भर्खरै :

सक्वको म राजदास – ५०

 

सोभियत सङ्घमा मेरो वैवाहिक जीवन
मैले उनको इच्छा पूरा गर्नको लागि राम्रो गरेँ या नराम्रो, तर गरेँ । मसँग बिहे गर्न भालेन्टिनाको मेरोभन्दा उनको बढी इच्छा थियो । उनको प्रस्ताव मैले कुनै गहिरो सोचविचार, कसैसँग परामर्श र सरसल्लाहबिना स्वीकारँे । घरमा नेपालमा पनि मैले सोधिनँ । कसैसँग मैले बिहे गर्दा हुन्छ भनेर एक विदेशी नागरिकसँग, एक सोभियत रुसी नागरिकसँग, जसको धर्म, संस्कृति, भाषा, भेषभूषा केही मिल्दैन हाम्रो रीतिरिवाजसँग, हाम्रो सामाजिक व्यवहारसँग, हाम्रो चालचलनसँग । मैले एक विदेशी केटीसँग बिहे गर्न आफ्नो बुबाआमासँग पनि एक शब्द सोधिनँ । आमाबुबाले नाइँ भन्दैन भन्ने कुरा मलाई विश्वास थियो । घरमा सबैले मलाई माया गर्थे, मन पराउँथे, मैले भनेको कुरा कसैले नाइँ भन्दैनथे । यही विश्वासले गर्दा मैले भालेन्टिनाको प्रस्तावलाई आँखा चिम्लेर हुन्छ भनी दिएँ । हामी बिहे हुनुअघिदेखि नै एक अर्कामा समर्पित भएर बस्न थाल्यौँ ।
सुरुको एक वर्ष हामी सन् १९६९-१९७० मा मस्को सहरमा बस्यौँ । म रुसी भाषा अध्ययनमा पूरा एक वर्ष मस्कोको ॅसोकोल’ भन्ने ठाउँमा अवस्थित एक ठूलो इन्जिनियरिङ्ग अध्ययन संस्थान ॅमस्को अटोमोबाइल रोड इन्जिनियरिङ्ग इन्स्टिच्युट’ मा थिएँ ।

सोभियत सङ्घमा विवाह दर्ता गराउँदै लेखक र उनकी श्रीमती (सन् १९७२)

ॅसोकोल’ भनेको रुसी भाषामा ॅबाज’ हो । ॅसोकोल’ एक सानो सहरजस्तै थियो । सात-आठ वटा ठूला-ठूला पहँेला रङ्गका ॅख्रुश्चेभका’ भन्ने छात्रावासहरू थिए । ती छात्रावासहरूमा देश विदेशबाट आएका थुप्रै विद्यार्थीहरू थिए । छात्रावासको हरेक कोठामा चार-चार जना विद्यार्थी बस्दथे । त्यसमध्ये दुई जना रुसी विद्यार्थी र दुई जना विदेशी । रुसी विद्यार्थीहरूसँग एउटै कोठामा दुई जना विदेशी विद्यार्थी राख्नुको मुख्य कारण हामी विदेशीहरू उनीहरूसँगै बस्दा रुसी भाषा बोल्न, सिक्न धेरै मद्दत हुन्छ भन्ने हेतुले हो । एक हिसाबले हामी विदेशबाट आउने विद्यार्थीहरूको गतिविधिमा सूक्ष्म निगरानी राख्नको लागि पनि हुनसक्थ्यो । सोकोलमा रहेका ७-८ वटा छात्रावासहरू एकैनासका पाँचतले भवनहरू थिए । तत्कालीन सोभियत रुसमा सोकोलमा मात्र होइन सोभियत सङ्घभरि त्यस्ता एकै डिजाइनका पाँचतले भवनहरू लाखौँ थिए । रुसीहरू ती भवनलाई हँसी मजाकमा ॅख्रुश्चेभका’ भन्थे । मलाई भालेन्टिनाले ख्रुश्चेभको नाम लिएर हाँस्दै भनेका थिए, “राज ¤ यी विल्डिङ्गलाई हामी खु्रश्चेभका भन्छौँ ।” ख्रुश्चेभ हाम्रा एक मूर्ख नेता थिए ।
सोभियत नेता जोसेफ स्तालिनको नेतृत्वमा दोस्रो विश्वयुद्धको अन्तपछि सोभियत सङ्घ एक शक्तिशाली र प्रभावशाली राष्ट्र बन्यो । उनकै सर्वोच्च कमान्डमा सोभियत सङ्घले ठूलो विजय हासिल गर्‍यो । जर्मन फौज मस्को सहरमाथि धावा बोल्न मस्को नजिक झन्डै ४० किलोमिटर परसम्म आइसकेका थिए  ।
आफ्नो घरदैलोसम्म आइसकेका सैनिकलाई सोभियत सैनिक र सोभियत जनताको असीम देशभक्त शक्तिले वीरतापूर्वक सामना गर्दै सन् १९४५ को ९ तारिखका दिन ठूलो विजय हासिल गरे । त्यसकारण आजसम्म रुसमा ९ मे लाई सार्वजनिक बिदा दिएर र ठूलो सैनिक परेडका साथ उत्सव मनाएर विजय दिवसको रूपमा भव्य तरिकाले मनाइन्छ  ।
सन् १९४५ को मे महिनाको ८ तारिख मस्को समयअनुसार मध्य रातपछि जर्मनीले हार स्वीकार गरी आत्मसमर्पण गरेका थिए ।

लेखककी श्रीमती भ्यालेन्टिना छोराहरूस

दोस्रो विश्वयुद्धको विजयपछि सोभियत नेता जोसेफ स्तालिनको महिमा धेरै उच्च रह्यो र सोभियत सङ्घको गरीमा पनि धेरै बढ्यो । तर, सन् १९५३ मा सोभियत सङ्घभित्र स्तालिनको मृत्युपश्चात् सोभियत सङ्घ र सोभियत जनताको दुर्दशा देखिन थाल्यो  ।
सन् १९५३ को मार्च महिनामा ७४ वर्षको उमेरमा सोभियत सर्वोच्च नेता जोसेफ स्तालिनको मृत्युपश्चात् निकिता ख्रुश्चेभ सोभियत कम्युनिस्ट पार्टीको नेतृत्व सम्हाल्न प्रथम सचिव र ग्योर्गी मालेन्कोभ सोभियत प्रधानमन्त्रीको रूपमा आए  ।
मालेन्कोभ प्रधानमन्त्री भए पनि निकिता ख्रुश्चेभको हातमा सोभियत सत्ता थियो । निकिता ख्रुश्चेभ सत्तामा आएपछि सबभन्दा पहिले उनले स्तालिनको खेदो खन्न थाले, स्तालिनविरोधी कदमहरू चाल्न थाले । यसै सिलसिलामा मस्को सहरको केन्द्रमा रहेको रेडस्क्वायर क्रेमलीन दरबार नजिक रहेको लेनिनको समाधिस्थलमा लेनिन सँगै राखिएको स्तालिनको शवलाई निकालेर क्रेमलीन पर्खालको एक ठाउँमा सारियो ।
ख्रुश्चेभको आगमनपछि सोभियत सङ्घमा समाजवादको पतन हुँदै बिस्तारै-बिस्तारै सोभियत सङ्घ संशोधनको बाटोमा गिर्दैै जान थाल्यो । आखिर सन् १९९१ मा आएर सोभियत सङ्घको विघटनका साथै सोभियत समाजवादको अन्त भयो ।
यही कारणले गर्दा सोभियत सङ्घमा निकिता ख्रुश्चेभलाई एउटा कालो धब्बाको रूपमा लिइन्थ्यो । उनका नीति र कार्यहरूलाई रुसी जनता हँसी मजाकमा उडाउँथे । उनले बनाएका लाखौँ आवास घरहरूलाई ॅख्रुश्चेभका’ भनी जिस्क्याउँथे । त्यस्तै उनले अपनाएका मकै खेतीलाई पनि रुसी जनताले व्यङ्ग गर्थे । संयुक्त राष्ट्र सङ्घमा महाअधिवेशन भइरहँदा निकिता ख्रुश्चेभले राष्ट्र सङ्घको रोस्टमा उभेर आफ्नो जुत्ता रोस्टमा ठोकेर विश्वमा तहल्का मच्चाएका थिए । यस्ता हरकतले गर्दा स्तालिनको पालामा उच्चता हासिल गर्दै गएको सोभियत सङ्घ बिस्तारै-बिस्तारै पतन हुनथाल्यो । सोभियत जनताले यो महसुस गर्दै गए । तर, खुलारूपमा कसैले बोल्न प्रयास सक्दैनथे । कसैले बोल्ने प्रयास गरे उनीहरू विभिन्न प्रकारका मानसिक र भौतिक तनावका शिकार हुन्थे र देश निकाला र साइबेरियाको निर्वासनमा पनि जान बाध्य हुन्थे ।
एक वर्षको भाषा अध्ययनको क्रममा भालेन्टिनाको सङ्गतले गर्दा यस्ता धेरै सोभियत रुसी जनता र समाजको कुरा जान्ने सुन्ने अवसर मिल्यो । भालेन्टिनाकै कारणले गर्दा रुसी साहित्यप्रति पनि दिलचस्पी हुन थाल्यो । भालेन्टिनाले मलाई छाड्न कुनै हालतमा चाहँदैनथे । उनी मसँग जीवन बिताउन चाहन्थे । त्यो कुरा मैले बुझेँ । मभन्दा उनी धेरै टालेन्टेड थिइनन् । हरेक कुरामा मैले त्यो अनुभव गरेँ । पढाइ, लेखाइ, साहित्य, सङ्गीत तथा कला क्षेत्रमा उनमा धेरै ज्ञान थियो । सोभियत राजनीतिमा पनि उनी धेरै आस्था राख्थिन् र सोभियत सङ्घप्रति उनको ठूलो श्रद्धा थियो । कम्युनिस्ट सिद्धान्तमा उनी अटल विश्वास गर्थिन् । उनकै दार्शनिक बाटोमा मलाई पनि उनी ढाल्न खोज्थिन् । तर, सोभियत राजनीतिमा उनको भन्दा मेरो विचार अलि फरक थियो । यही कुरामा हामीबीच पटक-पटक मतभिन्नता र झै-झगडा पनि हुन्थ्यो ।
स्वभावतः चिनियाँ नेता माओ त्सेतुङ्गको विचारबाट प्रभावित मेरो विचार उनलाई मनपर्दैनथ्यो । सोभियत सङ्घले लिइराखेको बाटो सही मानेमा कम्युनिज्मको बाटो नै होइन म भन्थेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *