भर्खरै :

कोरोना युद्धमा नर्स

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणमा विश्वका सबै देशहरू सङ्घर्षरत छन् । महामारीको समयमा त्यसको जोखिमबाट बच्ने उपायको खोजीमा सबै स्वास्थ्यकर्मीहरू विशेषगरी नर्सिङ पेसाकर्मीहरू थोरै साध भए पनि उच्च जोखिममा काम गरिरहेका छन् ।
असोज १ गतेबाट लकडाउन पूर्णरूपमा खोलेपछि कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सङ्क्रमणको जटिलता पनि थपिएको छ । अहिलेको समयमा लक्षणविहीन बिरामीहरूबाट चिकित्सक, नर्स र नियमित स्वास्थ्य उपचारका लागि अस्पताल धाउने व्यक्तिहरूमा सङ्क्रमण फैलिने जोखिम उच्च छ । त्यसैले अस्पताल धाउने व्यक्तिहरू विशेष सावधानी अपनाएर जानुपर्छ । अग्रस्थानमा रही काम गर्ने नर्सहरू अझ बढी सावधान र सतर्क रहनु जरुरी छ ।
नर्सिङ सेवाको रूपमा स्याहारसुसार, हेरविचार र बिरामीको रक्षा गर्ने जिम्मेवारी निभाउने नर्सहरूमा सङ्क्रमित हुने खतरा बढी छ । आफ्नो जिम्मेवारी पूरा गर्न र बिरामीको सेवा गर्न स्वास्थ्यकर्मीहरू उच्च मनोबलका साथ खटिरहेका छन् । बिरामीलाई नियमित स्याहार गर्ने, औषधोपचार, हौसला बढाउने, रोगको बारेमा बताउने, उच्च मनोबल राख्न प्रेरणा दिनेमात्र नभएर चोबीसै घण्टा सङ्क्रमितको प्रत्यक्ष निगरानी गर्दै वार्डको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी निभाउनु चानचुने कुरा होइन । त्यसैले स्वस्थ समस्याको समाधानमा नर्सिङ सेवाको धेरै ठूलो भूमिका रहेको हुन्छ भने महामारीको समयमा नर्सको भूमिका अतुलनीय हुन्छ ।
अस्पताल र आइसोलेसन केन्द्रमा सम्पूर्ण तयारी र सुविधाहरू कायम गर्दै सुरक्षित हेरचाहको वातावरण तयार गर्नु नर्सको जिम्मेवारी हो । स्वस्थ्य सेवामा कार्यरत नर्सहरू अग्रणी भूमिकामा रहने हुनाले महामारी नियन्त्रणमा उनीहरुको ठूलो योगदान रहेको छ । स्वास्थ्य शिक्षा प्रदान गरी सङ्क्रमण रोकथाम गर्नुको साथसाथै उपचारको आवश्यकता भएका सङ्क्रमितको पहिचान गरी गम्भीर अवस्थामा छिटोभन्दा छिटो देखभाल गर्नुमा नर्सको भूमिका छ ।
अहिले सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ । महामारीको नियन्त्रणमा ध्यानकेन्द्रित भएका कारण अन्य स्वास्थ्य समस्याको उपचारमा बाधा पुगेको छ । सामान्य रोगका कारण ज्यान गुमाउनुमा उपचारमा नै कमी भएको हो कि भन्ने देखिन्छ । स्वास्थ्यकर्मीहरूका लागि सुरक्षा सामग्रीहरूको अभाव भइरहेको छ । विशेष आइसोलेसन केन्द्र अथवा कोभिड वार्डमा बाहेक अरू वार्डको स्वास्थ्यकर्मीहरूलाई सुरक्षा सामग्री नहुनुका कारण स्वास्थ्यकर्मीहरू सङ्क्रमणको जोखिममा छन् । जुनसुकै क्षेत्रका नर्सहरू अग्रस्थानमा कार्यरत हुने भएकाले सुरक्षा सामग्रीको व्यवस्था गर्नुपर्छ । यसले कारोनाबाट मात्र नभई अस्पतालजन्य सङ्क्रमण रोकथाम गर्न पनि सहज हुनेछ ।
उच्च जोखिममा रही अग्रस्थानमा काम गर्ने नर्सिङ पेसाकर्मीको सुरक्षाको लागि सरकारी स्तरबाट नै अल्पकालीन र दीर्घकालीन उपाय उपलब्ध गराउनुपर्छ । सरकारीस्तरबाट गरिने यस्ता व्यवस्थाका कारण नर्सहरूको मनोबल उच्च हुनेछ । यसले जनस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनेमा शङ्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *