भर्खरै :

समाजको वैज्ञानिक चिन्तन परिवर्तनको वाहक

वैज्ञानिक साक्षरता
सन् २०१५ मा संरा अमेरिकी नागरिकहरूमा विज्ञानको जानकारीबारे एक अनुसन्धान गरिएको थियो । त्यस अनुसन्धानबाट अपत्यारिलो नतिजा निस्कियो । पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य २५ प्रतिशत अमेरिकीलाई थाहै थिएन । ४० प्रतिशत अमेरिकीहरूमा डाइनसर र मानिस एउटै अवधिमा सँगै जिउँथे भन्ने विश्वास भएको पाइयो । एन्टिबायोटिक्स ब्याक्टेरियाको सङ्क्रमण रोक्नमात्र प्रभावकारी हुन्छ, भाइरसलाई होइन भन्ने कुरा ५० प्रतिशत अमेरिकीलाई थाहै थिएन । विज्ञान र प्रविधिको क्षेत्रमा सबभन्दा बढी विकास भएको देशको स्थिति यस्तो छ भने विकासशील देशहरूको स्थिति कस्तो होला !
एकजना मानिससँग वैज्ञानिक धारणा कत्तिको आवश्यक हुन्छ ? वैज्ञानिक विधिले मानिसको चिन्तन शैलीमा कत्तिको असर पार्छ होला ? कुनै निर्णय लिनुअगाडि वैज्ञानिक विधिको प्रयोगले कत्तिको सहयोग गर्ला ? के यो सांस्कृतिक विषय हो ? वैज्ञानिक प्रक्रियाको जानकारीबाट के मानिस उत्पादनशील बन्नसक्छ ? मानिसको क्षमतावृद्धिमा वैज्ञानिक चिन्तनले कत्तिको असर पार्छ ? निश्चय पनि यी सबै प्रश्नको जवाफ सकारात्मक आउँछ । वास्तवमा यी सबै प्रश्न वैज्ञानिक साक्षरता (साइन्टिफिक लिटरेसी) सँग जोडिएका छन् । विज्ञान र वैज्ञानिक विधिबारे जानकार मानिसलाई वैज्ञानिक साक्षर मानिन्छ ।
वैज्ञानिक साक्षरता समाज र देशको प्रगतिसँग प्रत्यक्ष जोडिएको छ । हरेक दिन मानिसले गर्ने काम वा कुनै अनुभूतिको क्रममा अनेक जिज्ञासा उत्पन्न हुन्छन्, मानिस ती प्रश्नको जवाफ खोज्छन् । प्राकृतिक घटना परिघटना किन भए भन्नेबारे मानिस विभिन्न अनुमान गर्छन्, व्याख्या तथा विश्लेषण गर्छन् । हरेक मानिसमा प्रमाणका आधारमा अनेक तर्क गर्ने र तर्कको आधारमा निकालिएका निष्कर्षलाई व्यवहारमा लागु गर्ने क्षमता भएमा त्यो समाज छिट्टै समृद्ध हुन्छ ।
विज्ञान के हो ?
विज्ञान तथ्यहरूको सङ्ग्रह होइन, यो सोच्ने तरिका हो । विज्ञान तथ्यहरूको विश्लेषण हो । तथ्यहरूको आधारमा तर्क गर्नु विज्ञान हो । तथ्य र तर्कको जोड हो विज्ञान । वैज्ञानिक हेन्री पोइन्केरले सरल भाषामा विज्ञानको परिभाषा यस्तो दिएका छन्, “एउटा घर इँटाबाट बनेजस्तै विज्ञान तथ्यहरूको घर हो तर जसरी इँटाको थुप्रो घर होइन त्यसरी नै तथ्यहरूको सङ्कलनमात्र विज्ञान होइन ।” तथ्य नै भएन भने कुनै पनि तर्कको अर्थ हुँदैन । त्यसैले पहिला तथ्यको खोजी गर्नुपर्छ ।

पृथ्वी गोल छ भन्ने पत्ता लगाएपछि कोलम्बसले चिन्तन गरे, पश्चिमकै बाटो लागेमा पूर्वको भारत पुगिन्छ । नयाँ खोजी कार्य सुरु भयो, अमेरिका पत्ता लाग्यो । चाल्र्स डार्विनले विगल जहाजमा बसी संसारको यात्रा गरे, पाँच वर्षको यात्राको क्रममा भेटिएका अनेक प्रकारका जीवको सङ्कलन गरी बेलायत फर्किए, वर्षौँ लगाएर ती जीवको अध्ययन गरे, जीव विकासको सिद्धान्त पत्ता लगाए । चराको जिउको आकार हेरेर हवाईजहाज बनाइयो, चमेरोले राती उड्दा दिशा तथा गन्तव्य पत्ता लगाउन अपनाउने विधिको अध्ययन गरी हवाईजहाज उडाउन रेडार प्रणालीको विकास गरियो ।
विज्ञान सत्यको खोजी हो, यो पूर्ण सत्य होइन । विज्ञानमा स्थापित सत्यमाथि पनि प्रश्न गरिन्छ । थप तथ्य र प्रमाणको खोजी गरी नयाँ सत्यको उद्घाटन गर्नु नै विज्ञान हो । विज्ञान आलोचनात्मक हुन्छ, विश्लेषणात्मक हुन्छ । विज्ञान कुनै विद्वानले भनेको कुरामा शङ्का गर्न मिल्छ भन्छ । जसरी बुद्धले आफ्नै कुरामा पनि शङ्का गर भने, त्यसैगरी कार्ल माक्र्सले पनि आलोचनात्मक दृष्टिकोण राख्नू भने ।
वैज्ञानिक विधि
विज्ञानमा सही अवलोकन सबभन्दा महत्वपूर्ण हुन्छ । वैज्ञानिक अनुसन्धानकर्ताको आँखा, कान, नाक, छाला तथा जिब्रो सदा सक्रिय हुन्छन् । सारा इन्द्रीयको प्रयोग गर्दा पनि अवलोकन परिपक्व भएन भने अनेक यन्त्रको सहायता लिइन्छ र तथ्यको खोजी गरिन्छ । किसानले धानबालीको निम्ति मात्रा मिलाएर मलजल गरेजस्तै, कुन घाँस खुवाउँदा भैँसीले बढी दूध दिन्छ भन्ने हेरेर त्यही विधि दोहो¥याएजस्तै, भान्सेले कति पानी हाल्दा कुनै विशेष जातको चामलको भात ठिक्क पाक्छ भन्ने कुरा गरेर हेरी थाहा पाएजस्तै वैज्ञानिकहरू पनि अनेक प्रयोग गर्छन्, अवलोकन गर्छन्, विश्लेषण गर्छन् । अगेनाको खरानीले कीरा मार्छ भन्ने थाहा नभएपनि खरानीले चिल्लो फाल्छ र भाँडाकुँडा सफा पार्छ भन्ने थाहा पाए मानिसले । भाँडाकुँडा पखालीसकेपछि घाममा सुकाउने काम निसङ्क्रमण प्रक्रिया हो भनी आजको विज्ञानले पनि मान्दछ । खोलाको पानीमा मुला र मुलाका कलिला पात पखालेर घाममा नसुकाई खाँदा खोकी लाग्छ भन्थे आमाहरू । गोबरले भान्सा लिप्दा सूक्ष्म जीवहरू मर्छन् भन्ने अहिले पो पत्ता लाग्या हो । भान्सा सफा गर्नुपर्ने, अर्काको जुठो खान नहुने, नुहाइधुवाइ गर्नुपर्ने आदि पनि अनुभवसिद्ध वैज्ञानिक अभ्यास हुन् । कोभिड–१९ ले एकान्तबास बस्ने संस्कार पुनःस्थापित भएको अनुभव गर्दै छन् मानिस । ती पुराना संस्कारको पुनव्र्याख्या गर्नेबारे कुरा उठ्नु अत्यन्तै सान्दर्भिक छ । कसले के खाने, के नखाने भन्ने मामिलामा पुराना धारणा पछाडिका विज्ञानसम्मत र विज्ञानविमत कुरा छुट्याउने बेला आएको छ ।
अहिले कोभिड–१९ को भ्याक्सिनको खोजी भइरहेको छ । तर, बिफरको भ्याक्सिनको आविष्कार १८ औँ शताब्दीको अन्ततिर भएको थियो । विज्ञानमा सामान्य जानकारी कसरी असामान्य उपलब्धिमा परिणत हुँदो रहेछ ? बिफरको भ्याक्सिनको खोजको इतिहासले बताउँछ । सही अवलोकन नभई विज्ञान सफल हुन्न । डा. एड्वार जेनरको प्रयोगबाट वैज्ञानिक विधिबारे बुझ्न सजिलो हुन्छ ।
१८ औँ शताब्दीमा बिफरको महामारीबाट लाखौँ मानिसको मृत्यु भइरहेको थियो । बाँच्नेको शरीरमा बिफरका दाग बस्थे । गौबिफर (काउ पक्स) लागेका मानिसलाई बिफर (सितला) लाग्दैन भन्ने कुरा जेनरले सानो छँदै गाउँमा सुनेका थिए । गाईबाट सर्ने रोग गौबिफर मानिसको निम्ति बिफरजति घातक हुँदैनथ्यो । एकदिन डा. जेनरसँग गौबिफरको रोग लागेकी एक महिला आइन् । जेनरले महिलाको गौबिफरको खटिराको अवलोकन गरे । खटिराको पिप निकालेर एउटा प्रयोग (इक्सपेरिमन्ट) गर्ने उनको मनमा आयो । आठ वर्षको स्वस्थ बालक जेनी फिप्स्को शरीरमा सानो घाउ बनाएर घाउमा त्यही पिप हालिदिए । त्यो दिन सन् १७९६ मे १४ थियो । बालक समयमै निको भयो । दुई महिनापछि त्यही बालकलाई बिफर (सितला) लाग्ने खोप लगाइदिए । तर, बालकलाई बिफर रोग लागेन । यही नै खोपको पहिलो आविष्कार थियो । त्यसपछि करोडौँ मानिसलाई त्यसरी विकसित बिफरको खोप लगाइयो । आज बिफर रोग उन्मूलन भइसकेको छ ।
कोभिड–१९ को सङ्क्रमण किन बढ्दै छ ?
नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हरेक दिन बढ्दै नयाँ रेकर्ड बन्दै छ, किन ? महामारी तीव्र फैलिनुमा के नेपाली शासक तथा नागरिकको वैज्ञानिक साक्षरताले फरक पारेको होला ? नागरिकलाई वैज्ञानिक विधि अपनाउन जान्ने बनाउनु कत्तिको आवश्यक छ ? नागरिक वैज्ञानिक साक्षर हुँदा वा नहुँदा महामारीको सङ्क्रमण दरमा कत्तिको फरक पर्छ होला ? यो छुट्टै अनुसन्धानको विषय हो । तर, यस्तो अनुसन्धानको नतिजा पनि विज्ञानसम्मत नै आउँछ ।
धेरै मानिसले मास्क लगाउनुपर्ने जानकारी पाए । तर, भाइरस के हो ? यो कसरी मानिसको शरीरमा प्रवेश गर्छ ? नाकमुख छोप्नुपर्ने कारण के हो ? स्यानिटाइजर लगाएपछि के हुन्छ ? आदिबारे अधिकांशले बुझ्नै पाएका छैनन् । अनि मानिसहरूले मास्क लगाउनको लागि लगाए, कारबाहीको डरले लगाए, लोकलाजले लगाए । काममा हिँड्दा, गाडीमा बस्दा, अन्य मानिससँग प्रत्यक्ष सम्पर्क हुने ठाउँमा पुग्दा पनि उनीहरूले मास्क चिउँडोमा लगाए या मुखमात्र छोपिने गरी लगाए, नाक छोपिने गरी लगाएनन् वा मास्क नै लगाएनन्, किनभने तिनीहरूलाई भाइरस भन्ने जीव हुन्छ भन्ने विश्वासै लागेको थिएन । कतिपय मास्क लगाउनै पर्दैन भन्ने हल्लाको पछाडि लागे । कलेजस्तरको शिक्षा हासिल गरेकाले समेत भाइरस कति सूक्ष्म हुन्छ, मानिसको शरीरमा यसको वृद्धि कसरी हुन्छ भन्ने कुरा बुझ्न सकेनन् । सामान्य मानिसको के कुरा गर्नु ! नाङ्गो आँखाले मात्र होइन, कम्पान्ड माइक्रोस्कोपबाट समेत नदेखिने हजारौँ भाइरस आफ्नै हातमा टाँसिएका हुनसक्छन् भन्दा कसले पत्याउने ! तर, जब कोरोना भाइरसबाट सङ्क्रमित भए, तबमात्र मानिसले चिकित्सक तथा विज्ञको कुरा बुझे । कतिपयले बुझ्ने अवसर नपाएरै ज्यान गुमाउनुप¥यो ।

त्यसैले विज्ञान वैज्ञानिकको मात्र चासोको विषय होइन, मानिसको जीवनसापेक्ष विषय हो । हाम्रो जीवनसँग जोडिएका हरेक विषयको वैज्ञानिक विश्लेषण गर्ने र बुझ्ने क्षमता विकासको निम्ति आधारशिला तयार गर्न ढिला भैसक्यो, ढिलो हुनु भनेको मानवीय क्षति थप्दै जानु हो ।
वैज्ञानिक साक्षरताबाट लाभ
विज्ञान तथा प्रविधिको युगमा वैज्ञानिक साक्षरता रोजगारीसँग जोडिन पुगेको छ । अर्थतन्त्र विज्ञान तथा प्रविधिमा आधारित हुन थालेको छ, रोजगारी पनि त्यसैले सृजना गरिरहेको छ । हरेक दिन मानिसको खानपान, आनीबानी, औषधी वा भ्याक्सिनबारे छलफल हुन्छ, कतिपय अवस्थामा व्यक्तिगत निर्णयले स्वास्थ्यमा असर पारिरहेको हुन्छ । वैज्ञानिक साक्षरताको विषय त्यहाँ आइहाल्छ । जलवायु परिवर्तन, वातावरण, जैविक विविधतामा आएको सङ्कट, कृषि उत्पादन वृद्धि आदि थुप्रै विषय प्रत्येक मानिसको अस्तित्वसँग जोडिएका हुन्छन् । वैज्ञानिक चिन्तन नभए यी विषयमा कसैले कसरी धारणा बनाओस् ! आजको पुँजीवादी प्रजातन्त्रकै निम्ति पनि कैयौँ मानिसले अनेक किसिमले योगदान पु¥याएका छन् । के प्रजातन्त्रमा निर्णय गर्दा वैज्ञानिक विधिको प्रयोग गर्नुपर्दैन ? अवश्य पर्छ ।
वैज्ञानिक साक्षरताले मानिसलाई आफूसँग भएको वैज्ञानिक ज्ञानको उपयोग गर्न उत्साहित गर्छ, भर र अभरका सूचना पर्गेल्न सहयोग गर्छ, उपयोगी विचारको व्याख्या गर्न उत्साहित गर्छ । शुन्यमा केही हुँदैन, हरेक घटनाको पछाडि कारण हुन्छन् र कारणको खोजी गर्न बुद्धले सिकाएजस्तै मन्थन गर्नुपर्दछ ।
वैज्ञानिक साक्षरताले वरिपरिका घटना वा दृश्यहरूप्रति जिज्ञासा बढाउँछ, अनुसन्धान गर्न उत्साहित गर्छ, कुनै पनि नयाँ जानकारी ग्रहण गर्न दिमागलाई स्वतन्त्र बनाउँछ, अनेक प्रयोग गर्न मानिसलाई जागरूक बनाउँछ ।

समाजमा विज्ञानको भूमिकाबारे बुझाउने कसले ? त्यही वैज्ञानिक साक्षरता भएका मानिसले । कुनै पनि निर्णय गर्दा समाजमा कस्तो असर पर्छ भन्ने सोच्ने क्षमता पनि त चाहिन्छ मानिसमा । विज्ञान तथा प्रविधिले दिने फाइदा र परिणाम (सकारात्मक तथा नकारात्मक) को विश्लेषण कसले गर्नुपर्छ ? समाजको जीवन गतिशील बनाउन लागिपरेका सचेतकहरूले दैनन्दिनीका निर्णय प्रक्रियामा वैज्ञानिक विधि उपयोग गर्दा जीवनका समस्त प्रक्रिया सहज हुन्छन् ।
अब के गर्ने ?
सारा समाजको वैज्ञानिक साक्षरताको लक्ष्य एकदिनमा पूरा हुन्न । यसको निम्ति पुस्तौँपुस्ता पनि लाग्नसक्छ । तर, सुरुआत नै भएन भने उपलब्धि कसरी हात लाग्छ र !जनमानसबीच विज्ञानका बहस थालौँ, विद्युतीय सञ्चारमाध्यमहरूले वैज्ञानिक साक्षरताका कार्यक्रम सञ्चालन गरून्, छापा पत्रकारिताले त्यस्ता विषयको व्यापक प्रचार गरून् ! वैज्ञानिक चिन्तन शैलीको विकासको निम्ति साना बालबालिकैदेखि उचित शिक्षण हुनु आवश्यक छ । शिक्षकहरू त्यसको निम्ति बढी जिम्मेवार हुनसक्छन् । विज्ञानलाई घोक्ने होइन, बुझ्ने विषय बनाउनु आवश्यक छ । विद्यार्थीमा सिक्ने भोक जगाउने काम शिक्षककै हो । विज्ञानका विविध गतिविधिले विषयवस्तु बुझ्न उत्साहित गर्छ । गरेर हेर्ने, हेरेर गर्ने वातावरण प्रत्येक विद्यालयमा हुनुप¥यो । प्रयोगात्मक विधिलाई प्राथमिकता दिनुपर्छ । शिक्षक आफै एकस्तरको वैज्ञानिक हुनुपर्छ । सिक्न कहिल्यै नथाक्ने, हरेक विषयमाथि प्रश्न गर्ने र समाधानका उपाय खोज्ने, तथ्य र प्रमाणको विश्लेषण गर्न निपुण शिक्षक र अभियन्ताहरू नै अहिलेको आवश्यकता हुन् । वैज्ञानिक साक्षरताको अभियान थाल्न अब ढिलाइ गर्नुहुन्न । ‘कम्युनिस्ट सरकार’ ले समयमै वैज्ञानिक साक्षरताको पहल गरोस् !

3 responses to “समाजको वैज्ञानिक चिन्तन परिवर्तनको वाहक”

  1. Raja Sharma says:

    Very well explained! Keep writing more ….Blessings

  2. Raja Sharma says:

    Very well explained! Keep writing more ….Blessings …….

  3. mohan says:

    Very Good

Leave a Reply

Your email address will not be published. Required fields are marked *