भर्खरै :

के एक समाजवादी देश सामाजिक साम्राज्यवादी देशमा पतन हुनसक्छ ?

(रोहित) सबै सम्पत्तिवान् वर्ग पूर्णरूपले साम्राज्यवादको पक्षमा जान्छन्, साम्राज्यवादको उज्यालो भविष्यको बारेमा ‘ठूलो’ उत्साह देखाउँछन्, त्यसलाई अझ बलियो समर्थन गर्छन् र त्यसलाई सबभन्दा आकर्षकरूपमा बयान गर्छन् – “यी नै यस युगका लक्षण हुन् । साम्राज्यवादी विचारधारा मजदुर वर्गमा पनि घुस्न पुग्छ । मजदुर वर्ग र अरू वर्गहरूको माझमा कुनै चिनियाँ पर्खाल हुन्न । पार्टीका नेताहरूलाई ‘सामाजिक–साम्राज्यवादी’ ठिक्कै भन्दछन्, अथवा कुरा भने तिनीहरू समाजवादको गर्छन् र काम भने साम्राज्यवादीजस्तै गर्छन् … ।” – लेनिन
यस कुरालाई सर्वहारा वर्गका महान् नेता लेनिनले आजभन्दा ५९ वर्षअगाडि आफ्नो प्रसिद्ध रचना ‘साम्राज्यवाद, पुँजीवादको माथिल्लो अवस्था’ मा भन्नुभएको थियो । आधा शताब्दी बितिसक्दा पनि उहाँको भनाइ आज त्यत्तिकै सत्य सावित भइरहेको छ । त्यसबेला लेनिनले जर्मनीका पार्टी नेताहरूबारे त्यस्तै भन्नुभएको थियो । आज त्यही कुरा रूसी नेताहरूमा लागू हुँदै छ ।
कुरो यहीँ टुङ्गिदैन । रूसी नेताहरू ‘सामाजिक–साम्राज्यवादी’ भइसकेका छन् । एक समाजवादी देशलाई एक सामाजिक–साम्राज्यवादी देशमा फेरिसकेका छन् । केही नेपाली कम्युनिस्ट नेताहरू ‘रूसी सामाजिक–साम्राज्यवादी देश’ लाई पहिलो समाजवादी देश भनेर ‘आकर्षकरूपमा बयान गर्छन्’ तारिफ र समर्थन गर्छन् ।
अर्को थरीका केही नेपाली कम्युनिस्ट ‘नेताहरू’ रूसको कम्युनिस्ट पार्टीको नेतृत्व गुटलाई ‘संशोधनवादी’ मात्रै भन्न तयार छन् । तिनीहरू एकचोटि सर्वहारा क्रान्ति र समाजवाद लागू भएको देशमा पुँजीवादको पुनःस्थापनालाई स्वीकार गर्दैनन् । तिनीहरूको भनाइमा सर्वहारा वर्गले विजय पाइसकेको देशमा कसरी फेरि पुँजीपति वर्ग फर्कन सक्छ ? त्यस्तै एक समाजवादी देश कसरी एक ‘सामाजिक साम्राज्यवाद’ मा फेरिन सक्छ ? ‘साम्राज्यवाद, पुँजीवादको माथिल्लो अवस्था’ हुने भएकोले एक समाजवादी देशलाई साम्राज्यवादमा फेर्न सकिन्न । अथवा, एक समाजवादी देश फेरि पुँजीवाद र साम्राज्यवादमा फर्कन सक्दैन भनेर तिनीहरू विचार गर्छन् ।
‘सामाजिक साम्राज्यवादी’ लाई आकर्षकरूपमा तारिफ गर्ने ती नेताहरूलाई कसरी एक समाजवादी देशमा फेरि पुँजीवाद फर्कन सक्छ भन्ने कुरो देखाइदिन्छौँ । एक समाजवादी देश कसरी सामाजिक–साम्राज्यवादी देशमा पतन हुन्छ भन्ने कुरो देखाउँछौँ । के ती नेताहरूले कुरो पटक्कै नबुझेर यस्ता कुरा गरेका हुन् त ? होइन, तिनीहरू जानाजान सफा कुरालाई धमिल्याउन चाहन्छन् । तिनीहरू देशका जनता र कामदार वर्गलाई धोखा दिन चाहन्छन् । क्रान्तिको कुरा गरेर क्रान्तिमाथि विश्वासघात गर्दै छन् । तिनीहरू ‘सामाजिक–साम्राज्यवादीहरू’ बाट केही पाउन चाहन्छन् र पाइरहेछन् ।
यस लेखमा हामी सोभियत कम्युनिस्ट पार्टीका धोखेबाज नेतृत्व गुटले एक समाजवादी देशलाई बिस्तारै कसरी एक सामाजिक–साम्राज्यवादी देशमा पतन गरायो भन्ने कुरो देखाउनेछौँ । के एक समाजवादी देश ‘सामाजिक–साम्राज्यवादी’ देशमा फेरिनु खुसीको कुरो हो त ? अवश्य पनि यो खुसीको कुरो होइन । त्यसो भए के गर्ने ? ‘भिरबाट खस्ने गोरुलाई राम–राममात्रै भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।’
केही मानिसहरू रूसी नेताहरूको त्यस परिवर्तनप्रति दुःख मनाउने गर्छन् । केही ‘विदेशको कुरा’ भनेर साँचो कुरोलाई ढाकछोप गर्ने असफल प्रयास गर्छन् । तर, दुःख मनाएर अथवा त्यसलाई ढाकछोप गरेर के फाइदा ? कोठाको झ्याल–ढोका थुनेर बस्दैमा संसारमा बिहान हुन छोड्दैन, घाम लाग्न छोड्नेछैन । ढाकछोप गर्दैमा सामाजिक–साम्राज्यवादीहरूले गरेको अपराधको तीतो फल चाख्नबाट तिनीहरूलाई छुटकारा कसैले दिनसक्दैन । संसारलाई चिन्न र परिवर्तनलाई बुझ्न सुतुरमुर्गे बानी छोड्नैपर्छ नत्र स्वयम् एक गाईजात्रे सावित भइनेछ । इतिहासको पाङ्ग्रा रोक्न खोज्ने व्यक्तिहरू आफै राजनैतिक दबुलीबाट फालिनेछन् तथा झारपात र फोहर फाल्ने नालीमा फ्याँकिनेछन् ।
यसकारण, एक समाजवादी देश कसरी ‘सामाजिक साम्राज्यवादी’ देशमा फेरियो भनेर दुःख मनाउ गरेर केही फाइदा छैन । जो नहुनुपर्ने थियो, त्यो भइसकेको छ । अब त्यसबारे दुःख मनाउ गरेर त्यसलाई बदल्न सकिँदैन ।
तिनीहरू भन्छन्, “एक समाजवादी देश कसरी साम्राज्यवादी देशमा फेरिन्छ ?” हो, फेरिन सक्दोरहेछ । यो कुरो कम्युनिस्ट आन्दोलनको इतिहासले देखाउँछ । एकचोटि कार्ल काउत्स्की एक नामी माक्र्सवादी थिए तर उनले पछि माक्र्सवादमाथि विश्वासघात गरे र साम्राज्यवादको अगाडि घुँडा टेके । ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ भन्ने आफ्नो प्रसिद्ध रचनामा लेनिनले नै काउत्स्कीमाथि ऐतिहासिकरूपले छिनोफानो गर्नुभएको थियो । मानिसहरू फेरिएजस्तै राज्य पनि फेरिन सक्छ । फेरिसकेको पनि छ । लेनिनले भन्नुभएको थियो, “हामीहरू एक जना व्यक्तिलाई उसको भनाइबाट होइन अथवा उसले आफूलाई कसरी सोच्छ भन्नेबाट होइन उसको कामबाट नै जाँच्छौँ । यो कुरो राज्यको सवालमा पनि लागू हुन्छ ।” (१) हो, यो कुरो राज्यको सवालमा पनि लागू हुन्छ । यताका वर्षहरूमा, सोभियत सङ्घले अरू मुलुकहरूमा के गरेको छ ? यो कुरो चेकोस्लोभाकिया, इजिप्ट र पाकिस्तानका व्यापक जनसमूहलाई प्रस्ट छ, यो कुरो निर्भिक भएर जुझिरहेका कम्बोडियाका जनता र सोभियत सङ्घका अतिक्रमण, अन्तरध्वंश, नियन्त्रण, हस्तक्षेप तथा डर–त्रासका शिकार हुनुपरेका अरू जनतालाई पनि स्पष्ट छ । सोभियत सरकारका काम–कारबाहीहरू लेनिनले भन्नुभएजस्तै यो “वचनमा समाजवादी तर काममा भने साम्राज्यवादी हो” भन्ने कुरा पूरा मात्रामा देखाइसकेका छन् ।
एक समाजवादी देशको रङ्ग कसरी फेरिन सक्छ ?
रूसी सर्वहारा वर्गका महान् नेता स्तालिनको मृत्युपछि सोभियत कम्युनिस्ट पार्टीको नेतृत्व ख्रुश्चेभ गुटले हत्याउन सफल भयो । पार्टी र राज्यको नेतृत्व हत्याइसकेपछि त्यस गुटले एकपछि अर्काे संशोधनवादी पाइला चाल्दै एक समाजवादी देशको रङ्गलाई फेरिइदियो । सन् १९५६ मा सोभियत कम्युनिस्ट पार्टीको २० आँैै महाधिवेशन भयो ।
संयुक्त राष्ट्र सङ्घको साधारणसभाको २८ औँ बैठकको प्लेनरी सभामा चियाओ क्वान ह्वानको भाषण (नेपाली) चीनको समाचार २ अक्टोबर १९७३ सिन्ह्वा, काठमाडौँ ।
त्यस महाधिवेशनले ‘शान्तिपूर्ण सङ्क्रमण’ को नीतिलाई स्वीकार ग¥यो । यसको अर्थ हो – पुँजीवादी देशमा सर्वहारा वर्गले अब ‘शान्तिपूर्ण’ ढङ्गले नै समाजवादलाई स्थापना गर्न सकिन्छ ः सशस्त्र सङ्घर्ष र क्रान्तिबाट समाजवादी व्यवस्था कायम गर्नु आवश्यक परेन । ‘शान्तिपूर्ण सङ्क्रमण’ को अर्को सरल अर्थ हो – मजदुर वर्गले चुनावमा जितेर समाजवादी व्यवस्था ल्याउन सकिन्छ । यसप्रकार ख्रुश्चेभ गुटले ‘संसदीय बाटोबाट समाजवादमा सङ्क्रमण’ हुनसक्छ भनेर निर्णय ग¥यो ।
सोभियत कम्युनिस्ट पार्टी लेनिन र स्तालिनको क्रान्तिकारी सिद्धान्तअनुसार स्थापना भएको पार्टी हो । लेनिन र स्तालिनले क्रान्तिको नेतृत्व गर्नुभयो र रूसमा सर्वहारा वर्गको राज्य स्थापना गर्नुभयो । लेनिनको मृत्युपछि स्तालिनले पार्टी र राज्यको नेतृत्व सम्हाल्नुभयो । घरेलु प्रतिक्रियावादी र बाहिरी विध्वंसकारीहरूको आक्रमणलाई सशस्त्र सङ्घर्षले नै तह लगाउनुभयो । मजदुर वर्गकै राजसत्ताको भरले स्तालिनले रूसमा आर्थिक र सामाजिक परिवर्तनहरू गर्नुभयो, सांस्कृतिक प्रगति पनि गर्नुभयो ।
सन् १९६१ मा सोभियत कम्युनिस्ट पार्टीको २२ औँ महाधिवेशन भयो । महाधिवेशनले ‘शान्तिपूर्ण सह–जीवन’, ‘शान्तिपूर्ण प्रतियोगिता’ र ‘शान्तिपूर्ण सङ्क्रमण’ को सिद्धान्तलाई प्रचार ग¥यो । यसको अर्थ पुँजीवादी र साम्राज्यवादी देशहरूसँग समाजवादी देशहरूको सम्बन्ध ‘शान्तिपूर्ण’ र मेलमिलापले मात्रै भरिएको छ भन्नु हो । पुँजीवाद र समाजवाद शान्तिपूर्वक नै आ–आफ्नो बाटोमा लम्कनेछन् भन्नु हो । साम्राज्यवाद र समाजवाद, शोषक र शोषित वर्गमा अब झै–झगडा र सशस्त्र सङ्घर्षको होइन कि मेलमिलापको सम्बन्ध राख्नुपर्छ भन्नु हो । पुँजीवाद समाजवादी समाजमा सशस्त्र सङ्घर्षले होइन कि शान्तिपूर्ण किसिमले नै भित्रिन्छ र सर्वहारा वर्गको हुकुमको कुनै आवश्यकता छैन भन्नु हो ।
अब हामी ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ भन्ने रचनामा सर्वहारा क्रान्ति र हुकुमको बारेमा लेनिनले भन्नुभएको कुरालाई हेरौँ … । “सर्वहारा वर्गको क्रान्तिकारी हुकुम त्यो शक्ति हो– जसले सर्वहारा वर्ग पुँजीपति वर्गको विरोधमा हिंसाको प्रयोग गर्नको निम्ति स्थापना गर्छ र कायम राख्छ, एक यस्तो शक्ति जसमा कुनै कानुनको बन्धन हुन्न ।”
के सोभियत कम्युनिस्ट पार्टीको २० औँ र २२ औँ महाधिवेशनले पारित गरेको सिद्धान्त लेनिनको शिक्षासँग मेल खान्छ ? के त्यो सरासर लेनिनवादविरोधी छैन ?
लेनिनले भन्नुभएको थियो, “मजदुर वर्गको हुकुम पुरानो समाजका शक्ति र परम्पराहरूको विरोधमा एक यस्तो लगातार भइरहने सङ्घर्ष हो जसले रगत बग्ने र रगतबिनाको हिंसात्मक र शान्तिपूर्ण, सैनिक र आर्थिक, शैक्षिक र प्रशासनिक रूप लिनेछ ।” (२)
तर, सोभियत कम्युनिस्ट पार्टीको महाधिवेशनहरूले लेनिनको ‘रगत बग्ने र हिंसात्मक’ अनि ‘सैनिक’ सङ्घर्षलाई फालेर लेनिनवादको धारलाई नै भुत्तो बनाइदियो ।
लेनिनले एकचोटि भन्नुभएको थियो, “अत्याचारी वर्गले महान् क्रान्तिकारीहरूलाई जिउँदो रहेसम्म लगातार दुःख दिए, तिनीहरूको शिक्षालाई सा¥है असभ्य इवी, धेरै रिसले, बहुलट्टी घृणा, फटाहा र नीचताको थुप्रै अन्धो हमलाहरूबाट स्वागत गरे तर तिनीहरूको मृत्युपछि तिनीहरूका क्रान्तिकारी शिक्षालाई सारहीन खोष्टा बनाएर, त्यसको क्रान्तिकारी धारलाई भुत्तो बनाएर, त्यसलाई बिगारेर, त्यसलाई एकदमै बेकामको बनाएर देवी–देवताहरूको मूर्तिहरूजस्तो बनाइदिन, भनूँ तिनीहरूलाई देवत्व प्रदान गर्न र थिचिएका वर्गलाई ‘फकाउन’ र धोखा दिनको निम्ति तिनीहरूको नाउँलाई निश्चित गौरव प्रदान गर्ने कोसिस हुन्छन् ।” (३)
बस्, अवसरवादी र संशोधनवादी रूसी नेताहरूले महान् लेनिनलाई त्यस्तै गरेका छन् । ती ख्रुश्चेभ र ब्रेझ्नेभ गुटले लेनिनको शिक्षालाई भुत्तो बनाउन ‘शान्तिपूर्ण सह–जीवन’, ‘शान्तिपूर्ण प्रतियोगिता’ र ‘शान्तिपूर्ण सङ्क्रमण’ को ढुङ्गामुढाले पूजा गरेका छन् । लेनिनको क्रान्तिकारी शिक्षालाई रूसी जनताको विचारबाट हटाउन ती धोखेबाजहरूले लेनिनको नाउँमा नक्कली कामहरू गर्छन् र लेनिनको तस्वीर राखेर अनेक अपराधहरू गर्छन् ।
(१) लेनिन–सङ्कलित रचनाहरू (हिन्दी सङ्करण) प्रगति प्रकाशन, मस्को सन् १९६६, खण्ड ३, भाग १, पाना–८६ ।
(२) लेनिन– ‘उग्रवादी कम्युनिज्म एक केटाकेटी रोग’ (हिन्दी) पहिलो संस्करण, जून १९५५, पिपुल्स पब्लिसिंग हाउस, नयाँ दिल्ली, पाना–३६ ।
(३) लेनिन– ‘राज्य र क्रान्ति’ (हिन्दी), प्रगति प्रकाशन, मस्को पाना–७ ।
तिनीहरू रूसी जनतालाई ‘फकाउन’ र धोखा दिनमात्रै लेनिनको नाम लिन्छन् र लेनिनको तस्वीरमा पूजा गर्छन् । लेनिनले यसबारे सन् १९२० तिरै रूसी कम्युनिस्ट (बोल्सेभिक) पार्टीको नवौँ महाधिवेशनमा चोर औँला ठड्याउनुभएको थियो, “तिनीहरू (साम्राज्यवादीहरू) शान्तिपूर्ण आर्थिक विकासलाई सोभियत सत्ताको शान्तिपूर्ण विघटनमा फेर्न चाहन्छन् ।” (१) लेनिनले त्यहीँ भन्नुभएको थियो, “साम्राज्यवादी भलाद्मीहरू, तपाईँहरू यसलाई कोसिस नगर्नुस् ¤ हामी सतर्क छौँ ।” रूसी नेताहरूले लेनिनको शिक्षालाई लत्याइदिएका हुनाले सोभियत सत्तालाई ‘शान्तिपूर्ण विघटन’ मा फेरिदिए । ती नेताहरू वास्तवमा आफै ‘साम्राज्यवादी’ साबित भए ।
सोभियत सङ्घको २२ औँ महाधिवेशनले सोभियत सङ्घ अब ‘सारा जनताको राज्य’ र ‘सोभियत कम्युनिस्ट पार्टी’ सारा जनताको पार्टी भनेर पारित ग¥यो । यसको अर्थ सोभियत सङ्घमा अब सर्वहारा वर्गको हुकुमको कुनै आवश्यकता छैन भन्नु हो । कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी होइन भन्नु हो ।
रूसी पार्टीको २० औँ र २२ औँ महाधिवेशनका निर्णयहरूले रूसी कम्युनिस्ट पार्टीका सदस्यहरू, मजदुर वर्ग र सोभियत सङ्घको रङलाई नै पूर्णरूपले फेरिदियो । हरेक वस्तुको परिवर्तनको मुख्य कारण भित्री हुन्छ र बाहिरी कारण सहायकमात्र हुन्छ । रूसी नेताहरूले आफ्नो विचारधारालाई फेर्नुको मुख्य कारण तिनीहरूभित्रकै पुँजीवादी विचारधारा हो । तिनीहरू पुँजीवादी विचारधारा बाँकी भएका रूसी पुँजीवादी वर्गकै प्रतिबिम्ब हुन् । ख्रुश्चेभ र ब्रेझनेभ गुटले रूसी पुँजीवादी तत्वहरूकै प्रतिनिधित्व गर्छन् । मानिस, वर्ग या पार्टीले आफ्नो विचारधारा फेर्नासाथै उसको आफ्नो वर्ग चरित्रको ठाउँमा नयाँ वर्ग चरित्रले काम गर्न थाल्दछ ।
रूसी नेताहरू र रूसी पार्टीले सबभन्दा पहिले बिस्तार–बिस्तार आफ्नो दृष्टिकोण या विचारधारामा हेरफेर ल्याए । त्यसपछि तिनीहरूले त्यस विचारधारालाई राजनैतिक, आर्थिक, सामाजिक, कला र संस्कृतिको क्षेत्रमा पनि लागू गरे ।
(१) लेनिन–सङ्कलित रचनाहरू (हिन्दी) खण्ड ३ भाग १, प्रगति प्रकाशन, मस्को सन् १९६६, पाना– ४२४ ।
यसरी रूसी नेताहरूले माक्र्सवाद–लेनिनवादमाथि विश्वासघात गरेर एक समाजवादी देशको रङलाई नै बदलिदिए ।
रूसको कम्युनिस्ट पार्टी लेनिन र स्तालिनले स्थापना गर्नुभएको पार्टी हो र उहाँहरूकै नेतृत्वमा रूसमा सर्वहारा क्रान्ति सम्पन्न भएको हुनाले अरू समाजवादी देशका कम्युनिस्ट पार्टीहरू रूसी पार्टी र राज्यका निर्णयहरूलाई महत्व दिने गर्थे । रूसी कम्युनिस्ट पार्टीको यस प्रभावबाट रूसी नेताहरूले नाजायज फाइदा उठाए । आफ्नो संशोधनवादी विचारधारालाई अरू कम्युनिस्ट पार्टीहरू र समाजवादी राज्यहरूमा पनि लागु गराए । अरू समाजवादी देशहरूको राजनैतिक, आर्थिक, वैज्ञानिक र प्राविधिक ज्ञानको कमजोरीहरूबाट फाइदा उठाए । अनेक प्रकारको बन्धन र बाधाहरूमार्फत सबै क्षेत्रमा शोषण गर्न लागे । समाजवादी देशहरूको यस्ता उदार कमजोरीहरूबाट रूसी संशोधनवादी नेताहरू झन्झन् प्रोत्साहित हुँदै गए ।
एकपछि अर्काे नयाँ– उपनिवेशनवादी नीतिहरू लागु गर्न थाले । यस्तो गतिविधि तेस्रो मुलुकसम्म पुग्यो । साम्राज्यवादीहरू समाजवादी सिद्धान्तलाई नै बदनाम गर्न यस्ता कुकृत्यहरूबाट खुसी थिए । एक–एक पाइला गरेर तिनीहरू रूसी नेताहरूलाई कूटनैतिक, राजनैतिक र अरू क्षेत्रहरूमा समेत फसाउँदै गए । आफू फस्दै गएपछि रूसी नेताहरू साम्राज्यवादसँग तर्सिन थाले । एकपछि अर्काे सिद्धान्तहीन सम्झौताहरू गर्न पुगे । यी हुन्–एक समाजवादी देशको रङ फेरिनुका बाहिरी कारणहरू । यी बाहिरी कारणहरू परिवर्तनका सहायक कारणहरूमात्रै हुन् र भित्री कारण नै मुख्य हुन् । सर्पले आफ्नो काँचुली बाहिरबाट होइन भित्रैदेखि फेर्छ ।
रूसी कम्युनिस्ट पार्टी र त्यसका नेताहरूले २० औँ र २२ औँ महाधिवेशनबाट निर्णय गरेका सिद्धान्तहरू माक्र्सवादी—लेनिनवादी थिएनन् । सर्वहारा वर्गको हुकुमलाई त्याग्नासाथै समाजवादी समाजको रङ फेरिन्छ । त्यसबारे रूसी पार्टी र नेताहरूको निर्णय वास्तवमा माक्र्सवादी–लेनिनवादी छ कि छैन भनेर हामी एकचोटि फेरि जाचौँ किनभने तिनीहरू हरेक विश्वासघाती सिद्धान्त र कार्यहरू माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट निर्देशित छन् भनेर फलाको गर्छन् ।
स्रोतः रुसी संशोधनवाद सामाजिक –साम्राज्यवादमा पतन

Leave a Reply

Your email address will not be published. Required fields are marked *