भर्खरै :

चेपाङ छात्रावासमा हुन सकेन उचित व्यवस्थापन

चितवन, ६ माघ । कालिका नगरपालिका वडा नं ९ स्थित प्रजा (चेपाङ) छात्रावासमा बस्दै आएका विद्यार्थीहरूलाई केही महिना अघिसम्म बिहान–बेलुकी खाना पकाउन आवश्यक दाउरा जुटाउन धौधौ पथ्र्यो । हिजोआज छात्रावासमा यस्ता समस्या हटेको छ । विद्यार्थीहरूले हरेक हिसाबले दाउराभन्दा ग्यासबाट खाना पकाउन फाइदा हुने भएकोले ग्यासको व्यवस्था गर्न व्यवस्थापन समितिलाई दबाब दिएपछि खाना पकाउन ग्यास चुल्हो जडान हुँदा पढ्ने समयमा दाउरा खोज्न हिँड्नुपर्ने बाध्यता अहिले हटेको छ । विगतमा व्यवस्थापन समितिले समयमै दाउरा नल्याइदिँदा छात्रावासका विद्यार्थी भोकै बस्नुपरेको थियो ।
चितवन जिल्लाका विकट क्षेत्रबाट आएका आर्थिकरूपमा कमजोर चेपाङ विद्यार्थीहरूलाई विद्यालय शिक्षा पढ्न सहजताको लागि प्रजा छात्रावासको स्थापना भएको हो । छात्रावासको लागि सरकारले ४० जनाको कोटामा वार्षिक खर्च उपलब्ध गराउँदै आएको छ । हाल छात्रावासमा जम्मा २३ जना विद्यार्थी छन् । छात्रावास व्यवस्थापन गर्न समिति भए तापनि विगतमा विद्यार्थीहरू समितिका अध्यक्ष र सदस्यहरूका घर–घरमा पुगी खाना पकाउन हारगुहार गर्नु पथ्र्यो । छात्रावासका विद्यार्थीहरू दाउरा जुटाउने झन्झटबाट मुक्त भए पनि बिहान बेलुका पढ्ने समयमा नुन, तेल तरकारी किन्न बजार धाउनुपर्ने बाध्यताबाट मुक्त हुन सकेका छैनन् ।
जिल्लाको विकट गाउँ काउले घर भई छात्रावासमा बसी दस कक्षामा अध्ययन गर्दै आएका वीरबहादुर प्रजा भन्नुहुन्छ, “छात्रावास भनिएको छ । तर, खानेकुरा जुटाउन विद्यार्थी नै पसल–पसल धाउनुपर्छ । कमसल खाना खानुपर्छ । आलु, बन्दा र काउलीभन्दा अरू नयाँ तरकारीको स्वाद चाख्नै पाइँदैन । छात्रावासको झ्याल ढोकामा पर्दा छैन, झुलको व्यवस्था छैन । ओढ्ने–ओछ्याने र कापी कलमको पनि उस्तै छन् समस्या ।”
चतुर्मुखी माध्यमिक विद्यालय नजिकै रहेको छात्रावासको व्यवस्थापनमा चतुर्मुखी माविका सहायक प्रधानाध्यापक पूर्णबहादुर पुरीले समन्वयकारी भूमिका निभाउँदै आउनुभएको छ । छात्रावासमा रहेका विद्यार्थीलाई व्यवस्थापन गर्ने जिम्मा लिएका शिक्षकको व्यवहार पनि चित्तबुझ्दो नभएको विद्यार्थीहरूको गुनासो छ । “तरकारी चाहियो भन्दा खानकै लागि छात्रावास आएको हो कि ? कति खान सकेका जस्ता ¤” जस्ता बोली सुन्नुपरेको छात्रावासका विद्यार्थीहरूको गुनासो छ । छात्रावासमा अध्ययनरत कक्षा दशका विशाल चेपाङ भन्नुहुन्छ, “खानेकुरा चाहियो भन्दा पनि सरले धेरै खाने होइन भन्नुहुन्छ । हामीलाई खान नपाएको जस्तो व्यवहार गर्नुहुन्छ । सरकै घरबाट झिकेर खान दिनुपरेको जस्तो व्यवहारले हामीलाई असह्य भएको छ ।”
छात्रावासमै भान्से काम गर्दै आउनुभएका धनमाया चेपाङको पनि आफ्नै समस्या छ । झन्डै १५ वर्षदेखि उहाँ मासिक ३५ सयमा भान्से काम गर्दै आउनुभएको छ । सुरुमा मासिक पच्चीस सयमा काम थाल्नुभएका धनमायाले पटकपटक तलब बढाउन आग्रह गरेपछि पैत्तीस सय पु¥याइएको थियो । धनमायाले समितिमा तलब बढाउन आग्रह गरे पनि छात्रावासमा खर्च गर्न नै पैसा अपुग छ भन्दै टार्ने गरेको उहाँको दुखेसो छ । लकडाउनअघि मासिक आठ हजार दिने निर्णय गरेको भए पनि आजसम्म मासिक पैतीस सय नै पाउने गरेको उहाँले बताउनुभयो ।
चेपाङ छात्रावासका व्यवस्थापक पूर्णबहादुर पुरीको आदेश पाएरमात्र चामल, दाल, तरकारी ल्याउनुपर्दा समयमा खानपानमा समस्या भएको विद्यार्थीको कुरा छ । भान्सामा दाल तरकारी सकिँदा पुरीलाई खोज्दै हिँड्नुपर्र्ने विद्यार्थीहरूले भने ।
चेपाङ छात्रावासमा रेखदेख गर्ने कार्यालय सहयोगीको आवश्यक रहेको विद्यार्थीको भनाइ छ । छात्रावासभित्र के छ, के छैन, के भइरहेको छ भन्ने विषयमा जिल्लाका चेपाङ नेतृत्वहरूलाई कुनै चिन्ता र चासो छैन । प्रजा छात्रावासमा रहेर मावि उत्तीर्ण गरी धेरै विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरिसकेका छन । आर्थिक स्थिति कमजोर र विकट क्षेत्रका चेपाङ विद्यार्थीहरूलाई शिक्षित नागरिक बनाउन छात्रावासले महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । व्यवस्थापन समितिको लापरबाही र कमी–कमजोरीले भने छात्रावासको भविष्यमा ठेस पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *