भर्खरै :

लन्डन र काठमाडौँबारे

 
मानिस र विश्वविद्यालयजस्तै फरक फरक सेवा प्रदान गर्ने वा प्रभाव पार्ने सहरहरू पनि हुँदारहेछन् । नेपाल र नेपाली जनताको लागि अध्ययन, विद्या र राजनीतिक चिन्तन प्राप्त गर्न बनारस र कलकत्ताको नाम आउँथ्यो । बनारस संस्कृत, नेपाली र हिन्दी साहित्यको मात्र होइन राजनैतिक शिक्षामा पृथ्वीनारायण शाहदेखि पञ्चायत व्यवस्थाको विरोधसम्ममा राजनीतिक शिक्षाको क्षेत्र थियो भने कलकत्ता वामपन्थी राजनीति, बौद्ध दर्शनको प्रचार केन्द्र र व्यापारको क्षेत्र पनि थियो ।

कलकत्तामा बसेको बैठकबाट २००७ सालको निम्ति गुरिल्ला सेना तयार गर्न बर्माबाट हतियार ल्याउन थिरबम मल्ल, पुष्पलाल, डीवी याकथुम्बालगायत चार जना चुनिएका थिए । तर भारतीय कम्युनिस्टहरूले कामपछि तिमीहरू मारिन्छौ भनी सचेत पारेपछि पुष्पलाल बचे । त्यस्तै गंगालाल श्रेष्ठ भन्ने न्हेकँतलामा एक युवालाई चालिसे भन्ने व्यक्तिले मोहन शमशेरको सवारीमा बम र पेस्तोलबाट हमला गर्ने योजना बनाई तस्बिर खिचेका थिए । तर, भारतीय कम्युनिस्टहरूको खबरदारीले बचे ।

लन्डन बेलायती साम्राज्यको केन्द्र भए पनि विश्व मजदुर आन्दोलनको एक ठूलो अभियान ‘मागपत्रको आन्दोलन’ लन्डनमै भएको थियो । भारतका युवा–विद्यार्थीले बेलायती साम्राज्यकै गढमा गएर ब्रिटिस इन्डियाविरोधी शिक्षा लिए, जलियावाला बागको घटनाका दोषी बेलायती गभर्नरलाई भारतीय युवाले गोली हानेर बदला लिए । लन्डन भारतीय कम्युनिस्ट आन्दोलनको कार्यकर्ता उत्पादन केन्द्र पनि थियो ।
एकातिर भारतका काङ्ग्रेसी नेताहरू शान्तिपूर्ण वा कानुनी आन्दोलन र संसदीय सङ्घर्षबाट स्वतन्त्रता प्राप्त गर्नेबारे लन्डनमै छलफल गर्थे भने भारतीय मूलका बङ्गाली डाक्टर र स्केन्डेनेभियाली आमाका छोरा रजनी पामदत्तले भारतीय युवा–विद्यार्थीलाई पुँजीवादी व्यवस्थाको विरोधमा बौद्धिक र वैचारिकरूपले समाजवादी क्रान्ति र समाजवादी व्यवस्थाको निम्ति दीक्षित गरेका थिए । पश्चिम बङ्गालका ज्योति बसु, भारतीय प्रगतिशील साहित्यकार एवम् जनताका कलाकार बलराज साहनी आदि ‘लन्डन प्रोडक्ट’ थिए भने रवीन्द्रनाथ ठाकुर लन्डनबाट आलोचनात्मक दृष्टिकोण राख्दै बङ्गाल फर्केका थिए । बलराज साहनी बीबीसीमा हिन्दी समाचार वाचक हुन बेलायती निवासमा गएका थिए भने त्यहाँबाट फर्किँदा पूरै भारतीय स्वतन्त्रताका पक्षपाती भएका थिए । लन्डन भनेपछि हुरुक्क हुने तत्कालीन भारतीय मध्यम वर्गीय व्यक्तिहरू बेलायती उपनिवेशवादी संस्कृतिका विरोधी भएर फर्किँदा स्वागत गर्न जाने आफन्त र साथीहरू चकित परेका लिए ।
चिकित्सा र अन्य विषय पढ्न जाने भारतीय विद्यार्थीलाई खाना खुवाउने एक भारतीय अन्धो वृद्ध भन्थे रे, “हेर भारतीय युवाहरू, यहाँका मीमहरूबाट बच्नू ।” तर हेर्दाहेर्दै तिनीहरू फसिसकेका हुन्थे र केही महिनापछि माना चामलमा नालिसको कारण भारतीय युवाहरू तन्नम भएर स्वदेश फर्कन्थे ।
कलकत्तामा बसेको बैठकबाट २००७ सालको निम्ति गुरिल्ला सेना तयार गर्न बर्माबाट हतियार ल्याउन थिरबम मल्ल, पुष्पलाल, डीवी याकथुम्बालगायत चार जना चुनिएका थिए । तर भारतीय कम्युनिस्टहरूले कामपछि तिमीहरू मारिन्छौ भनी सचेत पारेपछि पुष्पलाल बचे । त्यस्तै गंगालाल श्रेष्ठ भन्ने न्हेकँतलामा एक युवालाई चालिसे भन्ने व्यक्तिले मोहन शमशेरको सवारीमा बम र पेस्तोलबाट हमला गर्ने योजना बनाई तस्बिर खिचेका थिए । तर, भारतीय कम्युनिस्टहरूको खबरदारीले बचे ।
नेपालमा राजनीति गर्नेहरूलाई नेपालबारे जानकार भारतीयहरू भन्थे रे, “यदि तिमीहरू साँच्चै नेपालमा राणाविरोधी सङ्घर्ष गर्न चाहन्छौ भने काठमाडौँका नेवारहरूलाई पहिले सङ्गठन गर ।” २०१५ सालसम्म नेपाली काङ्ग्रेस र भारतीय व्यापारीहरूले त्यसरी नै काम गरे । तर, पञ्चायत व्यवस्था आइसकेपछि पूर्वेली कम्युनिस्टहरूलाई पञ्चहरूले नै साँच्चै राजनीति गर्ने हो भने काठमाडौँमा केटी भएको घरमा डेरा गर र राजनीति गर’ भन्ने मन्त्र दिए । पञ्चहरूमध्ये कतिपय एमाले बने, काठमाडौँलाई नै ससुराली बनाई ‘सत्ता कब्जा’ गर्न लागे ।
मनमोहन अधिकारी, केपी ओली, झलनाथ खनाल, अमृत बोहरा, ईश्वर पोखरेल, शड्ढर पोखरेल, माधव नेपाल तथा एमाओवादीका बाबुराम भट्टराई एवम् अरूहरू काठमाडौँ आए तर आ–आफ्नो जिल्ला फर्केर गएनन् । तिनीहरू नेकाजस्तै निर्वाचनमा घर जान्थे र पैसा खर्च गरेर वा निर्वाचन आयोगका अन्य आचारसंहिता र ऐन–कानुन उल्लङ्घन गर्दै हारजीत व्यहोर्दै काठमाडौँ फर्कन्छन् । तिनीहरूले काठमाडौँको खराबी के हो भन्नेबारे किन विश्लेषण गरेनन्् ? फ्रान्सेली उपनिवेशका देशबाट युवा–विद्यार्थी पेरिस आउँथे – त्यहीँबाट मस्को हुँदै आ–आफ्ना देशमा क्रान्तिमा सहभागी हुन्थे । चीनका चाउ एनलाइ, होचि मिन्हलगायत भियतनाम, लावस, कम्बोडिया र अन्य फ्रान्सेली उपनिवेशका नेताहरूले स्वतन्त्रता र क्रान्तिको बाटो लिए ।
दोष ठाउँको भन्दा व्यक्तिको अवसरवादी चरित्र र सिद्धान्त एवम् जनताप्रतिको विश्वासघात हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *