भर्खरै :

कीर्तिपुरमा ‘पार्टी कार्यक्रम’ को अन्तरक्रिया

काठमाडौँ, १२ असोज । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा आइतबार जुममार्फत ‘पार्टी कार्यक्रम’ बारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी गठन सँगसँगै पार्टीको कार्यक्रम हुने र पार्टी कार्यक्रमअनुसार राजनैतिक दलहरू क्रियाशील हुने गर्दछ भन्नुभयो ।
नेमकिपाको सातौँ महाधिवेशनबाट पार्टीको तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र’ पारित गरेको उल्लेख गर्दै जनताको प्रजातन्त्रमा मजदुर–किसानको नेतृत्वमा राष्ट्रिय पुँजीपति वर्ग र बुद्धिजीवीको सरकार हुनेछ भन्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको राजधानी जेरुसेलम भनी घोषणा गर्दा प्यालेस्टाइनलगायत विभिन्न देशले विरोध गरेको उल्लेख गर्दैै सचिव सुवालले संयुक्त राष्ट्र सङ्घमा मतदान हुँदा इजरायलको राजधानी जरुसेलम हुन्न भनी बहुमतले अस्वीकार गरेको बताउनुभयो ।
अमेरिकी सहयोग लिने देशहरू आज्ञापालक हुने विचार व्यक्त गर्दै उहाँले एमसीसीको सहयोगको नाममा नेपालले अमेरिकी डलर लियो भने नेपाललाई पनि अमेरिकाले भनेजस्तै गर्न बाध्य पार्ने भएकोले नेमकिपाले एमसीसीको विरोध गरेको बताउनुभयो ।
उहाँले आफ्नै देशबाट उत्पत्ति भएको कोरोना भाइरसलाई ढाकछोप गरी चीनमाथि दोष लगाउनु गलत छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले हरेक राजनैतिक पार्टीहरूको आ–आफ्नै विधान र कार्यक्रम हुने गर्दछ तर विधान र कार्यक्रमअनुसार कार्यान्वयन नगरेको नेपालका शासकहरूको गतिविधिले प्रस्ट पारेको छ, विधान र कार्यक्रमअनुसार पार्टी नचल्नु जनतामाथि विश्वासघात गर्नु हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले पार्टीको आगामी कार्यक्रमबारे प्रस्ट पार्दै जनतालाई सचेत र सङ्गठित पार्न अध्ययनलाई जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले मुसोलिन, हिटलर फासीवादी शासकजस्तै मोदी सरकार पनि फासीवादी सरकार हो भन्नुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा श्रीकृष्ण महर्जन, बासुदेव डंगोल, रामचन्द्र महर्जन, सपना महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *