भर्खरै :

सीमा नाका खोल्ने आत्मघात गर्नु हुँदैन

वल्डवमिटरअनुसार बुधबारसम्ममा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ६ करोड नाघेको छ । कोभिड–१९ ले १४ लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । संसारका ४ करोड व्यक्ति कोरोनामुक्त भइसकेका छन् । दैनिक भास्करले सेप्टेम्बरसम्म दैनिक करिब ३ लाखको सङ्ख्यामा बढिरहेको सङ्क्रमितको सङ्ख्या हाल दैनिक ६ लाखभन्दा बढी वृद्धि भइरहेको जनाएको छ । १ करोड सङ्क्रमित सङ्ख्या पुग्न २२३ दिन लागेको थियो भने हाल १८ दिनमा १ करोड बिरामी बढेको छ । यी तथ्याङ्कले कोभिड–१९ सङ्क्रमण वृद्धिदर नियन्त्रण हुनुभन्दा पनि तीव्रतर गतिमा फैलिरहेको देखाएको छ ।
कोभिड–१९ रोकथाम र उपचारको लागि सुरुमै समाजवादी देशलगायत जनताप्रति उत्तरदायी सरकारहरूले जिम्मेवारीपूर्वक काम गरे । ती देशहरूमा धेरै जनधनको क्षति भएन । १७ नोभेम्बर २०१९ मा चीनको उहान सहरका ५५ वर्षीय एक व्यक्तिलाई नयाँ खालको रोग लागेको पुष्टि हुनासाथ चीन सरकारले तत्काल विशेष ध्यान दियो । २३ जनवरी २०२० मा उहान सहरलाई नै एकल्यार्ई चीनभर नै आवतजावत बन्द गरियो । यसरी कोभिड–१९ बाट चिनियाँ र विश्वका मानव जातिको रक्षा गर्न चीनले जिम्मेवारीपूर्वक संसारलाई सतर्क बनायो । कोभिड–१९ विरुद्ध संसारका बाँकी देशहरूसँग हातेमालो गरी अघि बढ्न आपसी सहकार्यको लागि चीनले पहल ग¥यो । कोभिड–१९ चीनमा देखापर्नुअघि नै सोही लक्षणका बिरामी संरा अमेरिकामा भेटिएको तथ्य बाहिर आइसकेको छ । चीनले सूचना लुकाएको आरोप लगाई पानीमाथिको ओभानो हुन खोज्ने ट्रम्पको संरा अमेरिकाले २१ जनवरीमा, फ्रान्सले २४ जनवरीमा, भारतले ३० जनवरीमा र इटालीले ३१ जनवरीमा औपचारिकरूपमा आ–आफ्नो देशमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेका थिए । यद्यपि, महाशक्ति भनिने र ठूला जनसङ्ख्या भएका देशहरू संरा अमेरिका र भारत अनि ब्राजिलजस्ता पुजीवादी देशहरूले जनस्वास्थ्यप्रति उचित ध्यान दिएनन्, पँुजीपति वर्गको नाफालाई मात्र प्राथमिकता दिए । त्यसैले कोभिड–१९ भयावह रूपमा फैलियो ।
२० नोभेम्बर एक दिनमै संरा अमेरिकामा २ लाख ४० हजार जना नयाँ सङ्क्रमित पुष्टि भए । कोरोना सङ्क्रमितको वृद्धिदर यही गतिमा अगाडि बढेमा आउने एक महिनाभित्र अर्को २ करोड सङ्क्रमित थपिने अनुमान गरिएको छ । बढ्दो सङ्क्रमण रोक्नको लागि फेरि संरा अमेरिकाको न्युयोर्कमा १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा नहुन उर्दी जारी गरिएको छ । सङ्घीय–राज्यका मन्त्रीहरूसँग राष्ट्रपतिको बैठकपछि पत्रकार सम्मेलनमा चान्सलर एन्जेला मर्केलले जर्मनीमा २० डिसेम्बरसम्म आंशिक लकडाउन लम्ब्याएको बताएकी छिन् । भारतमा पछिल्ला दिनहरूमा फेरि सङ्क्रमणमुक्त हुनेहरूभन्दा नयाँ सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । त्यसैले भारतका विभिन्न प्रदेशका सहरहरूमा रात्रीकालीन कफ्र्यु जारी गरिएको छ । आर्थिक गतिविधिलाई निरन्तरता दिन लकडाउन गर्न नसकिने बताए पनि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरले दिल्लीलगायत कोरोनाबाट बढी प्रभावित सहरबाट बम्बई आउने व्यक्तिहरूको अनिवार्य पीसीआर रिपोर्ट जाँच गरिने बताएका छन् ।
कोभिड–१९ को कारण भारतको एउटा प्रदेशबाट अर्को प्रदेशको सहरमा जानको लागि पीसीआर रिपोर्ट देखाउन भनिरहेको छ । तर, नेपालमा केही दिनयता नेपाल–भारत सीमा नाका खुला गर्न दबाब दिन थालिएको छ । सोही उद्देश्यको निम्ति २ नं. प्रदेशका सीमा नाकाहरूमा धर्ना बस्न थालिएको छ, सीमा नाका बन्द भएको कारण ८ महिनादेखि विवाह रोकिएको र नाकामा अब काँडेतार नै लगाउने भन्ने खालका समाचारहरू आएका छन् । ठूला वा मूलप्रवाह भनिने अनलाइन, रेडियो–टीभी र छापा पत्रिकालगायत सञ्चारमाध्यमहरूमा एकसाथ आएका समाचारले ‘व्यवसायिक’ मिडियाहरूको ‘मिसन’ बुझ्न सजिलो बनाएको छ । भारतीय विदेश सचिव नेपाल आउनु पूर्वसन्ध्यामा एकाएक यस्ता गतिविधि र समाचारहरू देखिनु पक्कै पनि संयोगमात्र भन्न मिल्दैन ‘दालमा केही कालो छ’ । कोभिड–१९ को कारण निश्चित नाकामा बाहेक दुबै सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेका छन् । यद्यपि दशगजामै बसेका सशस्त्र प्रहरीलाई एकीकृत पार्ने नाममा फिर्ता बोलाएपछि मैदानी नाकाबाट भारतीयहरूबाट नेपाल प्रवेश भइरहेको थियो । विवाह तथा मुख्य सामाजिक कार्यको लागि औपचारिक नाकाबाट आउजाउ गर्न दिइरहेकै थियो । लकडाउन खुलेपछि औपचारिकरूपमा नाका खोलेको घोषणा नगरे पनि व्यावहारिकरूपमा आउजाउ गर्न सहज बनाइएकै छ । प्रत्येक नेपालीले ४ सय भारतीय रूपैयाँ घुस बुझाएपछि हिजोआज पनि भारततर्फ जान एसएसबीले सहयोग गरिरहेको छ । पैसा खाएर त लकडाउनकै बेलामा पनि एसएसबीले नेपालतर्फ पठाएकै थियो ।
नेपाल–भारत सीमा नाका खुला राख्न दबाब दिनेहरूले सीमा क्षेत्रका जनताको लागि नेपालमा भन्दा भारतमा सस्तोमा खाद्यलगायत उभोग्य सामग्री पाइने, सहजरूपमा सामान पाइने तर्क अघि सार्ने गर्छन् । ‘लामो समयदेखि सीमा नाका बन्द गरिएको कारण सीमा क्षेत्रका खासगरी तराई÷मधेसका जनताको जीवन अत्यन्त कष्टकर हुन गएको’ सीमा नाका खोल्न माग गर्दै मङ्सिर ८ गते जसपाका महन्थ ठाकुर र उपेन्द्र यादवहरूले विज्ञप्ति जारी गरेका छन् । वास्तवमा सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई अभाव र कष्टकर जीवन बाँच्न बाध्य पार्नेहरू महन्थ ठाकुर र उपेन्द्र यादवलगायतका नेताहरू नै हुन् । भारतीय शासकहरूको इसारामा नाच्ने नेपाली नेता तथा शासकहरूले जानीजानी सीमा क्षेत्रका जनतालाई भारततर्फ बजार गर्न जान विवस बनाइरहेका छन् । नेपाली सीमा क्षेत्रमा राम्रा बजारहरू सञ्चालन गरेका भए यस्ता गुनासो आउने थिएनन् । तर, सीमा नाका खुला राखी फाइदा लुट्ने तस्कर र भारतीय एकाधिकार पुँजीका मतियारहरूले सीमा नाकामा विकास गर्नै दिन्नन् । प्रचण्डको पहिलो सरकार ढलेपछि माओवादीहरूले दाङको सीमा क्षेत्रका जनतालाई उठाएर लमही सतबरियामा ल्याए । उनीहरूले सीमा नाकाका जनताको लागि आधारभूत सेवा पु¥याउने ‘जनयुद्ध’ र चुनावका बेला दिएको वचन पूरा गर्नुको बदला सिमाना रक्षकको रूपमा रहेका जनतालाई नै सुकुमवासीको नाममा जग्गा दिन लगाउने भन्दै जङ्गलमा बसाए, ‘राष्ट्रियताको मुद्दा’ उठाएको नाटक गरे र नेपाली भूमि भारतीय विस्तारवादीहरूलाई अतिक्रमण गर्न लगाउन खाली गरिदिए । आजसम्मका शासकहरूले तल्लो तहका जनताको दैनिक जीविकोपार्जनलाई सहज बनाउन वास्तै गरेनन् । अनि सीमा क्षेत्रका जनताको काँधमा बन्दुक राखेर नाका खुला राख्नुपर्ने भने । पहाडकै जनतालाई पनि भारतको कालापहाड जान बाध्य पारिरहे ।
नेपाल–भारत सीमा खुला राख्न भनिने अर्को कारण सामाजिक सम्बन्धबारे पनि सीमा क्षेत्रका चेलीबेटीहरूको भिन्न मत छ, त्यसलाई दबाएर राखिएको छ । नेपाली छोरीहरू भारततर्फ बिहे गरेर जान रहर गर्दैनन् । नेपाली समाजभन्दा भारतीय समाज अनुदार र सङ्कुचित भएकै कारण नेपाली महिला नेपाली पुरुषहरूसँगै विवाह गर्न चाहन्छन् । सामाजिक चेतना विकासको अन्तरको कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग वरिपरि बस्ने मधेसी समुदायकै महिलाहरू नेपालकै हुलाकी मार्गको तल विवाह गर्न असहज मान्छन् । भारतमा विवाह हुनु भनेको त झन् महिलाहरू कुण्ठित भएर, थुनिएर बस्न जानु हो, जो खुला समाजमा हुर्केका नेपाली महिलाको लागि इच्छाको विषय होइन । त्यसैले सारा नेपाली जनताप्रति सरकार जिम्मेवार बन्नुपर्छ र आधारभूत वस्तुहरूमा सहज पहुँच आवश्यक छ । सीमा नाका खोल्न कुनै हतार गर्नु जरुरी छैन । नेपाल–भारत सीमा खुला गरेर आत्मघाती कदम चाल्नु हुँदैन ।
कोभिड–१९ नियन्त्रणमा आइनसकेको अवस्थामै भारतसँगको नाका खुला गर्न पूर्वउपप्रधानमन्त्री र मन्त्रीहरू लागिरहेका छन् । जब कि संसारमा कोरोनाको दोस्रो लहर र तेस्रो लहरको सन्त्रास व्याप्त छ । विश्वमै सङ्क्रमण दरमा दोस्रो स्थानमा रहेको देशसँग नाका खुला राख्दा यहाँ आउने भारतीयहरूबाट देश र जनतालाई कसरी जोगाउने ? कोरोना सङ्क्रमण कसरी नियन्त्रण गर्ने ? आज नेपालमा कोभिड–१९ कै कारण दैनिक दुई अङ्कको सङ्ख्यामा मानिसहरू मरिरहेका छन्, चार अङ्कको सङ्ख्यामा सङ्क्रमित बढिरहेका छन् । अझै सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ र सहजरूपमा परीक्षण गरिएको भए कति थप सङ्क्रमितहरू भेटिन्थे होलान् । आज काठमाडौँ उपत्यकाका मेयरहरू उपत्यकाबाट आवतजावत बन्द गर्नुप¥यो भनी माग गरिरहेका छन् । अनि, भारतसँगको नाका छाडा छोड्नुप¥यो भन्नु नेपाली मनको भावना होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *