भर्खरै :

लेनिन कथा – ३१

सङ्घर्ष मृत्युसँगको
नयाँ वर्षअघिको साँझ
लेनिन बिरामी भए । जीवन नै धरापमा पर्ने गरी सिकिस्त भए । कोही एकाएक देखापरेको व्यथा हो भन्थे तर त्यस्तो थिएन । त्यसको जग धेरै पहिला हालिँदै थियो । लेनिनलाई अनिन्द्राको व्यथा थियो । कहिलेकाहीँ उनी बिहानसम्मै निदाउन सक्दैनथे । कहिले भने कहिल्यै नबित्ने रात काट्न अत्यन्त गार्‍हो हुन्थ्यो । टाउको पनि हरबखत बल्किन्थ्यो । सबथोक चरमचुलीमा पुगेपछि लेनिन सिकिस्तै भए । उनी क्रेमलिनको फ्ल्याटमा आफ्नो सानो कोठामा पल्टिरहेका थिए ।
“लेनिनले आफूलाई अति नै गलाउनुभएको छ । यति धेरै काम मानिसको हातको कुरा होइन,” डाक्टरले भने । “अब पूणर् आराम गर्नैपर्छ ।”
लेनिन काम नगरी बस्न सक्दैनथे । व्यथा खतरनाक थियो । आफ्ना सबै जरुरी विचार साथीहरूलाई समय छँदै बताउन आवश्यक थियो ।
लेनिन आफ्नो निस्क्रिय हात कम्मलबाहिर राखी निश्चल पल्टिएका थिए । हनहनी ज्वरोले तातेको टाउकोमा पानीपट्टी राखिएको थियो ।

साँझको समय थियो । बत्ती मधुरो प्रकाश दिँदै बलिरहेको थियो । भोजनपछि लेनिनलाई आराम गर्न भनिएको थियो । तर, उनी कसैगरी निदाउन सकिरहेका थिएनन् ।
हिजो मस्कोमा सोभियत समाजवादी जनतन्त्र सङ्घका सोभियतहरूको पहिलो सम्मेलन सुरु भएको थियो । हिजो ३० डिसेम्बर, १९२२ थियो । सम्मेलनले सोभियत समाजवादी जनतन्त्र सङ्घको स्थापनासम्बन्धी सन्धिहरू पारित गरेको थियो । लेनिनले यस ऐतिहासिक दिनको तयारी धेरै पहिलेदेखि गरेका थिए ।
सोभियत सङ्घको स्थापना यति महत्वपूणर् किन छ, सबैजना एकदम अनभिज्ञ थिए । यसको स्थापनामा लेनिन किन यति उत्साह र दृढताका साथ लागिरहेका थिए ? यो पनि धेरैको लागि नसुल्झिएको प्रश्न थियो ।
लेनिन सोभियत समाजवादी जनतन्त्र सङ्घ एकदम नवीन राज्य होस्, जारशाही रूसभन्दा सर्वथा भिन्न राज्य होस् भन्ने चाहन्थे । जारकालमा के थियो ? केवल रूसी राज्य थियो । युक्रेन र बेलारूसको मानौँ अस्तित्व नै थिएन । आर्मेनिया, अजरबैजान र जर्जियालाई रूसको अङ्गमात्र मानिन्थ्यो । गैर-रूसी जातिहरूलाई कुनै किसिमको स्वतन्त्रता थिएन । स्कूलमा उनीहरूका बालबच्चाले आफ्नो मातृभाषामा शिक्षा पाउँदैनथे । धेरैजसो जातिहरूको आफ्नो साहित्य थिए । कतिसम्म भने तिनको आफ्नो लिखित भाषासमेत थिएन । सानाजातिलाई विकासको कुनै अवसर दिइएको थिएन । उनीहरूलाई निकृष्ट मानिन्थ्यो । लेनिनलाई यस प्रकारको असमानताप्रति घोर घृणा थियो ।
उनी विचारमा डुबेका थिए । क्रुप्सकायाले ढोकामा आई कान ठनासेर सुन्न थालिन् –
“सुत्नुभयो ?”
“म सुत्न सकिरहेको छैन नाद्या । कामको तयारी गरिरहेको छु ।”
उनी सुटुक्क कोठामा प्रवेश गरिन् । मधुरो बत्ती निभाइन् र टेबलको बत्ती बालिन् । पूरै कोठा प्रकाशले झलमल्ल भयो । सिरानीमा अडिएको लेनिनको पहेँलो अनुहार पनि आलोकित भयो ।
भान्साकोठाको भित्तेघडीले छ चोटि घण्टी बजायो । ठीक त्यसैबेला लेनिनकी टाइपिस्ट मरिया उकियोभ्ना भोलोदिचेवा कोठामा पसिन् । उनी दुब्ली पातली, तीस – एकतीस वर्षकी बुद्धिमान र समझदार युवती थिइन् । उनी कागज र कलम लिएर बिस्तारानिर राखिएको टेबलछेउ बसिन्  ।
“अँ, अनि,” लेनिन बोले ।
आज डाक्टरहरूले उनलाई चालीस मिनेटसम्म बोलेर लेखाउन अनुमति दिएका थिए । चालीस मिनेट पुगीसरि थियो । किनभने, लेख उनको मस्तिष्कमा लगभग पूणर्रूपमा तयार थियो । यसबेला लेनिनले जे लेखाइरहेका थिए, सम्मेलनमा उपस्थित भएको भए पनि उनी यही बोल्थे । यो लेखोट साथीहरूलाई उनको निर्देशन थियो । साथीहरूले उनका विचार सुन्नेछन् । उनको सन्देश आत्मसात गर्नेछन् । त्यसअनुसार सोभियत सङ्घ निर्माण गर्नेछन् । साना जातिहरूलाई कुनै पनि अधिकारबाट बन्चित नगरियोस् भन्ने लेनिनको कडा निर्देशन पनि थियो । जातिहरूको उपेक्षा र अवहेलना ठीक होइन । सबै सोभियत जनतन्त्रहरू समान हुनुपर्छ । हेलमेल भइरहनुपर्छ । अनिमात्र सोभियत सङ्घ एक शक्तिशाली र न्यायपूणर् राज्य बन्नसक्नेछ । अनिमात्र विश्वभर साम्राज्यवादको खुट्टामुनि पिल्सिएका राष्ट्रहरूमा चेतनाको सञ्चार हुनेछ… ।
छेउको कोठामा बसेर क्रुप्सकायाले उनको परिचित प्रिय आवाज सुनिरहेकी थिइन् । उनी दुवै हातका औँला जोडेर त्यसमा चिउँडो राखिबसेकी थिइन् । उनको दुर्बल र चिन्तामिश्रित अनुहार मन्द खुसीले चम्किरहेको थियो ।
लेखाइ सकेपछि भोलोदिचेवा गइन् । अनि क्रुप्सकाया रोगीछेउ आएर बसिन् । उनको मुहार मुस्कानमय थियो । लेनिनले उनका आँखामा दुःख वा भयको कुनै छायाँ देखेनन् । क्रुप्सकायाको शान्त र सौम्य हाउभाउले लेनिनको मनको हलचल पनि शान्त पारिदियो ।
“नाद्या, म के सम्झिरहेको छु, थाहा छ ?” विचारमग्न लेनिनले भने ।
“मलाई बुबाको झल्को आइरहेको छ । सिम्बिस्र्क प्रान्तमा चुभाश, मोर्दविन र तातारहरूका लागि विद्यालय खोल्न उहाँ दिनरात खटिनुहुन्थ्यो । त्योभन्दा पहिले सिम्बिस्र्क प्रान्तमा एउटा पनि विद्यालय थिएन ।”
“उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो ।” क्रुप्सकायाले जवाफ दिइन् ।
“उहाँले साँच्चै नै धेरै बाधाअड्चन भोग्नुपर्‍यो तर अहिले क्रान्तिले असीमित सम्भावनाहरूको ढोका खोलिदिएको छ ।”

उनले नियालिन्, लेनिन आफ्नो कामबाट सन्तुष्ट छन् । आँखा पहिलाजस्तै चम्किन लागेका छन् । निधारमा राखेको पानीपट्टी पनि हटाइएको थियो । यसको अर्थ ज्वरो बिसेक भएको थियो । हुनसक्छ, छिट्टै स्वस्थ हुनेछन् ।
“हुनसक्छ ?” क्रुप्सकाया मनमनै आत्तिइन् ।
“हुनसक्छ होइन । सक्छन् नै ! छ महिना पहिले पनि यस्तै भएको थियो । पछि तन्दुरुस्त भएका थिए । यसपालि पनि त्यस्तै हुनेछ ।”
उनले सुस्तरी लेनिनको कम्मल मिलाइदिइन् ।
“भोलोद्या, थाहा छ, आज यो वर्षको अन्तिम साँझ हो नि,” उनले भनिन् ।
“तिम्रो व्यथा यसै बिसेक भएको होइन ।”
अझै झुकेर उनले लेनिनलाई चुमिन् र भनिन् ।
“नयाँ वर्षको शुभकामना भोलोद्या !”
सदा सङ्घर्षमा
बोलेर लेखाउन दिँदा लेनिनको स्थिति झन् बिग्रन्छ कि भन्ने डाक्टरहरूलाई डर थियो ।
“लेनिन, मस्तिष्कलाई आराम गर्न दिनुहोस् ! सरकारी कामकाज र लेखहरू केही समय बिर्सनुहोस् !” डाक्टरहरूले बेलाबेलामा भनिरहन्थे ।
हुँदै हुन्न !
तर, डाक्टरहरूसँग बहस गर्न सहज थिएन । अनि लेनिनले चलाखी अपनाए ।
“ल ल, लेख होइन, डायरी टिपाउँला ।”
डाक्टरहरू जालमा परे । हुन त, लेनिनले डायरीमा मौसमको हालचालबारे टिपाउने छैनन् भनी उनीहरूले पनि बुझेका थिए । तर, लेनिनलाई आफ्नै हातले बनाएको राज्यका बारेमा सोच्नबाट रोक्न सकिन्थ्यो र ¤ लेखाउने अनुमति नपाउँदा उनी भुटभुटिन्थे । सुत्न सक्दैनथे । यसकारण डाक्टरहरूले अनुमति दिनैपथ्र्यो । तर, दिनको तीस-चालीस मिनेटमात्र, धेरै होइन ।
निर्धारित समयमा टाइपिष्ट आउँथिन् । दिनमा कहिले उनी एक पेज लेख्थिन्, कहिले दुई वा तीन पेज पुग्थ्यो । यी पेजहरूमा हाम्रो समाज निर्माणका भावी योजनाहरू सूत्रात्मकरूपमा दिइएको हुन्थ्यो । लेनिनले कमी-कमजोरीहरूको आलोचना गर्थे । राजकीय प्रणालीलाई कसरी गतिलो बनाउन सकिन्छ भनी सल्लाह दिन्थे । कम्युनिस्ट पार्टीको एकता कसरी सुरक्षित राख्ने बताउँथे । पार्टीमा गुट नबनोस् वा फुट नआओस् । लेनिनलाई सबैभन्दा ठूलो डर यसैमा थियो ।
बिस्तरामा पल्टिराख्दा लेनिन घण्टौँ आफ्ना लेखका हरेक हिस्सा, हरेक शब्द सोचिरहेका हुन्थे । लेनिनका लेख ॅप्राभ्दा’ मा छापिन्थे । मजदुरहरूले ती लेख पढ्थे र आपसमा कुराकानी गर्थे, “हाम्रो जीवनको बारेमा इल्यीचको विचार एकदम सही छ । हामीले देख्न नसक्ने चीज पनि उनी देख्छन् ।”
उनीहरू खुसी पनि हुन्थे ।
“हाम्रा लेनिनको स्वास्थ्यमा सुधार आइरहेजस्तो छ ।”
तर, अचानक… । मार्च महिनाको दिन थियो । वसन्तकालीन घाम झुल्किसकेको थियो । फूलबारी, पार्कहरूमा जतासुकै चराचुरुङ्गी चिर्बिराइरहेका थिए । सडकका किनारमा पानीको भल बगिरहेको थियो । प्रकृतिका अङ्गअङ्गले जीवन र उल्लासको सन्देश दिइरहेका थिए । तर, १४ मार्चको यस बिहान अखबार खोल्नेबित्तिकै मानिसहरूको सारा हर्ष, सारा उत्साह हराउँदै गयो । मानिसहरू सडकछेउ अखबार स्ट्यान्डहरूमा जम्मा भइरहेका थिए । जताततै “सरकारी बुलेटिन” टाँगिएको थियो ।

सरकारी भन्नुको अर्थ कुनै गम्भीर विषय थियो । कुनै अशुभ समाचार त
होइन ?
भ्लादीमीर इल्यीचको बारेमा स्वास्थ्य बुलेटिन ।
“केही दिनयता भ्लादीमीर इल्यीचको स्थिति खस्कँदो छ….”
काला अक्षर चिच्याइरहेका थिए, अशुभ घटना घटेको छ… “भ्लादीमीर इल्यीचको स्थिति खस्कँदो छ ।” मानिसहरूले पढ्न सकिरहेका थिएनन् । सबैका मुहार मलिन थिए ।
वर्कशपहरूमा दिनभर उदासी छाइरह्यो ।
“कठै ! हाम्रा इल्यीच !” एकपाका मजदुरले गहिरो श्वासले भने । कुनै भयानक घटना घट्ला भनी युवा मजदुरहरूलाई विश्वासै लागेको थिएन ।
“हैन, यो बुलेटिन त्यत्तिकै निकालिएको हैन,” बुढापाका मजदुरहरूले भने । “विचरा इल्यीच !”
लेनिनको स्वास्थ्य स्थिति साँच्चिकै गम्भीर भएको थियो । व्यथाले झन्झन् च्याप्दै थियो । उनको जिब्रो पनि निष्क्रिय भएको थियो अर्थात् उनी बोल्नसम्म सक्दैनथे । योभन्दा भयावह अरू के हुनसक्थ्यो ¤ लेनिनको वाकशक्ति हराउँदै थियो । उनको सजीव, अलिकति तोते, तीखो बोली बन्द भएको थियो ।
दिनरात डाक्टरहरू लेनिनको शय्याछेउ रहन्थे । चिकित्सकहरूको सम्पूणर् विज्ञान, प्रतिभा र कौशलले उनको भव्य जीवन जोगाउन सङ्घर्ष गर्नथाल्यो । समग्र देश आशाको मसिनोभन्दा मसिनो किरण पाउन आतुर थियो । प्रत्येक बिहान मानिसहरू अखबार लिन दौडन्थे, लेनिनको स्वास्थ्य बुलेटिन पढ्थे ।
साँझ हुन्थ्यो । मानिसहरू दिनभरको मिहिनेत, दौडधुपपछि घर फिर्थे । साँझको समाचार सुन्न आतुर हुन्थे – उता क्रेमलिनको फ्ल्याटमा स्थिति कस्तो छ ?
लेनिनको कोठामा शून्यता थियो । कतिसम्म भने भान्साकोठाको भित्तेघडीको पेन्डुलमको आवाजसमेत सुन्न सकिन्थ्यो । ड्युटीमा एक नर्स बसेकी थिइन् । क्रुप्सकाया शय्याछेउ बसेकी थिइन् ।
लेनिनले बोझिल परेला उठाए, “नाद्या, तिमी यहीँ छौ ?”
क्रुप्सकायाले बुझिन् । उनी के भन्न, के सोध्न चाहन्छन् सबै बुझिन् । क्रुप्सकाया लेनिनसँग यसरी बोलिन्, मानौँ उत्तर सुनिरहेकी छन् ।
“आज तिमी केही बिसेक देखिएका छौ,” उनले विश्वासका साथ भनिन् ।
लेनिनलाई आफू साँच्चै नै पहिलेभन्दा तङ्ग्रिएझैँ लाग्यो । उनका आँखाले जवाफ फर्काए- “हो ।”
“तिमी ठीक हुनेछौ । डाक्टरहरू तिमीले आफ्नो सारा तागत जुटाउनुपर्छ भन्छन् ।”
“ठीक छ, जुटाउने प्रयास गर्नेछु,” लेनिनका आँखाले फेरि जवाफ फर्काए ।
“जीवनभर जनताको लागि सङ्घर्ष गर्‍यौ । अब केही आफ्नो लागि पनि गर । यो पनि जनताकै लागि हुनेछ । पूरा बल लगाएर सङ्घर्ष गर, भोलोद्या ।”
क्रुप्सकायाले राम्ररी बुझ्ने आँखाको भाकामा पुनः लेनिनले जवाफ दिए – “उम”
क्रुप्सकाया मनमनै रुन थालिन् । उनको घाँटी अवरुद्ध भयो । क्षणभरलाई उनी शक्तिशून्य भइन् । तैपनि आफूलाई सम्हालिन् । आफ्नो दुःख भित्रभित्रै दबाएर उनले सस्नेह भनिन्, “अब सुत्ने बेला भएको छ! तागत फर्काउन अलिबेर निदाऊ । सबै ठीक हुनेछ । सुत । म कतै जानेछैन । यहीँ नजिकै बस्नेछु ।”
अनुवाद ः माधव अधिकारी
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *