भर्खरै :

अर्थपूर्ण बाल दिवस कहिले ?

नोबेल कोरोना भाइरसको कारण बालबालिकाले प्रतिकूल समय भोगिरहेको परिस्थितिबीच यो वर्षको बाल दिवस सामान्य औपचारिकतामा सीमित रह्यो । चैत महिनादेखि नै देशका सबै विद्यालय बन्द छन् । पढ्ने उमेरका सबै बालबालिका यतिबेला घरभित्रै कैद छन् । कहिले विद्यालय खुल्ने कुनै टुङ्गो छैन । खुला आकाशमुनि स्वतन्त्ररूपमा सिर्जनात्मक गतिविधिमा लाग्नुपर्ने बालबालिकाहरू आधा वर्षदेखि अन्योल र उकुसमुकुसको समय व्यतीत गरिरहेका छन् । नियमित विद्यालय गएर लेख–पढ गर्नुपर्ने उनीहरू दिनभर कोठामा कैदी भएर बस्न बाध्य छन् ।
नोबेल कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आपसमा टाढा बस्नुपर्ने आजको परिस्थितिमा प्रविधिको सहायताले बालबालिकाको सिकाइ प्रक्रिया अनलाइनमार्फत निरन्तर हुनु सुखद हो । तर, सरकारी निकायको गैरजिम्मेवार व्यवहार, निजी क्षेत्रको नाफामुखी चरित्र र सामुदायिक विद्यालयको लोसे प्रवृत्तिको कारण अनलाइन कक्षा अपेक्षित प्रभावकारी हुन सकेन । फलतः संविधानले दिएको पढ्ने लेख्ने अधिकारबाट बालबालिका बञ्चित भए ।
समाजमा विद्यमान वर्ग विभाजनको प्रतिबिम्ब बालबालिकामा पनि पर्नु स्वाभाविक हो । नेपाली समाजमा आज धनी र गरिबबीचको दुरी अझ फराकिलो बन्दै छ । परिणामतः आर्थिक अभाव र सामाजिक चेतनाको कारण विद्यालयको अनुहारसमेत हेर्न नपाएका र विद्यालयको पढाइ बीचमै छोड्न बाध्य धेरै बालबालिका छन् भने नेपालका महँगा विद्यालयको ‘शैक्षिक स्तर’ चित्त नबुझेर विदेशी विद्यालयमा धाउने बालबालिका पनि छन् । हुरीले उडाएको छानो फेरि छाउन नसकेका विद्यालयहरूमा पढ्ने विद्यार्थी पनि नेपालमै छन् भने औसत नेपालीको वार्षिक कमाइभन्दा धेरै मासिक शुल्क तिर्ने अभिभावकका बालबालिका पनि नेपालमै छन् । यो परिदृश्यमा स्पष्टतः समाजमा दुई वटा नितान्त फरक वर्गहरू हुर्किरहेका छन् । भाग्यवादी चिन्तनले जरा गाडेको नेपाली समाजमा कति मानिसहरू एकै देशका बालबालिकाको दुई थरी अवस्थाको निम्ति भाग्यलाई दोष दिने गर्छन् । तर, बालबालिकाको यस्तो अवस्थाको निम्ति कुनै अलौकिक भाग्य होइन, राज्य व्यवस्थाले कोरेको ‘भाग्य’ दोषी हो ।
बालबालिका देशका भविष्य हुन् । आजका बालबालिका नै भविष्यमा संसारका निर्माता भएकाले समाजवादी देश प्रजग कोरियाले बालबालिकाको व्यक्तित्व विकासमा विशेष जोड दिने गरेको छ । बालबालिकाको स्वास्थ्य र व्यक्तित्व विकासमा राज्यले विशेष भूमिका खेल्ने गरेको छ । आमाको गर्भमा रहेको शिशुदेखि आफैँमा सक्षम युवा नबन्दासम्म बालबालिकाको विकासको निम्ति गर्नुुपर्ने सबै जिम्मेवारी राज्यले बहन गर्ने गर्छ ।
तर, नेपालमा भने अझै बालबालिकाको व्यक्तित्व विकास र स्वास्थ्य आमाबुबाको आर्थिक हैसियतमा निर्भर हुने गरेको छ । धनी परिवारका जन्मेको बालक र गरिब परिवारमा जन्मेको बालकबीच व्यक्तित्व विकास र स्वास्थ्य अवस्थामा आकाश पातालको अन्तर हुने गरेको छ । लकडाउनको समयमा आमाबुबाको काखमा बसेर अनलाइन कक्षाबाट ज्ञानको सागरमा पौडिरहेका बालबालिका पनि देखिए भने आमाको काखमा बसेर खुलामञ्चमा बसेर मुखमा गाँस भर्दै गरेका बालबालिका पनि देखिए ।
बाल दिवस मनाउनुको सार्थकता त्यत्तिबेला रहनेछ, जब नेपालका सबै बालबालिकाले स्वस्थ हुने र व्यक्तित्व विकासमा समान अवसर प्राप्त गर्नेछन् । धनी र गरिबबीच वर्ग भेद भएको समाजमा कहिल्यै पनि सबै बालबालिकाबीच समानता सम्भव छैन । त्यसकारण बाल दिवसमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अघि सारेका अवस्तुगत विकासको कुरा होइन, समाजको जरामा रहेको खास समस्याको समाधान गरेरमात्र अर्थपूर्ण बाल दिवस मनाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *