भर्खरै :

भक्तपुर नगरको बजारमा नगरपालिकाको अनुगमन : एक अनुभव

भक्तपुर नगरपालिकाले नगरवासीहरू सेवाको लागि विभिन्न कार्य गर्दै आएको छ । यस्ता कार्यहरूमध्ये भक्तपुर नगरपालिकाले गर्दै आएको सराहनीय काम नियमित बजार अनुगमन पनि हो । भक्तपुर नगरपालिका नगर कार्यपालिकाअन्तर्गत विभिन्न समिति क्रियाशील छन् । जस्तैः निर्माण समिति, खेलकुद समिति, कृषि समिति, समाज कल्याण समिति, विधायन समिति, आर्थिक समिति, सहकारी अनुगमन समिति, लेखा समिति, बजार अनुगमन समिति आदि । यी समितिहरूले नगरभित्रको आ–आफ्नो क्षेत्राधिकारभित्रका विषय वस्तुहरू हेर्ने गर्दछन् । यी समितिहरूमध्ये बजार अनुगमन समिति पनि एक हो । यस समितिले नगरभित्रका बजारहरूको अनुगमन गरी भक्तपुर नगरपालिकाले निर्माण गरेको कानुुन र नेपाल सरकार तथा प्रदेश सरकारले निर्माण गरेको कानुनभित्र रही बजार अनुगमन, व्यवस्थापन र नियन्त्रण गर्ने कार्य गर्दछ ।
भक्तपुर नगरपालिका नगर कार्यपालिकाअन्तर्गत रही बजार अनुगमन समितिले कार्य गर्दै आएको छ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको आगमनसँगै महिनाको चार दिन बजार अनुगमन गर्ने कार्य हुँदै आएको छ । यस समितिमा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा संयोजक हुनुहुन्छ । भनपा वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवाल र कार्यपालिका सदस्य रोशनमैँया सुवाल सदस्यको रूपमा रहेका छन् भने सदस्य सचिव श्यानिटेसन शाखाका प्रमुख दिलीपकुमार सुवाल हुनुहुन्छ ।
हरेक महिनाको पहिलो वा दोस्रो हप्तामा दुई दिन र तेस्रो वा चौथो हप्ताको दुई दिन नियमितरूपमा बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा विगत ४ वर्षदेखि निरन्तर हुँदै आएको छ । अनुगमनको श्रृङ्खला गत वर्षको लकडाउनको समयमा पनि आंशिकरूपमा भएको थियो भने हाल हरेक महिनामा कम्तीमा चार दिन नियमित अनुगमन हुँदै आएको छ । अनुगमन समितिका सदस्यहरूमा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महानगरीय प्रहरी प्रभागका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ भक्तपुरका प्रतिनिधि, घरेलु उद्योग सङ्घ भक्तपुरका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रतिनिधि रहने गरेका छन् । समितिले किराना पसल, मासु पसल, हार्डवेयर पसल, होटेल, भोजनालय, घुम्ती पसल, विभिन्न कारखाना, होलसेल पसलहरू, कापी उद्योग, कपडा पसलहरूलगायत सम्पूर्ण किसिमका पसल तथा व्यवसायहरूको अनुगमन नियमितरूपमा गर्दै आएको छ । यसबाहेक पसल व्यवसायीहरूलाई भनपामा समय –समयमा भेला गरी सचेत पार्ने कार्य हुँदै आएको छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा ‘कालोबजारिया, जम्माखोर, कृत्रिम अभाव गर्ने र मिसावट एवम् म्याद नाघेको सामग्री बिक्री गरी उपभोक्ताहरूलाई ठगी गर्नेहरूलाई कानुनी कारबाही गराइने’ उल्लेख छ । त्यस्तै भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टीको घोषणापत्र २०७४ को बँुदा नं. १०(३) मा “खाद्यान्न, लत्ताकपडा, ग्यासलगायतका जनताका आधारभूत तथा दैनिक उपभोग्य सामग्रीमा हुने कालोबजारी नियन्त्रण गर्ने÷गराउने” उल्लेख छ । घोषणा पत्रमा उल्लेखित प्रतिबद्धता पूरा गर्न पनि अनुगमन समितिको आवश्यकता छ । भक्तपुर नगरपालिका र यहाँनिर्वाचित नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू यही घोषणापत्रका प्रतिबद्धताहरू कार्यान्वयन गर्न तत्पर छन् । त्यसैले राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमन समितिले नियमितरूपमा बजार अनुगमन गरी दैनिक उपभोग्य सामग्री कालोबजारी गर्ने, म्याद नाघेका सामानहरू बेच्ने, बढी मूल्य लिने, ढक तराजुमा बेइमानी गर्ने, बिनास्वीकृति व्यवसाय सञ्चालन गर्नेहरूलाई कारबाही गर्न नगर प्रमुखकहाँ पेश गर्ने कार्य गर्दै आएको छ । घोषणा पत्र कार्यान्वयन गर्न कतिपय अवस्थामा कानुनको आवश्यकता पर्दछ । यही आवश्यकता पूरा गर्नको लागि भक्तपुर नगरपालिका बजार अनुगमनसम्बन्धी निर्देशिका नगरसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याएको छ ।
अनुगमनको क्रममा पसल व्यवसायीहरू धेरैजसोको कमजोरी म्याद नाघेका सामानहरूको व्यवस्थापन गर्न नसक्नु देखियो । कतिपय व्यवसायीहरूले म्याद नाघेका सामानहरू नै उपभोक्तालाई बिक्री गर्ने उद्देश्यले पसलमा राखिएको देखियो । अझ कतिपय ठूलठूला होलसेल पसलहरूले म्याद नाघेका धेरै सामानहरू आफ्नो भण्डार कोठा र पसलमा समेत राखेको र खुद्रा व्यापारीहरूलाई बेचेको स्वीकारोक्ति देखियो । विशेषगरी अलि नचलेका पसलहरू, बस्ती नभएको ठाउँका पसलहरू र राम्रो व्यवस्थापन नभएका पसलहरूमा धेरै सामानहरू म्याद नाघेको देखिन्छ । अझ गत वर्ष चैत, वैशाख र असारमा भएको लकडाउन र त्यसपछिका निषेधाज्ञाले झनै म्याद नाघेको सामानहरूको सङ्ख्या बढेको गुनासो पसल व्यवसायीहरूको रह्यो । यसलाई व्यवस्थापन गर्न नसक्नु एकापट्टि व्यवसायीहरूको कमजोरी देखिन्छ भन्ने अर्कोतर्फ देश तथा विश्वव्यापीरूपमा देखापरेको कोभिड – १९ को कारणले व्यवसायीहरू मारमा परेको देखिन्छ । औषधि पसलहरूमा पनि म्याद नाघेका औषधि पाइनुका साथै सरकारले स्वीकृति नदिएका औषधिहरू बिक्री वितरणमा राखिएको भेटियो । कतिपय व्यवसायीहरूले भक्तपुर नगरपालिकामा आफ्नो पसल व्यवसाय दर्ता नै नगरेको भेटियो । कतिपय व्यवसायीहरूले प्यान र वाणिज्यमा दर्ता गरी दर्ता प्रमाणपत्र पसलमा झुन्ड्याएको भेटियो भने नगरपालिकाको प्रमाणपत्र भेटिएन । अनुगमन टोलीप्रति उहाँहरूको प्रतिप्रश्न थियो, “नगरपालिकामा पनि दर्ता गर्नुपर्दछ ? तीन तीन ठाउँमा किन हामीले कर तिर्ने ? नगरपालिकालाई किन कर तिर्ने ? नगरपालिका पनि सरकार हो र ? नगरपालिकाले व्यवसायीहरूलाई धेरै दुःख दियो ?” अनुगमन टोलीले सबभन्दा बढी सुन्नु परेको र जवाफ दिनुपरेको यही नै हो । स्थानीय निकायमा धेरै वर्ष जनप्रतिनिधि नभएकाले कर्मचारीहरू जनताप्रति जवाफदेही नहुँदा जनता सरकारप्रति रुस्त भएको देखिन्छ । यसको कारण सर्वसाधारण जनता नगरपालिकालाई कर तिर्नुपर्दछ भन्ने सामान्य सोचसमेत बिर्सिसकेको देखिन्छ । अनुगमनको क्रममा नगरपालिका भनेको स्थानीय सरकार हो र स्थानीय सरकारले निश्चित विषयमा कर लगाउन सक्दछ भन्ने अभिव्यक्ति हामीले ठाउँ ठाउँमा दियौँ । पसल स्थापनाकालदेखि नै व्यवसाय दर्ता नगरिएको, बीसौँ वर्षदेखि नगरपालिका मात्र नभई सरकारी निकाय कुनैमा पनि दर्ता नभएका पसल व्यवसायीहरू पनि अनुगमनको क्रममा भेटिए ।
धेरै पसल व्यवसायीहरूले ढक तराजुको पनि सही व्यवस्थापन गर्न नसकेको पाइयो । दुई वर्षको एकपटक नापतौल विभागमा ढक तराजु नवीकरण गर्नुपर्ने सामान्य सोच पनि नभएका व्यवसायीहरू देखिए । ढक तराजुमा मिलाएर राख्ने, ढकको वजन घटाउने, अन्य वस्तुहरू तराजुमा प्रयोग गरी उपभोक्तालाई कम सामान दिने, नवीकरण नगरिएको, प्रायः तराजु फोहर र अव्यवस्थित देखिन्छ । पुरानो प्रविधिको तराजुको प्रयोग बढी भएको हुँदा आधुनिक डिजिटल तराजुको प्रयोगमा अनुगमनकर्ताहरूले सुझाव दिए । अझै कतिपय व्यवसायीले पसलको नाम नै नराखी व्यवसाय सञ्चालन गरेको देखिन्छ । पसलको नाम देखिने होर्डिङ बोर्ड नभएको धेरै पसल भेटिए । उपभोक्तालाई सामान बेच्दा बिल नदिने, प्यानबिल र भ्याट बिलको प्रयोग गर्दै नगर्ने, खाद्य अनुज्ञा पत्र नलिई खाद्यान्न सामग्रीहरू प्याकिङ गर्ने, म्याद नाघेपछि पनि हातले नै म्याद थप्ने, सिल बिगारेर खुलारूपमा सामान पनि पसल व्यवसायीहरूले बेचेको देखिन्छ । अर्को नगरपालिकामा दर्ता गरी भक्तपुर नगरपालिकामा व्यवसाय गरिआएको पनि देखिन्छ । विशेषगरी लेखापढी व्यवसाय गर्ने व्यवसायीहरूले भक्तपुर नगरपालिकामा दर्ता नै नगरी आफ्नो लेखापढी व्यवसाय गरेको देखिन्छ । कतिपयले आफ्नो नगरपालिकामा दर्ता गरिसकेको कारणले भक्तपुर नगरपालिकामा दर्ता नगरेको जवाफ पनि दिनुप¥यो भन्ने कतिपय व्यवसायीले बसाइसराइ गरी नसकेकोले नगरपालिकामा दर्ता नगरेको जवाफ दिए । होटेलहरूमा अनुगमन गर्दा सरसफाइ राम्रोसँग नगरेको, फ्रिजहरू सफा नभएको, म्याद नाघेका सामानको व्यवस्थापन नभएको पाइयो भने मासु पसलमा अनुगमन गर्दा पुराना मासुहरू धेरै बाँकी भएको, सरसफाइ नपुगेको, मूल्यमा समानता नभएको, प्यान र भ्याट बीलको प्रयोग नगरी बिनाविलले बिक्री वितरण भइरहेको पाइयो । चिया तथा मिठाइ पसलमा तातो तेलको गुणस्तर नाप्दा प्रायःपसलमा गुणस्तरहीन र म्याद नाघेको तेलको प्रयोग गरिएको भेटियो । खाजा पसलमा अनुगमन गर्दा गुणस्तरहीन खाजा र पेय पदार्थ धेरै भेटियो । ठूला ठूला मिनिमार्टहरूमा पनि म्याद नाघेको, गुणस्तरहीन उत्पादन राखेको देखिन्छ । यस वर्षको भाइटीकाको दिनमा टौमढीदेखि सुकुलढोकासम्म ढक तराजुको निरीक्षण गर्दा अधिकांश ढक तौल नपुग्ने गरी मिलाएको देखियो । जसले गर्दा अनुगमन टोलीले ४४ वटा ढक तराजु जफत गरेको थियो । निश्चय नै यस्तो हुनु राम्रो होइन ।
समाजमा सबै मानिस नराम्रा हुँदैनन् । धेरै मानिस राम्रा हुन्छन् भन्ने थोरै मानिसमात्र नराम्रा हुन्छन् । कतिपय व्यवसायीहरूले व्यवस्थितरूपमा पसल व्यवसायहरू चलाएका छन् । आफ्नो पेशा नै व्यवसाय भएकोले राम्रोसँग चलाएको धारणा उहाँहरूको थियो । त्यसैले दीर्घकालीनरूपमा आफ्नो व्यवसाय चलाउनको लागि नगरपालिकामा दर्ता गरी नियमपूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्दछ ।
(लेखक भनपा बजार अनुगमन समितिका सदस्य हुनुहुन्छ । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *