भर्खरै :

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा आउने निश्चित

टोकियो, १४ सेप्टेम्बर । जापानका मुख्य सचिव योशिहिदे सुगाले उदार प्रजातान्त्रिक पार्टीको नेतृत्वको लागि सोमबार भएको निर्वाचनमा विजय हासिल गरेका छन् । ७१ वर्षका सुगाले कुल ५३४ मतमध्ये ३७७ मत हासिल गरेका थिए ।
उनीसँगै दुई जना अन्य नेताहरूले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित भएपछि उनले प्रधानमन्त्री सिन्जो अबेका प्रमुख आर्थिक तथा विदेश नीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उदार प्रजातान्त्रिक पार्टीको नेतृत्वमा निर्वाचित भएपछि उनी अब जापानको प्रधानमन्त्री बन्ने पक्का भएको छ । जापानको तल्लो सदनमा उदार प्रजातान्त्रिक पार्टीको बहुमत छ ।
तर, आर्थिक विषमता र बढ्दो कूटनीतिक चुनौतीबीच सुगाले देशको कसरी नेतृत्व गर्ने हुन् भन्ने विषयमा जापानी जनता हेर्न निकै उत्सुक छन् । प्रशासनमा निकै बलियो पकड भएका न्युन हैसियतमा बस्न रुचाउने उनको वैदेशिक नीतिमा निकै कममात्र अनुभव भएको मानिन्छ ।
जापानका वरिष्ठ राजनीतिक नेता शुसेई तानाकाले सुगाको सबभन्दा ठुलो चुनौती वैदेशिक नीति नै भएको बताए ।
“आन्तरिक वा कूटनीतिक नीतिमा सुगाले अबेको नीतिलाई नै पछ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, प्रजग कोरिया र रुससँग जोडिएका धेरै विषयमा अझै पनि जटिलता बाँकी नै छन् । चीनको मामिला अझै पनि तरल छ”, उनले भने ।
अबेले आक्रामक कुटनीतिक नीति अँगालेका थिए । उनले १७० भन्दा बढी देश र क्षेत्रको भ्रमण गरे । उनले कूटनीतिक क्षेत्रमा आफू सफल भएको दाबी गरेका छन् ।
सुगाले अबेकै विदेश नीति पछ्याउने घोषणा गरे । तर विश्लेषकहरू सुगा सरकारले भविष्यमा गर्ने कामप्रति शङ्का व्यक्त गर्छन् ।
चीनसँग जापानको सम्बन्ध सुधारोन्मुख छ । तथापि, आर्थिक सहकार्य सबल बनाउने धेरै विषय अझै पनि बाँकी नै छ ।
संरा अमेरिका र जापानबीचको सम्बन्धमा जापान अझै अडिग छ । संरा अमेरिकासँगको सुरक्षा मोर्चा जापानको लागि निकै महत्वको रहँदै आएको छ । तर, जापान आफ्नै रक्षा क्षमता विकास गरी संरा अमेरिकासँगको सुरक्षा निर्भरता कम गर्न खोजिरहेको छ ।
जापानका प्रधानमन्त्री अबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको सम्बन्ध राम्रो भए पनि व्यापारको मामिलामा उनीहरूबीचको मत समान छैन । संरा अमेरिका र रुसको बीचमा जापानले बीचको भूमिका कायम राखेका छन् ।
जापानका प्रधानमन्त्री सिन्जो अबेले हालै स्वास्थ्यको कारण पदबाट राजीनामा दिएपछि जापानको राजनीतिमा नयाँ परिस्थिति विकास भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *