भर्खरै :

भीष्म साहनीका ‘मेरा दाजु बलराज’

पृष्ठभूमि:
भारतीय सिनेजगतमा सा¥है ख्याति कमाएको र लोकप्रिय एक चलचित्रको नाम हो – ‘दुई बिघा जमिन ।’ ‘दुई बिघा जमिन’ फिल्मका नायक हुन् बलराज साहनी । बलराजको जीवन्त अभिनयबाट ‘दुई बिघा जमिन’ले अपार सफलता पायो । ‘दुई बिघा जमिन’ बाट बलराजमा अन्तर्निहित उत्कृष्ट अभिनय कला र प्रतिभा भारतीय संसारको सामु स्थापित भयो । ‘दुई बिघा जमिन’ मा बलराजको सार्थक भूमिकाको मूल्याङ्कन गर्दै तत्कालीन सोभियत एक फिल्म निर्माताले भने, “बलराज साहनीको अनुहारमा मानौँ, सारा संसार चित्रित छ ।”
स्वतन्त्रताको पच्चिसौँ वर्षमा, विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षान्त मन्तव्य दिने बलराज नै पहिलो भारतीय कलाकार हुन् । भारतीय कला, साहित्य र संस्कृतिको समृद्धिको लागि बलराज साहनीको योगदान उच्च छ । यिनै बलराज साहनीको जिन्दगीका उतारचढाव र उनको विचार निर्माणलगायत जीवनका विविध आयाममाथि स्पष्ट विश्लेषण ‘मेरा दाजु बलराज’ मा उनकै सहोदर भाइ भीष्म साहनीले गरे । भीष्म साहनीको सिपालु कलमले ‘मेरा दाजु बलराज’ जीवनी साहित्यमा पनि औपन्यासिकता दिएको छ । पाठकलाई आकर्षित गर्ने र रचनामै सम्मोहित गर्ने भीष्म साहनीको चुम्बकीय शक्ति ‘मेरा दाजु बलराज’ मा तीव्र प्रवाहित भएको देखिन्छ ।
‘मेरा दाजु बलराज’ को सारसङ्क्षेप:
बलराज साहनीको जन्म सन् १९१३ मे १ को दिन रावलपिण्डीमा भयो । बलराजलाई जन्म दिएपछि उनकी आमा बेहोस भइन् । छोरा भयो कि छोरी थाहा पाइनन् । आमालाई सुत्केरी ब्यथा लागेपछि उनका काका आँगनमा खटिया लगाएर बसेका थिए । भित्रबाट छोरा जन्मेको खबर आउनासाथ काका बजारमा गएर बैन्ड बाजा लिएर आए । खुसीयालीमा बजाएको बैन्ड बाजाको आवाजले सुत्केरी बेहोस भएकी थिइन् । बलराज जन्मनुअघि ५ जना छोरीहरू जन्मिसकेका थिए । तीमध्ये ३ जना त बितिसकेका थिए ।

बलराज साहनी


बलराजको पुर्खा अफगानिस्तानको काबुलबाट आएको थियो । कुनै राजनीतिक सङ्कटबाट ज्यान जोगाउन भागेर आउनेमध्ये बलराजका पुर्खा महेशदास साहनी पनि थिए । उनी पन्जाबको शाहपुर जिल्लाको भेरा उपनगर (कस्बे) मा बसे । बलराजका हजुरबा नोकरीको क्रममा रावलपिण्डीमा सरे । भारत र पाकिस्तानको विभाजनपछि रावलपिण्डी पाकिस्तानमा परेकोले साहनी परिवार दिल्लीमा आए । एक ठाउँबाट अर्को स्थानमा विस्थापित हुने वा शरणार्थी हुने साहनी परिवारसँग पर्याप्त अनुभव थियो ।
आर्य समाजी, धर्मभीरु, मध्यम वर्गीय बलराजका बुबा हरवंशलाल साहनी केटाकेटीहरूको कानमा वैराग्यको गीत पार्नुहुन्न भन्थे । केटाकेटीहरूलाई हौसला बढाउने आशावादी र खुसीको गीत सुनाउन श्रीमतीलाई भन्थे । हरवंश बेलायत र फ्रान्सबाट सामान आयात गरी व्यापारको एजेन्टको काम गर्थे । उनका धेरै मुस्लिम ग्राहक थिए । कतिपय मुस्लिम पठानहरू घरमै आउँथे । मुस्लिम पाहुनाहरूको भोजन र सत्कारमा कुनै कमी हुन दिन्थेनन् । साहनी परिवारको टोलबस्तीमा मुस्लिमहरू धेरै थिए । हरवंशको मुस्लिम छिमेकीहरूसँगको सम्बन्ध स्नेहपूर्ण थियो ।
हरवंशलाल साहनीले बलराज र भीष्म दुवै छोरालाई सामान्य विद्यालयको सट्टा गुरुद्वारा सञ्चालित गुरुकुलमा भर्ना गरिदिए । गरिबहरू पढ्ने गुरुकुलमा पढाइ राम्रो थिएन । बलराजले साहस गरेर पिताजीको अगाडि अरू कुनै विद्यालयमा पढ्न चाहेको प्रस्ट गरे । अरू आर्य समाजीहरूले छोराहरूलाई गुरुकुलको बदला सामान्य विद्यालयमा पढाइरहेको भन्दै आमाले बलराजलाई साथ दिइन् । बुबाको तुलनामा आमा झन् दृढ स्वभावकी थिइन् । बलराजहरूको हिन्दी र संस्कृतको जग बलियो बनाउन गुरुकुलमा भर्ना गराइएका थिए । घरसल्लाहको भोलिपल्टबाटै डीएबी स्कूल जाने हरवंशले वचन दिए । बलराजले मनको कुरा राख्न साहस नगरेका भए अझै केही वर्ष दुई भाइ गुरुकुलमै अल्झिरहेका हुन्थे । सन् १९२८ मा बलराजले एसईई (मेट्रिक) उत्तीर्ण गरे ।
जिज्ञासु र अध्ययनशील बलराजले प्रवीणता प्रमाणपत्र तह अध्ययनको क्रममा एक अध्यापक जसवन्त रायको साथ पाए । जसवन्तको सङ्गतले उनको अध्ययनको घेरा फराकिलो भयो । बलराजको विचार फेरियो । दृष्टिकोण व्यापक भयो । यहीबीचमा सन् १९२९ लाहोरको रावी नदी किनारमा काङ्ग्रेस राष्ट्रिय महाधिवेशन भयो । महाधिवेशनमा सहभागी बलराजको मन उत्तेजित भयो ।
सन् १९३० मा उच्च शिक्षा लिन बलराज लाहोर प्रस्थान गरे । बुबाले वाणिज्य र कृषि पढ्न सुझाएपनि कला विषय पढ्न बलराज सरकारी कलेजमा भर्ना भए । पन्जाबका सर्वोत्कृष्ट विद्यार्थी पढ्ने त्यस कलेजबाट दीक्षित भएका विद्यार्थीहरूबाटै ब्रिटिस सरकारको प्रशासन तथा सेनामा अधिकृत नियुक्त हुन्थे । नजिकै डीएबी कलेज थियो, जुन कलेजका छात्रहरू राष्ट्रिय आन्दोलनमा सक्रिय थिए र जोसिलो छलफलमा व्यस्त हुन्थे, जुन कलेजको पर्खाल भत्काएर विश्व प्रसिद्ध क्रान्तिकारी भगतसिंहले अङ्ग्रेज सरकारविरुद्ध विद्रोहको बम पड्काएका थिए । तर, सरकारी कलेजमा भुलेर पनि कसैको मुखबाट स्वाधीनता सङ्घर्षबारे चर्चा सुन्न पाइन्नथ्यो । अध्ययन, साहित्य र खेलकुदबारे मात्र चर्चा हुन्थ्यो । साहित्यका पारखी प्राध्यापकहरू एरिक किडिन्सन र लैगहार्नको प्रभावबाट उत्साहका साथ बलराजले अङ्ग्रेजी साहित्यको अध्ययन गरे । अङ्ग्रजीमा कथाहरू लेख्न थाले । उनी विश्वविद्यालयका उपकुलपतिबाट विद्यार्थी युनियनको प्रधान नियुक्त गरिए । विद्यार्थी युनियन वास्तवमा विद्यार्थीहरूलाई राजनीति र राष्ट्रिय आन्दोलनबाट टाढा राख्ने माध्यम थियो । सन् १९३३ मा बलराजको पढाइको अन्तिम वर्षदेखि भाइ भीष्म साहनी पनि सोही कलेजमा भर्ना भए । त्यतिबेलासम्म बलराजको दृष्टिकोण आलोचनात्मक बनिसकेको थियो । सरकारी कलेजप्रतिको मोह भङ्ग भइसकेको थियो । बलराजले भन्न थाले, “यो कलेज प्रदेशका उत्कृष्ट केटाहरूलाई तानेर ल्याउँछ र तिनीहरूलाई घृणित कर्मचारी बनाउँछ ।” कर्मचारी संयन्त्र उत्पीडनको साधन बनेकाले बलराज निजामती सेवालाई घृणा गर्थे । उनले कहिल्यै पनि निजामती सेवामा जाने रुचि देखाएनन् ।
अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेर बलराज अप्रिल १९३४ मा लाहोरबाट फर्के । उनले बुबाको व्यापारमा सघाउन थाले । ६ डिसेम्बर १९३६ मा जसवन्त रायकी विलक्षण प्रतिभाशाली कान्छी बहिनी दमयन्तीसँग बलराजको विवाह भयो । उनको ध्यान व्यापारमा भन्दा पनि साहित्यतिर बढी गयो । देवेन्द्र सत्यार्थीको साथ लागेर छेउछाउका गाउँहरूमा लोकगीतहरू सङ्कलन गर्न सक्रिय भए । सन् १९३७ मा गर्मी छल्न परिवार काश्मीरको घरमा रहँदा बलराजले अङ्ग्रेजी साहित्यिक पत्रिका निकाल्ने निश्चय गरे । ती दिनमा श्रीनगरमा अङ्ग्रेजी नाटक खेल्थे । करिब तीन वर्ष बुबाको इच्छालाई शिरोधार्य गरे पनि व्यापारमा उनको मन गएन । आन्तरिक अशान्ति र असन्तोष बढ्दै गयो । त्यही वर्षको अगस्त महिनाको अन्तिम दिन बलराजले घर छोड्न बुबासँग आशीर्वाद मागे । छोराको भविष्यप्रति चिन्तित हरवंशलालले व्यापारमा लाग्ने मानिसले नै स्वतन्त्र जिन्दगी बिताउन पाउने ‘समयमा सुत्ने र समयमा उठ्ने’ पन्जाबी उखान सुनाए । बलराजकी आमाले निर्णायक भूमिका निर्वाह गरिन्, छोरा आफ्नो खुट्टामा उभिन चाहन्छ भनी बुबा खुसी हुनुपर्ने हो ।
बलराजले लाहोरमा पत्रकारिता गरे । हिन्दीमा कथाहरू लेख्न थाले । नाटक अभिनयमा रुचिपूर्वक सक्रिय भए । दमयन्ती पनि नाटकहरूमा नायिका भएर खेलिन् । तिनीहरू लाहोरबाट कलकत्तास्थित टैगोरको शान्ति निकेतन गए । शान्ति निकेतनमा उनका सहपाठी दाइ साहित्यकार सच्चिदानन्द हीरानन्द वात्सायन बस्थे । त्यतिबेला रवीन्द्रनाथ टैगोरको निवास शान्ति निकेतनलाई सांस्कृतिक राजधानी र गान्धीको सेवाग्राम आश्रमलाई राजनीतिक राजधानी भन्ने गरिन्थ्यो । शान्ति निकेतनमा गान्धी र जवाहरलाल नेहरू आउँथे । शान्ति निकेतनमा बलराजले अध्यापन गर्नुका साथै कथा लेख्थे । ‘सचित्र भारत’ को लागि हास्यव्यङ्ग्य लेख्थे । रवीन्द्रनाथ टैगोरसँगको विचार विमर्शबाट उनले मातृभाषाको महीमा बुझे । शान्ति निकेतनबाट उनी गान्धी निवास सेवाग्राम गए ।
सेवाग्राममा बलराजले ‘नई तालिम’ पत्रिकामा सहायक सम्पादकको काम गरे । गान्धीलाई कला र साहित्यप्रति कत्ति पनि रुचि थिएन । गान्धीसँगै बस्ने कस्तुरवा भने बलराजलाई आमाजस्तै लाग्थ्यो । सेवाग्राम आश्रममा मौलाना आजाद र पण्डित नेहरूबाहेकले चुरोट खान्नथे ! बलराजको अव्यवस्थित जीवनशैलीबाट चिन्तित बुबाले उनको चियो गर्न भाइ भीष्म साहनीलाई उनी बसेको ठाउँमा पठाउने गर्थे । त्यसपटक सेवाग्राममा बलराजले गान्धीसँग भीष्मको परिचय गराए । वर्षौँ पहिला कोहाटमा साम्प्रदायिक झडप हुँदा गान्धी साहनीहरूको गृह जिल्ला रावलपिन्डी पुगेका थिए । भीष्मलाई सेवाग्राम भारतीय स्वतन्त्रता सङ्ग्रामको सदरमुकामजस्तो लाग्दैनथ्यो । दुई भाइको छलफलमा बलराजले राजनीतिक काम नगर्ने र सांस्कृतिक काम गर्ने अनि लेखक बन्ने चाहना व्यक्त गरे ।
बेलायतको बीबीसी (ब्रिटिस ब्राउडकास्टिङ्ग कर्पाेरेसन) मा जान बलराज सेवाग्रामबाट रावलपिन्डी गए । बेलायतविरुद्ध भारतीय जनता आन्दोलन गर्दै थिए । त्यही अङ्ग्रेजको चाकरी गर्ने कसरी सोच्न सकेको होला भनी बलराजलाई भीष्मले सोधे । अल इन्डिया रेडियोका निर्देशक लायनल फिल्डनले गान्धीसँगको बिदाई भेटमा बलराजलाई बेलायत लाने कुरा गरेका थिए । गान्धीकै अनुमतिमा बलराज बेलायत जान लागेका थिए । सन् १९४० को जूनमा बलराज र दमयन्ती लन्डनमा पुगे, त्यही दिन बेलायतमा हिटलरको पहिलो बम आक्रमण भएको थियो । रावलपिन्डीमा ४ वर्षसम्म नै बलराजकी आमा उनको आवाज सुन्न रेडियो सिरानी बनाएर बस्थिन् ।

भीष्म साहनी


सन् १९४४ मा बलराज बेलायतबाट फर्के । बलराजलाई भेट्न आउनेको मुख मीठो बनाउन आमाले लड्डु बनाइन् । बेलायती रवाफ देखाउने बलराजका पुरानो साथी घरमा आएको थियो । बुबाले पटक–पटक सम्मानपूर्वक लड्डु दिँदा पनि त्यो साथीले गाउँको मिठाइ मन पर्दैन भनेर लिन मानेन । ऊ लन्डन टावरलगायत बेलायती गौरवबारे गफ गर्दै थियो । बलराजले हिन्दुस्तानको विषयमा कुरा गर्न खोज्दा उसले ‘काङ्ग्रेसवाला’ भनी हेपेर बोल्थ्यो । बलराज जुरुक्क उठे । त्यो मान्छेलाई नमस्ते पनि नगरी निस्के । बलराजले त्यस अशिष्टतालाई कहिल्यै माफी दिएनन् । बलराजको दिल र दिमाग दुवै परिवर्तन भइसकेको थियो । नसोचिकन काम गर्ने बानी र लापरबाही उनबाट हराइसकेको थियो । उनको लागि साहित्य र राजनीतिको अन्तर अन्त्य भइसकेको थियो । सेप्टेम्बर १९४४ मा बलराज मेक्सिम गोर्कीको ‘तल्लो नगर’ नाटकमा आधारित फिल्ममा अभिनय गर्न बम्बई गए । बम्बई उनी कुनै अनुभव हासिल गर्न वा भाग्य चम्काउन गएका थिएनन् । उनको दृष्टिकोण पूरै बदलिसकेको थियो ।
लन्डन बसाइको क्रममा बीबीसीको सूचना केन्द्रमा बस्दा बलराजलाई मृत्यु र जीवनबीचको निर्मम लडाइँ देख्ने र बुझ्ने मौका मिलेको थियो । यातना शिविरमा लाखौँलाख यहुदीलाई नरसंहार, हिटलरको बढ्दो फौजविरुद्ध लालसेनाको वीरतापूर्ण सङ्घर्ष, यी सबै घटनाले बलराजलाई प्रगतिशील पक्षको न्यायबाट जगायो । जीवनको नाङ्गो सत्यलाई बुझ्न बाध्य पा¥यो । साहित्यलाई निरपेक्ष ढङ्गबाट अध्ययन गर्नु अपर्याप्त हुने उनले बुझे । अनि गम्भीरतापूर्वक विचारधाराहरूको गहिरो अध्ययन गर्न थाले । उनी यी सबै सामाजिक घटनाक्रमबाट माक्र्सवादी व्याख्यातर्फ आकर्षित भए । लन्डन बसाइँले बलराजलाई माक्र्सवादी बनाइदियो । त्यसैले बलराज बम्बई जानुको अर्थ फिल्मी संसारको आनन्द लिनु थिएन, बरु कलाको सशक्त माध्यम प्रयोग गरेर जीवनको कटु सत्य दर्शकसामु राख्ने सामाजिक दृष्टिकोणको परिणाम थियो ।
बम्बई गएर बलराज जन नाट्य सङ्घ (इप्टा) मा संलग्न भए । इप्टा एउटा नाटक मण्डलीमात्र थिएन, एउटा सांस्कृतिक आन्दोलन थियो । इप्टाले सामाजिक घटनालाई तटस्थ दर्शकको रूपमा होइन, जिम्मेवार द्रष्टाको दृष्टिकोणबाट विश्लेषण गर्ने र सामाजिक यथार्थलाई व्यापकरूपमा जीवन्त चित्र प्रस्तुत गर्ने उद्देश्य लिएको थियो । सामाजिक सङ्घर्षहरूमा प्रगतिशील शक्तिलाई समर्थन गथ्र्यो । इप्टा कम्युनिस्ट संस्था थिएन । त्यसका सदस्य अथवा प्रजातन्त्रवादी लेखक र कलाकार वामपन्थी दृष्टिकोण राख्थे । फेरि पनि त्यसमा वैचारिक नेतृत्व कम्युनिस्ट पार्टीले गरेको थियो । भारतको विभाजनअघि र पछि साम्प्रदायिक दङ्गा भएका ठाउँ तथा अरू नगरहरूमा पनि अहमद अब्बासको ‘म को हुुँ’ लगायत दर्जनौँ नाटक इप्टाले मञ्चन ग¥यो । बङ्गालमा अनिकालको बेलामा अनिकाल पीडितहरूलाई सहयोग गर्न उत्तरी भारतमा नाटक देखाउने अभियान चलाइयो । जीवन्त अभिनयको नाटकका दृश्य देखेर दर्शकहरू भावनाबाट द्रवित भए । कतिपय महिलाले आफूले लगाइराखेको गहना पनि फुकालेर चन्दा दिए । बङ्गालको अनिकालबारे ‘धरतीको छोरो’ फिल्म नै बन्यो । अहमद अब्बासको पटकथा तथा निर्देशनमा बनेको ‘धरतीको छोरो’ मा बलराज नायकको भूमिकामा थिए ।
बलराज इप्टाको एक कलाकार र कार्यकर्ताका रूपमा सक्रिय थिए । दमयन्ती बलराजभन्दा पहिला नै माक्र्सवादी विचारधाराप्रति आकर्षित भएकी थिइन् । उनी उत्साही कलाकार थिइन् र राम्रो अभिनय गर्थिन् । एक उदयमान अभिनेत्रीको नाताले उनले हजारौँ रूपैयाँ कमाइरहेकी थिइन् । आफ्नो आम्दानीको अधिकांश भाग उनी सामाजिक कामको लागि दिन्थिन् । गाउँमा ‘धरतीको छोरो’ सुटिङ चलिरहेको बेला १९४७ अप्रिल २९ का दिन दमयन्ती अचानक बितिन् । मण्डलीका अरू साथीहरूसँगै गाउँको पोखरीको पानी खाएर दमयन्तीलाई झाडापखाला लागेको थियो । एक गैरजिम्मेवार डाक्टरले लापरबाहीपूर्वक आवश्यकताभन्दा बढी इन्जेक्सन दिएकोले २८ वर्षको उमेरमै दमयन्तीको प्राण गयो । अगस्त १९४७ मा भारत स्वतन्त्र भयो, साथै विभाजन पनि । साम्प्रदायिक घृणा र वैमनस्यले वातावरण दूषित थियो । अनेक गाउँ बजारमा आगो लाग्यो । रगतको खोलो बग्यो । विभाजनको बेला बलराज बम्बईमा, उनका दुई छोराछोरीहरू हजुरआमासँग श्रीनगरमा थिए । उनका बुबा हरवंश एक्लै रावलपिन्डीमा थिए ।
दमयन्तीको मृत्यु भएको झन्डै दुई वर्षपछि मार्च १९४९ मा बलराजले सन्तोष नामकी महिलासँग विवाह गरे । त्यहाँको सामाजिक चलनअनुसार आफ्नै फुपूकी छोरी सन्तोष बलराजको अनुरोधमा बेलायतबाट फर्केकी थिइन् । त्यतिबेला बलराज ‘हलचल’ चलचित्रमा अनुबन्धित भए । ‘हलचल’मा बलराजको भूमिका जेलरको थियो । जेलरको काम देखाउन उनलाई निर्देशकले जेलमा लिएर गए । यसको लगत्तै एउटा प्रदर्शनमा बलराज गिरफ्तारीमा परे । जेलमा परेपछि चलचित्र सुटिङको लागि मात्र उनलाई जमानीमा बाहिर आउन दिइन्थ्यो । परिवारका अधिकांश सदस्यहरू दिल्लीस्थित शरणार्थीहरूको बस्तीमा किनेको सानो घरमा बस्थे । विवाह गरेको दश दिनपछि नै पति गिरफ्तारमा परेपनि सन्तोषले बडो साहसका साथ परिवार सम्हालिन् । ६ महिनापछि बलराज रिहा भए । ‘हलचल’ पछि ‘हामीहरू’ चलचित्र पनि सफल रह्यो ।
बलराज ‘दुई बिघा जमिन’ का निर्देशक विमल रायलाई भेट्न जाँदा टाइसुट लगाएका थिए । बलराजको लवाइ देखेर उनलाई सिफारिस गर्ने आफ्ना सहयोगीसँग निर्देशक विमल रायले बङ्गाली भाषामा भने, “बलराजले कथानुसार भूमिका निभाउन सक्दैन ।” बङ्गाली भाषामै बलराजले कारण जान्न खोजे । ‘दुई बिघा जमिन’ मा गरिब किसानले रिक्सा चलाउनुपर्ने थियो । बलराजले त्यस्तो कठिन कामको अभिनय गर्न नसक्ने निर्देशक रायको जिकिर थियो । यसअघि नै ‘धरतीको छोरो’ फिल्म खेलिसकेको र इप्टा (जन नाट्य सङ्घ) मा आबद्ध रहेको बताएपछि निर्देशक रायले बलराजलाई स्वीकार गरे ।
‘दुई बिघा जमिन’ को छायाङ्कनअघि तयारीको क्रममा बलराजले रिक्सा चलाउन सिक्न खोजे । कलकत्ताको रिक्सा साइकलजस्तो खुट्टाले चलाउने होइन, ठेलागाडाको दुईतिरको हरिशलाई हातले उठाएर अनौउलाई छातीसम्म उठाएर पैदल हिँडेर चलाउने हो । जति प्रयास गर्दा पनि रिक्सा चलाउने मेसो नपाएपछि बलराजले हरेश खाइसकेका थिए । दुखी र दिक्क मान्दै अभ्यास गरिरहेको बेला एकजना अधबैँसे रिक्साचालक आए र सोधे, “के गरिरहेको बाबू ?” बलराजले फिल्म बनाउन लागेको बताए । आफ्नो भूमिका बताए । फिल्मको कथा सुनेपछि अधबैँसे रिक्साचालकले आँसुको धारा बगाउँदै भने, “यो त मेरो व्यथा हो, बाबू । यो त मेरो व्यथा हो ।” उनले विहारको एक गाउँमा जमिनदारसँग धितोमा राखेको दुई बिघा जमिन निखन्न १५ वर्षदेखि कलकत्ताकोे सडकमा रिक्सा चलाइरहेको वेदनापूर्ण विरह बलराजलाई सुनाए । एकाएक रिक्सा चालकको आत्मा नै बलराजमा प्रवेश गरेजस्तो भयो । ‘दुई बिघा जमिन’मा बलराजको यही जीवन्त अभिनयले चलचित्रलाई मात्र सफल बनाएन बरु बलराजमा अन्तरनिहीत उत्कृष्ट अभिनयकला र प्रतिभा संसारको सामु स्थापित गरिदियो । उनले रुसी ‘परदेशी’ फिल्ममा पनि काम गरे ।
बलराजले लगभग १३५ फिल्ममा अभिनय गरे । विशाल र आकारहीन फिल्मी संसारमा बलराज एक्लैले आमूल परिवर्तन गर्नसक्ने विषय थिएन । यही मुद्दाले बलराजको मन चिमोटिरहन्थ्यो । फेरिपनि उनी फिल्मलाई कलाको सशक्त माध्यम मान्थे । स्वस्थ प्रगतिशील फिल्म निर्माण गर्न उनले अनेकौँ पटक अगुवाइ गरे । उनैको अगुवाइमा काश्मिरी भाषाको फिल्म ‘मेहजूर’ बन्यो, जुन सुविख्यात काश्मिरी कवि मेहजूरको जिन्दगीमा आधारित थियो ।
बलराज एक उत्कृष्ट लेखक भएकै कारण उनी एक महान् अभिनेता बन्न सफलीभूत भएका हुन् । सन् १९५४ मा पनि बलराजले सोभियत सङ्घ यात्रा गरेका थिए । सोभियत सङ्घसँग उनको गहिरो सम्बन्ध जोडियो । “वाह ¤ कस्तो अद्भूत देश हो । कस्ता अद्भूत मानिस हुन् । कस्तो उनीहरूको जीवन छ ।” सोभियत समाजवादी व्यवस्था देखेर बलराजको मन बोल्यो । बलराजले वैज्ञानिक, सामाजिक तथा दार्शनिक प्रश्नहरूको व्याख्या गर्दा वार्ता शैली अपनाउने गर्थे । उनी लेखनमा विवेकमाथि भावुकताको प्रभाव पर्न दिन्नथे । उनको वार्ताशैली र तर्कोन्मुख शैलीले पाठकको सोचलाई जगाउँथ्यो । ‘मेरो रुसको भ्रमण’ पुस्तकको धेरै प्रशंसा भयो र ‘सोभियत भूमि नेहरू’ पुरस्कारबाट सम्मान गरियो । ती दिनमा बलराजको धाराप्रवाह लेखन अझै सक्रिय भयो । उनले एकसाथ दुइटा किताब पनि लेखे – मेरे फिल्मी अनुभव र भावुकताबाट मुक्त डायरी । यी संस्मरणले बलराजको आन्तरिक व्यक्तित्वलाई उजागर ग¥यो । उनका दुई यात्रा संस्मरण, दुई संस्मरणात्मक निबन्धसङ्ग्रह, कथासङ्ग्रह, एउटा लामो नाटक, केही कविताहरू र जवाहरलाल नेहरू विश्वविद्यालयमा दिएको दीक्षान्त भाषण, धेरै लेख र हास्यव्यङ्ग्य निबन्धलगायत प्रकाशित छन् । उनका भाइ भीष्मलाई लेखेका चिठीहरूमा पनि बलराजको वैचारिक परिपक्वता र दृष्टिकोण मुखरित छन् ।
बलराजले ‘मेरो फिल्मी आत्मकथा’ मा लेखे, “माक्र्सवादले मलाई भाषिक समस्यालाई वैज्ञानिक दृष्टिबाट अध्ययन गर्ने शिक्षा दियो ।” ‘फूट गर र राज गर’ भन्ने बेलायती साम्राज्यवादको षड्यन्त्रअन्तर्गत भारतीय समाजभित्र भाषा र धर्मको नाममा द्वन्द्व चर्काइएको थियो र विभाजन गरिएको थियो । उर्दूलाई अल्पसङ्ख्यक मुस्लिम भाषा घोषणा गर्न बम्बईमा उर्दूृ सम्मेलन गर्न लागेको बेला बलराजले अपिल प्रकाशन गरे । भाषालाई धर्मसँग जोड्ने साम्राज्यवादीहरूको घृणित षड्यन्त्रलाई पूर्वी पाकिस्तानका बङ्गालीहरूले कडा प्रहार गरेका थिए । भारत धेरै जाति, भाषा तथा थरीथरी मानिसको साझा परिवार भएको मान्यता राख्ने बलराजले इस्लामको प्रादुर्भाव हुनुभन्दा पहिले भारतमा आक्रमण गर्नेहरू र इस्लाम स्वीकार गरेपछि पनि भारतमा आक्रमण गर्न आउनेहरू एउटै रगतका मानिसहरू भएको तर्क दिए । उनीहरूको नसामा पनि उही रगत बगेको बताए । साम्प्रदायिक दङ्गा रोक्न बलराज कलममात्र समातेर बसेनन् । दङ्गा भएको ठाउँमा साथीहरूसँगै गएर पीडित जनताको सेवा गरे । त्यस्तो ठाउँमा जाँदा एक दुई दिनमै फर्केमा पीडितहरूले दुःखको तमासा हेर्न आएको पर्यटकमात्र ठान्ने बलराजको धारणा थियो । त्यसैले बलराज हप्तौँसम्म पीडित जनताका सेवामा डटिरहन्थे । बलराजले भीष्मलाई १३ अप्रिलका दिन पन्जाब आउनेगरी ८ अप्रिल १९७३ मा चिठी लेखे । १३ अप्रिलकै दिन बम्बईमा हृदयघात भई बलराजको दुःखद निधन भयो ।
अन्त्यमा,
कलाका माध्यमबाट समाज परिवर्तनका लागि बलराजले निरन्तर सङ्घर्ष गरिरहे । धर्म र भाषाको नाममा साम्प्रदायिक सद्भाव भड्काउने विखण्डनकारीहरूविरुद्ध लडे । अनि कामदार जनताको शोषण गर्ने पुँजीवादी व्यवस्थाविरुद्ध जनतालाई जागरूक बनाउन नाटक र फिल्ममा अभिनय गरे । साहित्यका विविध विधामार्फत भारतीय समाजको उत्थानको लागि प्रयत्न गरे ।
‘मेरा दाजु बलराज’ मा भीष्म साहनीले बलराजको सबल र दुर्बल दुवै पक्षलाई इमानदारीपूर्वक उल्लेख गरेका छन् । आलोचनात्मक विश्लेषणसहित भीष्मले ‘मेरा दाजु बलराज’ मा बलराजकालीन विश्व परिस्थिति, भारतीय समाज र त्यसलाई अध्ययन गर्ने माक्र्सवादी दृष्टिकोणको व्याख्या गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *