भर्खरै :

प्रख्यात सामाजिक कार्यकर्ता स्वामी अग्निवेशको निधन

नयाँ दिल्ली, १२ सेप्टेम्बर (द वायर) । भारतका एक प्रख्यात सामाजिक कार्यकर्ता तथा विद्वान स्वामी अग्निवेशको शुक्तबार नयाँदिल्लीस्थित आईएलबीएस अस्पतालमा निधन भयो । उहाँ ८० वर्षका हुनुहुन्थ्यो ।
स्वामी अग्निवेश केही वर्षदेखि लिवर सिरोसिस रोगबाट पीडित हुनुहुन्थ्यो र केही समयअगाडिदेखि बिरामी हुनुहुन्थ्यो । उहाँका कैयौँ अङ्गले काम गर्न छाडेपछि गएको मङ्गलबारदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार आन्ध्र प्रदेशको एक ब्राह्मण परिवारमा जन्मेका स्वामी अग्निवेशले एक सन्यासीको जीवन निर्वाह गर्नका लागि आफ्नो नाम, जात, धर्म, परिवार, सामान र सम्पत्तिको त्याग गरिदिएका थिए । केही वर्षअगाडि भारत सरकार र भारतीय माओवादी विद्रोहीहरूबीच वार्ताको निम्ति पहल गरेका स्वामी अग्निवेशलाई भारतीय दक्षिणपन्थीहरू भगवा नक्सलाइट (सन्यासीको भेषमा नक्सलवादी) भएको आरोप लगाउने गर्थे ।
स्वामी अग्निवेशले आफ्नो सङ्गठन बँधुवा मुक्ति मोर्चाको माध्यमले बँधुवा मजदुर र केटाकेटीहरूको मुक्तिको निम्ति अनेकौँ सङ्घर्ष गर्नुभएको थियो । कामदार जनताको हितको निम्ति काम गर्दा गर्दै उहाँले कामदार जनतालाई राजनीतिमा आउन पे्ररित गर्दै आउनुभएको थियो । १०७० मा स्वामी अग्निवेशले आर्य समाजको सिद्धान्तमा आधारित र त्यसै नामबाट एक राजनीतिक पार्टी स्थापना गर्नुभएको थियो । त्यही पार्टीको उम्मेदवारका रूपमा हरियाणा विधानसभाको सदस्य निर्वाचित हुनुभएको थियो । त्यसको दुई वर्षपछि उहाँ हरियाणा राज्य सरकारको शिक्षामन्त्री पनि बन्नुभएको थियो । तर बँधुवा मजदुरीको विरोधमा प्रदर्शन गरिरहेका कामदार जनतामाथि पुलिसको गोली चलाएपछि र त्यसविरुद्ध हरियाणा सरकारले कुनै कारबाही नगरेपछि उहाँले तत्कालै मन्त्री पदबाट राजिनामा दिनुभएको थियो । त्यसपछि उहाँ वामपन्थी विचारतिर बढी झुकाव राख्न थाल्नुभएको थियो ।
सन् २०१० मा भारतीय राष्ट्रिय काङ्ग्रेस नेतृत्वको सरकारले माओवादीसित संवाद स्थापित गर्ने जिम्मेवारी सुम्पेको थियो तर सरकारको दोहोरो चालका कारण वार्ता असफल भएको थियो । त्यसको एक वर्षपछि अन्ना हजारेको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनमा पनि सहभागी हुनुभएको थियो ।
भारतका एक वरिष्ठ वकिल प्रशान्त भुषणले उहाँको निधनपछि प्रतिक्रिया दिँदै भन्नुभएको छ, स्वामी अग्निवेशको निधन एक ठूलो क्षति हो । उहाँ सहनशीलता र मानवताका एक सच्चा योद्धा हुनुहुन्थ्यो । मैले चिनेका समकालीन भारतीयहरूमध्ये उहाँ सबैभन्दा साहसी र जनहितका निम्ति ठूलो जोखिम मोल्ने व्यक्तित्व हुनुहुन्थ्यो । दुई वर्षअगाडि झारखण्डमा भाजपा/ सङ्घ कार्यकर्ताहरूद्वारा भएको बर्बर र साङ्घातिक आक्रमणको शिकार हुँदा उहाँको दुवै कलेजो (लिवर) खराब भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *