भर्खरै :

कोभिड–१९ को खोप लगाउन भारतीय जनता डराए

नयाँ दिल्ली, १९ जनवरी । भारतमा सुरु भएको कोभिड–१९ विरोधी खोप लगाउने अभियानमा खोप लगाउन आमन्त्रण गरिएका कुल जनसङ्ख्यामध्ये एकतिहाइ मानिसले खोप लगाउन नआएपछि भारत सरकारले खोपबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार भारत सरकारले कोभिड–१९ को खोप लगाए पछि दुई जना व्यक्तिको निधन भएको पुष्टि गरेसँगै खोपप्रति मानिसको आशङ्का बढेको बताइएको छ ।
खोप लगाएपछि भारतको स्वास्थ्य मन्त्रालयका एक जना ५२ वर्षका कर्मचारीको उत्तरप्रदेशमा शनिबार निधन भएको थियो । तर, खोपको कारण नभई ‘मुटुसम्बन्धी समस्या’ को कारण उनको निधन भएको सरकारी स्रोतले बताएको छ ।
त्यस्तै कर्नाटकका एक जना ४३ वर्षका पुरुष पनि हृदयघातको कारण निधन भएको बताइएको छ । उनले पनि खोप लगाएका थिए ।
सरकारले खोप अभियानको सुरुका तीन दिनमा ५८० जना मानिसमा केही स्वास्थ्य समस्या देखिएको बताएको छ ।
भारतले गत साता संसारकै सबभन्दा महत्वाकाङ्क्षी खोप कार्यक्रम थालेको थियो । उसले जुलाईसम्ममा १ अर्ब ३० करोड जनसङ्ख्यामध्ये ३० करोड मानिसलाई खोप लगाउने योजना बनाएको छ ।
शनिबारबाट सुरु भएको खोप अभियानअन्तर्गत पहिलो तीन दिनमा ३ लाख ८१ हजार ३०५ जनालाई खोप लगाउने तय भएको थियो ।
तर, भारतको राजधानी नयाँ दिल्लीमा नै अपेक्षितमध्ये ५३ प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
“हामी अहिले पहिलो चरणमा छौँ । मानिसहरू पहिले हेरौँ र खोपले कस्तो काम गर्ला भनी बसेका छन्”, राजधानीको कोरोना कार्यदलका सदस्य सुनिला गर्गले भने ।
“विश्वास बलियो भए सँगै खोप लगाउने मानिसको सङ्ख्या पनि बढ्नेछ । त्यसको लागि हामीले गलत सूचना छ्यास्नुपर्छ”, उनले भने ।
‘द हिन्दु’ पत्रिकाले जनाएअनुसार दक्षिणी राज्य तामिलनाडुमा अपेक्षा गरिएकामध्ये १६ प्रतिशतले मात्र खोपको प्रयोग गरेका छन् ।
हरियाणाको रोहतक जिल्लाको एउटा सामुदायिक स्वास्थ्य केन्द्रमा एक जना मानिसले खोप लगाउने अपेक्षा गरिएकोमा २९ जनाले मात्र खोप लगाएको त्यहाँका चिकित्सकले भने ।
“मानिसहरू डराएका छन् । हामी कसैलाई पनि खोप लगाउन बाध्य पार्न सक्दैनौँ । यो स्वेच्छिक हो”, उनले भने ।
भारतमा सामाजिक सञ्जालमार्पmत खोपको विषयमा व्यापक आशङ्का प्रचार भए पनि भारतका स्वास्थ्यमन्त्री हर्ष बद्र्धनले आफ्नो ट्वीटरको अग्रभागमा नै ‘खोपले काम गर्छ’ भनी लेखेका छन् ।
“सुरुबाट नै हामीले सर्वसाधारणलाई गलत प्रचारबाजीबाट सजग रहन भनेका थियौँ”, उनले भने ।
भारत संसारमा सबभन्दा बढी कोरोना सङ्क्रमित भएको देश हो । त्यहाँ झन्डै १ करोड ५० हजार जनता यो रोगबाट प्रभावित भएका छन् ।
भारतले हालसम्म अक्सफोर्ड–अस्ट्राजेनेका खोपलाई प्रयोग गर्न अनुमति दिएको छ । भारतकै भारत जैविक प्रविधिले बनाएको एक थरी खोप भने अझै चिकित्सकीय प्रयोगमा छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *