भर्खरै :

बाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, शासकको झगडाले देशलाई नै लज्जा

हेटौँडा, ७ माघ । बाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट प्रदेश राजधानी हेटौँडामा सुरु भयो । हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले करिब दुईतिहाइको सरकार हाँकिरहेको नेकपाको झगडाले अन्तर्राष्ट्रिय जगतमा बेइज्जत हुन नहुने र शत्रु हँसाउने काम हुन नहुने बताउनुभयो । उहाँले राजनीतिक दल व्यक्तिगत झगडामा फस्न कुनै पनि अर्थमा स्वाभाविक नभएको चर्चा गर्दै सैद्धान्तिक झगडाले मात्र प्रजातान्त्रिक आन्दोलनलाई टेवा पुग्ने धारणा राख्नुभयो ।
“केही सरल मानिसहरू आजकल सोध्ने गर्छन्, नेकपाको झगडा जस्ताको तस्तै विदेशी भाषामा अनुवाद गरी सुनाइए के भन्ने होला ? उनीहरूको वाक्कला देख्दा तिनका गुरु को होलान् भनी पक्कै घोत्लिन बाध्य हुनेछ”, सांसद गोसाईले भन्नुभयो ।
“राजनीतिक भाषाको प्रयोगसमेत नगरिनाले पार्टीको हो कि पँधेराको झगडा, छुट्याउन गा¥हो भएको जनता गुनासो गर्दै छन् । जाली, महाजाली, कठपुतली, ठग, सर्प, भस्मासुर शब्द यतिखेर सा¥है सस्तो भएका छन् । विगतमा राष्ट्रघाती राजीनामा दे भनियो तर त्यही राष्ट्रघाती आरोपितसँग घाँटी जोड्दै सत्ताको सिँढी चढेको पनि देखिएकै हो । प्रश्न उठ्छ, त्यो कस्तो शक्ति हो जसले नेपालमा सधैँ मिलेकोलाई फुटाउन सक्छ र नमिलेकोलाई मिलाउन सक्छ ? के कठपुतली सरकार बनाउन नै आजको यो गञ्जागोल स्थिति तयार पारिएको हो ? जबसम्म शासनमा जाने पार्टीहरू आप्mनै बलबुत्ता, विवेक र जनताको तागतमा विश्वास गर्दैनन् तबसम्म यस्तो दुर्भाग्य दोहोरिरहने छ”, उहाँले भन्नुभयो ।
उहाँले देशको इतिहासमा पहिलो पटक प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भइरहँदा दुईतिहाइ बहुमत प्राप्त प्रदेश सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्न सक्रिय देखाउन नसकेकोमा खेद व्यक्त गर्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, “कोभिड–१९ को खोप वितरण छिटोभन्दा छिटो गरी जनतालाई सुरक्षित बनाउनेबारे गम्भीर छलफल गर्नु नै यो हिउँदे अधिवेशनको प्रमुख विषयवस्तु होला भन्ने जनताको आशा, अपेक्षा तथा अनुमानलाई ‘सुखी नेपाली’ को नारा दिँदै आएको सरकारले गलत साबित नगर्ला कि !”
बैठकमा सरकारले प्रतिबद्धताअनुसार काम गर्न नसकेकोमा व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “तीन वर्षअगाडि निर्वाचनमा भोट हालेर विदेश गएको एउटा सोझो युवक यतिखेर स्वदेश फर्केर आए उसले चितवन, हेटौँडा, काठमाडौँ सबैतिर विद्युतीय गाडीमा घुम्ने इच्छा पक्कै जाहेर गर्ला । गाउँ–गाउँमा विकास भई सुख, समृद्धिको मूल फुटिरहेको हेर्ने अभिलाषामा भ्रमण तालिका बनाउला । आत्मनिर्भरता, आधुनिकताबारे खुब बखान सुनेर आइन्दा जन्मभूमि नछोड्ने सपना बोकी देश फर्केको त्यो युवकले घर–घरमा ग्यासको पाइप खोइ भन्ला ! त्यो सरल युवकले पानीजहाज, रेल चढ्ने इच्छा व्यक्त गर्ला ! त्यतिखेर के ‘खोलाले बगायो, खोइ खोला ? सुक्यो !’ भन्ने ? ”
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *