भर्खरै :

उदासीन सत्ता र विज्ञान तथा प्रविधि क्षेत्र

डाँडाकाँडा र थुम्काहरूको
चौतारी र छोर्तेनहरू फाँडेर
मौलाउँदै छ ‘भ्यु टावर’ को खेती
जहाँबाट देखिनेछन्
पुड्का पहाडहरू ।
एकदिन, ‘भ्यु टावर’ हरू फैलिएर
ढाक्नेछन्, सगरमाथाको शिर
जहाँबाट देखिनेछन्
फुच्चे ल्होत्से र नुप्सेहरू ।
तर, जहाँबाट देखिने छैनन्
भोक, रोग र शोकले ग्रस्त बस्तीहरू
बेरोजगारीले परदेश हानिएका
युवा लस्करहरू ।
–डोलु आलेमगर, स्याङ्जा (मौलिक कवितांशमा सानोतिनो सम्पादन गरिएको छ – लेखक)
आलेखको सिरानमा राखिएको कवितांश प्रदेश –१ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा करिब १४ करोडको लागतमा ‘भ्यु टावर’ बनाउने खबर सार्वजनिक भएपछि फेसबुकमा व्यक्त एक प्रतिक्रिया हो  । टेम्के डाँडामा ‘भ्यु टावर’ बनाउन लागिएको सम्बन्धमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ का महावीर पुनले सामाजिक सञ्जालमार्फत गरेको ‘विरोध’ कोे समर्थनमा उक्त टिप्पणी गरिएको थियो । ‘भ्यु टावर’ बनाउने पैसाले त्यही डाँडामा एउटा अनुसन्धान केन्द्र खोलेर त्यो भेकमा भएका प्रतिभाशाली र सृजनशील व्यक्तिहरूलाई उद्यमी बनाउने कामको सुरुआत गर्दा धेरै फाइदा हुन्थ्यो भन्ने पुनको विचारमा सयौँले आफ्नो अभिमत (कमेन्ट) राखे, हजारौँले ‘लाइक’ गरे । त्यसको एकदिनपछि पुनले अर्को एउटा प्रतिक्रिया लेखे उही सामाजिक सञ्जालमा – “लाखौँ करोडौँको लागतमा दृश्यावलोकन र पर्यटक भित्र्याउने बहाना गरेर हजारौँ मिटर अग्लो प्राकृतिक डाँडामा बीसतीस मिटर अग्लो ‘भ्यु टावर’ पैसा खाने उद्देश्यले नेपालभरि धेरै ठाउँमा बनिसके र अरू पनि बन्दै छन् ।” पुनले भनेझैँ नेपालका सबै डाँडाहरू प्राकृतिक टावर हुन् र ती डाँडाहरू कृत्रिम टावरहरूभन्दा हजारौँ गुणा अग्ला छन् । मुख्य कुरा देशको प्राथमिकताको कुरा हो । विज्ञान र प्रविधिमा यथोचित लगानीप्रति राज्य उदासीन हुनुका दुष्परिणाम नेपालीजनले भोगिरहेकै छन् । राज्यसत्ताको बागडोर समातेका राजनीतिक नेतृत्व काममा अग्रगामी नहुनु नै नेपालीको विडम्बना हो ।
यसैबीच विज्ञान र प्रविधिको अनुसन्धानबारे एउटा सुखद समाचार आएको छ । चितवनमा व्यावसायिकरूपमै झिँगापालन सुरु गरिएको सुन्दा धेरैलाई अनौठो पनि लाग्नसक्छ । राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोग, कृषि तथा वन विज्ञान विश्वविद्यालय र पशु आहार विभागको प्राविधिक सहयोगमा विश्वविद्यालयका ५ जना विद्यार्थीले गरेको अनुसन्धानका आधारमा ‘प्राङ्गारिक कृषि उत्पादन केन्द्र’ ले झिँगा पाल्न थालेको समाचारमा उल्लेख छ । अनुसन्धानबाट ब्ल्याक सोल्जर फ्लाई (बीएसएफ) नामको झिँगाको लार्भा र प्युपा नेपालमा पशुपक्षी तथा बालीको उत्पादकत्व बढाउन प्रभावकारी रहेको निष्कर्ष निकालिएको हो । झिँगामा पाइने प्रोटिनलाई पशुपक्षी तथा माछाको दानाको रूपमा प्रयोग गरिने भटमास, तोरी र बदामको पिना, सिद्रा माछालगायतको विकल्पमा प्रयोग गर्न र पशुपक्षीलाई सिधै खान दिन सकिने बताइएको छ । यस्तो पो अनुसन्धान ! राष्ट्रिय उत्पादनसँग प्रत्यक्ष जोडिँदा नागरिकले विज्ञान र प्रविधिको महत्व राम्ररी बुझ्ने मौका पाउँछन् ।
एउटा अर्को पनि उत्साहप्रद खबर आएको छ । त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले ५५ औँ स्थापना दिवसको अवसर पारेर आउँदो साता पहिलोपटक प्राणीशास्त्र सम्मेलन गर्ने तयारी गरेको छ । नेपालसहित विभिन्न देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू उपस्थित हुने त्यस सम्मेलनमा नेपालको जैविक विविधता, संरक्षणका प्रयास, वन्यजन्तु र पर्यावरणसँग सम्बन्धित रोग, जलवायु परिवर्तन, प्राणीशास्त्र र मानवबीचको सम्बन्धको बारेमा १५० वटा अनुसन्धानपत्रहरू प्रस्तुति हुने बताइएको छ । ढिलै भएपनि सार्थक प्रयास हुन लागेको छ । सो सम्मेलनमा प्रस्तुत हुने अनुसन्धानपत्रहरू कत्तिको सान्दर्भिक होलान्, प्रतीक्षा गरौँ !
खसीको गिदीजस्तो नेपाल !
‘के नेपाल सानो छ ?’ शीर्षकको निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन् – “यहाँ पृथ्वीमण्डलमा हुनसक्ने र भएका समस्त चीजहरूको सूक्ष्म प्रतिविम्ब टनाटन छन् । हिउँदको दृष्यमा ध्रुव प्रदेशको नमुना, ग्रीष्म वर्षाको दृष्यमा नैरक्षिक मुलुकहरूको नमुना यही नजरसामुन्ने छ ।” संसार बुझ्न नेपाल घुमे हुन्छ । जीवविज्ञानको हिसाबले नेपालमा खोजी सकिएका विषय धेरै छन्, खोजी नसकिएका अझै धेरै छन् । अनुसन्धानको निम्ति नेपाल ‘भर्जिन’ नै छ । किनभने, लगभग संसारभर पाइने हावापानी नेपालमा पाइन्छ, संसारभर जमिनमा पाइने प्रतिनिधि जीव पनि नेपालमै छन् । जैविक विविधतामा नेपालको सम्पन्नता अतुलनीय छ । वैज्ञानिकहरूको निम्ति नेपाल विशाल प्राकृतिक प्रयोगशाला हो । भूमध्यरेखाबाट उत्तरी धु्रवको दुरी १० हजार किलोमिटर छ तर नेपालको ८ किमी उचाइ (तराईदेखि सगरमाथाको चुचुरोसम्म) मा उष्ण, समशीतोष्ण र हिमाली (अल्पानइन) हावापानी पाइन्छ । नेपालमा १८९ वटा विभिन्न इकोसिस्टम् (पारिस्थितिक प्रणाली) पाइन्छन् । इकोसिस्टम्मा धेरै विविधता भएकैले वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ यसलाई ‘खसीको गिदी’ को उपमा दिन्छन् । अध्ययन गर्न सजिलोको लागि त्यसलाई ११८ मा झारियो, वन मन्त्रालयले अझ घटाएर ३६ वटा इकोसिस्टम्मा खुम्च्याएको छ । समुद्री सतहदेखि २–३ हजार मिटर उचाइको नेपाली भूभागमै नेपालकै ७५ प्रतिशत इकोसिस्टम् पाइन्छन् । समुद्र उठेर सगरमाथा बन्यो, त्यसैले नेपालमा शालीग्राम पाइन्छ ।
जैविक विविधता एवम् दुर्लभ जीवमा नेपाल कति सम्पन्न थियो ? जैविक विविधतासम्बन्धी शासक वर्गको कस्तो चेत थियो ? यसबारे जान्न इतिहासतिर फर्केर हेरौँ ! सन् १७९३ मा इतिहासकार कर्क प्याट्रिकले गरेको अनुसन्धानअनुसार चितवनदेखि कोशीसम्म फैलिएको जङ्गलबाट समातिएका हात्ती र छावा प्रतिवर्ष २–३ सय भारत बेच्न लगिन्थ्यो । भारतका राजामहाराजाको ऐश र सानको विषय थियो नेपालका हात्ती । आज हात्ती केही निकुञ्जमा सीमित छन् । सन् १९११ को डिसेम्बर १० मा संयुक्त अधिराज्यका राजा जर्ज पाँचौँले चन्द्रशमशेरसँगको सिकारमा नेपालको जङ्गलबाट ३९ बाघ, १८ गैँडा, ४ भालु, थुप्रै चितुवा तथा दुम्सी मारे । सिकारकै क्रममा चन्द्रशमशेरलाई ‘शाही भिक्टोरिअन अर्डर’ बाट सम्मान गरिएको थियो । ब्रिटिस इन्डियालाई खुसी पार्न ‘सिकार कूटनीति’ को क्रम राणशाहीको सुरुदेखि अन्तसम्म नै जारी रह्यो । त्यसपछि पञ्चायती व्यवस्थामा पनि यस्तो क्रम रोकिएन । लाखौँ वर्षदेखि सुरक्षित नेपालको जैविक विविधतामाथि तत्कालीन राजनीतिक व्यवस्था र स्वार्थी राजनीतिक नेतृत्वले अतिक्रमण गरेको परिणाम हो आजको ¥हासोन्मुख जैविक अवस्था ।
विस्मृत स्थानीय जैविक भूगोल !
सानो नेपालको सानो काठमाडौँ उपत्यकाकै कुरा गरौँ ! यहाँ पाइने १४० भन्दा बढी प्रजातिका रैथाने रूखहरूले अध्येताहरूलाई चुनौति दिएको अनुभव हुन्छ । रानीसल्ला, च्युरी, रातो शिरीष, बकैनो, सिमल, खरी, ओखर, हाडे बयर आदिबाट ज्ञानको सागर खुल्नसक्छ । के हाम्रा विद्यालय तथा कलेजमा यी रूखबारे पढाइ हुन्छ ? दर्जनौँ प्रजातिका चराहरू सहरी बस्ती छेउछाउ उडिरहेका भेटिन्छन् तर हामीसँग कति ज्ञान छ ? कति अनुसन्धान भए ? के विज्ञान शिक्षकले यस्ता चरा चिन्न सक्छन् ? के प्राध्यापकहरूले अनुसन्धानको निम्ति विद्यार्थीलाई यसमा प्रेरित गरिरहेका छन् ? डाङ्ग्रे रूपी (कमन मैना) र वन रूपी (जङ्गली मैना) कसरी फरक भए ? घर भँगेरा (हाउस स्प्यारो) र रुख भँगेरा (युरेसिअन ट्रि स्प्यारो) मा कसरी छुट्टिए ? सहर नजिक उडिरहने कोइली (एसिअन कोयल) र कुक्कु कोइली (कमन कुक्कु) को सम्बन्ध के, कस्तो छ ? तामे ढुकुर (ओरिअन्टल टर्टल डोभ) र कुर्ले ढुकुर (स्पटेड डोभ) कहिले छुट्टिए होलान् ? उपत्यकामै प्रशस्तै पाइने आसकोटे बकुल्ला (इन्डिअन पोन्ड हेरोन) र वस्तु बकुल्ला (क्याटल इग्रेट) मा के, कस्ता भेद छन् ? काठमाडौँमै पाइने सेतोकण्ठे माटीकोरे (किङ्गफिसर), न्याउली (ब्लुथ्रोटेथ बार्बेट), जुरेली (रेडभेन्टेड बुलबुल), घर गौँथली (बार्न स्वालो), पात सिउने फिस्टो (दमै चरो) (कमन टेलरवर्ड), भद्राई (लङ्ग टेल्ड स्राइक), कालो चिवे (ब्ल्याक ड्रङ्गो), कालो काग (लार्जविल्ड क्रो), कालो चील (ब्ल्याक काइट), मलेवा (कमन पिजन), कण्ठे सुगा (रोजरिङ्ड प्याराकिट), कोचलगाँडे लाटोकोसेरो (स्पटेड औलेट), धोबिनी चरा (ओरिअन्टल म्याग्पाइ रोविन) के उदाहरण राखेर चराबारे संस्थागत अध्यापन कहिलेबाट सुरु होला ? तिनको सङ्ख्या कति होला ? तिनका आनीबानी के होलान् ? मानिसको निम्ति चराहरू किन आवश्यक छन् ? यसबारे पुग्दो अनुसन्धान भएको छैन ।

नेपालका विश्वविद्यालयहरू अद्यापि अनुसन्धान केन्द्र बन्न सकेका छैनन् । यहाँका प्राध्यापक अनुसन्धानमा भन्दा अध्यापनमै व्यस्त हुन्छन् । सरकारी विश्वविद्यालयका प्राध्यापकहरू निजी कलेजहरूतिर दौडधुप गर्नमै रमाइरहेका देखिन्छन् । त्रिविका सेरिड, सिनास, सेडा र रिकास्टजस्ता अनुसन्धान केन्द्रबाट पर्याप्त अनुसन्धानका काम हुन सकेका छैनन् ।
आज छिमेकी चीनको समृद्धि देखेर तीनछक परेका शासक दलहरूले बुझ्नुपर्ने हो – चीनले विज्ञान तथा प्रविधि क्षेत्रलाई कति प्राथमिकता दिएको छ ! चीनको विकासको जगमा विज्ञान तथा प्रविधिको बलियो आधारशिला राखिएको छ । शासक दलहरूको घैँटोमा कहिले घाम लाग्ला !

हाम्रा विद्यालय तथा कलेजमा स्टारफिसदेखि ह्वेलसम्मको सामान्य ज्ञान दिइन्छ, स्थानीय जीवबारे विद्यार्थीलाई पत्तो नै हुन्न । जानेको कुराबाट नजानेको विषय पर्गेल्न सजिलो हुन्छ । आफूले देखेभोगेका विषयबाट नदेखेका विषयवस्तु ठम्याउन मद्दत मिल्छ । स्थानीय ज्ञान बुझ्न धेरै दुःख गर्नु पनि पर्दैन । स्थानीय प्रकृति संसार चिहाउने आँखीझ्याल हो । त्यसैले भनिन्छ – ‘थिङ्क ग्लोबली, याक्ट लोकली ।’ संसारकै कुरा गरे पनि जिउने त आफ्नै परिवेशमा हो !
नेपालको मानव भूगोल
अरूण नदीपूर्वका लिम्बु, अरूण पश्चिमका राई, मध्य नेपालका नेवार र तामाङ, पश्चिम नेपालका गुरुङ र मगर, मध्य तथा सुदूरपश्चिमका बाहुनक्षेत्री तथा दमाइकामीलगायतले सयौँ वर्षदेखि पहाड खोस्रेर प्रकृतिसँग साइनो गाँसेर जीवनयापन गरे । हावापानीको हिसाबले पहाडमा बढी विविधता छ । पहाडमै लेक र बेसी, उपत्यका र खोँच पाइन्छन् । पहाडका एउटै जिल्लामा आँप, सुन्तला र स्याउ फलेको पाउँछौँ । जनावरको विविधता पनि उत्तिकै छ । त्यसैले फरक हावापानीका फरक मानव जाति बस्छन् ।
तराई भने जैविक विविधताबाट मानव विविधतामा रूपान्तरण भएको छ । तराईको भूमि अतिक्रमण गर्न पहाड र दक्षिणी सीमापारिका मानिस ओइरिए । चारकोसे झाडीलाई नेपालको सुरक्षा कवच मानिन्थ्यो । तराईको हात्ती, पाटेबाघ, भालु, हरिणलगायत थुप्रै प्राणीको अस्तित्व भने लामखुट्टेले बचाएको थियो । औलोको डर हटेपछि पहाडी मानिस तराई सर्न थाले । राजा महेन्द्रले राजनीतिक उद्देश्यले तराईमा पहाडीको बस्ती बसालेको भनिन्छ ।
मानिसलाई जति पहाड चाहिन्छ, त्यत्ति नै पहाडलाई मानिस चाहिने जैविक भूगोलका अध्यता डा. तीर्थबहादुर श्रेष्ठ बताउँछन् । खोस्रिइसकेको पहाडको रक्षाको निम्ति मानिसको आवश्यकता छ, पहाडको जैविक विविधता बचाउन पनि मानिसको आवश्यकता छ । अब तराईबाट मानिसलाई पहाडमै फर्काउनुपर्ने विचार अत्यन्तै गम्भीर बनेको छ । खासगरी चुरे बचेन भने तराई बच्ने स्थिति छैन, मानिस नै भएन भने चुरे कसरी बचोस् ¤ आउने दशकहरूमा देखिने गम्भीर सङ्कटप्रति जीव वैज्ञानिकहरूको ध्यान जानु आवश्यक छ । तर, अहिले पहाडबाट तराईभन्दा रोजगारी वा पढाइको नाममा नेपाल नै छोड्ने प्रवृत्ति बढ्दो छ ।
विज्ञान तथा प्रविधिमा लगानी
नोवेल पुरस्कार विजेता अब्दुस सलामले धनी र गरिब राष्ट्रबीच विद्यमान आर्थिक खाडल मूलरूपमा विज्ञान र प्रविधिमा भएको अन्तरका कारण ठूलो भएको हो भनेका छन् । आर्थिक विकास विज्ञान तथा प्रविधिको क्षमतामा भर पर्छ भन्ने कुरा निर्विवाद छ । विज्ञान आयात गर्न सकिने नभई आफैले विकास गर्नुपर्ने क्षमताको विषय हो । हाम्रोजस्तो देशको निम्ति विज्ञान झन् आवश्यक कुरा हो । विज्ञानभन्दा छोटो बाटो अरू केही पनि छैन ।
“विज्ञान तथा प्रविधिको उपयोग गरी देश विकास गर्न वैज्ञानिकका अतिरिक्त राजनीतिज्ञ, योजनाकार, उद्यमी र बुद्धिजीवीहरूमा पनि वैज्ञानिक चेतनाको उच्च विकास हुनु जरूरी छ ।” भन्ने तिनै सलामको विचारमा के नेपालका शासक वर्गले कहिल्यै मन्थन गरे ? नेपालको विकास योजनामा विज्ञान तथा प्रविधिको विषय २०४० को दशकमा मात्र समावेश हुन थालेबाट पनि यो कुरा बुझ्न सकिन्छ । नेपाल विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वकै कम लगानी गर्ने मुलुकमा पर्छ । विज्ञान तथा प्रविधिको क्षेत्रको अनुसन्धानलाई फाल्तु खर्चको रूपमा बुझ्ने नेताहरू सत्तामा रहेसम्म यो प्राथमिकताको विषय बन्ने छैन ।
नेपालका विश्वविद्यालयहरू अद्यापि अनुसन्धान केन्द्र बन्न सकेका छैनन् । यहाँका प्राध्यापक अनुसन्धानमा भन्दा अध्यापनमै व्यस्त हुन्छन् । सरकारी विश्वविद्यालयका प्राध्यापकहरू निजी कलेजहरूतिर दौडधुप गर्नमै रमाइरहेका देखिन्छन् । त्रिविका सेरिड, सिनास, सेडा र रिकास्टजस्ता अनुसन्धान केन्द्रबाट पर्याप्त अनुसन्धानका काम हुन सकेका छैनन् ।
आज छिमेकी चीनको समृद्धि देखेर तीनछक परेका शासक दलहरूले बुझ्नुपर्ने हो – चीनले विज्ञान तथा प्रविधि क्षेत्रलाई कति प्राथमिकता दिएको छ ! चीनको विकासको जगमा विज्ञान तथा प्रविधिको बलियो आधारशिला राखिएको छ । शासक दलहरूको घैँटोमा कहिले घाम लाग्ला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *