भर्खरै :

ट्रम्प जान लागेकोमा ‘ज्यादै खुसी’

तेहरान, १६ डिसेम्बर । संरा अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेनमा आउन लागेकोमा इरान त्यत्ति ‘उत्साहित’ नभए पनि डोनाल्ड ट्रम्पको शासन अन्त्य हुन लागेकोमा भने ‘ज्यादै खुशी’ रहेको इरानका राष्ट्रपति हस्सन रोहानीले भनेका छन् ।
बुधबार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको मन्त्री परिषद्को बैठकमा बोल्दै राष्ट्रपतिले ट्रम्पलाई ‘रुखो’ र ‘संरा अमेरिकाको सबभन्दा बढी कानुन मिच्ने व्यक्ति’ को संज्ञा दिए ।
“बाइडेन आउन लागेकोमा हामी त्यत्ति उत्साहित छैनौँ तर ट्रम्प जान लागेकोमा भने हामी ज्यादै खुशी छौँ”, रोहानीले भने ।
“त्यत्ति धेरै अत्याचार गरेको व्यक्ति, जो हत्यारा र आतङ्गवादी हो । जसले हामीलाई खोप समेत पनि दिन मानेन । त्यो मान्छे सबै नैतिकता र मानवीय सिद्धान्तको आधारमा पतीत हो”, ट्रम्पबारे उनले भने । मध्यपूर्वमा इरान कोभिड–१९ बाट सबभन्दा बढी प्रभावित देश हो ।
विश्व स्वास्थ्य सङ्गठनमार्फत खोप किन्ने इरानको प्रयासलाई ट्रम्प सरकारले सक्रियतापूर्वक रोक लगाएको थियो ।
सन् २०१८ पछि संरा अमेरिकाले इरानमाथि कडा नाकाबन्दी थोपर्दै आएको छ । ट्रम्पले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूबीच भएको आणविक सम्झौताबाट हात झिकेका थिए ।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यदि इरानले सम्झौताका सबै शर्त पालना गर्न इरान आणविक सम्झौतामा आफू फर्किन तयार भएको बताएका छन् । त्यसको निम्ति इरानको मिसाइल कार्यक्रम र क्षेत्रीय गतिविधिबारे वार्ता गर्नुपर्ने बाइडेनको भनाइ छ । इरानले भने त्यसमा असहमति जनाउँदै आएको छ ।
‘सन् २०१५ भन्दा बलियो इरान’
इरानी राष्ट्रपति रोहानीले इरानको अवस्था सन् २०१५ भन्दा भिन्न भएको बताएका छन् । उनले राष्ट्रिय तथा विदेशी सञ्चारमाध्यमलाई थप दबाबबीच पनि इरान सन् २०१५ को तुलनामा बढी शक्तिशाली भएको बताए ।
सन् २०१५ मा इरानले पेट्रोल, ग्यास, प्राकृतिक ग्यास र गहुँ आयात गर्ने गरेकोमा हाल निर्यात गर्ने गरेको रोहानीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *