भर्खरै :

‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

वासिङ्टन, ८ मङ्सिर (एएफपी) । संयुक्त राज्य अमेरिकाले औपचारिकरूपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको अवधिमा अमेरिका योसहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ ।
अमेरिका र रुसबीच शीतयुद्धको अवधिमा एक अर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाइ हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।
तर, राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरू उल्लङ्घन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।
यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् २००२ देखि कार्यान्वयनमा आएको थियो । रुस र अमेरिकासहित सन्धिमा हस्ताक्षर गरेका ३५ राष्ट्रले एक अर्का मुलुकका आकाशमाथि हतियारविहीन निरीक्षण उडान भर्न सहमति जनाएका थिए ।
रुस र अमेरिकाले प्रायः एक अर्का मुलुकमाथि सन्धिका प्रावधान उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए । तर, ट्रम्प प्रशासनले छ महिनाको समयावधि दिएर सन्धिबाट बाहिरिने घोषणा गरेको थियो ।
ट्रम्प प्रशासन यसअघि इरानसँगको भएको सन् २०१५ को आणविक सम्झौताबाट पनि अलग भएको घोषणा गरेको थियो । साथै जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट समेत ट्रम्प प्रशासन बाहिरिएको थियो ।
हाल राष्ट्रपति–निर्वाचित जो बाइडेनले पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *