भर्खरै :

नयाँ युगमा चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य

(जनवादी गणतन्त्र चीनको राज्य परिषद् सूचना कार्यालयबाट सन् २०२१ को जनवरीमा जारी श्वेतपत्र)
चीन संसारकै सबभन्दा ठूलो विकासशील देश हो ।
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । त्यसयता उसले सधैँ अन्तर्राष्ट्रवादी र मानवतावादी भावना अङ्गीकार गर्दै आएको छ । आफ्नो देशका जनताको जीवनमा प्रगति र विकासको लागि अन्य विकासशील देशबाट सिक्दै र सहयोग गर्दै आएको छ । चीन आफैलाई कहिल्यै पुगीसरि भएको छैन । तथापि, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको लडाइँमा खाँचो परेको देशलाई चीनले सधैँ मद्दत गर्दै आएको छ । ती देशमा आर्थिक र सामाजिक विकासका प्रयासलाई सहयोगी हात बढाउँदै आएको छ । फलतः ती सबै देशसँग जनवादी गणतन्त्र चीनको दीर्घकालीन मित्रता र सहकार्यको बलियो जग बनेको छ । सन् १९७८ बाट जनवादी गणतन्त्र चीनमा सुधार र खुलापनको नीति लागू भयो । त्यसपछि चीनले अन्य विकासशील देशलाई साझा विकास प्रवद्र्धन गर्न अन्य विविध तरिकाबाट सहायता प्रदान ग¥यो ।
सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशन भयो । सो महाधिवेशनपश्चात् चीन नयाँ युगमा प्रवेश ग¥यो । राष्ट्रपति सी चिनफिङले विश्वव्यापी दृष्टिकोणबाट चीनको जिम्मेवारी औँलाउनुभयो । उहाँले विश्व समुदायको साझा भविष्य र बेल्ट एन्ड रोड परियोजनाको दृष्टिकोण प्रस्ताव गर्नुभयो । चीन बृहत् र साझा हितको निम्ति छिमेकी देशसँग सम्बन्ध विस्तार गर्न प्रतिबद्ध छ । चीन अन्य विकासशील देशहरूसँग सम्बन्ध विकासको लागि इमानदारी, उपलब्धि, निकटता र असल नियतको सिद्धान्तप्रति कटिबद्ध छ । साथै छिमेकी देशहरूसँग मैत्रीपूर्ण, इमानदार, आपसी हित र समावेशितामा आधारित सम्बन्ध विस्तार गर्न चाहन्छ । राष्ट्रपति सीले विभिन्न प्रमुख अन्तर्राष्ट्रिय अवसरलाई सहकार्यको बृहत् सम्बन्धको घोषणा गर्न उपयोग गर्नुभएको छ । चीनको अहिलको अवधारणाले विश्वव्यापी विकासका मुद्दालाई सुल्झाउने र दिगो विकाससम्बन्धी संयुक्त राष्ट्र सङ्घको २०३० एजेन्डा कार्यान्वयन गर्न आफ्नो दृष्टिकोण अघि सारेको छ । समयको मागअनुसार अन्तर्राष्ट्रिय विकास सहकार्यको ढाँचाअनुरुप विदेशी सहायता बढाइरहेको छ । यो नयाँ युगमा नयाँ पहलकदमी लिन र ठूला उपलब्धि हासिल गर्न चीनले यस्तो भूमिका खेलिरहेको हो ।
नयाँ युगको लागि अन्तर्राष्ट्रिय विकास सहकार्यबारे चीनको दृष्टिकोण, त्यसको निम्ति चालिएका कदम र भविष्यका योजनाबारे चीन सरकारले यो श्वेतपत्र जारी गरेको छ ।
नयाँ युगमा अन्तर्राष्ट्रिय विकास सहकार्य र साझा भविष्यको लागि विश्वव्यापी समुदाय
देश–देशबीचको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको अभूतपूर्व उचाइले सबैलाई साझा भविष्यको लागि विश्वव्यापी समुदायमा एकाकार गरेको छ । यो दृष्टिकोणबाट निर्देशित भएर नयाँ युगमा चीनको अन्तर्राष्ट्रिय विकास सहकार्यले प्रस्ट सैद्धान्तिक आधार र लक्ष्य तय गरेको छ । यसले थप प्रस्टरूपमा मूर्त काम गर्न मद्दत गर्नेछ ।
क. सांस्कृतिक र दार्शनिक जरा
चीनको आफ्नै सांस्कृतिक आधार र राष्ट्रिय चरित्र छन् । ती आधार र चरित्रले असल आस्था, मित्रता, न्याय र सत्यलाई ठूलो महत्व दिन्छ । चीनको विकास सहकार्यलाई डो¥याउने यी नै अन्तरनिहीत शक्ति हुन् । यी शक्ति निम्न विषयमा आधारित छन् :
–विश्व सद्भावको लागि चीनको राष्ट्रिय आदर्श
चीन एउटा आदर्श विश्वको पक्षमा छ । त्यो विश्वमा साझा हितको लागि महान् तरिकाले काम गर्छ, सबै छिमेकहरूसँग असल छिमेकीपना र सद्भावपूर्ण सम्बन्धको सिद्धान्तको सम्मान हुन्छ र सहकार्य एवम् आपसी सहयोगको पक्षधरता रहन्छ । चिनियाँ संस्कृतिमा गहिरो गरी गाडिएको यो विश्वासले चीनको विकास सहकार्यलाई प्रोत्साहन गरेको हुन्छ । संसारका सबै देशहरू साझा भविष्यसहितको विश्व ग्रामका सदस्य भएको विश्वास बोकेर चीन न्यायपूर्ण र अझ समतामूलक अन्तर्राष्ट्रिय सम्बन्धको पक्षमा छ । अनि विश्वको समग्र विकासमा चुस्तताका साथ योगदान गर्न चाहन्छ ।
– गुणको बदला गुण तिर्ने चिनियाँ विचार
विभिन्न देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट चीनले प्राप्त गरेको समर्थन र सहयोग चिनियाँ जनता सधैँ सम्झिरहनेछन् । आफूलाई खाँचो पर्दा एक थोपा पानी दिएर गुण गर्नेलाई खाँचो पर्दा खोला नै दिएर गुण गर्नुपर्छ भन्ने चिनियाँ संस्कृति हो । चीन आफ्ना सफलताका कथा बिनासङ्कोच संसारका अन्य देशको विकास र जनताको प्रगतिको लागि बाँड्न चाहन्छ ।
– चिनियाँ विशेषताको अन्तर्राष्ट्रवाद
चिनियाँ जनता सधैँ न्यायको भावना र सद्भावको रक्षा गर्छन् । जनवादी गणतन्त्र चीनको स्थापना भएको एक वर्षपछि मात्र आफैँ अनेकन प्रतिकूलता सामना गर्दै गर्दा राष्ट्रिय स्वाधीनताको लागि लडिरहेका धेरैलाई देशलाई सक्दो सहायता गरेको थियो । बितेका सात दशकमा चीनले प्रगति गरिसकेको छ । गरिबी र पछौटेपनाबाट शक्ति र समृद्धितिर चीन अघि बढिसकेको छ । आफ्नो जीवनमा सुधार हुँदै गर्दा चिनियाँ जनता अन्यत्रका जनताको पनि जीवनमा प्रगति होस् भन्ने आशा राख्दछ । विकासशील देशका जनताको उत्तम जीवनको भावना पूरा गर्न चीन आफूले सक्दो योगदान गर्न तत्पर छ ।
– एउटा प्रमुख देशको रूपमा चीनको जिम्मेवारीबोध
चीन संयुक्त राष्ट्र सङ्घको संस्थापक सदस्य हो । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को पनि स्थायी सदस्य हो । चीनले मानवताको विश्वव्यापी मान्यता–शान्ति, विकास, समता, न्याय, प्रजातन्त्र र स्वतन्त्रतालाई सर्वोपरि मानेको छ । शान्तिपूर्ण, खुला, सहकार्यमूलक र समावेशी विकासको पथमा चीन अडिग छ । अन्तर्राष्ट्रिय समुदायको एउटा जिम्मेवार सदस्यको रूपमा चीन विकास सहकार्य गर्न आफ्नो दायित्व सक्रियतापूर्वक पूरा गर्न प्रतिबद्ध छ । मानव जातिको हितको लागि योगदान गर्नुलाई चीनले आफ्नो लक्ष्य मानेको छ । अन्तर्राष्ट्रिय समुदायमा थप साझा हितको लागि काम गर्न र उत्तम साझा भविष्य निर्माणको लागि अन्य देशसँग हातेमालो गर्न चीन लालायित छ ।
ख. विकास सहकार्यमा चीनको अवधारणा
चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता अन्तर्राष्ट्रिय विकास सहकार्यको अनुभवको आधारमा चीन नयाँ युगमा अघि बढ्न आफ्नो अलग अवधारणा बनाएको छ । असल परम्परालाई निरन्तरता दिन यी अवधारणा अघि सारिएका छन् ।
– अन्तर्राष्ट्रिय विकास सहकार्यको चीनको लक्ष्य भनेको साझा भविष्यको लागि विश्व समुदायको प्रवद्र्धन हो ।
विकास मानव समुदायको साझा चासोको विषय हो । विकासशील देशहरूको प्रगतिबिना विश्वको स्थायित्व र समृद्धि हासिल गर्न सकिन्न । गरिबी न्यूनीकरण र जनताको जीवनमा सुधार्न अन्य विकासशील देशहरूलाई मद्दत गरेर चीनले उत्तर–दक्षिणको दुरी काम गर्न, विकासमा खाडल हटाउन, आपसी सम्मान, समता, न्याय र सर्वहितमा आधारित सहकार्य सबैसँग मिलेर काम गर्नेछ । दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धिमा आधारित खुला, समावेशी, स्वच्छ र सुन्दर संसार निर्माण गर्न चीन तत्पर छ ।

– बृहत् र साझा हितको प्रवद्र्धन नै अन्तरनिहीत मार्गदर्शन हो
यो चीनको सांस्कृतिक परम्परा हो । चीनको अन्तर्राष्ट्रवादमाथिको विश्वासलाई यसले प्रतिनिधित्व गर्छ । यही मार्गदर्शनबाट निर्देशित रहेर चीनले बृहत् समृद्धिलाई आकार दिन चाहन्छ । खुला विकासले निम्त्याएका अवसर र हित आपसमा प्राप्त गर्न सबै विकासशील देश अघि बढ्नेमा चीन आशावादी छ । सर्वहितकारी परिणामको लागि आपसी लाभको सिद्धान्तमा आधारित रहेर चीन आफ्नो हित र अरू विकासशील देशको खाँचोमा जोड दिंदै गर्दा सहयोगको हात पनि फैलाइरहेको हुन्छ ।
– दक्षिण–दक्षिण सहकार्यमा जोड
चीनले धेरै ठूलठूला उपलब्धि हासिल गरिसकेको छ । तर, दुई वास्तविकता भने अझै परिवर्तन भएको छैनः चीन अझै पनि समाजवादको प्रारम्भिक चरणमै छ र लामो समयसम्म यही चरणमै रहनेछ । चीन अझै पनि संसारको सबभन्दा ठूलो विकासशील देश हो । चीनको विकास सहकार्य विकासशील देशहरूबीच आपसी सहकार्यको रूप हो । यो दक्षिण–दक्षिणबीचको सहकार्यको प्रकार हो । त्यसकारण यो आधारभूतरूपमा उत्तर–दक्षिण सहकार्यभन्दा फरक छ । चीन दक्षिण–दक्षिण सहकार्यको दरिलो समर्थक, सक्रिय सहभागी र प्रमुख योगदानकर्ता हो । चीनले आफ्नो विकासको गति र क्षमताअनुसार अन्तर्राष्ट्रिय जिम्मेवारी बहनलाई चालू राख्नेछ । अनि दक्षिण–दक्षिण सहकार्यलाई विस्तार गर्नेछ । यसले साझा विकासको साझा प्रयासलाई प्रवद्र्धन गर्नेछ ।
– बेल्ट एन्ड रोड सहकार्य प्रमुख दबु हो
रेशम मार्ग आर्थिक क्षेत्र र एक्काइसौँ शताब्दीको समुद्री रेशममार्ग सारा विश्वको लागि चीनले अघि सारेको उल्लेखनीय सार्वजनिक कल्याणकारी कार्यक्रम हुन् । यो अन्तर्राष्ट्रिय विकास सहकार्यको प्रमुख दबु हो । नीति, पूर्वाधार, व्यापार, वित्तीय तथा जनस्तरको सम्पर्कको प्रवद्र्धन गर्न चीनले अरू देशसँग सहकार्यको हात अघि बढाएको छ । बेल्ट एन्ड रोडलाई शान्ति, समृद्धि, खुलापन, अनुसन्धान, हरित विकास, सांस्कृतिक सम्बन्ध र स्वच्छ सरकारतर्फको बाटो बनाउन चीन लागिपरेको छ ।
– संरा सङ्घको दिगो विकास एजेन्डा २०३० पूरा गर्न अन्य देशलाई सहयोग गर्नु प्रमुख लक्ष्य हो
सन् २०३० को लक्ष्य नै संसारभरको विकास सहकार्यको निर्देशन आधारपत्र हो । बेल्ट एन्ड रोड परियोजना र यो लक्ष्यबीच धेरै समानता छन् । पछिल्ला वर्षमा यो लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय समुदायले प्रारम्भिक प्रगति गरिसकेका छन् । तर, संसारको विकास भने अझै असन्तुलित र अपुग छ । कोभिड–१९ महामारीले सन् २०३० को लक्ष्यमा गम्भीर व्यावधान उठाइदिएको छ । सबै देशलाई यो लक्ष्य हासिल गर्न कठिन बनाएको छ । तोकिएको समयभित्र यो लक्ष्य हासिल गर्न सबै देशका जनतालाई असहज बनाएको छ । विकास क्षमतामा सुधार र विकास साझेदारीमा अधिकतम लाभको लागि अन्तर्राष्ट्रिय सहकार्यमार्फत चीनले महामारीको प्रभाव न्यून बनाउन विकासशील देशहरूलाई मद्दत पु¥याइरहेको छ । यसले सन् २०३० को लक्ष्य हासिल गर्न तथा साझा समृद्धि हासिल गर्न गतिविधिलाई गति दिनेछ ।
ग. विकास सहकार्यको लागि चीनको सिद्धान्त
अन्तर्राष्ट्रिय विकास सहकार्यको लागि चीनको सिद्धान्त निम्नानुसार छन्ः
– सबैलाई समान सम्मान
चीनले सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारमा विकास सहकार्यलाई समर्थन गर्दै आएको छ । चीनले आकार, शक्ति वा समृद्धिको आधारमा कुनै पनि देशलाई व्यवहार गर्दैन । चीन ती सबै कुरालाई एक कुनामा थन्काएर सबै देशलाई अन्तर्राष्ट्रिय समुदायका समान सदस्यको रूपमा हेर्दछ । कुनै देशसँग सहकार्य गर्दै गर्दा त्यो देशको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको बाटो पहिल्याउन कुनै हस्तक्षेप गर्नु हुन्न । कुनै देशको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैन । राजनीतिक सोच वा स्वार्थमा आधारित भएर चीनले कसैमाथि आफ्नो चाहना लाद्ने गर्दैन ।
– आफूले सक्दो उत्कृष्ट काम गर्ने
घरेलु र अन्तर्राष्ट्रिय परिस्थिति दुवैलाई ध्यानमा राखी चीनले आफ्नो तुलनात्मक शक्तिको पूर्ण प्रयोग गर्छ र आफ्नो राष्ट्रिय शक्तिअनुकूलको अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्छ । दक्षिण–दक्षिण सहकार्यको ढाँचाभित्र बसेर चीनले विकासशील देशहरूलाई आफू सक्दो सहायता गर्दै आएको छ । चीनले अरू विकासशील देशहरूका धारणाको सम्मान गर्छ र मैत्रीपूर्ण सरसल्लाह र आपसी सहमतिमार्फत सहकार्य परियोजना तय गर्ने गरेको छ । साझेदार देशको विकासको अवस्था र आवश्यकतासँग मेल नखाने गरी परियोजना लागू गर्दैन । चीन वचनमा सधैँ असल र काममा प्रतिबद्ध छ । चीन आफ्नो प्रतिबद्धतामा दृढ छद र सबै परियोजनाबाट सही परिणाम दिने सुनिश्चित गर्छ ।
– जनताको जीवनमा विकास र प्रगतिमा जोड
विकास नै संसारका सबै देशको उच्च प्राथमिकताको विषय हो । विकास परियोजनाहरू अघि बढाउँदा चीनले साझेदार देशहरूसँग योजना र रणनीतिक समन्वयमा जोड दिन्छ । चीनले विकासशील देशहरूको सामाजिक र आर्थिक विकासका आवश्यकतालाई प्राथमिकता दिने गरेको छ । जनताको जीवनस्तरमा प्रगतिप्रति लक्षित र उनीहरूलाई ठोस उपलब्धि प्रदान गरेर चीनले गरिबी निवारण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, कृषि, रोजगारी, वातावरण संरक्षण र जलवायु परिवर्तन नियन्त्रणमा लगानी बढाएको छ । चीन आपतकालीन मानवीय सहायता कार्यमा पनि सक्रियतापूर्वक सहभागी बन्दै आएको छ ।
– स्वाधीन विकासको लागि माध्यमको उपलब्धता
विकासशील देशहरूका स्रोत, विकासको आवश्यकता र खाँचोलाई पूर्ण ध्यान दिई चीनले विभिन्न माध्यमबाट आफ्नो अनुभव र प्रविधि निसङ्कोच अरूलाई बाँड्दै आएको छ । चीनले स्थानीय प्रतिभा र प्राविधिकहरूलाई तालिम दिँंदै आएको छ । विविधिकृत, स्वाधीन र दिगो विकासको लागि विकासशील देशहरूको क्षमताको पूर्ण प्रयोग गर्न सशक्तीकरण गर्न चीनले मद्दत गर्दै आएको छ ।
-विविध तरिकाबाट प्रभावकारी सहकार्य
चीनले आफ्नो लामो अनुभवबाट विदेशी सहायताको आफ्नै तरिका विकास गरेको छ । जस्तो,
-पूर्ण परियोजना
– वस्तु तथा सामग्री
-प्राविधिक सहकार्य
– मानव स्रोत विकासमा सहकार्य
– दक्षिण–दक्षिण सहकार्य सहायता कोष (एसएससीएएफ)
– स्वास्थ्यकर्मी टोली
– विदेशमा स्वयम्सेवक
– आपतकालीन मानवीय सहायता र
– ऋण सहायता ।
साझेदारहरूको वास्तविक खाँचो र अवस्थाको आधारमा चीनले अधिकतम परिणाम ल्याउन सहकार्यको उपयुक्तरूपमा छनौट गर्ने गर्दै आएको छ । चीन आफ्नो पैसाको अधिकतम र उपयोगी प्रयोगमा निपुण छ ।
– उपलब्धि र दिगोपनाको सुनिश्चितता
चीनले परियोजनाको गुणस्तर सुनिश्चित गर्न कार्यान्वयनको व्यवस्थाापन, अनुगमन र मूल्याङ्कनलाई जोड दिंदै आएको छ । चिनियाँ सहायता परियोजनाको प्रतिष्ठा र विश्वसनीयता कायम राख्न र समग्र प्रभावकारिता बढाउन चीनले परियोजनाको पूर्णतामा विशेष ध्यान दिने गरेको छ । साथै प्राविधिक सहायतालाई पछ्याउने गर्छ । लगानी, निर्माण र कार्यलाई प्रवद्र्धन गर्छ । दिगो प्रभाव सुनिश्चित गर्न चीनले व्यवसायिक तालिम र प्राविधिक सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ । साथै विकासशील देशहरूमा परियोजना व्यवस्थापनका अधिकारीहरूको क्षमता विस्तार गर्न र परियोजना व्यवस्थापनलाई स्थानीयकरण गर्न सहायता गर्दै आएको छ । सहायता दिएको देशलाई ऋण तिर्न समस्या भएको अवस्थामा चीनले दुईपक्षीय सरसल्लाहबाट समस्याको समाधान निकाल्ने प्रयास गर्छ । न्यून आम्दानी भएका देशलाई ऋणको दिगोपनामा सहयोग गर्न चीन अग्रसर हुने गरेको छ ।
– आपसी सम्बन्ध र सिकाइ प्रवद्र्धन गर्न खुलापना र समावेशिता
चीनले कुनै पनि सन्देहको हल गर्न विकास सहकार्यमा अन्तर्राष्ट्रिय सम्पर्क अघि बढाउन चाहन्छ । अनि आपसी विश्वास बढाउन र आपसी सिकाइलाई जोड दिन्छ । विकासशील देशलाई गर्ने सहायतामा चीनले ती देशको भावनाको कदर गर्छ । कुनै पनि परियोजना भनेको जुन देशले प्राप्त गर्ने हो, त्यही देशको सहमति र नेतृत्वमा अघि बढाइनुपर्ने सिद्धान्तअनुसार नै चीनले कुनै पनि देश र अन्तर्राष्ट्रिय सङ्गठनसँग छलफल र सहकार्य अघि बढाउने गर्छ । खुलापनको भावनाअनुसार चीनले बाँकी संसारलाई विकास सहकार्यबारे आफ्ना नीति, कोष र व्यवस्थापनबारे व्याख्या गर्ने गरेको छ ।
– समयसँग अघि बढ्दै र नयाँ आधार बनाउँदै
समयको धार र आन्तरिक तथा अन्तर्राष्ट्रिय अवस्थामा आएको परिवर्तनलाई पछ्याउँदै चीनले विकास सहकार्यमा सुधार र सहकार्यलाई अघि बढाउँदै आएको छ । अनि सँगै आफ्नो सिद्धान्तमा पनि प्रतिबद्ध रहँदै आएको छ । अन्य देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूको सम्बन्धित क्षेत्रका अनुभवबाट सिक्दै र विकासशील देशका विकास लक्ष्य र आवश्यकताको आधारमा चीनले संस्थागत सुधार, नीति नियममा सुधार, तरिकामा विविधीकरण र कार्य क्षेत्र विस्तार गर्दै आएको छ । यसो गर्दा सहकार्यको प्रभावकारिता र गुणस्तरमा वृद्धि हुने गर्छ ।
घ. विकास सहकार्यका व्यवहारिक पाइला
आफ्ना आधारभूत प्रतिबद्धताको सम्मान गर्दै चीनले विकास सहकार्यमा व्यवहारिक पाइलाहरू चालेको छ । विभिन्न अन्तर्राष्ट्रिय अवसरमा चीनका राष्ट्रपति सी चिनफिङले विकास सहकार्यका विभिन्न पाइलाको घोषणा गर्नुभएको छ । यसले विश्वको विकासमा योगदान गर्नेछ ।
–एउटा प्रमुख देशका दायित्व निर्वाह र सार्वजनिक हितको लागि विश्व विकास
सन् २०१५ को सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मेलनमा राष्ट्रपति सीले आउने पाँच वर्षको लागि विभिन्न प्रतिबद्धताहरू घोषणा गर्नुभएको थियो :
१. १ सय वटा गरिबी निवारण परियोजना, १ सय कृषि सहकार्य परियोजना, १ सय व्यापार सहायता परियोजना, १ सय पर्यावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम परियोजना, १ सय अस्पताल र क्लिनिक, १ सय विद्यालय तथा व्यवसायिक तालिम केन्द्रहरू बनाउने परियोजना गरी जम्मा ‘६ सय परियोजना’ निर्माण ।
२. १ सय मातृ तथा शिशु स्वास्थ्य स्याहार परियोजना र १ सय ‘खुसी क्याम्पस’(ह्याप्पी क्याम्पस) परियोजनामा सहयोग ।
३. दक्षिण–दक्षिण सहकार्यको लागि सहायता कोष तथा चीन–संरा सङ्घ शान्ति तथा विकास कोषको स्थापना ।
४. विभिन्न विकासशील देशबाट चीनमा अध्ययन गर्ने विद्यार्थीको लागि तालिम तथा छात्रवृत्ति कार्यक्रम ।
५. ऋण दिनको लागि योग्य देशलाई व्याज नलाग्ने ऋण सहायता
६. दक्षिण–दक्षिण सहकार्य र विकासको लागि संस्था तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय ज्ञान केन्द्र स्थापना गर्ने ।
सन् २०२० को मे १८ मा भर्चुएल माध्यमबाट भएको ७३ औँ विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रपति सीले कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्यको समर्थनमा निम्नानुसार कार्यक्रम घोषणा गर्नुभएको थियो :
१. दुई वर्षको अन्तरालमा २ अर्ब अमेरिकी डलर बराबरको अनुदानको घोषणा ।
२. चीनमा विश्व मानवीय सहायता भण्डार र केन्द्र बनाउन संयुक्त राष्ट्र सङ्घसँग सहकार्य गर्ने ।
३. अफ्रिकाका तीस वटा अस्पतालहरूसँग चीनका अस्पतालहरूको सम्पर्क स्थापना गरी सहकार्य संयन्त्रको विकास गर्ने ।
४. चीनमा विकास भई प्रयोगमा आएपछि कोभिड–१९ विरुद्धको खोप विश्वव्यापीरूपमा सार्वजनिक वस्तुको रूपमा सबैलाई उपलब्ध गराउने ।
५. जी २० का अन्य सदस्य देशहरूसँग अत्यन्त गरिब देशहरूलाई ऋण सेवा निलम्बन कार्यक्रम कार्यान्वयनको लागि पहल गर्ने ।
–बेल्ट एन्ड रोड ढाँचाभित्र अरू विकासशील देशहरूलाई सहायता बढाउने
सन् २०१७ मा आयोजित पहिलो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा राष्ट्रपति सीले घोषणा गर्नुभएको थियो ः
१. चीनले आगामी तीन वर्षभित्र जनताको जीवनस्तर सुधार गर्न ६० अर्ब आरएमबी बराबरको थप परियोजनाहरूलाई सहायता उपलब्ध गराउने,
२. २ अर्ब आरएमबी बराबरको आपतकालीन खाद्य सहायता उपलब्ध गराउने,
३. दक्षिण–दक्षिण सहकार्यअन्तर्गत १ अर्ब अमेरिकी डलर बराबरको थप योगदान गर्ने,
४. १ सय वटा ‘सुखी गृह’ परियोजना, १ सय गरिबी निवारण परियोजना र १ सय वटा स्वास्थ्य सेवा र पुनःस्थापना परियोजना कार्यक्रम लागू गर्ने,
५. १ अर्ब अमेरिकी डलर बराबरको सहायता सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनलाई उपलब्ध गराउने ।
सन् २०१९ मा भएको दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा राष्ट्रपति सीले घोषणा गर्नुभएको थियो :
१. जलवायु परिवर्तनसम्बन्धी बेल्ट एन्ड रोड दक्षिण–दक्षिण सहकार्य कार्यक्रम कार्यान्वयन गर्ने,
२. कृषि, स्वास्थ्य, विपद् न्यूनीकरण र जलस्रोत क्षेत्रमा सहकार्य बिस्तार गर्ने ।
३. चीन भ्रमणको लागि दस हजार जना प्रतिनिधिलाई आमन्त्रण गर्ने ।
४. बेल्ट एन्ड रोड परियोजनाका सहभागी देशहरूका सामाजिक सङ्गठनहरूबीच सार्वजनिक हितका परियोजनाहरूलाई प्रवद्र्धन र विस्तृत सहकार्य गर्ने ।
५. चीन सरकारको रेशम मार्ग छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने ।
क्षेत्रीय सहकार्य संयन्त्रमार्फत विकासशील देशहरूबीच सहकार्य कार्यक्रम
राष्ट्रपति सी चिनफिङले चीन–अफ्रिका सहकार्य मञ्च (एफओसीएसी), साङ्घाई सहकार्य सङ्गठन, चीन तथा पोर्चुगाली भाषा बोलिने देशबीचको आर्थिक तथा व्यापार सहकार्य मञ्च, चीन–अरब देश सहकार्य मञ्च, चीन र ल्याटिन अमेरिकी तथा क्यारिबियाली देशहरूको मञ्च, चीन र क्यारिबियाली आर्थिक तथा व्यापार सहकार्य मञ्च र चीन–प्रशान्त टापु देशहरूबीच आर्थिक विकास तथा सहकार्य मञ्चलगायत दुईपक्षीय र बहुपक्षीय मञ्चमा सामेल देशहरूको आर्थिक र सामाजिक विकास एवम् जनताको जीवनस्तर उकास्न प्रस्तावहरू राख्नुभएको छ ।
चीन–अफ्रिका सहकार्य मञ्चको सन् २०१५ को डिसेम्बरमा जोहान्सवर्गमा भएको सम्मेलनमा राष्ट्रपति सीले औद्योगीकरण, कृषिमा आधुनिकीकरण, पूर्वाधार, वित्त, हरित विकास, व्यापार तथा लगानी सुविधा, गरिबी निवारण जनस्वास्थ्य, सांस्कृतिक तथा जनस्तरको सम्पर्क, शान्ति र सुरक्षा आदि क्षेत्र समेटेर तीन वर्षभित्र दस वटा प्रमुख परियोजना अघि बढाउने घोषणा गर्नुभएको थियो ।
सन् २०१८ को सेप्टेम्बरमा पेइचिङमा आयोजित चीन–अफ्रिका सहकार्य मञ्चमा सीले आगामी तीन वर्ष र त्यसपछि आठ वटा प्रमुख परियोजना अघि बढाउने घोषणा गर्नुभयो । औद्योगिक विकास, पूर्वाधार सम्पर्क, व्यापार सहजता, हरित विकास, क्षमता विकास, स्वास्थ्य सेवा, जनस्तरमा सम्पर्क र शान्ति एवम् सुरक्षा क्षेत्र समेटेर त्यस्ता परियोजनामा काम हुने उहाँले आफ्नो घोषणामा भन्नुभएको थियो ।
सन् २०२० को जूनमा कोभिड–१९ विरुद्ध चीन–अफ्रिका ऐक्यबद्धता सम्मेलनमा राष्ट्रपति सीले चीनले कोभिड–१९ विरुद्ध अफ्रिकी देशहरूको लडाइँलाई सक्दो सम्भव सबै उपाय लगाएर सहयोग गर्ने, पेइचिङमा भएको चीन–अफ्रिका सम्मेलनमा व्यक्त प्रतिबद्धताको तीव्र कार्यान्वयनलाई जोड दिने, जनस्वास्थ्य, व्यापार पुनःसञ्चालन, जनजीवनमा प्रगति र साझा भविष्यको लागि चीन–अफ्रिका समुदायलाई अझ बलियो बनाउने विषयमा जोड दिनुभएको थियो ।
चीन सरकार विकास सहकार्यप्रतिका आफ्ना प्रतिबद्धता पूरा गर्न सक्रियतापूर्वक लाग्नेछ । उल्लेखित सबै कार्यक्रमलाई पूर्णता दिने वा तोकिएको समयतालिकाअनुसार प्रगति गरी विश्व विकासको लागि ठोस योगदान गर्न सकिनेछ ।
यो आलेख श्वेत पत्रको पूर्ण पाठको केही अंशको मात्र नेपाली अनुवाद हो । श्वेतपत्रको मूल भावना यो अंशको अनुवादमार्फत पाठकले बुझ्न सक्ने आशा गरिन्छ ।)
नेपाली अनुवाद : सुमन
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *