भर्खरै :

नेमकिपा स्थापनाको अवसरमा पुस्तक प्रदर्शनी

ललितपुर, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार मङ्गलबजारमा ‘पार्टी प्रकाशन’ प्रदर्शनी भयो ।
नेमकिपा तथा जनवर्गीय सङ्गठनहरूले विभिन्न समयमा प्रकाशित गरेका पुस्तक तथा बुलेटिनहरू प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ लगायत नेमकिपाको स्थापना २०३१ सालदेखि २०७७ सालसम्म प्रकाशित ऐतिहासिक पुस्तकहरू प्रदर्शनीमा राखिएको नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले बताउनुभयो ।
विश्व कम्युनिस्ट आन्दोलन, माक्र्सवादी साहित्य, देशको अर्थतन्त्र, विभिन्न व्यक्तित्वहरूको जीवनी आदि विषयका १ सय २० भन्दा बढी प्रकारका पुस्तकमा सर्वसाधारणले रुचिपूर्वक अवलोकन गर्नुभएको थियो । अवलोकनकर्ताले ‘जनताको साहित्य र साहित्यकार’ र ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’, ‘जेलका चिठी’ लगायतका पुस्तकको माग गर्नुभएको थियो । करिब ५ दर्जन प्रकारका पुस्तक बिक्रीको निम्ति राखिएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य महर्जनले जनताको सांस्कृतिक स्तर विकासको निम्ति प्रदर्शनीको आयोजना गरेको बताउनुभयो । पुराना तथा दुर्लभ पुस्तक तथा पत्रिका हेर्न पाएकोमा अवलोकनकर्ता खुसी भएको उहाँको भनाइ थियो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाका प्रकाशनको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति बुझ्न सजिलो हुने धारणा राख्नुभयो ।
पुस्तक प्रदर्शनीको क्रममा विद्यार्थी तथा युवाहरूले गीत प्रस्तुत गर्नुका साथै कविता वाचन गर्नुभएको थियो ।
माघ ८ गते काठमाडौँको रत्नपार्क, ९ गते बनेपाको चारदोबाटो र माघ १० गते भक्तपुरको टौमढीमा पुस्तक प्रदर्शनीको आयोजना हुने नेमकिपाले जनाएको छ । हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म पुस्तक बिक्रीसमेत हुने बताइएको छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *