भर्खरै :

एँगेल्सका किशोरकालीन दिनहरू

जर्मनीलाई पहिले प्रसिया भनिन्थ्यो । राइन त्यसको पश्चिमी प्रान्त थियो । राइनको वुपर उपत्यकामा कपडा उद्योगको केन्द्रको रूपमा बार्मेन सहर बसेको थियो । १८२० मा बार्मेन राइनको सबैभन्दा ठूलो औद्योगिक सहर थियो । त्यसै वर्ष नोभेम्बर २८ को दिन बार्मेनको एक धनी परिवारमा एँगेल्सको जन्म भयो । उहाँका बुबा धागो कात्ने उद्योगका मालिक हुनुहुन्थ्यो । राजनीतिक र धार्मिक अर्थमा बुबा रुढीवादी हुनुहुन्थ्यो । आमा एलिजाबेथको माइती बौद्धिक पृष्ठभूमिको थियो । त्यसैले उहाँ संवेदनशील, दयालु, उछारिली र हँसिली हुनुहुन्थ्यो । पुस्तक र कला–साहित्यप्रतिको उहाँको चाख एँगेल्समा स¥यो । जेठो सन्तान एँगेल्सप्रति उहाँमा अगाध स्नेह थियो ।
एँगेल्समा मावलीका हजुरबुबाको गहिरो छाप प¥यो । हजुरबुबा भाषाविद् हुनुहुन्थ्यो । उहाँले एँगेल्सलाई पौराणिक कथाहरू सुनाउनुहुन्थ्यो । प्राचीन ग्रीसका मिथक र जर्मन लोककथाहरू सुनेर बालक एँगेल्स विस्मयमा डुब्नुहुन्थ्यो । बहादुरी र चलाखीका कथा उहाँ औधी रूचाउनुहुन्थ्यो । सीगफ्रीड उहाँलाई मन पर्ने पात्र थिए । सीगफ्रीड मानवीय पराक्रमका प्रतीक थिए । त्यसबेला जर्मनीका युवाहरू रुढीवाद र कुपमण्डुकताकाविरुद्ध साहसी बन्ने आकाङ्क्षा राख्थे ।
एँगेल्सका ८ जना भाइबहिनी थिए । भाइहरूले बुबाकै बाटो पछ्याए । बहिनीहरूले आफ्नै हैसियतअनुसारका परिवारमा घरजम गरे । एँगेल्सले मात्र फरक बाटो समात्नुभयो । त्यसैले माक्र्सकी छोरी इल्यानोरले लेख्नुभएको छ, “परिवारजनले फ्रेडरिकलाई बेग्लै हाँसको बचेरा ठानेको हुनुपर्छ । उनीहरूले अझै बुझ्न सकेका छैनन्, यथार्थमा उहाँ राजहाँस हुनुहुन्थ्यो ।”
राइन प्रान्त आर्थिक र राजनीतिकरूपमा जर्मनीको सबैभन्दा विकसित क्षेत्र थियो । राइन नदीको पश्चिम किनार एँगेल्स जन्मिनुभन्दा ५ वर्षअघिसम्म फ्रान्समा पथ्र्यो । त्यसैले फ्रान्सेली उदार विचारहरूको प्रभाव राइनका जनतामा परेको थियो । १८ औँ शताब्दीको फ्रान्सेली पुँजीवादी क्रान्तिले त्यहाँका जनतामा जागरण ल्याएको थियो । समस्त जर्मनी त्यसबेला अर्धसामन्ती अवस्थामा थियो र देशभरि बग्रेल्ती घरेलु तथा साना उद्योगहरू पाइन्थे । तर, राइनमा कलकारखानाहरू खुलिसकेका थिए । त्यहाँ फलाम र कोइला खानीको उत्खनन हुन्थ्यो । फ्रान्सेली प्रभाव छँदा त्यहाँ प्रगतिशील नेपोलियन कानुन लागू भएको थियो । यी दुई कारणले गर्दा राइनमा पुँजीवादको विकासले तीव्रता पाएको थियो । कामदारहरू गरिबी र शोषणको मारमा थिए । कारखानामा यन्त्रहरूको जडानसँगै महिला र बालबालिकालाई काममा लगाउन थालिएको थियो । थकानपूर्ण काम, न्यून ज्याला र फोहर बसोबासले उनीहरूको जीवन नरकतुल्य थियो ।
बार्मेनमा हुर्किँदै गर्दा एँगेल्सले निस्सासिँदो गरिबी देख्नुभयो । कारखानामा काम पाउने होडमा कालिगढ र मजदुरहरू बिहानदेखि साँझसम्म दौडधुप गर्थे । आफ्नो एक्लोपना भगाउन उनीहरू सस्तो रक्सीको शरणमा पर्थे । तिनताक एँगेल्सले गरिब मजदुरहरू रक्सीको तालमा हुल बाँधेर हल्ला गर्दै बार्मेनका सडकहरूमा हिँडेको आफ्नै आँखाले देख्नुभयो ।
धर्म वुपर उपत्यकावासीहरूको अङ्कुश थियो । त्यहाँ लुथर सम्प्रदायको एउटा कट्टर शाखा चल्तीमा थियो । यसका भक्तहरू अरूलाई देखी नसहने र साँघुरो सोचका थिए । उनीहरू धर्मभन्दा बाहिरका साहित्य, नाटकघर र अन्य मनोरञ्जनलाई पाप ठान्थे । घर, विद्यालय, जिम्नासियम र सभ्य समाज जताततै एँगेल्सले धार्मिक कट्टरता देख्नुभयो । यसले उहाँमा प्रतिरोधको भावना जगायो । बाल्यकालदेखि नै एँगेल्सले स्वतन्त्र स्वभाव देखाउनुभयो । बुबाले सजायको डर देखाए पनि उहाँले अन्धो भई कसैसामु शिर झुकाउनुभएन ।
१४ वर्षको हुँदासम्म एँगेल्सले बार्मेनको एक विद्यालयमा पढ्नुभयो । विद्यालयमा सङ्कुचित धार्मिक माहोल थियो । कट्टर आस्तिकहरूलाई शिक्षक बनाइएको थियो । एक विद्यार्थीले जर्मन महाकवि गेटेको विषयमा प्रश्न गर्दा शिक्षकले “उनी अधर्मी हुन्” भनी परिचय दिएका थिए । यस्तो वातावरणमा पनि एँगेल्सले भौतिक र रसायन विज्ञानमा बलियो पकड बनाउनुभयो र आफ्नो भाषिक कौशल देखाउनुभयो । १८३४ मा उहाँलाई एक जिम्नासियममा भर्ना गरियो । त्यहाँका शिक्षकहरूलाई पुस्तक सङ्ग्रहको राम्रो ज्ञान थियो । तर उनीहरूसँग भाषा र गणितको ज्ञान थिएन । उनीहरूलाई विद्यार्थीको चिन्ता थिएन । धार्मिक कट्टरता यहाँ पनि उस्तै थियो ।
जिम्नासियमका निर्देशकले एँगेल्सलाई आफ्नो निगरानीमा छोड्न बुबालाई मनाए । बुबालाई छोरामा विचार र चरित्रको अभाव भएजस्तो लाग्थ्यो । त्यसैले एँगेल्सलाई बोर्डिङ स्कूलको अनुशासनमा राख्न मञ्जुरी दिनुभयो । सहपाठीहरूबीच एँगेल्सले अलग्गै प्रतिभा देखाउनुभयो । उहाँले रूचिपूर्वक इतिहास, प्राचीन भाषा र जर्मन साहित्यको अध्ययन गर्नुभयो । उहाँका कापीहरू ऐतिहासिक चित्रहरूले भरिएका हुन्थे । उहाँले होमर, युरिपिडस, भर्जिल, होरेस, लिभी र सिसेरोजस्ता लेखकका ग्रीक र ल्याटिन भाषाका रचना पढ्न र उल्थाउनमा प्रगति गर्नुभयो । उहाँले ग्रीक भाषामा मौलिक कविता लेखेर १८३७ मा विद्यालयको एक कार्यक्रममा सुनाउनुभएको थियो । उहाँमा जर्मन भाषाको इतिहास र उत्कृष्ट कृतिहरूमा चाख थियो । गणित र भौतिक विज्ञानमा उहाँको दखल थियो । उहाँले चौतर्फी ज्ञान हासिल गर्ने उद्देश्य राख्नुभएको थियो । उहाँ सरल र खुला मनका हुनुहुन्थ्यो ।
जिम्नासियममा विद्यार्थीहरूका साहित्य र सङ्गीत समूहहरू थिए । एँगेल्सले तिनमा भाग लिनुहुन्थ्यो । उहाँले ग्रीक मुक्तियोद्धाहरूको पक्षमा कविता लेख्नुभयो । उहाँले छोटा सङ्गीत रच्नुभयो । साथीहरूबीच रमाइलो गर्न उहाँले सहपाठी र शिक्षकहरूका व्यङ्ग्यचित्रहरू कोर्नुहुन्थ्यो । जिम्नासियमको कट्टरता र कडा अनुशासन एँगेल्सलाई मन पर्दैनथ्यो । त्यसैले जर्मनीका विद्यालयहरूलाई उहाँले जेलसँग तुलना गर्नुभएको थियो । बुबा, शिक्षक र धार्मिक कर्मकाण्डहरूको पाउमा पर्नबाट जोगिन उहाँ ‘ईश्वरसँग साक्षात्कार’ गर्नपट्टि लाग्नुभयो । तर उहाँको जिज्ञासु र फुर्तिलो स्वभावसँग नमिल्ने हुँदा छिट्टै उहाँ त्यो मनस्थितिबाट निस्कनुभयो ।
एँगेल्स स्वतन्त्रता सङ्ग्रामीहरूप्रति सहानुभूति राख्नुहुन्थ्यो । विद्यालयमा छँदादेखि नै उहाँले कर्मचारीहरूको मनोमानीलाई घृणा गर्नुभयो । राइनभरि फैलिएको प्रसियाली निरङ्कुशतालाई उहाँ घृणा गर्नुहुन्थ्यो ।
जिम्नासियमका दिनहरू एकाएक सिधिए । एँगेल्सले अर्थशास्त्र र कानुनको अध्ययन गर्ने सोच्नुभएको थियो । तर बुबाले जेठो छोराले पारिवारिक व्यवसाय धान्नुपर्ने भन्दै उहाँलाई १८३७ मा जिम्नासियमबाट निकाल्नुभयो र आफ्नो अफिसमा सिकारुको रूपमा दाखिल गर्नुभयो । एँगेल्सलाई यस काममा रूचि थिएन । तैपनि, यहाँ उहाँलाई इतिहास, दर्शन, साहित्य र भाषाको अध्ययन गर्ने फुर्सद मिल्यो । यसैबेला उहाँले कविताहरू लेख्न थाल्नुभयो । उहाँले बार्मेनका एक कर्मचारी र ख्यातिप्राप्त कवि हेनरिख लिओपोल्डलाई पछ्याउनुहुन्थ्यो । साहित्यप्रतिको चाख उहाँको आजीवन बानी बन्न पुग्यो । केही समयपछि नै उहाँले आफ्ना कविताहरूमा खोट देख्न थाल्नुभयो । तर, साहित्यको छाप उहाँका वैज्ञानिक र अन्य रचनामा परिरह्यो । उहाँका रचनाहरू सदा जीवन्त, चित्रात्मक, कल्पनाशील र सुस्पष्ट हुन्थे ।
नचाहेरै पनि एँगेल्सले बुबाको अफिसमा बसेर व्यापारको काम सिक्नुभयो । १८३८ मा उहाँलाई एउटा ठूलो व्यापारिक संस्थामा काम गर्न ब्रेमेन पठाइयो । ब्रेमेन बन्दरगाहले बनाएको सहर थियो । जलमार्गबाट ब्रेमेन सारा विश्वसँग जोडिएको थियो । यस सहरले एँगेल्सको दृष्टिकोण फराकिलो बनाइदियो । यसै सहरमा उहाँ विदेशी साहित्य र प्रकाशनसँग परिचित हुनुभयो । खाली समयमा उहाँ आख्यान र राजनीतिका पुस्तकहरू पढ्नुहुन्थ्यो । उहाँले थरीथरीका भाषा सिकिरहनुभएको थियो । बहिनी मेरी र पुराना सहपाठीहरूलाई उहाँ अनेक भाषामा पत्रहरू लेख्नुहुन्थ्यो । तिनमा जर्मन, ल्याटिन, ग्रीक, इटालियाली, स्पेनी, पोर्चुगाली, फ्रान्सेली, अङ्ग्रेजी, डच आदि भाषा पर्थे ।
सङ्गीतप्रतिको एँगेल्सको मोह सेलाएको थिएन । उहाँ समूहगान संस्थाको नियमित सदस्य हुनुहुन्थ्यो । बेलाबेला उहाँ कन्सर्ट र नाटकघरमा जाने गर्नुहुन्थ्यो । उहाँले सङ्गीतको सिद्धान्त सिक्ने कोसिस गर्नुभयो । सङ्गीत कम्पोज गर्न र कोरल लेखनमा पनि उहाँले हात चलाउनुभयो । उहाँ बिथोभनका नाटकीय सङ्गीतहरूतिर आकर्षित हुनुहुन्थ्यो । एँगेल्स तिनलाई जर्मन सङ्गीतको उत्कर्ष मान्नुहुन्थ्यो । त्यसमध्ये इरोइका र पाँचाँै सिम्फोनी उहाँका प्रिय थिए । १८४१ को मार्चमा उहाँले बहिनी मेरीलाई लेखेको पत्रमा पाँचौ सिम्फोनीको तेस्रो र चौथो चरणले यौवन र स्वतन्त्रताको महिमागान गर्छन् भनी प्रशंसा गर्नुभएको थियो ।
ब्रेमेनमा एँगेल्स घोडसवारी र पौडीमा पोख्त हुनुभयो । उहाँ तरबार नचाउन र हिउँमा चिप्लेटी खेल्न सिपालु हुनुभयो । तिनताक उहाँ जाडो पर्दाबित्तिकै चिसो पानी छुन डराउने, खापीखापी दुईचार लुगा लगाउने र शारीरिक कमजोरी देखाई सेनाबाट पन्छिनेहरूलाई रूचाउनुहुन्नथ्यो । उहाँको मूल चासो भने साहित्यको अध्ययन र लेखन थियो । १८३८ देखि १८४२ सम्मका उहाँका रचनाहरू हेर्दा उहाँको दृष्टिकोण क्रान्तिकारी र प्रजातान्त्रिक बन्दै गएको देखिन्छ । जर्मनीमा हुर्किँदै गरेको पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको प्रभाव ती लेखनीहरूमा पाइन्छ ।
१९४० को दसकमा जर्मनी राजनीतिकरूपले विभाजित थियो । जर्मनी ३८ वटा स्वतन्त्र राज्यहरूको सङ्घ थियो । यो जर्मनीको आर्थिक र राजनीतिक विकासमा बाधा थियो र यसैकारण ऊ विशाल युरोपेली शक्तिहरूमाथि निर्भर थियो । सामन्ती सम्बन्धहरू बाँकी रहेको हुनाले जर्मनीका जनता सामाजिक र राजनीतिक विकासमा पछि परेका थिए । खासगरी प्रसिया र अस्ट्रियामा सत्ता राजारजौटा र उच्च कर्मचारीहरूको हातमा थियो । कर्मचारीतन्त्रको दबदबाले स्वतन्त्रको कुनै चिह्न बाँकी राखेको थिएन । चान्सलर मेटरनिख युरोप र जर्मनीका प्रतिक्रियावादीहरूका सरदार थिए । अस्ट्रियामा उनकै हैकम चल्थ्यो । त्यस्तै १८४० मा प्रसियाको राजगद्दीमा बसेका राजा विल्हेम असीमित शाही शक्तिका पक्षपाती थिए । उनी सामन्तवादको सुरक्षामा कटिबद्ध थिए । उनको लगाव रुढीवादी विचारहरूमा थियो । नयाँ विचारलाई उनी सेन्सर लगाई दबाउँथे ।

एँगेल्सले जर्मन प्रतिक्रियावादीहरूको खण्डन गरेर लेखिएका प्रतिपक्षी साहित्यहरू खोजीखोजी पढ्न थाल्नुभयो । प्रसियाली व्यवस्थाबारे लेखिएको एउटा पुस्तकले उहाँको ध्यान तान्यो । त्यसमा प्रसियाली नीतिहरूको खण्डन थियो । ती नीतिहरूले कुलीन वर्गको सुरक्षा गरिरहेको र गरिबहरूलाई झन्झन् गरिब बनाइरहेको पुस्तकमा चर्चा गरिएको थियो । सरकारी नीतिहरूले नै राजनीतिकरूपले सचेत जनतालाई दबाउँदै र बहुसङ्ख्यक जनतालाई अशिक्षित र धार्मिक बनाउँदै कुलीनतन्त्र चलाएको पुस्तकमा उल्लेख थियो ।

देशको आर्थिक पछौटेपन र राजनीतिक विभाजनले जर्मनीका पुँजीपतिहरूलाई कमजोर तुल्याएको थियो । यसकारण बेलायत र फ्रान्समा भन्दा ठीकविपरीत उनीहरू सामन्तवादसँग लड्न खुट्टा कमाउँथे । बिस्तारै जर्मनीमा पुँजीपति वर्गको हैसियत उकासिँदै थियो । पुँजीवादी सम्बन्धहरूको विकाससँगै विपक्षी आन्दोलन बढ्न थाल्यो । पुँजीपति वर्गले कुलीनतन्त्रलाई आफ्नो विकासमा बाधक देख्न थाल्यो र राजनीतिक सत्ता प्राप्त गर्न त्यसलाई नष्ट गर्न चाह्यो । उदार र प्रगतिशील पुँजीवादीहरूले आफ्ना कुरा दर्शन र साहित्यमा पोख्न थाले । शाही प्रहरीले सबै प्रगतिशील राजनीतिक गतिविधिलाई दबाउँथ्यो । यस्तोमा साहित्य र दर्शनको क्षेत्र खुला विचारका लागि स्वर्ग सावित भयो । तिनमा प्रतिक्रियावादको प्रतीकात्मक विरोध हुन्थ्यो ।
१८३० को जुलाईमा फ्रान्समा क्रान्ति भयो । यसले जर्मनीको उदार र प्रजातान्त्रिक आन्दोलनलाई टेवा दियो । त्यस्तै पोल्यान्ड, इटाली र बेल्जियमका राष्ट्रिय मुक्ति युद्धलाई पनि यसले सघाउ पु¥यायो । जर्मनीको राइन प्रान्तमा यसै पनि प्रसियाली निरङ्कुश शासनलाई रूचाइन्नथ्यो । फ्रान्सको उथलपुथलले गर्दा त्यहाँको उदार र प्रजातान्त्रिक आन्दोलनले चर्को रूप लियो । जर्मनीका सम्पूर्ण प्रगतिशील युवाहरूजस्तै एँगेल्स पनि त्यस आन्दोलनमा होमिनुभयो ।
ब्रेमेनबाट लेखिएका एँगेल्सका पत्रहरूमा उहाँका भावनाहरू पाइन्छ । तिनमा प्रतिक्रियावाद र धार्मिक पाखण्डको विरोध पाइन्छ । १८४० मा भाइलाई लेखेको पत्रमा उहाँले १८१५ मा राजाले नयाँ संविधान दिने वाचा गरेको तर पछि कानमा तेल हालेर बसेको भनी राजाप्रति घृणा व्यक्त गर्नुभएको थियो । उहाँले यसलाई राजपरिवारको अपराध भन्नुभएको थियो र उनीहरू सबैलाई मृत्युदण्ड दिनुपर्ने लेख्नुभएको थियो ।
एँगेल्सले जर्मन प्रतिक्रियावादीहरूको खण्डन गरेर लेखिएका प्रतिपक्षी साहित्यहरू खोजीखोजी पढ्न थाल्नुभयो । प्रसियाली व्यवस्थाबारे लेखिएको एउटा पुस्तकले उहाँको ध्यान तान्यो । त्यसमा प्रसियाली नीतिहरूको खण्डन थियो । ती नीतिहरूले कुलीन वर्गको सुरक्षा गरिरहेको र गरिबहरूलाई झन्झन् गरिब बनाइरहेको पुस्तकमा चर्चा गरिएको थियो । सरकारी नीतिहरूले नै राजनीतिकरूपले सचेत जनतालाई दबाउँदै र बहुसङ्ख्यक जनतालाई अशिक्षित र धार्मिक बनाउँदै कुलीनतन्त्र चलाएको पुस्तकमा उल्लेख थियो । एँगेल्सले स्वीजरल्यान्ड र फ्रान्सबाट प्रकाशित हुने प्रतिबन्धित पुस्तकहरू साथीहरूलाई पठाउनुहुन्थ्यो । त्यसबेला आफू प्रसियामा अवैध पुस्तकहरूको मुख्य आयातकर्ता बनेको उहाँले एक साथीलाई पत्रमा लेख्नुभएको थियो ।
हेनरिख हाइने र लुडविग बेर्ने प्रसियाली सत्ताका विरोधीहरूमध्ये अग्रस्थानमा आउने लेखक र प्रचारक हुनुहुन्थ्यो । बेर्नेका विचारहरूले एँगेल्सलाई प्रभावित गरे । उहाँले बेर्नेका पुस्तकहरू अध्ययन गर्नुभयो । उहाँले बेर्नेलाई स्वतन्त्रता र न्यायका महान् योद्धा भन्नुभयो । एक राजनीतिज्ञको रूपमा बेर्नेबाट एँगेल्सले प्रेरणा लिनुभयो र सामन्तवाद, निरङ्कुशतन्त्र, ठगतन्त्र र दासत्वका विरुद्ध सङ्घर्ष गर्ने प्रण गर्नुभयो । त्यस्तै एँगेल्स ‘तरुण जर्मनी’ नामक लेखकहरूको साहित्य समूहतिर तानिनुभयो । त्यस समूहले बेर्ने र हाइनेको पक्ष लिन्थ्यो । १८३९ को मार्चमा एँगेल्सले समूहका अगुवा कार्ल गुच्कोभसँग सम्पर्क गर्नुभयो । त्यसपछि उहाँले गुच्कोभको सम्पादनमा निस्किने पत्रिकामा लेखहरू लेख्न थाल्नुभयो ।
एँगेल्स ‘तरुण जर्मनी’ बाट प्रभावित हुनुहुन्थ्यो । त्यस समूहले जनतालाई राजनीतिक स्वतन्त्रताको आवश्यकता, धार्मिक बाध्यताको ध्वंसलगायतका आधुनिक विचारहरूले सुसज्जित पार्ने लक्ष्य राखेको थियो । १८३९ को अप्रिलमा भाइलाई लेखेको एक पत्रमा उहाँले नौला विचारहरूका कारण आफू सुत्न नसकेको लेख्नुभयो । “आजभोलि पत्रपत्रिकामा आफूले स्वतन्त्रताको भावना खोज्ने र कविताहरूमार्फत धार्मिक रुढीवादको विरोध गर्ने” उहाँले बताउनुभयो । एँगेल्स ‘तरुण जर्मनी’ का केही मान्यताहरूमा असहमत हुनुहुन्थ्यो । जीवन र साहित्यबीच अटुट सम्बन्ध देख्ने र आफ्नो समयको अदम्य भावना व्यक्त गर्ने थुप्रै लेखकहरूसँग उहाँले हेलमेल बढाउनुभयो ।
एँगेल्सका विचारहरू उहाँका कविताहरूमा अभिव्यक्त हुन्थे । उहाँको प्रथम कविता एक प्रतिक्रियावादी नाटककारको विरोधमा लेखिएको थियो । ‘एक साँझ’ शीर्षकको अर्को कविता स्वतन्त्रताप्रतिको प्रेम झल्काइएको परिपक्व र संवेदनशील कविता थियो ।
पश्चिममा कान्ति झन्डै निख्रियो
पख ‘नौलो दिनले पर्खिरहेछ, मुक्तिको दिनले’
सूर्यले सदा उज्यालो मुकुट लाउनेछ
र रातको कालो दुःख चिन्ता हराउनेछ ।
नयाँ फूलहरू फुल्नेछन्, तर बिरुवा घरमा होइन
आफैले खनेर हामीले चुनेका बीउहरू लगायौँ,
समस्त धर्ती तिनको बगैँचा हुनेछ प्रकाशमान
समस्त बोटबिरुवा सप्रिनेछन् टाढा बिराना देशमा ।
शान्तिको सल्लाले उत्तरी डाँडाहरूमा शोभा दिनेछ,
प्रेमको गुलाफले जमेको प्रेतलाई ताज लाइदिनेछ,
कठोर अग्राखले दक्षिणी सागरतट खोज्नेछ
तानाशाहलाई नष्ट गर्ने मुङ्ग्रो बनाउन….
एँगेल्सले आफूलाई स्वतन्त्रताको गायकको रूपमा उभ्याउनुभयो । बिहानीको स्वागतमा उहाँले वनचरीले झैँ गाउनुभयो:
म नि स्वतन्त्रताको गाइने टोलीको हुँ
बेर्नेको विशाल अग्राखको हाँगामा नै
म उडेँ, उपत्यकामा जब तानाशाहले
चरप्प कस्यो जर्मनीलाई साङ्लोले ।
‘एक साँझ’ कविता बेलायतका क्रान्तिकारी रुमानी कवि शेलीको प्रभावले लेखिएको थियो । एँगेल्सले त्यसबेला शेलीका कविताहरू उल्था गर्दै हुनुहुन्थ्यो । उहाँले आफ्ना नायकहरूमा पनि स्वतन्त्रताप्रतिको प्रेम कुँद्ने कोसिस गर्नुभएको थियो । तिनमा उहाँले गतिविधिमा होमिने छटपटी र जीवनचर्या फेर्ने हुटहुटी भर्नुभयो । आफ्ना प्रिय नायक सीगफ्रीडको नाममा लेखिएको १८३८ को एक कवितामा उहाँले आफैलाई यसरी उभ्याउनुभयो:
जङ्गली खोल्सा नालामा बहँदै
पहाडी प्रचण्ड खहरे गर्जन्छ
असहाय सल्लामुनि बग्दै जाँदै
उसले आफै एक्लो बाटो बनाउँछ
त्यही पहाडी खहरेझैँ म बन्नेछु
आफ्नो बाटो एक्लै र मुक्त भर्ई म खन्नेछु ।
एँगेल्सलाई लोककथाहरू मनपथ्र्यो । उहाँले भेटेसम्म किंवदन्तीहरूका पुराना संस्करणहरू जम्मा गर्नुहुन्थ्यो । उहाँले जनसाधारणका लालित्यपूर्ण आहान वा उखानटुक्काको अध्ययन गर्नुहुन्थ्यो । काल्पनिक साहित्यमा उहाँ जनताको कलाकारिताबाट टिपिएका तत्वहरू खोज्नुहुन्थ्यो । यौवनको उमङ्गमा एँगेल्सले एउटा सानदार लेख लेख्नुभयो । १८३९ को नोभेम्बरमा छापिएको त्यस लेखमा उहाँले छाडा रुमानीवादीहरूको खण्डन गर्नुभएको थियो । लोककथाहरूलाई बङ्ग्याएर मध्ययुगीन विचार भरिएको साहित्यले प्रतिक्रियावादीहरूको सेवा गर्ने उहाँको तर्क थियो ।
जनताका निम्ति लेखिने पुस्तकबारे एँगेल्सको धारणा यस्तो थियो– त्यो पुस्तक कवितामयी, सरस र शुद्ध चित्तको हुनुपर्छ । त्यो पुस्तक आफ्नो समयमा भिजेको हुनुपर्छ अन्यथा त्यो जनताको पुस्तक हुँदैन । त्यसले जनमुक्तिमा टेवा दिनुपर्छ । त्यसले दासत्वलाई मलजल गर्नुहुँदैन । त्यसले कुलीनतन्त्र वा धार्मिक पाखण्डको भजन गाउनुहुँदैन ।
(स्रोत: फ्रेडरिक एँगेल्स– आ बायोग्राफी, १९७४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *