भर्खरै :

बुधबारबाट चालिसौं तःमुँज्या

‘जनता बाँचे, भाषा बाँच्छ’ शीर्ष नारा साथ बुधबारबाट चालिसौं नेपालभाषा साहित्य तःमुँज्या सुरु हुँदैछ । कोभिड–१९ महामारीलाई ध्यानमा राखी यो वर्षको तःमुँज्या अनलाइनमार्फत् हुँदैछ । नेपालभाषा साहित्य तःमुँज्या मुल समितिले दिएको जानकारीअनुसार बुधबार दिउँसो १ बजेबाट पहिलो दिनको कार्यक्रम सुरु हुनेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुहुनेछ । पहिलो दिनको कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पत्रकार नारायण महर्जन, कवि कृष्णकुमार वैद्य, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, महिला नेतृ अनुराधा थापामगर र बागमती प्रदेश सभा सदस्य सृजना सैंजूले बोल्नुहुनेछ । पहिलो दिनको कार्यक्रममा साहित्यकारहरू सुलोचना मानन्धर, हरिहर तिमल्सिना, अभय श्रेष्ठलगायतका कवि–साहित्यकारहरूले आफ्ना कविता वाचन गर्नुहुनेछ ।
कार्यक्रममा सीमा अध्येता रतन भण्डारी, डा. सरोज धिताल, ज्योतिषशास्त्री वीरेन्द्र कायष्ठ, स्त्रीरोग विशेषज्ञ डा.सानुमैंया श्रेष्ठ, काठमाडांै विश्वविद्यालयका डीन डा. राजेन्द्र कोजूलगायतका वक्ताहरूले आ–आफ्ना विशेषज्ञताका क्षेत्रबारे मन्तव्य राख्नुहुनेछ । त्यस्तै प्राध्यापक समाजका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले रेशम मार्ग र सह–सचिव इन्जिनियर सुजन माकले ‘एक क्षेत्र एक बाटो’ परियोजनाबारे प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।
तःमुँज्याको पहिलो दिनको कार्यक्रमको सभापतित्व शिक्षक ज्ञानसागर प्रजापतिले गर्नुहुनेछ ।
तःमुँज्याको पूरा कार्यक्रम अनलाइन मजदुर, भादगाउँ टेलिभिजन, भक्तपुर रेडियो, भक्तपुर नगरपालिका र नेपालभाषा साहित्य तःमुँज्याका फेसबुक पेजहरूले प्रत्यक्ष प्रसारण गरिने आयोजक समितिले जनाएको छ ।
दोस्रो दिनको कार्यक्रम बिहीबार दिनको १ बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *