भर्खरै :

भारत–संरा अमेरिकाबीच अर्काे चीनलक्षित सम्झौता

नयाँ दिल्ली । भारत र संरा अमेरिकाले मङ्गलबार भूस्थानिक सूचना आदानप्रदान गर्ने र सैनिक सहकार्य बलियो बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतालाई आधारभूत सम्बन्ध र सहकार्य सम्झौता (बेसिक एक्सचेन्ज एन्ड कोपरेसन एग्रिमेन्ट–बेका) नाम दिइएको छ । दुई देशले मुख्यतः चीनलाई लक्षित गरी यस्तो सम्झौता गरेका छन् । सम्झौतापछि अब संरा अमेरिकी सैनिक भूउपग्रहबाट प्राप्त हुने सूचनामा भारतीय सेनाको पहुँच हुने बताइएको छ । सैनिक सूचनामा अब्बल मानिएको संरा अमेरिकी प्रणालीबाट सूचना दिने लोभ देखाएर यो सम्झौतामार्फत भारतमा आफ्नो प्रभाव विस्तार गर्ने र आफूले मुख्य शत्रु मानेको चीनमाथि हमला गर्ने आधार बनाउन नै संरा अमेरिकाले यो सम्झौता गर्नुको मूल ध्येय भएको प्रस्ट छ । सम्झौता गर्न संरा अमेरिकाका विदेश सचिव माइक पम्पेओ र रक्षा सचिव मार्क टी.इस्पर नयाँ दिल्ली पुगेका थिए । संरा अमेरिकामा राष्ट्रपति निर्वाचन हुन एक साताअघि उनीहरू नयाँ दिल्ली आएका हुन् । निर्वाचन प्रचारको व्यस्ततालाई छोडेर दुई जना वरिष्ठ सरकारी अधिकारीहरू भारतमा एकैचोटि आउनुले पनि संरा अमेरिका भारतलाई आफ्नो पोल्टामा पार्न कति उत्सुक छ भन्ने कुरा प्रस्ट छ ।
सम्झौताको क्रममा अमेरिकी नेताहरूले खुलमखुला चीनको खेदो खनेका थिए । “चीनको हमलो र अस्थिरता बढाउने गतिविधि बढिरहेको सन्दर्भमा दुई देश (संरा अमेरिका र भारत) बीचको साझेदारीको विशेष महत्व छ”, अमेरिकी रक्षामन्त्री इस्परले सम्झौतापछि आयोजित पत्रकार भेटघाटमा मङ्गलबार भने ।
इस्परले सूचना आदानप्रदान सम्बन्धमा भएको सम्झौता ‘उल्लेखनीय कोशेढुङ्गा’ भएको चर्चा गर्दै संरा अमेरिका र भारतबीचको सम्बन्ध ‘बलियो, लचिलो र हुर्कंदो’ भएको बताए ।
पत्रकार भेटघाटमा विदेश सचिव पम्पेओले ‘संरा अमेरिका आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको लागि चुनौती सामना गरिरहेका भारतका जनताको पक्षमा उभिने’ बताएका थिए ।
पत्रकार भेटघाटमा पम्पेओ र इस्टरले पटक पटक चीनको खेदो खने पनि उनीहरूका भारतीय समकक्षीहरूले चीनको एक पटक पनि नामोच्चारण गरेका थिएनन् । उनीहरूले बरु अप्रत्यक्ष रूपमा चीनतिर लक्षित अभिव्यक्ति दिएका थिए । भारतीय विदेश सचिव राजनाथ सिंहले भनेका थिए,“सबै राज्यले आफ्नो भौगोलिक अखण्डता र सार्वभौमिकता रक्षा गर्नु अपरिहार्य छ ।”
संरा अमेरिकाले भारतलाई एसियामा चीनलाई घेर्न आफ्ना परम्परागत सहकर्मी देशहरू जापान र अस्टे«लियाजस्तै मान्दै आएको छ । रणनीतिक स्वाधीनताप्रतिको प्रतिबद्धताको कारण भारत औपचारिकरूपमा अमेरिकी मोर्चाको सदस्य बनिसकेको छैन । तर, मोदी सरकारका पछिल्ला सबै गतिविधिले भारत अमेरिकी मोर्चाकै सदस्यजस्तै भइसकेको विश्लेषकहरूले बताएका छन् ।
संरा अमेरिकाले भारतलाई बेच्ने हातहतियारको मूल्य २० अर्ब अमेरिकी डलर पुगिसकेको छ । गत वर्ष दुई देशले मिलेर संयुक्त सैनिक अभ्याससमेत गरेको थियो ।
हालैका वर्षमा भारत र संरा अमेरिकाबीच सैनिक बन्दोबस्तीका सामानमा सहयोग गर्ने र आपसी सैनिक सूचना सुरक्षित गर्ने सम्बन्धमा पनि सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *