भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– २

देशभक्ति भावनाको फिलिङ्गो
मलाई आफू जन्मेको घरको झिनोमात्र पनि सम्झना छैन । चौरिङ्घी सडकस्थित हिन्दुस्तान भवनमा हामीले भाडामा लिएका कोठाहरू भने प्रस्ट सम्झन्छु । मेरो जीवनका सुरूका दस वर्ष तिनै कोठामा बिते । घरका अरू केटाकेटीहरूसँग हाँस्दै–खेल्दै, नाच्दै–उफ्रिँदै ती दिनहरू बिते । मेरा पिता डा. निषिकान्त बसु हामी सबैमा मुली हुनुहुन्थ्यो । उहाँ एउटा संयुक्त हिन्दू परिवारका उदाहरणीय अभिभावक हुनुहुन्थ्यो । मेरी आमा हेमलत्ता बसुको काम एक जना असल भारतीय महिलाबाट अपेक्षा गरिएका जिम्मेवारी पूरा गर्नु थियो । परिवारको स्याहार–सुुसार गर्नु र ठूलो परिवार चलाउन आइलाग्ने सबै साना–ठूला काम गर्नु नै मेरी आमाको भागमा पर्ने जिम्मेवारी थियो । धेरै मानिसले जस्तै म पनि मैले चिनेजानेका भान्छेमध्ये सबभन्दा अब्बल भान्छे मेरी आमालाई मान्छु ! म अझै पनि हाम्रो भान्छाबाट बाहिरिने बेसारले पहेँलो बनाएर पकाएको हिल्सा माछाको मीठो सुवास सम्झन्छु । भान्छामा पाएको माछाको वासना घरभरि फैलिन्थ्यो । अनि आफ्नो भागमा सबभन्दा ठूलो माछा पार्न मेरी दिदी सुधा, दाइ सौरिन्द्र किरण, अनि घरका अरू केटाकेटीबीच चर्कै प्रतिस्पर्धा हुन्थ्यो । म भने मिठाइको पारखी थिएँ । बङ्गालीमा एउटा टुक्का छ–गुलियो दाँत । मेरो दाँत भने त्यस्तै खालको थियो । मेरो बाल्यकालीन सम्झना सन्देश, रसभरि र अन्य गुलिया मिठाइको स्वादले भरिएको छ ।
मेरो परिवारका सदस्यहरूको खासमा कुनै त्यस्तो वैचारिक सम्बद्धता थिएन । तर, समग्रतामा उनीहरूलाई प्रगतिशीलको रूपमा व्याख्या गर्न सकिन्छ । मेरो बुबा पेशाले चिकित्सक हुनुहुन्थ्यो । उहाँको सबै तन–मन–ध्यान आफ्नै पेशामा तल्लीन थियो । उहाँमा न त्यत्तिबेला चलेको साम्राज्यवादविरोधी सङ्घर्षमा लाग्ने कुनै धैर्य थियो न कुनै खास चासो नै । उहाँले आसामको डिब्रुगढ मेडिकल कलेजबाट स्नातक गर्नुभएको थियो अनि अमेरिकाबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । उहाँ आफूलाई प्रतिबद्ध आदर्शवादी मान्नुहुन्थ्यो ।

.ज्योति बसु हुर्केको घर (इन्सेटमा बालक बसु)


मेरी आमा त्यत्तिबेला अविभाजित बङ्गालको ढाका सहर नजिकको एउटा सानो गाउँ बरोडीको धनाढ्य जमिनदारकी एक्ली छोरी हुनुहुन्थ्यो । उहाँ खुब मज्जाले कथा सुनाउनुहुन्थ्यो । उहाँ भारतीय स्वतन्त्रता आन्दोलनका नेता मदनमोहन भोमिकबारे हामीलाई कथा सुनाएर मख्ख पार्नुहुन्थ्यो । भोमिक बरोडीको हाम्रो मामाघरमा आफ्ना सहयोगी र हातहतियारसहित आएर वास बस्नुहुन्थ्यो । आमालाई म त्यत्तिबेलाका ती कुरा बारम्बार सुनाउन आग्रह गर्थेँ । उहाँका कुरा सुनेर म पक्क पर्थेँ । रोमाञ्चले मेरो मुख खुलेकै हुन्थ्यो । ती कथाहरूले मलाई साँच्चै रोमाञ्चित बनाउँथे । वास्तवमा भन्नुपर्दा मेरा बाल्यकालीन सुखद सम्झनाहरूमध्ये सबभन्दा प्रिय समय आमाबाट कथा सुन्ने समय थियो । आफ्नै मौलिकता भएको मोटो तनगैल ढाका साडी लगाएकी आमा घरका सबै काम सकाएर वरपर केटाकेटी जम्मा पारेर आफू बीचमा थचक्क बसेर कथा हाल्नुहुन्थ्यो । मलाई साह«ै मनपर्ने अर्को कुरा भनेको हरेक साँझपख बुबाको काम गर्ने थलोमा जानु थियो । बुबाको बिरामी हेर्ने ठाउँ घरबाट नजिकै थियो । म उहाँले काम गरेको हेरिरहन खुब मन पराउँथेँ । बिरामीको स्वास्थ्य परीक्षणदेखि पुर्जीमा औषधि लेख्नेसम्म बुबाका हरेक गतिविधिलाई म निकै ध्यान दिएर नियालेर बस्थेँ । अरू केटाकेटीजस्तै म पनि स्टेस्थिकोप लिएर आफै डाक्टर बनेको अभिनय गर्न खुब रहर गर्थेँ !
मलाई स्कूल जान भनेपछि असाध्यै गाह«ो लाग्थ्यो । “एउटा स्कूले केटो मन बाँधेर घिस्रिरहेको छ ।” मेरो मनोदशा ठ्याक्कै त्यस्तै थियो । मलाई विद्यालय जान पटक्कै मन नपरे पनि म स्कूलको भने असल विद्यार्थी नै थिएँ । लोरेटो शिशुशालामा भर्ना हुँदा म ६ वर्षको थिएँ । नियमित विद्यालयमा जानुअघि चार वर्ष त्यस्तै शिशुशाला पढाइने व्यवस्था थियो । मेरो परिस्थिति भने अलि फरक भयो । मेरो पढाइ र प्रस्तुति यति राम्रो भएछ कि मैले एकैचोटि ‘डबल प्रमोसन’ पाएँ ¤ तर, यो सुनिएजस्तो त्यत्ति ठूलो उपलब्धि भने थिएन । शिशुशालाको पढाइ सकिएपछि मेरा बुबा–आमा अब मलाई कुन विद्यालयमा भर्ना गर्ने भन्ने विषयमा अलमलमा पर्नुभयो । त्यत्तिबेला सेन्ट जेभियर स्कूल अब्बल विद्यालयमा गनिन्थ्यो । तर, भर्नाको समय सकिसकेकोले उनीहरूले मलाई भर्ना लिन मानेनन् । त्यहाँबाट मलाई बुबाले लोरेटो धु्रमटोलामा लिएर जानुभयो । त्यो एउटा मिसनरी विद्यालय थियो । त्यहाँकी प्रधानाध्यापिकासमक्ष बुबाले मेरो भर्नाको लागि आग्रह गर्नुभयो । निकै गाह«ो मानेर प्रधानाध्यापिकाले भर्नाको लागि मान्नुभयो । तर, उहाँले एउटा सर्त भने राख्न छोड्नुभएन । त्यो सर्त थियो–मैले अरू छात्राहरूसँगै बसेर पढ्नुपर्ने । खितखिताइरहने छात्राहरूको बथानमा म एक्लो छात्र ! सौभाग्यवश अर्को वर्ष भने मैले सेन्ट जेभियर्स स्कूलमा भर्ना पाएँ ।
यो अवधिका मसँग धेरै रमाइला सम्झनाहरू छन् । सन् १९२६ ताका मेरा बुबाले कोलकोत्ताको दक्षिणतिर हिन्दुस्तान पार्क क्षेत्रमा घर बनाउनुभयो । म दस वर्षको केटो हुँदा हामी त्यो नयाँ घरमा स¥यौँ । त्यही घरमा मैले आफ्नो युवावयका सबभन्दा रहरलाग्दा र महत्वपूर्ण दिन बिताएँ । त्यत्तिबेलासम्म त्यो ठाउँ पुरै जङ्गल थियो । न कुनै गतिलो बाटो थियो न अरू सुविधा नै । चारैतिर नरिवलका रुख र बाँसका झाङ थिए । तर, भर्खरको केटा मलाई भने त्यो ठाउँको परिवेश खुब राम्रो लाग्यो । फराकिलो ठाउँमा मेरा दाइ र दिदीहरूसँग खेल्न म खुब रमाउँथेँ । हामी नयाँ–नयाँ खेल बनाएर खेल्थ्यौँ । भाँडाकुँडा बेच्न आउनेको ठूलठूला आवाज र क्रिकेट खेल्दा हाम्रो चिच्याहट मेरो बाल्यकालीन सम्झनाका अमूल्य गहना हुन् ।
सन् १९३० को दसकमा बङ्गालमा स्वदेशी (बेलायती उपनिवेशवादविरोधी) आन्दोलनको उभार उठिरहेको थियो । साम्राज्यवादविरोधी हिंसा र आक्रोश बङ्गालको जताततै डढेलोजस्तै फैलिएको थियो । त्यो देशभक्तिको हुरीबाट ममात्र अछुटो रहन सकिनँ । त्यो आन्दोलनमा सरिक हुन मलाई धेरै बेर लागेन । महात्मा गान्धीबाट म निकै प्रभावित भएँ । उहाँको एक पटकको अनसन बसेको दिन मैले विद्यालय नजाने निर्णय गरेको थिएँ ।
राजनीतिक सभा–समारोहमा सहभागी बन्नु पनि एउटा आकर्षणको कुरा थियो । मेरा काकाका छोरा देवप्रिय र म अक्टरलोनी स्मारकको मैदानमा आयोजित राजनीतिक सभामा सहभागी बनेको अहिले पनि सम्झन्छु । त्यो सभामा निकै लोकप्रिय नेताजी सुवासचन्द्र बोसले सम्बोधन गर्नुभएको थियो । त्यो सभामा सहभागी बन्नु निकै रोमाञ्चक घटना थियो । यद्यपि त्यो कम कष्टकर भने थिएन । सभा निकै विशाल थियो । मैले त्यत्ति धेरै उत्सुक र उत्साहित मानिस खाँदाखाँदै गरेर एकै ठाउँमा भेला भएको कहिल्यै देखेको थिइनँ । मेरो वरपर जताततै देशभक्ति भावनाको लहर उठिरहेको भए पनि गोरा सर्वोच्चता र बेलायती शासनको दमनको पहिलो स्वाद भने मैले त्यहीँ चाखेँ । खादी (स्वदेशी हाते कपडाले बनाएको) पोशाक त्यत्तिबेला देशभक्तिको सबभन्दा प्रस्ट चिनिने चिह्न थियो । हामीले खादी पोशाक नै लगाएका थियौं । त्यही भएर बेलायती सरकारका प्रहरीले हामीलाई खेद्नु खेदेको थियो । त्यो उमेरमा मैले दमित को र दमनकारी को हो भन्ने कुराको खास भेउ पाइसकेको थिइनँ । तर, त्यो प्रत्यक्ष अनुभवले मलाई बेलायती प्रहरीहरूको सनकपूर्ण व्यवहारप्रति घृणा जगाइदियो । म हुर्किँदै गरेको त्यो उमेरमा मभित्र गोराहरूको शासनप्रति तीव्र घृणाभावना जगाइदिएको थियो ।
मेरी एक जना काकीको दुई जना स्वतन्त्रता आन्दोलनका नेताहरूसँग नजिकको सम्पर्क थियो । एक जना किरण रोय र अर्का विजय मोदक । उहाँहरू दुवै जना हाम्रो घरमा बरोबर आइरहनुहुन्थ्यो । हाम्रो घरमा आइरहनुहुने इन्द्रसुधा घोष त खासमा हाम्रो आफन्त नै हुनुहुन्थ्यो । त्यत्तिबेला मैले उहाँहरूको विषयमा धेरै कुरा थाहा पाएको थिइनँ । तथापि, उहाँहरू सबै स्वतन्त्रता आन्दोलनका प्रतिबद्ध योद्धाहरू हुनुहुन्थ्यो । मेरा काका नलिनीकान्त बसु कोलकोत्ताको उच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीश हुनुहुन्थ्यो । स्वतन्त्रता आन्दोलनका नेताहरूमाथि कारबाही गर्न गठन भएको विशेष अदालतमा काकालाई न्यायाधीश नियुक्त गरिएको थियो । उहाँको कार्यकक्षका टेबुलमा प्रहरीले बरामद गरेका देशभक्तिका पुस्तकका चाङ लगाइएको हुन्थ्यो । ती किताबप्रतिको आकर्षणबाट मलाई कसैले जोगाउन सकेन । काका कतै बाहिर जानु हुँदा हामी ती पुस्तकमध्ये जे हात लाग्थ्यो, ध्यान लगाएर खुब पढ्थ्यौँ । काकाका छोराछोरीसहित हामी सबै दाजुभाइ–दिदीबहिनीहरू भूमिगतरूपमा हुने स्वतन्त्रता आन्दोलनका गतिविधिप्रति गहिरो सद्भाव राख्थ्यौँ । हामी नाम नलेखी काकाको देशभक्तिपूर्ण आन्दोलनविरोधी पेशागत भूमिकाको भत्र्सना गर्दै चिठ्ठी लेख्थ्यौँ ।
यस्ता गतिविधिले नजानिँदो गरी ममा देशभक्ति भावना हुर्किँदै गयो । चित्तगाउँ गठ्ठाघरमा देशभक्तहरूले गरेको लुटपाटको विरोधमा हाम्रो विद्यालयका फादरले भत्र्सना गर्दा मैले फरक मत राखेको म सम्झन्छु । त्यो घटनाले मलाई मसँग पढ्ने अङ्ग्रेज–भारतीय सहपाठीहरूबाट अलग बनायो । तर, उनीहरूबाट टाढिएर मलाई केही फरक परेन । कोलकोत्ताको प्रतिष्ठित प्रेसिडेन्सी कलेजबाट अङ्ग्रेजी साहित्यमा अनर्स तहको शिक्षा हासिल गरिसक्दा पनि मैले आफू राजनीतिमा लाग्ने विषयमा गम्भीरतापूर्वक सोचेको पनि थिइनँ । मेरो बुबा मलाई लन्डनमा पठाएर कानुन पढाउन चाहनुहुन्थ्यो । मलाई लन्डनमा पढाइ सकाएर भारतमा व्यारिस्टर बनाउने उहाँको चाहना थियो । म पनि बुबाको त्यो चाहना पूरा गर्न प्रतिबद्ध थिएँ । सन् १९३५ मा मैले लन्डनको माटोमा पहिलो पटक पाइला राखेँ । हो, त्यहीँ लन्डनमा पुगेर मेरा त्यस्ता सबै चाहनाहरूमा फेरबदल भयो । त्यो अर्कै कथा हो । अर्कै अध्याय । मेरो जीवनको अर्काे चरण ।
लन्डन पुगेर मेरो आँखा उघारिए । मेरा पिताका आकाङ्क्षा पूरा गर्न म त्यहाँ गएको थिएँ । ‘पक्का’ कानुनी शिक्षा प्राप्ति नै मेरो उद्देश्य थियो । भित्रभित्र देशभक्ति भावनाको आगो बल्दै गरेको ठूलठूला आँखा भएको एक जना युवकले ‘शत्रु’ देशको मुटुमै पाइला राखेको थियो ¤ यो विरोधाभासले मलाई निकै विस्मित तुल्यायो ।
मलाई लन्डन गएकोमा कुनै पश्चाताप छैन । लन्डन सहरले नै मलाई नयाँ आकारमा ढाल्यो । यद्यपि त्यो मेरो बुबाले चाहेजस्तो अथवा म स्वयम्ले चाहेजस्तो आकारको भने थिएन । प्रेसिडेन्सी कलेज पढ्दाताका मैले पढेको त्यो भव्य र सौम्य सहर लन्डनमा म स्वयम् पुग्दा भने त्यहाँको अवस्था निकै तातेको अनुभव भयो । त्यसमाथि तिनताक सिङ्गो युरोपले नै एउटा ठूलो राजनीतिक उथलपुथलको सामना गरिरहेको थियो । इटालीमा फासीवादी नेता बेनिटो मुस्सोलिनीले सत्ता कब्जा जमाउन थालेका थिए । इटाली फासीवादी राज्य बन्दै थियो । जर्मनीमा नाजीहरूले ठूला औद्योगिक गृहहरूबाट समर्थन पाउने आधार बनाइसकेको थियो । जर्मनीका ठूला औद्योगिक गृहहरू ज्यादै खराब आर्थिक अवस्थाको सामना गरिरहेका थिए । स्पेन निकै भयानक गृहयुद्धमा फसेको थियो । आफ्नो तर्फबाट सोभियत सङ्घले स्पेनी गणतन्त्रको अस्तित्व जोगाउन भरपूर प्रयास गरिरहेको थियो । तर, सोभियत सङ्घको यस्तो प्रयासको बेलायत, फ्रान्स र संरा अमेरिकाले विरोध गरिरहेका थिए ।

परिवारसँग ज्योति बसु (बायाँबाट दोस्रो)


बेलायती विश्वविद्यालयमा पढिरहेका अरू विद्यार्थीहरूजस्तै मलाई पनि त्यो राजनीतिक उथलपुथलले आफूतिर सजिलै तानिहाल्यो । अन्तर्राष्ट्रिय राजनीतिमा यो समय सघन र तातो बहसको समय थियो । बेलायती राजनीतिशास्त्रका प्राध्यापक हेरोल्ड जोसेफ लास्कीको फासीवादविरोधी सम्भाषण सुन्न विद्यार्थीहरू कसरी उछिनपसिन गर्थे भन्ने कुरा म आज पनि सम्झन्छु । समग्रमा त्यो परिस्थिति निकै उत्प्रेरणात्मक थियो । मैले फासीवादविरोधी विचारधारा र साहित्यप्रति गहिरो रुचि विकास गरेँ । मैले हात लागेका जति सबै पुस्तक र राजनीतिक पर्चाको गहन अध्ययन गरेँ । त्यसक्रममा फासीवादविरुद्ध लगातार गतिविधि गर्ने एउटामात्र दल ग्रेट ब्रिटेन कम्युनिस्ट पार्टी (सीपीजीबी) भएको निष्कर्षमा पुगेँ । सीपीजीबीले फासीवादविरुद्ध लगातार पर्चा र जर्नलहरूको प्रकाशन गथ्र्यो । फासीवादी अत्याचार उदाङ्गो पार्न विभिन्न सभा र प्रदर्शनहरू आयोजना गथ्र्यो । म सीपीजीबीको भरभराउँदो उत्साह देखेर प्रभावित भएँ । सीपीजीबीको साङ्गठनिक शक्ति नफैलिएको भए पनि उनीहरू निकै सक्रिय थिए ।
लन्डन र वरपरका ठाउँमा अध्ययनरत भारतीय विद्यार्थीहरूका धेरै सङ्गठनहरू थिए । तीमध्ये म ‘लन्डन मज्लिस’ नामको सङ्गठनको सदस्य बनेँ । त्यो सङ्गठनले लगातार फासीवादविरोधी गतिविधि गथ्र्यो । म त्यसका गतिविधिमा सक्रिय भएँ र समयान्तरमा त्यसको सचिवमा निर्वाचित भएँ । समयक्रममा हाम्रो सङ्गठन अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय र लण्डन स्कूल अफ इकोनोमिक्समा पनि विस्तार भयो ।
सङ्गठनको सचिवको हैसियतमा मेरो एउटा जिम्मेवारी भारतीय स्वतन्त्रता आन्दोलनका नेताहरू लण्डनमा आउनुहुँदा उहाँहरूको स्वागत गर्नु पनि हुन्थ्यो । सन् १९३८ मा हामीले पण्डित जवाहरलाल नेहरूको स्वागतमा कार्यक्रमको आयोजना ग¥यौँ । मैले उहाँलाई भारतीय विद्यार्थीहरूको सङ्गठन ‘द इन्डियन लिग’ का कृष्ण मेननमार्फत भेटेको थिएँ । पण्डित नेहरू, उनकी बहिनी विजयलक्ष्मी पण्डित र युसुफ मेहर अली फासीवादको विरोधी हुनुहुन्थ्यो । उहाँहरू स्पेनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्नुहुन्थ्यो । त्यसकारण म उहाँहरूबाट प्रभावित थिएँ । नेहरूसँग मेरो पहिलो भेट निकै छोटो तथा सम्झिरहने खालको थियो । म युवक थिएँ । माक्र्सवाद र वामपन्थी विचारधाराप्रति असाधारणरूपमा उत्साहित थिएँ । नेहरूलाई भेट्ने बित्तिकै मैले अनायासै भनेंँ “हामी समाजवादमा विश्वास गर्छौँ !”
“के तपाईँलाई हामीले स्वाधीनता प्राप्त गर्नुपर्छ भन्ने लाग्दैन ? तपाईँको के छ विचार ?”, नेहरूले सोध्नुभयो ।
“हो, म सहमत छु”, मैले भनेँ । यति भनेर म मेरो स्वागत गर्ने मूल जिम्मेवारीतिर फर्केँ ।
सुवासचन्द्र बोस वामपन्थी आन्दोलनका नेता मानिनुहुन्थ्यो । सन् १९३९ मा उहाँ त्रिपुरा काङ्ग्रेसको सभापतिमा निर्वाचित हुनुभयो । हामीले लण्डन मज्लिसको तर्फबाट उहाँलाई बधाई तथा शुभकामना सन्देश पठाउने निधो ग¥यौँ । शुभकामना सन्देश पठाउने समारोहमा फिरोज गान्धीलाई आमन्त्रण ग¥यौँ । फिरोज गान्धी हाम्रो कार्यक्रममा सहभागी बन्नुभयो । तर, उहाँले मन्तव्य राख्न चाहनुभएन । एनके कृष्णन र मैले समारोहमा आफ्ना मन्तव्य राख्यौँ । सुवासचन्द्र बोस लन्डन आउनुभएको पनि स्मरण गर्छु । त्यहाँ उहाँसँग रजनी पाम दत्तले अन्तर्वार्ता लिनुभएको थियो । अन्तर्वार्ताको पूरा अंश सीपीजीबीको मुखपत्र ‘द डेली वर्कर’ मा प्रकाशित भएको थियो ।
लन्डनको माटोमा पाइला टेक्दादेखि समय निकै द्रुतगतिमा बित्दै गयो । हरेक दिन ताजा कुरा थाहा पाउँदै गएँ । ती कुराले मलाई राजनीतिप्रति थप आकर्षित गर्दै लग्यो । वास्तवमा त्यो समय ज्यादै उथलपुथलपूर्ण र उत्सुकतापूर्ण समय थियो । त्यस्तो अवस्थामा जे भइरहेको थियो, त्यसबाट म निरपेक्ष र बेपर्वाह बस्न सकिनँ । हरेक दिन म बिस्तारै–बिस्तारै कम्युनिस्ट विचारधाराबाट तानिंदै गएँ । अनि म पार्टीका गतिविधिमा सक्रियतापूर्वक लाग्न थालेँ । एक जना साथीको घरमा मेरो भुपेश गुप्तासँग भेट भयो । उनी लन्डनमा कानुन अध्ययन गरिरहेका थिए । जसै म उनीसँग नजिकिन थालेँ, म उनको शक्तिशाली बौद्धिकता र उत्साहप्रद व्यवहारबाट प्रभावित बन्दै गएँ । लण्डनमै मेरो भेट स्नेहांशु आचार्यसँग भयो । उनको विलक्षण व्यक्तित्व, तेजिलो बौद्धिकता र व्यङ्ग्यचेतले हामी सबैलाई हसाउँदै जीवन्त बनाइरहेको हुन्थ्यो । हामी सबैको विचारधारा एउटै भएकोले हाम्रो मित्रता दिगो बन्दै गएको थियो । मैले ह्यारी पोलिट, रजनी पाम दत्त, क्लिमेन्स दत्त, बेन बार्डलेजस्ता केही चर्चित बेलायती कम्युनिस्ट नेताहरूसँग पनि मित्रता बढाएँ ।
त्यत्तिबेला त्यहाँ भारतीय कम्युनिस्ट विद्यार्थीहरूको तीन भिन्न सङ्गठन थिए । त्यहीक्रममा मैले राम्ररी चिनेका व्यक्तिहरूमध्ये रजनी पटेल, पीएन हस्कर, मोहन कुमारामङ्गलम र इन्द्रजीत गुप्ता पनि थिए । रेणु चक्रवर्ती, एनके कृष्णन, निखिल चक्रवर्ती र अरुण बोससँग हामी बरोबर बैठक बस्थ्यौँ । द इन्डियन लिगका सदस्य फिरोज गान्धी भारतीय विद्यार्थी महासङ्घको कुनै पनि बैठक छुटाउनु हुन्नथ्यो ।
मेरो अधिकांश समय पूर्वी लण्डनतिर व्यतीत हुन्थ्यो । त्यो क्षेत्रमा भारतीय समुद्री मजदुरहरूको बसोबास थियो । त्यहीं मैले निरक्षरताविरुद्ध पहिलो अभियानको आरम्भ गरेँ । म सिद्धान्त, अध्ययन र व्यवहारको मिश्रणमा विश्वास गर्थेँ । ती तीन खम्बाको राम्रो मिश्रणबिना साम्यवाद बौद्धिक विलास र केही ठोस उपलब्धिबिनाको मच्चिने कुर्सीको बसाइमात्र हुने थियो । मेरो युवा भावनाले भारतीय मजदुरहरूको हितमा केही गर्न अभिप्रेरित गरिरहेको थियो । अधिकांश साँझ हाम्पस्टीड हिथमा भूपेशसँग हाम्रो समाजवादी आदर्शबारे छलफल र बहसमै बित्थ्यो । हरेक वर्षको जनवरी २६ मा त्राफाल्गर चोकमा आयोजना गरिने बैठक र प्रदर्शनको नियमित सहभागी हुनुको नाताले म इन्दिरा गान्धीलाई सम्झन्छु । उनी पनि ती सभाहरूमा सहभागी हुन्थिन् । हाम्रो भेट्ने अर्को ठाउँ अथवा बङ्गाली ठेट शब्दमा भन्दा ‘अड्डा’ हाम्रो विचारप्रति सहानुभूति राख्ने डा. शशीधर सिन्हाको पुस्तक पसल ‘बाइब्लोफाइल’ मा थियो ।
लन्डनमा म जानुको मुख्य कारण कानुनमा उच्च शिक्षा हासिल गर्नु थियो । सन् १९३९ को डिसेम्बर महिनामा मैले अन्तिम वर्षको अन्तिम परीक्षा पूरा गरेँ । तर, त्यत्तिञ्जेल मैले म वकिल बन्दिनँ भनेर मानसिकता बनाइसकेको थिएँ । बरु म एउटा आदर्श समाजवादी राज्य स्थापनाको निम्ति अथक, निडर र लगातार लाग्ने मनस्थितिमा पुगेँ । युवा उमेरमा हामीले देख्ने गरेका सपनाले नै हाम्रो भविष्यको आकार बनाउन भूमिका खेल्ने गर्छ ।
लन्डनका दिनहरूलाई फर्केर हेर्दा म भन्न सक्छु–लन्डनले मलाई भारतको राजनीति र कम्युनिस्ट आन्दोलनमा आफूलाई होम्न दबु उपलब्ध गरायो । पार्टी गतिविधिबारे मलाई धेरै कुरा सिकायो । अनि गरिब, मजदुर र आमजनतामाथिको शोषणको दाम्लो चुँडाल्न के–को खाँचो छ भन्ने कुरा पनि मलाई लण्डनले सिकायो ।
नेपाली अनुवादः बर्बरिक

2 responses to “भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– २”

  1. महेश.पौडेल.बानेश्वर. says:

    ???.यसको.अरु.खण्ड.खोइ.त..????

    • rajendra says:

      onlinemajdoor.com मा ‘भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग’ search गर्नुहोला, सबै अंक राखीएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *