भर्खरै :

‘चिल्लीमा फासीवादको प्रतिरोध’ पुस्तकबारे अन्तरक्रिया

भक्तपुर, ८ मङ्सिर । नेपाल कर्मचारी समाज जिल्ला समिति भक्तपुरको आयोजनामा १०३ औँ अक्टोबर समाजवादी क्रान्तिको अवसरमा ‘चिल्लीमा फासीवादको प्रतिरोध’ पुस्तकको अनलाइन अन्तरक्रिया कार्यक्रम आइतबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभाका सदस्य सृजना सैँजूले पार्टी कार्यकर्ताहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सचेत र सजग भएर जनतालाई सचेत र सजग बनाउनुपर्ने बताउनुभयो ।
उहाँले चर्चित पुस्तकमा भिक्टर हाराले भोगेका व्यथा र यातना, चिल्लीका राष्ट्रपति एयेन्डेले गरेको सङ्घर्षबारे प्रस्ट पार्दै राजनीतिक सङ्घर्षमा आर्थिक, सेना र जनता निर्णायक हुने बताउनुभयो ।
राष्ट्रपतिको चुनावमा समाजवादी नेता डा. एयेन्डेलाई हराउन साम्राज्यावदी देश अमेरिका र अरू देशहरूले बजेटको व्यवस्था गरी विभिन्न संस्थाहरू खडा गरी विरोध गरेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजूले डा. एयेन्डे राष्ट्रपति भएपछि क्युवासँग सम्बन्ध राखेको, चीनसँग कूटनैतिक सम्बन्ध राख्ने घोषणा गरेको, खानीहरू राष्ट्रियकरण गर्ने प्रस्ताव संसदमा पेश गरेकाजस्ता कदम साम्राज्यवादी देशहरूलाई मन नपरेको हुनाले सैनिक विद्रोहमार्फत निर्वाचित सरकार ध्वस्त बनाएको बताउनुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष राजन जति, सदस्यहरू दिलकृष्ण माक, रामकाजी खाइजू, जितबहादुर खाइजू र सिद्धिराम सुवालले पनि पुस्तकबारेमा आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *