भर्खरै :

चालिसौं नेपालभाषा साहित्य तःमुँज्या चालु

भक्तपुर । चालीसौँ नेपालभाषा साहित्य तःमुंज्या बुधबारबाट सुरू भयो । ‘जनता बाँचे भाषा बाँच्छ’ (जनता म्वासा भाषा म्वाई) भन्ने मूल नाराका साथ हरेक वर्षको कार्तिक शुक्ल द्वादशी र त्रयोदशीका दिन सम्मेलन हुने गरेको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखी चालीसौँ नेपालभाषा साहित्य सम्मेलन अनलाइनमार्फत भएको हो । सम्मेलनमा सहभागी सबै वक्ता, लेखक–साहित्यकार र सहभागीहरू घर–घरमै बसेर सहभागिता जनाउनुभएको थियो ।
साहित्य सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कोभिडको महामारीको क्रममा संसारका कम्युनिस्ट सरकार भएका देशमा राम्रो बन्दोबस्त भएको तर, कट्टर पुँजीवादी शासकहरूले शासन गरेका देशका जनताले दुःख पाएको बताउनुभयो । उहाँले कोभिड महामारीको अवस्थामा संसारका जनताले कम्युनिस्ट को हुन् र अरू को हुन् भन्ने कुरा बुझ्दै गएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले नेपाल भ्रमणमा आउन लागेका भारतका प्रधानसेनापतिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतकै भएको, नेपालीलाई अरू देशले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको भन्न लगाएको जस्ता अभिव्यक्ति दिएको चर्चा गर्दै आफ्नो देशको भूभाग आफ्नो भन्न नेपाली जनतालाई अरू कुनै देशले भनाउन नपर्ने प्रस्ट पार्नुभयो ।
उहाँले अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति बोल्सोनारोजस्ता प्रतिक्रियावादी शासकहरूको कारण संसारका जनताले दुःख पाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड नियन्त्रण र रोकथामको लागि भक्तपुर नगरपालिकाले गरेका गतिविधिबारे चर्चा गर्नुभयो । उहाँले नेपाल सरकारले पीसीआर परीक्षण गर्न पैसा लिने निर्णय गर्नु नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन र सर्वोच्च अदालतको परमादेशविपरीत भएको बताउनुभयो । जनप्रतिनिधि र सरकारी अधिकारीहरूको पहलमा भक्तपुर अस्पतालमा पीसीआर मेसिन आइसकेको तर मेसिन ल्याउने ठेकेदारले मेसिनका सबै पार्टपुर्जा नल्याइदिँदा अझै सेवा सुरू गर्न नसकेको जानकारी दिंदै उहाँले आयुर्वेदिक औषधि उपचारलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमित जनताको समस्यालाई ध्यानमा राखी भक्तपुर नपाले आइसोलेसन केन्द्र बनाएको बताउँदै प्रमुख प्रजापतिले आइसोलेसनमा बसेका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखी अनलाइन शारीरिक व्यायाम प्रशिक्षणको आरम्भ गरेको बताउनुभयो ।
उहाँले प्रदेश भनेको सङ्घको एकाइ भन्ने प्रधानमन्त्रीको भनाइ संविधानको भावनाविपरीत भन्दै भन्नुभयो, “अहिलेको संविधानमा सबै तहका सरकारका अधिकार बाँडफाट गरेको छ ।”
प्रमुख प्रजापतिले सङ्घ सरकारले निर्देशित बजेट स्थानीय तहलाई पठाउनु संविधानको भावनाविपरीत भएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाका कार्यकर्ता प्रचारको लागि होइन, जनताको सेवाको निम्ति काम गरिरहेका छन् । स्थानीय तहमा नेमकिपाको घोषणापत्रअनुसार नै हामी जनताको सेवा गर्न काम गरिरहेका छौँ ।”
‘शहीद’ साप्ताहिकका सम्पादक नारायण महर्जनले कोभिड केही पनि होइन भन्ने पुँजीवादी देशहरू यसबाट अझ बढी प्रभावित भएको बताउँदै समाजवादी देशमा जनमुखी स्वास्थ्य नीतिको कारण कोभिड नियन्त्रणमा प्रभावकारी काम भएको चर्चा गर्नुभयो ।
संविधानमा स्वास्थ्य मौलिक हक उल्लेख गरिए पनि नेपाल सरकारले झाराटार्ने काममात्र गरिरहेको प्रकाश पार्दै उहाँले सरकारले व्यापारी र पुँजीपति वर्गको इसारा र दबाबमा काम गरिरहेको छ भन्नुभयो ।
काठमाडौँ उपत्यकामा सरकारले विकासको नाममा मौलिक सम्पदा र प्राकृतिक स्रोतको विनाश गरिरहेको प्रकाश पार्दै उहाँले सम्पदा, संस्कृति र जनताका जग्गा जमिन विनाश गर्ने विरोधमा जनताको सङ्घर्षमा ऐक्यबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भारतीय गुप्तचर विभाग प्रमुखले प्रधानमन्त्री भेटघाटपछि जनभावनाविपरीत बनाउन खोजिएको फास्ट ट्रयाक बनाउनेबारे जोड दिएकोले जनता अझ सजग हुनुपर्ने बताउनुभयो ।
सीमा अध्येता रतन भण्डारीले चीनले नेपालको सीमा मिचेको मिडियाबाजी झूठो भइरहेको विभिन्न प्रमाणसहित प्रस्ट पार्नुभयो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा आफूले सीमा मिचेको कुरालाई विषयान्तर गर्न चीनले नेपालको सीमा अतिक्रमण गरेको नेपालमा प्रचार हुने गरेको चर्चा गर्दै गोरखाको रूई र टेगा गाउँ विसं २०१९ मा नेपालसँगको सीमा साटफेर गर्ने क्रममा चीनतिर परेको प्रस्ट पार्नुभयो ।
भारतको कारण नेपाल र भारतबीच सम्बन्धमा केही समस्या आउँदा चीनलाई मुछ्ने काम हुन नहुने उहाँको भनाइ थियो ।
सीमामा केही समस्या भए आपसी सहमतिमा समाधान गर्ने चिनियाँ राजदूतले वक्तव्य दिँदा पनि लगातार चीनले सीमा मिचेको असत्य प्रचार गर्न पुँजीवादी सञ्चारमाध्यम सक्रिय रहेको बताउनुभयो ।
सीमा अध्येता भण्डारीले नेपाल र भारत दुई देशबीचको विषय एक जना गुप्तचर निकायका व्यक्तिबाट गर्न खोज्नु राष्ट्रिय लज्जाको विषय भएको प्रस्ट पार्नुभयो ।
सम्मेलनमा भक्तपुुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले विगतमा भक्तपुुर अस्पताल काठमाडौँमा बिरामी पठाउने रिफर सेन्टरमात्र हुने गरेकोमा अब अस्पतालको स्तरोन्नतिको लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
उहाँले भक्तपुर जिल्लामा कोभिडका बिरामीको उपचार र महामारी नियन्त्रणमा भक्तपुर अस्पतालले खेलिरहेको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन डा. राजेन्द्र कोजूले मुटु रोगबारे जानकारी दिंदै शारीरिक श्रम र व्यायाम कमी हुँदा मुटु रोग बढेको बताउनुभयो । उहाँले मुटुलाई स्वस्थ राख्न शारीरिक व्यायाम गर्ने, मधुमेह र उच्च रक्तचापको उपचार गर्नुपर्ने, चुरोट र रक्सी सेवन कम गर्नुपर्ने सल्लाह दिनुभयो ।
शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले मिर्गौला रोगबारे जानकारी दिंदै रगत र पिसाबको जाँच तथा भिडियो एक्स–रेबाट मिर्गौलासम्बन्धी रोग पहिचान गर्न सकिने बताउँदै मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपलब्ध स्वास्थ्य सेवाबारे प्रकाश पार्नुभयो ।
उहाँले नेपालमा जस्तो मिर्गौला दानसम्बन्धी उदार कानुन संसारमा कहीँ नभएको भन्दै नक्कली कागजात बनाएर सोझो मानिसको मिर्गौला लिने माफियाबाट सचेत हुनुपर्ने बताउनुभयो । ज्ञवालीले भन्नुभयो, “मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले पनि जीवनलाई सफलरूपमा काम अघि बढाइरहेको छ ।”
स्त्रीरोग विशेषज्ञ डा. सानुमैँया श्रेष्ठले महिलामा बाझोपन हुने बित्तिकै टेस्टट्युब प्रविधि प्रयोगबारे सोच्नु ठीक नभएको बताउनुभयो । बाझोपनको अन्तिम विकल्पमात्र टेस्टट्युब प्रविधि भएको उहाँको भनाइ थियो ।
कोभिड–१९ को महामारीले संसारको चिकित्साशास्त्र र विज्ञानलाई चुनौती दिइरहेको चर्चा गर्दै उहाँले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अनुशासनमा बस्न र अरूलाई पनि बसाउन आग्रह गर्नुभयो ।
ज्योतिषशास्त्री डा. वीरेन्द्र कायष्ठले पञ्चाङ्गबारे जानकारी दिनुभयो ।
तःमुंज्याको पहिलो दिनको सभापतिको आसनबाट बोल्दै शिक्षक ज्ञानसागर प्रजापतिले ‘जनता रहेमात्र भाषा रहन्छ’ भन्ने नारालाई आत्मसात गरी अघि बढिरहेको तःमुंज्याले नेपालभाषाका साथै यसको सांस्कृतिक पक्षको पनि उत्थान गर्दै आएको बताउनुभयो । उहाँले जनता नै विश्व इतिहासका निर्माणकर्ता भएको चर्चा गर्दै जनता भएमात्र उसको भाषा, साहित्य र संस्कृति रहने प्रस्ट पार्नुभयो ।
“जनता नै नभए न भाषा, न साहित्य, न संस्कृति नै रहनेछ”, प्रजापतिले भन्नुभयो ।
पहिलो दिनको कार्यक्रममा जनकवि चन्द्रबहादुर उलक, कवि दामोदर सुवाल, नेपालभाषा साहित्य तःमुंज्याका पूर्वअध्यक्ष कान्छा बासुकला, शिवप्रसाद श्रेष्ठ, निबन्धकार ओम धौभारी, कथाकार प्रेम के. निडर, मदन श्रेष्ठ, केशव तमखू, सुरेन्द्र महर्जन, पदमा खयरगोली, रामगोपाल बमनुलगायतले आ–आफ्ना साहित्य वाचन गर्नुभयो । बुद्ध लामाले तामाङ भाषाको गीत गाउनुभएको थियो ।
सम्मेलनको दोस्रो दिन बिहीबार दिनको १ बजे सुरू भयो । कार्यक्रमको प्रत्यक्ष प्रसारण भादगाउँ टीभी, रेडियो जनसञ्चार, अनलाइन मजदुर, भक्तपुर रेडियो, भक्तपुर नगरपालिका, नेपालभाषा साहित्य तःमुँज्याका फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *