक र विश्वविद्यालयले विदेशी विश्वविद्यालयको एजेन्टको रुपमा काम गरेको तथा केवल पैसाकै निम्ति पढाइरहेको र विद्यार्थीमा पनि पैसामुखी सोच प्रसार गरिरहेको हुनाले नयाँ पुस्ताका विद्यार्थीमा समस्या देखिएको स्पष्ट पार्नुभयो ।
विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्दै अध्यक्ष बिजुक्छेँले चिट चोरेर परीक्षा पास गर्ने विद्यार्थीले केही नखाइकन खाएँ भन्नुसरह हुने विचार राख्दै मिहिनेत गरेर पढेमात्रै भविष्यमा सफल बनिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सजिलो काम मात्र नखोजी गाह्रो भन्दा गाह्रो काम गर्न तत्पर भए कुनै पनि समस्यासँग जुझ्न सकिन्छ ।” उहाँले आपत्कालीन स्थितिका लागि विद्यार्थीकालमै स्वास्थ्य उपचारसम्बन्धी सामान्य ज्ञान लिइराख्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीहरू राष्ट्रभाषा नेपालीमा निपुण हुनैपर्ने र आफ्नो मातृभाषाका साथै देशको अन्य स्थानीय भाषामा पनि अब्बल बन्नुपर्ने विचार राख्दै उहाँले विद्यार्थीमा देशको भूगोलको राम्रो ज्ञान नभएकै कारण हाम्रो समाज पछाडि परेको बताउनुभयो । विभिन्न देशमा नेपालका राजदूत भएर गएका व्यक्तिहरूलाई सो देशको भाषा नआएकै कारणले आज नेपाल र ती देशको सम्बन्ध बलियो नभएको र त्यहाँ काम गर्न गएका नेपालीहरूले दुःख पाउँदासमेत केही गर्न नसकेको उहाँले चर्चा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले विद्यार्थीमा सहयोगी भावना हुनुपर्ने र सहयोगी भावना नभएका मान्छेको सङ्गत पनि गर्न नहुने बताउनुभयो । कसैको गल्ती भेटाएमा समयमै आलोचना गर्नुपर्ने र गल्तीलाई नसच्याई तारिफमात्र गर्नेहरूसँग सधैँ सतर्क हुनुपर्ने उहाँको विचार थियो । पढ्ने बानीलाई सास फेर्नुसँगै तुलना गर्दै उहाँले सास रहुन्जेल केही न केही पढ्ने र आफ्नो पढाई तथा ज्ञानलाई देश एवम् जनतामा समर्पित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेमकिपा भक्तपुरका अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईँले बिदाको अवधिमा एसईई दिएका विद्यार्थीहरूले आफ्नो विद्यार्थी जीवनको समीक्षा गर्दै विभिन्न सीप सिकेर समयको उपयोग गर्न सुझाव दिनुभयो । जीवनमा जीपीए मात्रै सबैथोक नभएको र विद्यार्थीले लेखन, वाककला, विभिन्न हस्तकलालगायत सीप सिकेर व्यावहारिक तथा जीवन उपयोगी ज्ञान हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मोबाइलमा मात्रै नअल्झी वरिपरि घुमघाम गर्ने, विविध संस्कृति, भाषा, जीवनशैली तथा भूगोलको अध्ययन–अवलोकन गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा नेक्राविसंघका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले पुँजीवादले आफूलाई चाहिने भन्दा बेसी इच्छाहरू जगाइदिने हुनाले विद्यार्थीहरू सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो रूचिको विषय लिएर व्यापक दृष्टिकोणसहित निरन्तर अध्ययन गरेमा देश एवम् समाजको सेवा गर्न सकिने औँल्याउनुभयो ।
उद्घाटन सत्रपछि कार्यक्रममा कक्षा ११ र १२ मा अध्यापन हुने विभिन्न सङ्कायका विभिन्न विषयबारे रमेश प्रजापति, अन्जना सैंजु, सरजु फसिकवा, किशोर गोसाई, राजु कैती तथा सबिता त्वानाबासुले शैक्षिक परामर्श दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *