भर्खरै :

जारविरुद्ध षड्यन्त्र – ८, एक फरक डिसेम्बरवादी मिखाईल सर्गेईभिच लुनीन

डिसेम्बर विद्रोहको पुग नपुग चार महिनापछि सन् १८२६ को अप्रिल महिनामा पोल्यान्डको वार्सामा एक प्रमुख डिसेम्बरवादी नेतालाई पक्राउ गरियो । उनको नाम थियो – मिखाईल सर्गेईभिच लुनीन । डिसेम्बर आन्दोलनको इतिहासमा मिखाईल लुनीन जस्तोसुकै कठिन परिस्थितिमा पनि जारको तानाशाहीविरुद्ध निडरतापूर्वक उभिने, कहिल्यै नथाक्ने, कहिल्यै नहार्ने दृढ निश्चयी योद्धाको रूपमा सम्झिइन्छन् ।
डिसेम्बर विद्रोहको समयमा लुनीन अधिराजकुमार कोन्स्तान्तीनको प्रत्यक्ष नेतृत्वमा रहेको वार्सास्थित एक गार्डरेजिमेन्टमा लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत थिए । वार्सासहित पोल्यान्डको ठूलो भूभाग त्यसबखत रुसी साम्राज्यको अधिनमा थियो । कोन्स्तान्तीन रुसी साम्राज्यअन्तर्गतको पोल्यान्ड राज्यका मानार्थ गभर्नर थिए । रुसी साम्राज्यको पूर्वी भागको सैनिक मामिला उनको जिम्मामा थियो । लुनीन कोन्स्तानतीनका सहयोगी र एक विश्वासपात्र सैनिक अफिसर थिए ।
मिखाईल लुनीन नाताले ‘उत्तरी गुप्त समाज’ का नेता निकिता मुराभयोभका दाजु (फुपूका छोरा) थिए । सन् १८१६ मा निकिताको नेतृत्वमा स्थापित ‘मुक्ति सङ्घ’ को समयदेखि नै लुनीन गुप्त समाजका गतिविधिहरूमा सक्रिय थिए । तर, कोनस्तान्तीनको नजिकै बसेर काम गर्नुपर्ने भएको कारण उनले सन् १८२३ मै औपचारिकरूपमा गुप्त समाजबाट बिदा लिएका थिए । सन् १८२३ पछि उनले गुप्त समाजसँगको सम्पर्क धेरै पातलो बनाएका थिए र उनीसँगको गुप्त समाजको सम्बन्धबारे समाजका प्रमुख नेताहरूलाई मात्र जानकारी थियो ।

लुनीनकी आमा धनी र सुसंस्कृत मुराभयोभ परिवारबाट थिइन् । लुनीनका मामा मिखाइल निकितिच मुराभयोभ तत्कालीन राजकुमारहरू अलेक्जेन्डर र कोन्स्तान्तीनका शिक्षक थिए । पाँच वर्षको उमेरमै लुनीनले आमा गुमाउनुपरेको कारण आफ्ना भान्जाको शिक्षामा मामा मुराभयोभले विशेष ध्यान दिए । लुनीनले विद्यालयमा पुगेर औपचारिक शिक्षामा सामेल हुनु परेन । एक धनी कुलीन परिवार भएका कारण उनका बुबाले छोरालाई देश विदेशवाट विभिन्न विषयका उत्कृष्ठ शिक्षकहरू झिकाई घरमै पढाउने व्यवस्था मिलाए । रुसीबाहेक फ्रान्सेली, स्वीस, अङ्ग्रेज, स्वीडिस शिक्षकहरूको तालिममा लुनिन हुर्के । 

राजधानी सेन्ट पिटर्सवर्गको विद्रोहमा लुनीनको प्रत्यक्ष सहभागिता थिएन । न त सर्गेई मुराभयोभ – एपोस्टोलको नेतृत्वमा भएको दक्षिणको सैनिक विद्रोहबारे नै उनलाई पूर्वजानकारी थियो । विद्रोहको केही दिनमै पक्राउ गरिएका क्रान्तिकारीहरूबाट गुप्त समाजको सुरुको समयमा उनको सहभागिताबारे पोल खुल्यो । तर, जार निकोलसले बलियो प्रमाणविना उनलाई पक्राउ गर्न दाजु कोन्स्तान्तीनलाई मनाउन सकेनन् । वार्साबाटै उनले अनुसन्धान अधिकारीहरूका प्रश्नहरूको जवाफ लेखेर पठाए । जार निकोलस लुनीनविरुद्ध बलियो प्रमाणको खोजमा थिए । अन्ततः तीन माहिनापछि सन् १८१६ मै पहिलेका सम्राट जार अलेक्जेन्डर प्रथमको हत्याबारे भएको छलफल बैठकमा लुनीन उपस्थित भएको प्रमाण भेटियो र राज हत्याको षड्यन्त्र गरेको अरोपमा लुनीनविरुद्ध पक्राउ पुर्जी जारी गरियो । वास्तवमा लुनीनले त्यस बैठकमा जारको हत्याको योजनाविरुद्ध आफ्नो मत राखेका थिए ।
जन्म र शिक्षा
मिखाईल सर्गेईभिच लुनीन फ्रान्सेली राज्यक्रान्ति (१८८९ मई) भन्दा अगाडि जन्मिने थोरै डिसेम्बरवादीहरूमध्ये एक थिए । उनी फ्रान्सेली क्रान्तिभन्दा डेढ वर्ष अगाडि अर्थात् सन् १८८७ को डिसेम्बर महिनामा तत्कालीन रुसी साम्राज्यको राजधानी सेन्ट पिटर्सवर्गमा एक उच्च तहको धनी कुलीन परिवारमा जन्मिएका थिए । उनका पिता जार अलेक्जेन्डरका सल्लाहकार समूहका सदस्य थिए । उनको परिवार मस्को सहरबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको तामबोभ क्षेत्रको विशाल भूमि र हजारौँ भूदासको मालिक थियो ।
लुनीनकी आमा धनी र सुसंस्कृत मुराभयोभ परिवारबाट थिइन् । लुनीनका मामा मिखाइल निकितिच मुराभयोभ तत्कालीन राजकुमारहरू अलेक्जेन्डर र कोन्स्तान्तीनका शिक्षक थिए । पाँच वर्षको उमेरमै लुनीनले आमा गुमाउनुपरेको कारण आफ्ना भान्जाको शिक्षामा मामा मुराभयोभले विशेष ध्यान दिए । लुनीनले विद्यालयमा पुगेर औपचारिक शिक्षामा सामेल हुनु परेन । एक धनी कुलीन परिवार भएका कारण उनका बुबाले छोरालाई देश विदेशवाट विभिन्न विषयका उत्कृष्ठ शिक्षकहरू झिकाई घरमै पढाउने व्यवस्था मिलाए । रुसीबाहेक फ्रान्सेली, स्वीस, अङ्ग्रेज, स्वीडिस शिक्षकहरूको तालिममा लुनिन हुर्के । नयाँ पुस्तालाई बदलिरहेको संसारअनुकूल उत्कृष्ट शिक्षा दिइनुपर्छ भन्ने लुनीनका पिताको मत थियो । १५ वर्षको उमेरमै लुनीन रुसीबाहेक फ्रान्सेली, अङ्ग्रेजी, जर्मन र ल्याटिन भाषामा पोख्त भैसकेका थिए । त्यस्तै गणित, इतिहास, साहित्य, चित्रकारिता, सङ्गीत, तरवारबाजी, घोडचढी र नृत्यमा उनको रुची थियो । पश्चिम युरोपमा फैलिरहेको क्रान्ति र उदारवादी विचारहरूबारे पनि उनले आफ्ना शिक्षक र तिनले सुझाएका पुस्तकमार्फत जानकारी प्राप्त गरिसकेका थिए । फुर्सदको समय उनी आफ्नो मामाघरमा बिताउँथे । उनका मामा लेखक र इतिकासकार मिखाइल मुराभयोभ पिटर्सवर्गको बुद्धिजीवी समुदायमा गिनेचुनिएका व्यक्ति थिए । मामाघरमा हुने बुद्धिजीवी भेलाहरूमा सानै उमेरमै लुनीनले ‘धेरै पढेका तिक्ष्ण युवा’को परिचय बनाइसकेका थिए ।
सैनिक सेवामा
रुसी सेनामा गार्डस्रेजिमेन्टहरू सामान्य रुसी सेनाभन्दा माथिल्लो तहको मानिन्थ्यो । गार्डस्रेजिमेन्टहरू कुलीन वर्गका युवाहरूको विशेष सैनिक टुकडीहरू थिए । गार्डस्रेजिमेन्टहरू जारसँग निकट सम्बन्ध राख्थे भने उनीहरूलाई जार र राजधानीको सुरक्षाको विशेष जिम्मेवारी दिइन्थ्यो । तर, जारको तानाशाहीविरुद्ध गुप्त सङ्गठनमा सामेल अधिकांश डिसेम्बरवादीहरू गार्डस् सेनाका अफिसरहरू नै थिए ।
सोह्र वर्षको उमेरमा १८०३ मा लुनीनले घोडचढी गार्ड रेजिमेन्टमा सैनिक सेवा सुरु गरे । लुनीनले १८०५ देखि १८०७ सम्म नेपोलियनको गठबन्धनविरुद्ध भएका हरेकजसो लडाइँमा सहभागी भएर एक वीर योद्धाको रूपमा परिचय बनाएका थिए । प्रसियाको फ्रिडल्यान्डमा भएको हार (१८०७) पछि भोक र जाडोले थाकेका जार अलेक्जेन्डर र प्रसियाली राजालाई शत्रु सेनाबाट बचाउन लुनीनको टोलीले देखाएको साहसका कारण उनी जार अलेक्जेन्डर प्रथमका पनि प्रिय सैनिक बनिसकेका थिए ।
अधिकांश डिसेम्बरवादीहरू १८१२ – १८१५ को रुसी देशभक्तिपूर्ण प्रतिरोध युद्ध र नेपोलियनविरुद्धको युद्धका वीरहरू थिए भने लुनीनले १८०७ मै रुसी सेनामा एक वीरयोद्धाको परिचय बनाइसकेका थिए । केही वर्षमै उनी घोडचढी गार्डस्रेजिमेन्टको लेफ्टिनेन्ट हुँदै क्याप्टेनमा बढुवा भए ।
नेपोलियन र फ्रान्सेली सेनासँगको हारपछि रुसी जार अलेक्जेन्डर र प्रसियाली राजा फ्रेडरिख विलियम तेस्रो दुवै नेपोलियनको बेलायतविरुद्धको सैनिक गठबन्धन र व्यापारिक नाकाबन्दीमा सामेल हुन बाध्य भए । लुनीनजस्ता युवा अफिसरहरूलाई त्यो कुरा चित्त बुझेको थिएन । उनीहरूमा नेपोलियनविरुद्ध बदलाभाव थियो । लुनीन नेपोलियनविरुद्ध युद्ध भइरहेका स्पेनलगायतका विदेशी मोर्चामा सहभागी हुन चाहन्थे तर उनलाई रुसी गार्डस् सेनाबाट बिदा हुने अनुमति दिइएन ।
सेनामा उनी एक हसिमजाक गर्ने रमाइला र चलाख तर शूरा व्यक्तिको रूपमा चिनिन्थे । आफूलाई ठीक लागेको कुरामा उनी कहिल्यै पछि हट्दैनथे । त्यत्तिबेलाको रुसी कुलीन समाजमा आफूलाई चित्त नबुझेको कुनै पनि व्यक्तिलाई ड्युयलमा ललकार्ने चलन थियो । ड्युयल भनेको दुईजना व्यक्ति आमनेसामने बसेर पालोपालो गरी एक अर्कालाई ताकेर बन्दुकले हान्ने र छल्ने आत्मघाती खेल थियो । यस्ता ड्युयलहरूमा कुनै एक जना वा दुवै घाइते हुने वा मृत्यु हुने सम्भावना रहन्थ्यो । प्रख्यात रुसी कवि पुश्कीन त्यस्तै एउटा ड्युयलमा मारिएका थिए । लुनीन चित्त नबुझेका मानिसहरूलाई ड्युयलहरूमा ललकार्न नामी थिए । युद्धको क्रममा कुनै गम्भीर चोटपटक नव्यहोरेका लुनीनको शरीरभरि ड्युएलका चोटहरू थिए । भनिन्छ एक पटक लुनीनले तत्कालीन अधिराजकुमार कोन्स्तान्तीनलाई समेत ड्युयलमा ललकारेका थिए जसलाई कोन्स्तान्तीनले हाँसेर टारिदिएका थिए रे !
सन् १८१२ मा नेपोलियनले रुसमा हमला गर्दा उनको टुकडीलाई मोर्चामा जाने निर्देशन थिएन । रुसी सेना रणनीतिकरूपमा पछाडि हटिरहेको थियो र नेपोलियनको सेनालाई रुसी मैदानभित्र तानिरहेको थियो । तर, फ्रान्सेली सेनासँग आमनेसामने नलड्ने नीति चित्त नबुझेका लुनीनले आफ्नो टुकडीलाई निर्देशनविना नै स्मोलेन्स्कको लडाइँमा सहभागी गराई धैरै शत्रु सेना मारेका थिए । त्यस्तै दुवैतर्फ लाखौँको सङ्ख्यामा हताहत भएको बोरोडिनोको लडाइँदेखि पेरिससम्मको हरेक लडाइँमा सामेल भएर उनले वीरताको निम्ति तीन वटा पदक र सुनको तरबार प्राप्त गरेका थिए । सन् १८१५ मा युरोपेली अभियानबाट फर्किँदा उनी घोडचढी गार्डस् सेनाका सत्ताइस वर्षका युवा कर्णेल भइसकेका थिए ।
सानैदेखि आमाविना पिता र मामाको रेखदेखमा मात्र हुर्किएका र विद्यालयको अनुसाशनको अनुभव नभएका लुनीनको निम्ति सेनाको कठोर अनुशासन अनुशरण गर्न गा¥हो हुनु स्वाभाविक थियो । उनी युद्धपछिको सेनाको नियमित र निरस जिवनबाट आजित भैसकेका थिए । त्यसबाहेक एक गार्डस् अफिसरको जीवन उनको निम्ति महँगो बनिरहेको थियो, बेमेलका कारण पिताले उनलाई दैनिक खर्च उपलब्ध गाराइरहेका थिएनन् । उनी क्रमशः ऋणको बोझले थिचिंदै गइरहेका थिए । नेपोलियनको हारपछि सैनिक सेवामा रहनुको औचित्य उनले देखेनन् । उनी हरेक बन्धनहरूबाट मुक्ति चाहन्थे । पुरानो युरोपभन्दा पर ल्याटिन अमेरिका पुगेर बोलिभारको नेतृत्वमा भइरहेको मुक्ति युद्धमा सामेल हुने सपना उनले देख्न थालेका थिए । अन्ततः उनले आफ्ना पितासँग एक सम्झौता गरे । पिताले उनका सबै ऋण तिरेर केही थप रकम दिने भए र लुनीनले पैत्रिक सम्पत्तिमा आफ्नो अधिकार त्यागेको घोषणा गर्ने भए । जारको अनुमतिले लुनीनले गार्ड सेनाबाट राजीनामा दिए ।
सैनिक सेवा छोड्ने उनको निर्णयले परिवार र साथीहरूलाई चकित पारेको थियो । बहिनीलाई हतारमा लेखिएको लुनीनको चिठ्ठीमा भनिएको थियो– “मेरो निम्ति एउटैमात्र पेशा खुला छ, त्यो हो स्वतन्त्रताको पेशा । त्यो पेसामा जतिसुकै ठूलो मान र पदवी पनि अर्थहीन हुन्छ । तिमीहरू ममा पर्याप्त क्षमता देख्छौ र त्यसबाट भविष्यमा ठूलो पद र पदक हासिल गर्न सकिने बताउँछौ । तर, म मेरो क्षमतालाई कुनै अफिसमा कुहाएर मान र पदवीमा रमाउन सक्दिनँ । हो मलाई थाहा छ केही पनि अर्थपूर्ण काम नगरीकन बसिबसि मैले ठूलो राशिको तलब पाउन सक्छु । मैले एउटा मुर्ख हाकिम खुसी पार्न अनेक हास्यास्पद किस्साहरू उसलाई सुनाउनुपर्नेछ र भोलि गएर तिनै हाकिमलाई हुत्याएर आफू त्यहाँ पुग्ने सपना म देख्नेछु । तर, मलाई यस्तो दयालाग्दो अस्तित्व स्वीकार्य छैन । अत्यधिक ऊर्जाले म निसास्सिनेछु । होइन, होइन, मलाई विचारको स्वतन्त्रता चाहिन्छ, चाहनाको स्वतन्त्रता चाहिन्छ, सेवाको स्वतन्त्रता चाहिन्छ । अनिमात्र म साँचोरूपमा बाँचेको हुनेछु, अर्थहीन प्राणबाट टाढा हुनेछु । म मेरो पदको आधारमा बाँच्न चाहन्नँ, मेरो मुटु र मेरो समझले डो¥याएअनुसार म जनताको सेवामा रहन चाहन्छु । विश्वको नागरिक ! संसारमा योभन्दा ठूलो अरू कुनै पदवी हुनसक्दैन । स्वतन्त्रता ! म यहाँबाट टाढा जाँदै छु ।”
सन् १८१६ सेप्टेम्बरमा रुसी सेनाका एक पूर्वसैनिक फ्रान्सेली नागरिक हिप्पोलाईट अगरका साथ मिखाईल सर्गेईभिच लुनीन पेरिसको यात्रामा निस्किए । अगर लुनीनका एक नजिकका मित्र थिए ।
पेरिसको यात्रामा निस्किनु केही महिनाअघि नै लुनीनले आफ्ना मामाका छोराहरू निकिता मुराभयोभ र अलेक्जेन्डर मुराभयोभको नेतृत्वमा बनेको ‘मुक्ति सङ्घ’ नामक गुप्त समाजको सदस्यता लिइसकेका थिए । उनको पेरिस यात्राको लुकेको उद्देश्य त्यही गुप्त समाजसँग पनि सम्बन्धित थियो भन्ने अनुमान लगाउन गाह्रो छैन ।
लुनीन नेपोलियनविरुद्ध युद्ध अभियानको दौरानमा पेरिसमा रहँदा भविष्यवाणीका निम्ति प्रख्यात महिला लेनोरमान्डलाई भेटेका थिए । ती महिलाले लुनीन ‘एक दिन फाँसीमा झुन्ड्याइने’ भविष्यवाणी गरेकी थिइन् । ‘यो भविष्यवाणी सही हुने निश्चित गर्न मैले सकेको केही गर्नैपर्छ’ –कुराकानीको क्रममा लुनीनले अगरलाई भने ।
लुनीन केही समययता कहाँ समय बिताइरहेका छन् भन्ने अगरलाई जानकारी थिएन । लुनीन आफैलाई भने पेरिसका भविष्यवाणीकर्ताको इज्जत राख्न धेरै काम गरिसकेको कुरामा शङ्का थिएन । उनी एक गुप्त समाजको सदस्य भएर जारको हत्या योजनाको छलफलमा सहभागी भैसकेका थिए । लुनीन आफू मातृभूमिको सेवा गर्ने सबभन्दा राम्रो तरिकाबारे सोच्दै थिए । उनी मुक्तिसङ्घमा मात्र सिमित हुन चाहँदैनथे । यद्यपि, कुनै दिन गुप्त समाजका आफ्ना दाजुभाइहरूको निम्ति केही नयाँ र महत्वपूर्ण ज्ञान लिएर विदेशबाट रुस फर्किनेछु भन्नेमा लुनीन विश्वस्त थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *